एकसिंगे गैंडाको पछिपछि...
लगभग दुई वर्ष लगाएर बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा खिचिएका फोटो हुन् यी। पहिले पनि वन्यजन्तुका यस्ता फोटोहरू खिचेको थिएँ। म वन्यजन्तुको फोटो खिच्दै बरालिन मन पराउँछु। सौराहामा जन्मे÷हुर्केकाले पनि मलाई जीव-जनावरतिर अझै धेरै आकर्षण भयो कि !
नेपालमा कस्ता खाले गैंडा पाइन्छ भनेर विश्वलाई चिनाउनु, जानकारी गराउनु जरुरी छ। हाम्रोमा पाइनेजस्तो एकसिंगे गैंडा संसारमा अन्त कतै पाइँदैन। यसबाट हाम्रो पर्यटनमा पनि टेवा पुग्छ।
जंगली जीव जनावरहरूको फोटो खिच्न एकदमै गाह्रो हुने रहेछ। यी फोटोहरू खिच्दा पनि केही कठिनाइहरू भोग्नु परेको थियो। जसलाई म स्वाभाविक मान्छु। जंगलमा फोटो खिच्दै हिँड्ने क्रममा जुनसुकै बेला पनि वन्यजन्तुको आक्रमणमा पर्न सकिन्छ। यस्ता घटनाहरू व्यहोरेको पनि छु। कतिदिनसम्म क्याम्प बनाएर जंगलमै बसेँ। त्यसबेलाका भय र रोमाञ्चकता मिसिएका अनगिन्ती क्षणहरू छन्। गैंडाकै फोटो खिच्न गाह्रो भयो। गैंडा खोज्नै समय लाग्यो। उनीहरूको पाइलाको डोब, दिशा हरेर पत्ता लगाउनुपर्ने। कहिलेकाहीँ हिँड्दै गर्दा झ्याप्पै अगाडि नै भेटियो। अपर्झटमा भेटिएको बेला निकै डर हुन्छ। आक्रमण गर्ने सम्भावना बढी हुन्छ। धेरैचोटी भाग्नु परेको अनुभव पनि छ।
नेपालमा गैंडाको संख्या साढे ६ सयको हाराहारीमा छ। नेपाल र भारतमा मात्र पाइने एकसिंगे गैंडा लोपोन्मुख जंगली जनावरमा पर्छ। यसको छाला बाक्लो हुनुका साथै हल्का चाँदी रङको हुन्छ। पहिलापहिला पाकिस्तान, बर्मा र चीनसमेत पाइन्थ्यो। अहिले नेपालले चीनलाई उपहार स्वरूप बेलाबेलामा दिँदै आएको छ। यसको संरक्षण नहुँदा प्रकृतिबाट एउटा महत्वपूर्ण जीव लोप हुन सक्ने खतरा छ। यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्छ।
नेपाल र भारतमा मात्र पाइने एकसिंगे गैंडा संसारका अन्य स्थानबाट लोप भइसकेको छ। यसको अवैध रूपमा चोरी निकासी हुने गरेको छ। यसप्रति सम्बन्धित निकाय अझै गम्भीर हुनुपर्ने देखिन्छ। वन्यजन्तु संरक्षणमा राज्यले मात्रै होइन आम नागरिकले समेत आफ्नो कर्तव्य ठान्न सके संरक्षणमा सघाउ पुग्ने देखिन्छ।
गैंडाको २० देखि १०० सेमिसम्म लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ।