रसलाफानको मोती संसार
अल हुबेला पुग्दा पनि चर्कै थियो घाम।
बाटाभरि गाडी हाँकिरहेका खेम भट्टराई भने यसो भनिरहेका थिए— ‘यो के घाम ? यो के गर्मी हो र !’
‘अहिले जम्मा ४७ डिग्री त छ नि। अलिक पछि ५५ सम्म पुग्छ !’
‘तर सरकारले त्यति धेरै तापक्रम भएको कहिल्यै बताउँदैन। दुई तीन डिग्री कमै बताउँछ। अन्तर्राष्ट्रिय जगत्लाई नढाँटे, यहाँका कामदारलाई कसरी काममा पठाउनु नि फेरि !’
खेमका कुरा सुनेर मैले जिब्रो टोकेँ।
आज रसलाफान गइरहेको थिएँ। प्रदीपजीको आत्मीयतालाई उद्धव, खेम र मैले स्वीकारेका थियौं। अझ समुद्रलाई नजिकैबाट छुने मैले यो अवसरलाई उम्किन दिएको थिइनँ।
झन्डै एक घन्टा जति निकै नै तीव्र रूपमा गाडी कुदाएर रसलाफानको समुद्री किनारमा खेमले पुर्याएका थिए हामीलाई।
सल्वा रोड यसै त दोहाभन्दा निकै पूर्व पर्छ। त्यो टाढाबाट पनि यो महा टाढासम्म अनेक भूगोल हेर्दै आउन पाएकोमा म मक्ख थिएँ, गद्गद् थिएँ र फुरुंग थिएँ।
प्रदीपजी माटाको छाप्रोमा बस्दा रहेछन्। भित्र चैं हरेक आधुनिक सम्पन्नताले भरिपूर्ण अनि व्यवस्थित पनि। बाहिर झुप्रो, भित्र चैं आलिसान महलको सुविधा र सजावट। क्या गजब !
केही ‘भोक’ र केही ‘तिर्खा’ मेटायौं छाप्रामा। अनि हामी समुद्रतिर गयौं नाङ्गै गोडामा। हातमा थियो ‘लेबर’ को चिसो झमझमे झोल।
उन्मुक्त र हार्दिक स्वभावका प्रदीप कुँवरसँग म पनि झ्याम्मिइहालेँ।
समुद्रको पानीजस्तै उनी र म छिट्टै मिसियौं। खेम पनि उस्तै थिए सरल, सहज र सरस।
अल हुबेलाको सामुद्रिक किनार कतार फाउन्डेसनको अधीनस्थ क्षेत्र रहेछ।
स-साना घर, छाते टहराहरू र त्रिपाल हालिएका कोठा यताउता थिए। नीलो समुद्रसँग जोडिएको सुन्दर सामुद्रिक किनारमा ढुंगाका बारबेरसँगै नरिवल र खजुरका लामा-लामा पातले बारिएको थियो।
हामीले समुद्रसँगै जोडिएका कुर्सीमा आफ्ना खानेकुरा सजायौं। छातामुनिको टेबललाई आपूm अन्सार मिलायौं।
अथाह थियो नीलो समुद्र !
म त बोतलको एक-दुई थोपा खाएर समुद्रमा हातखुट्टा डुबाउन पुगिहाल्थेँ। एउटा पानीलाई अर्को पानीले थिचथाच पारिरहेको थिएँ। मन त फेरि-फेरि पानी भइहाल्थ्यो।
पानीमा आफैं मात हुन्छ। त्यो मातलाई वातावरण र हृदयले गहिरेर पढ्न थालेपछि उल्काको मादकता सर्सराउँछ छातीमा, आँखामा र चेतनामा। मातले लर्बरिन थालेको थिएँ म, समद्रको पानीको मातले।
साथीहरू गीत गाउँदैछन्— ‘अघि-अघि सिसैको गोली पछि-पछि मेसिनगन फरर्र..... !’
मैले उनीहरूलाई छोडिदिएँ— ‘आजको दिन तिमीहरू पानी पिइरहेछौ। म पानी पढिरहेछु !’
नीलो समुद्रमा मन पुगेर निथ्रुक्क भिजेको छ। कहाँ-कहाँ पर ...। एकदमै परसम्म लमतन्निएको पानीको संसार। परेली गलुन्जेलसम्म म समुद्रको हलचल निहाल्छु।
समुद्रमा बेलाबेला कानै खाने बोटहरू आकाशतिर छाल हुर्याएर हुइँकिन्छन्। चकमन्न सुन्दरता भत्किन्छ। म कान थुन्छु।
आवाज कुदेको देखिन्छ, दौडाउनेको अनुहार देख्दिनँ !
मलाई समुद्रको अक्षर-अक्षर पढ्न मन छ आज। समुद्रको वाक्य-वाक्य पढ्न छ। समुद्रको अनुच्छेद अनुच्छेद पढ्न मन छ यतिखेर।
समुद्रले सास फेरेको सुन्न मन छ आज। समुद्रको मौनता निहाल्न मन छ आज। समुद्रको तपस्या हेर्न मन छ आज।
‘यो कहाँसम्म पैmलेको होला ? ’
मेरो खुल्दुली बढिरहेको छ— अथाह जलराशि देखेर।
म बालुवाले पुरिएर आएँ। यो एउटा बेग्लै आनन्द हो, उन्माद हो र शान्ति हो।
‘कहाँ गएर टुंगिन्छ समुद्र ? ’
घाम डुबिरहेको दिशातिर देखाएर मैले सोधेँ।
‘त्यता इरान पर्छ !’
‘यो समुद्र पनि इरानसम्म पुगेर जोडिन्छ !’
कुँवर बोलिरहेका छन्।
गीत बजिरहेको छ—
‘पानी पर्यो असिना झर्यो
दाइको रुमाल भाउजूलाई मन पर्यो
... ... ... ... ... ... ... ... ... !’
पानीकै छेउ-छेउमा छौं। तैपनि पानीकै गीत आइरहेको छ। वरिपरि पानी नै पानीले मताएको वातावरण छ। प्रकृति नै पानीमय छ।
घाम डुबिसकेपछि आइपुगे भूमिराज कार्की र राधिका क्षेत्री। उनीहरूसँग हाम्रो गीतांगे टोली झन् जमेर रमाउन थाल्यो।
भूमि जति हार्दिक छन्— अझ बढी सहयोगी छन्, प्रिय छन् र मनकारी छन्।
समुद्रमा हरेक कुरा एकै खालको लाग्दो रहेछ।
पानीका छाल... लहरहरू...। किनारमा टल्पलिएका टलपल-टलपल थोपाहरू...। के समुद्रले सबैलाई आपूmभित्रै निलेको हो ? के समुद्रले आपूmमा समाहित गरेको हो ? के समुद्रले आफ्नो दबदबा देखाएकै हो ?
रसलाफानको समुद्री किनार मोती उत्पादनका लागि सुविख्यात रहेछ। कतारी राजपरिवारको लगानी रहेको कतार फाउन्डेसनको ठूलो आम्दानीको हिस्सा यो मोती पनि एक रहेछ।
नीलो समुद्रमा बेला-बेलामा भुल्का उठेको देख्छु। पानीभित्र पानीको संघर्ष होला, युद्ध होला, द्वन्द्व होला। पानीमा पानीको समागम होला, अंकमाल होला, खित्का पनि त होला। पानीको उल्लास कहाँ पढ्न सक्छौं र हामी मानिसले !
सङ्लो पानी— समुद्र हाँसेको होला। धमिलो पानी— क्रोध उब्जिएको होला समुद्रमा।
म यत्तिकै फुस्फुसाइरहेको छु।
समुद्रभरि राता-राता सार्हा न सार्हा गोला डल्लाहरू छरिएका छन्। ती सुरक्षाका चिन्ह हुन् रे !
हामी घुम्दै-घुम्दै दक्षिणतिरको किनारमा गएर डुबिरहेको घामलाई समात्न खोज्छौं। समुद्रमा अस्ताएको सूर्य मैले यहीँ देखेँ। नीलो समुद्र र रातो घामको मिलनमा मेरो मन फेरि एक पटक पग्लियो...। हो, पग्लियो...।
कँवरले एउटी थाइल्यान्डकी युवतीलाई डाकेर निकै तस्बिर खिच्न लगाए। कँवरकै कर्मचारी रहिछ ऊ।
समुद्र भित्र-भित्र पसेर ऊ फोटो खिच्छे रे ! हामीलाई फोटो खिच्दा पनि उसका शरीरका लुगा ल्याप्पैm भिजेका थिए। जलपरीले खिचेका तस्बिर राम्रा माने साथीहरूले।
पश्चिमपट्टि थुप्रै कलात्मक सिपीहरू किनारभरि छरपष्ट देखिन्थे। मैले केही ती सिपी भेला पारेर खल्तीमा हालेँ। तर सिपी भित्रको जीवाश्म कुहिएकोले बेला-बेला मेरा नाकमा सिनो गनाएको हरक आएर ठोक्किइरहन्थ्यो। तै साथीहरूले पत्तो पाएजस्तो लागेन।
साँझ पर्दै गएपछि खाने-पिउने क्रम झन् चम्कियो। नाच पनि थपियो। गीत पनि घन्कियो। भाका पनि फेरियो।
समुद्र जत्तिकै भयो जीवन त !
अब त पर-परसम्म झन् बत्ती बालेर समुद्रमा किरण छरिन थाले। पानीको छप्लाङछुप्लुङमा हल्लिएका राता, पहेँला, नीला र हरिया बत्तीहरू एकदमै लोभलाग्दा देखिन थाले। रंगीन समुद्रमा रंगहीन मन।
अँध्यारोमा समुद्र अघोरै मादक लाग्दो रहेछ। अन्धकारमा समुद्र एकदमै उत्तेजक देखिँदो रहेछ। रातमा समुद्र निकै भयावह हँदो रहेछ।
यी मात, उत्तेजना र भयावह मिसिएर मेरा रगतमा भावुकता बगिरहेछ... बगिरहेछ...।
मैले साथीहरूलाई भनेँ— ‘आज खजुरबुट्टे, श्रीलंके रक्सी नखाए पनि बेस्सरी मात्तिएको छु म। समुद्रले मत्तायो मलाई !’
साथीहरू हाँसिरहेकै थिए।
रसलाफानको समुद्री किनार मोती उत्पादनका लागि सुविख्यात रहेछ। कतारी राजपरिवारको लगानी रहेको कतार फाउन्डेसनको ठूलो आम्दानीको हिस्सा यो मोती पनि एक रहेछ।
समुद्रमुनि हुने सिपीलाई मोती प्रजनन गराउन यो क्षेत्रमा वातावरण तयार गरिँदो रहेछ। यहाँ उत्पादन हुने मोती विश्व प्रसिद्ध मानिने रहेछ।
‘पर्ल फार्म’ भनेर प्रख्यात रसलाफान सामुद्रिक सुन्दरतामा अद्भुत छ, अप्रतिम छ र अपार छ। यसको कुनै अन्य तुलनीय समुद्री किनार मैले ठानिनँ।
राति अबेरसम्म साथीहरूले गीत बजाए, चुड्का हाले र सुसेला मारे। तर म घरी-घरी समुद्र अँगाल्नै जान्थेँ। समुद्र छुनै मलाई पुगेको थिएन। समुद्र हेरेरै म अघाएको थिइनँ।
अरू खाइरहँदा नि मेरा हात समुद्रमा अँजुली हाल्न पुग्थे। अरू गाइरहँदा पनि मेरा गोडा समुद्रका लहर नाप्न पुगिसक्थे। अरू नाचिरहँदा नि मेरा आँखा हत्तारिएर समुद्र किनारका छाल गन्न पुगिसकेका हुन्थे।
म जतिबेलै अतृप्त, अपूर्ण र अथकित हुन्थेँ— समुद्र हेर्दा।
अल हुबेलाका सामुद्रिक तीरमा प्लास्टिकका १० वटा डुंगा तैरिरहेका थिए। एउटा ठूलै बोट पनि थियो। हामीले कुदाउन नसके पनि स्टेरिङ समातेरै मनको सन्तोष मेटाएका थियौं।
मन त्यत्तिकै पौडेको थियो— डुंगामा के पौडिरहनु र मैले त !
आधा रातमा हामीले समुद्रसित बिदा माग्यौं। प्रदीपजीकोमा पाहुना भएर आएको थिएँ— यतिखेर साथी भएर बिदा भएँ।
समुद्रको लहरमा आवाज पनि सुनियो— ढलपल... ढलपल...। घप्लक्...घप्लक्... लहरको आवाजले रातको समयसँग कानेखुसी गरिरहेको लाग्थ्यो।
रातको चकमन्नमा किनार छोएर फर्किरहेका लहरको संगीत। ती लहरसँग मैले एकै छिन मनको धुकधुकी मिसाएर सुनिरहेँ... सुनिरहेँ...।
सधैं जित्ने म। आज समुद्रको रूपसँग हारेर फर्किरहेको थिएँ। त्यो आवाज नै मलाई चिनो भो ‘मोती’।
स्नेहको कोसेली मोती !