ध्रुवचन्द्र + ध्रुवचन्द्र

 ध्रुवचन्द्र + ध्रुवचन्द्र

 

गीतलेखन र नाटक अभिनयबाट कलात्मक जीवनमा प्रवेश गरेका हुन्— डा. ध्रुवचन्द्र गौतम। एक प्रकारको नवीनता चिन्ने र अभिव्यक्तिशीलताको सक्षम विन्यास हुन्छ, उनको प्रस्तुतिमा। यही पुस २ गते उनी उमेरको ७५ औं वर्षमा पाइला सार्दैछन्। तर, उनको लेखनले उमेरलाई कैयौं वसन्त उछिनेर लामो यात्रा गरिसकेको छ। हीरक जन्मोत्सवमा आइपुग्दा उनी नेपाली आख्यान र नाटकमा ‘एभागार्द’ प्रतिभाका रूपमा स्थापित भइसकेका छन् भने निबन्धमा चाहिँ मात्र सिकारु।

Netra-atom२०२० सालको ‘रूपरेखा’ पत्रिकामा ‘तटस्थता : असफलता’ शीर्षकको कविता र ‘एक यात्रानुभूति’ नामको कथा प्रकाशित गरेर उनको सिर्जनशीलताले पाठकमा आशा जगाइदियो। कविता खासै जमेन। तर, पहिलो कथा नै नेपालीमा ‘अकथा’ भनिएर नयाँ ‘टे«न्ड’ बनिदियो। त्यसपछिको उनको यात्रा कथा र उपन्यासमा केन्द्रित भयो अनि ३० को दशकमा पुग्दाचाहिँ नाटक पनि त्यसैमा समेटिएर अघि बढ्यो।

स्वैरकल्पना, समाजका विविध मानवीय पक्षको आलोचनाको दर्शनलाई मूलमा राखेर उनले प्रभावकारिताका निम्ति स्वैरकल्पना र मिथकलाई प्रमुख हतियार बनाए भने पीडादायी हाँसोलाई चाहिँ मौलिक अभिव्यक्तिशीलताको

‘ट्रेडमार्क’ तुल्याइदिए। उनकै प्रभावबाट नेपालीमा काफ्का, कामु र जेम्स ज्वायसको मीठो स्वाद चाख्न पाइयो, पुँजीवादी जीवनको सर्वाधिक गहिराइमा पुगेर त्यसका विकृतिसम्म पुग्ने चरित्रसँग साक्षात्कार गर्न सकियो। फ्रान्सेली साहित्यमा बाल्जाकले जसरी आफ्नै वर्गको उछितो काढेका थिए, ध्रुवचन्द्रमा पनि त्यही प्रखरताले आख्यानको चुली छुन सक्यो। ‘डापी’देखि ‘अग्निदत्त+अग्निदत्त’सम्मका उपन्यासमा उनले नेपाली जीवनचर्यालाई यति कडा आलोचनाले छोइदिए कि उनका छेउछाउका प्रतिभा फिक्काजस्ता लाग्न थाले। यथार्थ र संकेत दुई तहको संरचनामा उपन्यासको रचना गरेर उनले वास्तवमा नेपाली उपन्यासको कायापलट गरेका हुन्, पछिल्लो चरणका नेपाली उपन्यास अझै पनि उनको शिल्पकारिताबाट अलि पर पुग्ने कोसिसमा पनि देखिँदैनन्।

‘अलिखित’ले सिर्जना गरेको अधिआख्यानकै प्रवृत्तिमा घुमिरहेका देखिन्छन्— कृष्ण धराबासी, नारायण, वाग्ले, नारायण ढकाल, नयनराज पाण्डेदेखि युग पाठकसम्म। त्यत्तिको आञ्चलिकताको सुगन्ध आउनसक्ने सम्भावना नेपालीमा अझै पनि देखिँदैन। प्रयोग र समकालीनताको चेतनाले लैस नेपाली कथाकारमा ध्रुवचन्द्र गौतम र मनु ब्राजाकीलाई छेउ सारिदिने हो भने कति ठूलो खाडल पर्छ, अध्येताहरूलाई अझै थाहा भइसकेको लाग्दैन।

गौतमका अलिखित कथाहरू उनका अनुभवन्यासमा लेखिएका पनि छन्— ‘बाढी’देखि ‘भीमसेन-४ को खोजी’सम्मका उपन्यासमा। तर, यो आलेख उनको हीरक जन्मोत्सवका अवसरमा यस पंक्तिकारको ‘सीमान्त आकाश’कै सहारामा तयार पारिएको एउटा शब्दपुष्प मात्र हो।

‘...उसको पूरा नाउँ भीमप्रसाद वाग्ले हुँदो हो। तर, वाग्लेबाहेक उसको नाउँमा अरू केहीको सम्झना हुँदैनथ्यो। काठमाडौंमा तपाईंहरूले एउटा दुब्लो-पातलो मानिस आफैंसित कुरा गर्दै हिँडेको देख्नुभएको छ भने, धेरै सम्भव छ, त्यो भीम वाग्ले नै होस्। उसको अनुहारमा उमेरले धेरै बन्दुक हिर्काएको थियो। त्यसकारण एकदम युवावस्थामा, उसको अनुहार कस्तो थियो, त्यो अनुमान गर्न कठिन थियो। उसको वास्तविक अनुहार चाउरीहरूको झाङमा कसरी बिलाएको थियो भने...।’

‘अलिखित’ उपन्यासमा पात्रको परिचय यसरी पाएपछि म धु्रवचन्द्र गौतमको अभिव्यक्ति शिल्प र शक्तिप्रति आश्चर्यचकित भएको थिएँ र काठमाडौंका सडकमा डुल्दा पनि उनकै पात्र भीम वाग्लेको खोजी गरिरहन्थेँ। उनको वर्णनको शैली सम्झेर आफैं एक्लै हाँस्थेँ फेरि। उनको यही सामथ्र्यको तीव्रता पाठकले उनका अधिकांश कृतिका वाक्य वाक्यमा अनुभव गर्न पाउँछन्।

भेटमा मैले प्रश्न गरेको थिएँ, ‘तपाईंको लेखन शक्ति र सीमा के हो ? ’

‘जतिसुकै प्रतिभाशाली लेखक भए पनि आफैंलाई नाघेर लेख्न नसकिने रहेछ। आफ्नो शैली दृष्टि, भाषा आदि हटाएर अनौठो त लेख्नै सकिन्न— यसमा आफैंलाई सम्झाएको छु मैले। म नेपालीमा सर्व श्रेष्ठ होऊँ भनेर बन्न पनि त सक्दिनँ तर म एउटा लेखकचाहिँ जरुर हुँ।’

‘अनि कसरी मौलिक लेखक हो त तपाईं ? ’

‘मलाई अर्काको जस्तो लेख्न मञ्जुर कहिल्यै भएन। सायद मनमा रहे जति कुरा आफ्नो जीवनमा लेख्न सकिन्न भन्ने आशंका छ। जीवनको अन्त्यतिर पुग्दा त्यो पश्चातापमा बदलिएला कि ! मलाई पाठकमा अझै चिनियूँ भन्ने लालसा छैन, किनभने मेरा जेनुइन पाठकहरू बनिसकेका छन् ...। ’

पान चपाएजस्तो झन्डै लर्बरको स्वरले बोल्दै छन् उनी— फोटोमा देखिनेजस्तै नकोरिएको कपाल, सेतामा कतैकतै काला अधबैंसे रौं देखिने। लुंगी र बनियनको पहिरनमा देख्दा लाग्छ, म उनीसित वीरगन्जमै छु। ‘श’ले उनलाई दिएको ‘केयरलेस’को अभिव्यक्ति साँच्चै चित्तबुझ्दो लाग्छ !

‘धेरै समयसम्म चर्चित भइनँ म— त्यसैले म बिस्तारै बलियो हुँदै आएँ...।’

‘तपाईं आफूलाई ठूलो लेखक नभए पनि इमानदार लेखक ठान्नु हुँदोरहेछ। लेखकको इमानदारिताका कसीहरू के के हुन् ? ’ म सुरु गर्छु स्पष्टीकरणबाट।

‘पहिलो हो, मेरो लेखनप्रतिको इमानदारी। आफ्नो भाव, विचार र प्रतिभा जेजति छन्, तिनलाई पाठकमा

‘कम्युनिकेट’ गर्दा म आफ्नो निष्ठा बदल्न चाहन्नँ। दोस्रो, मैले पदमा रहुन्जेल, टिचिङ गर्दा पनि, कहिल्यै लेख्न छाडिनँ। कतिले भन्छन् नि— फुर्सदै मिलेन। हुन त कसैलाई त्यस्तो हुँदो पनि हो तर मैले त एकेडेमीमा पाँच वर्ष बस्ता पनि पाँचओटा किताब लेखेँ। त्यो लेखनप्रतिको मेरो समर्पण पनि हो र इमानदारिताको कसी पनि ! अर्को के भने म अखबारी र साहित्य दुवै लेख्ने हुनाले समय नहुँदा अखबारीमा खेलाँची पनि गर्न सकुँला तर सिर्जनशील विधामा मैले रमाइलो गर्न, प्रतियोगिताकै लागि भनेर वा धेरै दिन भयो नलेखेको भनेर लेखिनँ। मैले जे लेखेँ, मलाई फुरेपछि मात्र लेखेँ।’

‘मैले सोध्न खोजेको के भने— तपाईं यथार्थप्रति साँच्ची इमानदार हुनुहुन्छ ? त्यसो भए किन संस्मरण नलेखेर अनुभवन्यास लेख्नुभयो त ? ’ आफूले पढिसकेको बाल्यकाललाई देखादेखी पन्छाउँदै बाढीमा पसेर सोध्छु म।

‘कति कुरा यस्ता हुन्छन्, यथार्थ नलेखी पनि नहुने तर सिधा लेख्ता व्यक्तिको जीवनमा अप्ठ्यारो पनि पर्ने। आफ्नो बारेमा लेख्न त केही छैन तर अरूका बारेमा लेख्ता त सोच्नै पर्छ। समस्या आयो— व्यक्तिप्रति इमानदार हुने कि कृतिप्रति ? दुवैप्रति इमानदारी राख्न अनुभवन्यास लेखेको हुँ। संस्मरण लेख्न नसकेको कुरा औपन्यासीकरण गरेर त्यसमा लेख्न सजिलो भयो। फेरि त्यो एउटा प्रयोगको नमुना पनि हुन सक्छ भन्ने लाग्यो, नेपालीमा एउटा नयाँ विधा पनि जन्म्यो। पाठकलाई झुक्याउनु हुँदैन भन्छु म, यो पनि एउटा इमानदारी नै त भयो नि !’

‘अनि हामीले कसरी छुट्याउने त, उपन्यासमा कुन घटना यथार्थ हो र कुनचाहिँ आख्यानीकृत कल्पना ? ’

‘त्यही दोसाँधमा रहोस् न पाठक, अनुभव पनि हो मिल्ने ठाउँमा र नमिल्ने ठाउँमा उपन्यास पनि। यतिचाहिँ हो— मेरा बारेमा लेखिएको यथार्थ नै हो तर अरूका बारेमा लेख्दा काल्पनिकताको प्रयोग पनि छ। वास्तवमा यो

‘अनुभवन्यास’ नाम आवश्यकताले दिएको हो, रहरले होइन। पात्र र प्रसंग बदलेर पनि प्रस्तुत गरिएको छ यसमा। त्यसैले मलाई सजिलो बनाइदिएको छ।’

‘हाम्रो साहित्य नै उत्तरआधुनिक भएको हो कि तपाईंको लेखन मात्र ? ’ म बहसलाई अघि बढाउने मेलो जोर्छु र भित्तातिरका फोटाहरू हेर्न थाल्छु।

‘यसोँ भनूँ न, म त्यो भाग्यशाली लेखकमा परेँ— गोविन्दराज भट्टराईको उत्तरआधुनिकतामाथिको सिंगो कृति नै ममाथि लेखियो। मेरो लेखन सुरु हुँदा सन् १९६३÷६४ तिर विश्वमा उत्तरआधुनिकता सुरु भइसक्या’थ्यो तर मैले त्यसको चेत पाएको २०३० देखि हो। परम्परादेखि हटेर लेखूँ भन्ने त पहिलेदेखि नै थियो— त्यसैले कसैकसैले

‘अल्ट्रामोडर्न’ पनि भने मलाई। त्यो प्रवृत्ति त अनवरत आएको थियो— मैले नजान्दा पनि त्यो त्यस्तै थियो, सबै लेखकहरू मभन्दा बेग्लै बाटामा थिए। म भन्छु, म ठूलो लेखक नभए पनि अरूभन्दा अलग लेखक हुँ। त्यसले मलाई अहिलेसम्म टिकाइरहेको पनि छ तर प्रयोगशील लेखाइको अर्थ ‘देखियूँ’ भन्ने मात्र हँदैन। मेरो रचना हेर्ने हो भने विषयले त्यस्तै शैलीको खाँचो अनुभव गर्छ। मैले उत्तरआधुनिक समय आयो भनेर त्यस्तो लेखेको होइन, बरु मेरो लेखन र उताको उत्तरआधुनिकता एउटै बुँदामा भेट भएको भने पक्कै हो।’

‘त्यस्तो प्रमाण केमा भेट्नुभयो र ? ’

‘हेर्नुस्, २०३० देखि मेरो लेखनमा ‘ब्ल्याक ह्युमर’, तपाईंहरूले उपन्यास-सिद्धान्त र नेपाली उपन्यासमा ‘असित व्यंग्य’ भन्नुभएको छ नि— पहिले त्यो एउटा कुरा नाटकमा आयो। त्यो उत्तरआधुनिकताको छुट्टै विशेषता हो, यसलाई त नेपालीमा हेरिएकै छैन।’

धु्रवचन्द्र गौतमले २०२० सालको रूपरेखामा छपाएको पहिलो कथा ‘यात्रानुभूति’मा चेतनाप्रवाहको अनौठो स्वरूप आएको छ। ‘यस्तो परम्पराभिन्न कथा लेखेर कथायात्रा सुरु गर्नुभयो— सोचेर त्यस्तो लेख्नुभएको थियो कि कथानक, चरित्र, परिवेश नमिलेर त्यस्तो ‘अकथा’ भएको हो ? ’

‘म त्यसबेला वीरगन्ज-सिमरा हिँडिरहन्थेँ, अनि झ्वाट्ट आयो यो यात्रा। परिवेशले नै दिने हो नि विषयवस्तु त ! लेख्ताखेरि ‘सिम्प्ली’ गयो— धेरै पात्रहरू भएपछि त त्यसमा कसैको पनि नाम नलिनुपर्ने भयो। विषयले नै त्यस्तो शैली रोजेको हो, हुन त ती पनि कुनै बेलाका मेरा अनुभव होलान् तर म पहिले नै खाका खिचेर लेख्दिनँ। बिजुली चम्केजस्तै आउँछ त्यो, एक निमेषमा फुर्छ। आन्तरिक दबाबले नै लेख्ने ‘टपिक’ दिन्छ।’

‘नाटकमा त तपाईंले ‘द्वन्द्व’, ‘नाटक कसरी थाल्ने हो’जस्ता बे्रख्तको ‘एलिइनेसन इफेक्ट’ दिने शैलीका अत्याधुनिक नाटकसँगै ‘ श्रीकृष्णलीला’ र ‘दुर्गाअवतार’जस्ता धार्मिक प्रकृतिका भावनाटक पनि लेख्नुभएको छ, त्यस्ता नाटक पनि फुरेरै लेखिएका होलान् र ?’

‘ए ! ती ‘ श्रीकृष्णलीला’ गीतिनाटक र ‘दुर्गाअवतार’ नृत्यनाटिका त आफ्नो नाटकीय ‘स्किल’ प्रयोग गरेर आर्थिक कारणले लेखिएका हुन्— नारायणगोपालको अनुरोधमा सांस्कृतिक संस्थानमा मञ्चनका लागि। सफल पनि भए ती। तपाईंले संकेत गरेका ‘द्वन्द्व’... आदि त नेपाली नाटकपरम्परामा नितान्त भिन्न प्रस्तुति हुन्, तर त्यसको कुनै ‘नोटिस’ नै भएन। प्रतिक्रिया नै आएन— मेरो आशा धेरै थियो, प्रतिक्रिया पाइएला भन्ने।’

सही जय, नेपाली बौद्धिक र सिर्जनशील समाजमा ईष्र्या ज्यादा छ, ‘साइलेन्स’ संस्कृति हाबी छ। अरूका राम्रा कृतिको चर्चा गर्दा आफ्नो अवमूल्यन हुने ठान्छन्, कतिपय प्रबुद्ध व्यक्तित्वहरू !

‘अन्त्यपछिजस्तो अमूर्त र जटिल उपन्यास लेख्नुभयो सुरुमै। त्यो पनि २४ वर्षकै उमेरमा। कहाँबाट पे्ररित हुनुहुन्थ्यो नि लेख्ता ?’

‘मैले अन्त्यपछि भन्दा अघि नै दुई उपन्यास लेख्न थाल्या’थेँ, ब्याकग्राउन्ड फेज थियो त्यो। एउटा त हात्तीछाप कापीको चारओटामा लेखिसकेको थिएँ, २०१७-१८ सालतिर। २०२१ सालमा कोलम्बो प्लानमा आएको एउटा टिचर, बालकृष्ण पोखरेल, बालकृष्ण भट्टराई र म भाषा सर्वेक्षणमा गयौं पश्चिमतिर। काठमाडौंबाट धनगढीसम्मको प्लेनमा उडेको मेरो सबैभन्दा लामो हवाईयात्रा थियो। हामीलाई दार्चुलातिर जानु थियो। त्यसैबेला डायरी होइन, केही अनुभूतिको टिपोट अर्थात् ‘सेमीडायरी’ लेख्न सुरु गरेँ मैले। हामीले गुन्टा कसेका थियौं र कसिएको गुन्टामाथि लालटिन थियो र त्यो निभ्यो अनि मैनबत्ती बाल्यौं। यो घटना आएको छ उपन्यासको सुरुमा। त्योमात्र पनि लेखिनँ, जो हाम्रो बीचमा भएको थियो। रूपरेखामा उत्तम कुँवरले पूरै उपन्यास छाप्न प्रस्ताव गर्नुभयो र छिटोछिटो लेख्न थालेँ। त्यसमा फेन्टासी पनि छ तर मलाई फेन्टासीको कुरा थाहा थिएन त्यसबेला। त्यहाँ युद्धको कुरा छ नि, लासैलासको थुप्रो देखिने— त्यसलाई मैले रूपान्तरण गरेँ, बलभद्रको नालापानीको कथाबाट। ‘कि लड्नुपर्‍यो, कि मर्नुपर्‍यो’ को अभिव्यक्ति छ त्यसमा। अलिखितमा पनि छ त्यो— हारे पनि लडाइँ त हुन सक्छ नि भन्ने सोचाइ।’

‘तर, तपाईंका उपन्यासका नायक त निरीह, थकित, अशक्त र अझै ‘अनायक’ देखिन्छन् अनि खलनायकको पो सक्रियता ज्यादा हुन्छ त ! त्यसरी आउँछ बलभद्र कुँवर ? ’

‘जुन बेलामा लेखिए ती, लडिरहेका पात्र त छन् नि ! ‘डापी’, ‘कट्टेल सरको चोटपटक’, अलिखित’... आदिमा तर हाम्रो परिवेशमा जताततै खलनायककै बोलबाला छ। मैले कुन पात्र दिन चाहिनँ भने— एउटा पुरानो कथाको

‘नाइट’ जस्तो बलशाली ! जति निरीह भए पनि रवि लड्न छाडेको छैन। जतिबेला ‘नाइट’जस्ता नायकको काम आउला, लेखिएलान् ती पनि।’

‘उपन्यासकारको रूपमा तपाईंले गरेको कुनै भविष्यवाणी अहिले ठ्याक्कै मिल्यो कि ? ’

‘डापीमा टोललाई तर्साएर जाने पात्रहरू फेरि आज आए नि !’ हाँस्छन् उनी— ‘म भविष्यवक्ता त होइन तर पनि लेखकको कल्पनाशीलताले पनि सत्य देखाउँदो रहेछ। मेरा नायकहरू निरीह बनाइएका छन्, बनेका होइनन्। परिस्थिति नै यस्तो छ कि उपन्यासमा, जित्न तिनलाई मुस्किलै छ। तत्कालीन समयलाई प्रतिबिम्बित गराइएको हो त्यो। हामी पनि त त्यसैभित्र पर्‍यौं नि। हावा खालको विजय र पराजय लेखेर के काम ? मैले त पात्रहरूलाई खुट्टाले हिँडाएको हो, ती थरथर कामिरहेका भए पनि।’

‘नेपालीमा लेखिएका चारओटा संयुक्त उपन्यासहरूमा लेखक रहनुभएको छ तपाईं। विशेष आनन्द हुँदोरहेछ त्यसमा ? ’

‘३० सालमा आयो ‘आकाश विभाजित छ’ भन्ने उपन्यास— त्यो पहिलो संयुक्त उपन्यास हो नेपालीमा। म प्याफल भन्ने ठाउँमा डेरामा बस्थेँ— धु्रव सापकोटाहरू आए प्रस्ताव लिएर। एउटाले सुरु गरेकोमा अर्काले मन लागेअनुसार लेख्नुपर्ने। त्यस्तो बाँधिएको लेखन मलाई खासै मन पर्दैन। त्यस्तो लेख्न भने सजिलोे हुन्छ।

‘ग्यारह सपनों का देश’ भन्ने हिन्दीमा निस्केको संयुक्त उपन्यास पढिसकेको हुनाले केही नयाँ लागेन लेख्न। मेरो जिम्मेवारी केवल एक च्याप्टर लेख्नु थियो— मैले त्यति सजिलोसँग आजसम्म एउटा कथा पनि लेखेको छैन।

‘अवतार विघटन’मा पनि त्यही टे«न्ड छ। ‘देहमुक्त’मा चाहिँ मैले इनिसिएटिभ लिएको हुँ। त्यसमा पहिलोपल्ट योजना बनाइयो र एकएक पात्र जिम्मा लिएर, छलफल गरेर लेखेको हो। ज्यागाको घटना उपन्यासमा वर्णन गरेजस्तै हो। अखबारमा आएभन्दा बेग्लै ढंगले, त्यसबाहेकको शरणार्थीको जीवनलाई पनि टिप्ने उद्देश्यले लेखिएको हो त्यो।’

‘यो सूत्र उपन्यास नि, त्यो त प्रयोगका लागि प्रयोग नै भएन र ? ’ म उनको मौन उपन्यासको विनिर्मित खण्ड सम्झन्छु।

‘त्यसको पृष्ठभूमि लामो छ। २०४३ सालमा मिर्मिरे पत्रिकामा मैले एउटा सूत्रकथा छपाएँ। मैले सोचेँ— वेद, उपनिषद्का मन्त्रजस्तै माइक्रोलेभेलका कथाहरू पनि त लेख्न सकिन्छ। लेखेँ र आफ्नो अवधारणा पनि त्यसमा आयो। मैले लेखेको थिएँ— सूत्रमा उपन्यास पनि लेख्न सकिन्छ। संयोगवश प्रयोग पनि मैले नै गरेँ। सूत्रमा टेकेर नै हामी रचनाको अन्त्यमा पुगी औपन्यासिकता दिन सक्छौं भन्ने पनि लाग्यो। मन्त्रहरू धेरै अर्थ लाग्ने सूत्रमा छन् भने उपन्यास पनि आदि र अन्त्य नभएको हुन सक्छ भन्ने निश्चित भएपछि पुग्यो। त्यो बेलामा यो उत्तरआधुनिक होला भनेरै चाहिँ लेखिएको होइन।’

‘तपाईं पाठकलाई कुन रूपमा हेर्नुहुन्छ ? विशेषगरी कृतिको अर्थ लगाउने उनीहरूको अधिकारलाई ? ’

‘एक चाहना त हुन्छ— मेरो सम्प्रेषण पनि व्यर्थ नजाओस् तर त्यसबाहेक पाठकले अरू अर्थहरू ल्याउँदा त झन् राम्रो ! लेखक स्वयम्भू होइन, ऊ एउटा हो— पाठक त धेरै हुन्छन् र धेरै पक्षबाट हेर्न सक्छन्। नराम्रो देखाइदिँदा अर्को लेखाइमा काम लाग्छ। समालोचकको काम त पाठक बनाइदिने हो— पाठक बढेपछि समालोचकलाई पनि हलुको हुन्छ। जेन्युइन पाठकले धेरै अर्थ लगाऊन्। पाठक ‘सर्वोपरि’ छ— कम छन्, त्यो छुट्टै दु:खको कुरा हो।’

‘तपाईंका आलोचक धेरै छन् तर तपाईं त आफ्नो आलोचना सुन्न सक्नु हुन्न भनिन्छ नि ? ’

‘त्यस्तो देख्नुभएको छ र ? प्रभावपरक ढंगको जुन नेपालीमा समालोचना चलेको छ, त्यसको प्रशंसा वा गालीले मलाई कुनै फरक पार्दैन। आलोचना गर्नेको जवाफ त म अर्को कृतिले नै दिन्छु। मैले नसहे पनि त्यसले गाली गर्न त छोड्दैन नि ! समालोचनाको जवाफ लेख्नुभन्दा एउटा कथा लेख्ता म सन्तुष्टि पाउँछु। तथाकथितको आलोचना गरेर मुरारी अर्यालले लेखेको वेदनामा पढेँ तर रिस उठेन। उहाँको दृष्टिकोणबाट मैले लेखेकै होइन, त्यसैले उहाँले आलोचना गर्नुभयो। मैले कभरमा छाप्नुपर्ने खालको छ त्यो आलोचना। मेरा कैयौं मिथकहरू चलेका होलान् बजारमा— त्यसमध्येको एउटा होला यो पनि।’

‘त्यसो भए नेपाली समालोचना कतातिर गइरहेको जस्तो लाग्छ त ? ’

‘लेखन र समालोचनाको स्तर बराबरै हुन्छ क्या ! म आफैं पनि प्रोत्साहित भएको थिएँ कृष्णचन्द्रसिंह प्रधानको लेखनबाट। उहाँ नयाँ प्रयोगलाई मन पराउनुहुन्छ। त्यस्ता केही पुराना समालोचकलाई छोड्दा धेरैले अतीतकै लेखक र कृतिलाई महत्व दिएको देखिन्छ। अर्कातिर यो गुटमा विभक्त छ। सिंगो राष्ट्रिय साहित्यको निर्माण त एकै थरीले हुँदैन नि ! समालोचकमा त झन् नीर-क्षीर-विवेक लागू हुनुपर्ने हो। अर्को समस्या के भने, लेख्न थाल्दा मित्रता र शत्रुताको कुरा हुन्छ। यी कुराले समालोचनाको स्तर खस्केको भनिएको हो तर अहिले हामीपछिका समालोचकहरू कारणसहित विश्लेषण गर्ने, आधुनिक, उत्तरआधुनिकताको ज्ञान भएका र सामथ्र्यका छन्। तिनले राम्रो गर्छन् र नेपाली समालोचना थाम्छन् भन्ने मलाई लाग्छ।’

‘वादका बारेमा यहाँको धारणा कस्तो छ ? ’

‘वाद वादमा आउने कुरा हुन्, फुरेपछि मात्र त्यसले पाठकलाई छुन्छ। म वादलाई अगाडि राखेर लेख्दिनँ— समाज अगाडि राखेर लेख्छु। समाजभित्रको व्यक्तिलाई र व्यक्तिभित्रको समाजलाई पनि लेख्छु अनि दोहोरो सम्बन्ध देखाउँछु।’

‘तर तपाईं बढी विसंगतितिरै हिँडेको देखिनुहुन्छ त ? ’

‘मेरा कृतिमा आउने विसंगति दार्शनिक खालको नभएर समाज र सम्बन्धको विसंगति हो— त्यसैमा व्यक्तिको अस्तित्वको विसंगति पनि जोडिन्छ।’

‘समाजमा जताततै विसंगति देख्नुहुन्छ र त्यसलाई मार्मिक शैलीमा चित्रण पनि गर्नुहुन्छ। यस प्रकारको भयंकर परिवर्तन कहिलेदेखि आयो तपाईंमा ? ’

‘तपाईंले अस्तित्ववादको कुरा उठाउनुभयो, नेपाली उपन्यासमा पारिजातको ‘शिरीषको फूल’ (२०२२) को अस्तित्ववाद र विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ (२०२५) को बीचमा ‘तपाईंको अन्त्यपछि’ (२०२४) देखियो— सँगै राखेर हेर्दा के फरक छ, अरूको भन्दा तपाईंको प्रयोग ? ’

‘पारिजात अस्तित्ववादको शून्यवादमा पुगेकी छन्, मचाहिँ कामुलाई मन पराउँछु तर म शून्यवादी होइनँ। विश्वेश्वरको अस्तित्वमा व्यक्तिभित्र जुन अस्तित्वको द्वन्द्वात्मक अवस्था छ, त्यो देखाइएको छ। मेरो अस्तित्ववाद विसंगतिको धारणामा बढी केन्द्रित छ। मेरो सूत्र हो : अर्थ + अर्थहीनता = विसंगति !’

‘अलिखितजस्तो समाजका धेरै पक्षहरू केलाउने उपन्यास लेख्नुभन्दा एउटै पात्रका सूक्ष्मतातिर गएर अरू उपन्यासलाई बढी संकीर्ण बनाएजस्तो लाग्दैन ? विशेषगरी बालुवामाथि र तथाकथितमा।’

‘तपाईंले भनेको ठीक हो— मलाई धेरैले ‘अलिखित’ले चिन्छन्। कहिलेकाहीँ विषयको छनोट कमजोर हुन सक्छ, पात्रभन्दा समाज बलियो भयो ‘अलिखित’मा। बालुवामाथि मोटो भएर पनि सानो घेरामा केन्द्रित छ। त्यो त्यसको असफलता पनि मान्न सकिन्छ— सीमित दृष्टिबिन्दु छ त्यसमा। नराम्रो भए पनि, त्यो मेरो लेखनको एउटा चरणको उपलब्धि हो। देवकोटाकै पनि शाकुन्तल र सुलोचनामा तुलना गर्दा शाकुन्तल विशेष लाग्दैन र ? लेखक चिप्लेको हुन्छ कति बेला त। त्यस्ता मेरा कथाहरू पनि छन् ...।’

‘भनिन्छ— धु्रवचन्द्र गौतम आफ्ना कृतिमा यौनको प्रयोग अचारका रूपमा गर्छन्। तपाईंका सबैजसो उपन्यासमा त्यस्तो प्रयोग पाइन्छ पनि। त्यस्तो प्रसंग पाठकलाई फसाउनका लागि चारो उनेको बल्छीका रूपमा राख्नुहुन्छ कि ? ’

‘त्यो होइन, लेख्तै जाँदा नै आउँछ यौन त। मैले एउटा मात्र यौनकथा लेखेको छु ‘हेल्लुस’ भन्ने। त्यो पनि मधुपर्कको यौनकथा विशेषांकका लागि। जीवन लेखिन्छ भने यौन त त्यसै आइहाल्छ नि ! प्रेमीप्रेमिकाका बीचमा

‘नेपालमा प्रजातन्त्र छ कि छैन’ भन्ने विषयमा बहस गराएर स्वाभाविक हुँदैन। अन्तरंग क्षणमा त्यस्तो गर्‍यो भने त पूरै असफल भइन्छ। त्यसैले मेरो कृतिमा आउने यौन आवश्यकता हो। प्रकृतिवादी पनि भनिएको छ मेरा उपन्यासलाई तर मेरा उपन्यासको ‘इम्प्रेसन’ यौन हुँदैन, आर्थिकता, राजनीति आदि नै हुन्छ।’

‘धु्रवचन्द्र गौतमको ‘विशाखदत्त तिम्रो नाउँ के हो ? ’ कथामा प्रयुक्त एउटा विनोद सम्झन्छु म, उनका विशेष प्रयोजनयुक्त शब्द र अन्तिमको वाक्य वा वाक्यांश यस्ता मर्मभेदी हुन्छन् कि तिनले अघिल्तिरका सामान्य लाग्ने अभिव्यक्तिलाई समेत व्यंग्यको चमक प्रदान गर्छन्। त्यसैले पाठक एक्लै पनि मुस्कुराउन थाल्छ। गरिबीको अभिव्यक्ति पनि यसरी हास्य रूपमा प्रकटित हुन सक्दोरहेछ: कोठा छ, झुल छ। झुल छोटो छ। काम चलिरहेको छ। घुँडासम्म लामखुट्टेलाई भाग लगाइएको थियो, जन्मजात रूपमा। यी अघि बढ्ने खुट्टा हुन्, लामखुट्टेले चुसेर के गर्छ ?

यही हो, धु्रवचन्द्रले प्रयोग गर्ने भनेको असित व्यंग्य ब्ल्याक ह्युमर वा रुग्ण विनोद !

‘तपाईं त लेखनमा समकालीनताको प्रतिनिधित्व गर्नुहुन्छ, कालजयी कृतिको आधार के हुन्छ ? ’

‘मेरो विचारमा लेखकको इमानदारी भनेको आफ्नो समयप्रति इमानदार हुने हो। म भविष्यवक्ता भएर लेख्छु, शाश्वत लेख्छु भनेर लेख्नेको यहाँ कल्याण छैन। आफ्नो समयकै लेखनमा कलात्मक गहिराइ दिन सक्नुपर्‍यो नि। समकालीनताबिना केको शाश्वतता ? कालिदास आजसम्म छन् भने त्यो आफ्नै समयको लेखनले हो। अतीतले मान्छे बाँच्छ तर हामी प्रतिबद्ध हुने भनेको आफ्नो युगप्रति नै हो।’

‘आख्यान र नाटक दुवैमा मिथक र स्वैरकल्पनाको प्रयोग गर्नुभएको छ, यसको रहस्य के हो ? ’

‘मिथकमा आधारित स्वैरकल्पना छ मेरो। पाश्चात्य साहित्यको जस्तो अचेतनबाट ल्याएको नभएर व्याख्या गर्न सकिने हुन्छ त्यो। मिथक प्रयोग गर्न मनपर्छ मलाई। तिनै कुराहरू फरक ढंगले आउँदा झन् शक्तिशाली हुन्छ लेखन। पहिले घटेको÷चलेको घटनालाई अहिलेकोसँग जोड्दा मीठो हुन्छ। ‘भीमसेन—४ को खोजी’ उपन्यासमा यस्तो स्वैरकल्पना छ नि !’

सधैं गुनगुनाइरहन मन लाग्ने छ सुन्दर समर्पणको उनको यो गीत :

बिर्सन सक्छु यो संसार म आफैंलाई

तिम्रो मीठो अनुहार बिर्सन सक्तिनँ

धन्यवाद र बधाई छ त्यो मीठो अनुहारलाई ! जसको अभावको क्षतिपूर्ति गर्न ध्रुवचन्द्र गौतमले बालुवामाथि बसेर बाँसुरी बजाउँदै उत्कृष्ट कृति लेखेर नेपाली साहित्यको रिक्त स्थान भरेका छन्। र, त हामीले सगौरव भन्न पाएका छौं अहिले, ‘नेपालीमा पनि जीवन्त र स्तरीय कृतिहरू छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.