‘सांस्कृतिक युद्ध’को मोर्चा सम्हाल्ने एक्लो सिपाही

‘सांस्कृतिक युद्ध’को मोर्चा सम्हाल्ने एक्लो सिपाही

सन् १९४७ को जुन १९ तारिख। तत्कालीन ब्रिटिस उपनिवेश भारतको बम्बे(हालको मुम्बई) सहरको पूर्वदिशामा पहेँलो घाम उदाउँदै थियो। त्यही घामको किरण धरतीमा खस्दै गर्दा आमा नेगिन भाट एक बालकलाई जन्म दिन्छिन्। त्यही बालकले आफ्नो जन्मको केही दशकपछि प्राज्ञिक बल र किताबी अस्त्रका माध्यमबाट विश्वको शासकीय सत्ताको धरोहर हल्लाउँछ। तिनै बालक आजका चर्चित एवम् स्थापित लेखक सर अहमद सल्मान रुस्दी हुन्।

रुस्दी एक व्यापारिक घरानामा जन्मिएका हुन्। काश्मिर मूल थलो भई क्याम्ब्रिजमा अध्ययन गरेका उनका पिता अनिस अहमद रुस्दी कानुन व्यवसायी तथा शिक्षक थिए। उच्च शिक्षाका लागि बेलायत जानुपूर्व सल्मान रुस्दीले तत्कालीन बम्बेको ‘क्याथेड्रल’ र ‘जोन क्यानन्’ शिक्षालयमा प्राथमिक शिक्षा हासिल गरेका थिए। लेखनको पाटो खोतल्दा, जादुयी यथार्थ (म्याजिक रियालिज्म्) र इतिहासको समि श्रण उनको औपन्यासिक लेखनको खास धार हो। यही धारमा लेखिएका दर्जन बढी उनका किताबले विश्व साहित्यको चाङमा थप उचाइको टेको दिएर उकास्न सघाएका छन्।

रुस्दीले लेखकीय दुनियाँमा हात हालेको पहिलो उपन्यास ‘ग्रिमस’ (१९७५) हो। यो विज्ञान कथा हो। यस उपन्यासले एकजना भारतीय जवानले अमृत पिएपछि अमूर्तताको ब्रदान पाएको कथा भन्छ। कतिपय आलोचकले यसलाई ‘बाह्रौं शताब्दीको सुफी साहित्यमा आधारित जीर्ण स्वैरकल्पना’ भनी टिप्पणी गरेको भए तापनि त्यतिबेला यस उपन्यासले रुस्दीको लेखकीय धरातल निर्माण गर्न मात्रै सघाएन, उनलाई लेख्नको लागि आत्मबल प्रदान गर्ने काममा पनि कामयाव भयो।


सन् १९८८ मा बेलायतबाट प्रकाशित ‘द स्याटनिक भर्सेस’ जति अब्बल उपन्यास हो, त्यही हाराहारीमा विवादित पनि बन्यो। ‘रुस्दी अफेयर्स’को रूपमा पनि चिनिने यसको प्रकाशनपश्चात् विश्वभरका मुस्लिम समुदायमा आक्रोशको आगो झोसियो। किताबी विषयवस्तुकै कारण सम्पूर्ण इस्लाम विश्वलाई एकत्रित गर्ने विवादको बिउ पहिले चाहिँ पाकिस्तानमा रोपिएको थियो। उक्त किताब विश्वबजारमा पुग्दै गर्दा पाकिस्तानले निचोड निकालिसकेको थियो- रुस्दीले ‘द स्याटनिक भर्सेस’बाट इस्लाम समुदायमाथि गहिरो ठेस पुर्‍याए, जुन अक्षम्य अपराध हो। त्यसकै कारण विक्षिप्त बनेको इस्लामावादले आफ्नो भूमिबाट बाँकी मुस्लिम विश्वतिर आक्रोशको आगो सल्कायो।

यसरी सिंगो इस्लाम समुदायमाथि आक्रोशको आगो सल्काउने कारक बनेको ‘द स्याटनिक भर्सेस’ लेख्ने रुस्दीउपरको आरोप चाहिँ खास के थियो त ? समग्र मुस्लिम समुदायले उनीमाथि लगाएको आरोप थियो- मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अवमूल्यन। रुस्दीले मोहम्मदलाई सैतानी रूपबाट किताबी पात्र बनाएको ठहर मुस्लिम समुदायले गर्‍यो। त्यही ठहर गरेर उनीमाथि मुस्लिम समुदाय यसरी खनियो कि रुस्दी एक्लै एकातिर, सिंगो मुस्लिम विश्व अर्कातिर भयो। ‘इस्लामिक रिपब्लिक अफ इरान’का तत्कालीन सर्वोच्च धार्मिक÷राजनीतिक नेता आयातोल्लाह खोमेनीले त सन् १९८९ मा रुस्दीको हत्या गर्नेलाई इनाम दिने आदेशसहित उनीविरुद्ध ‘फतवा’समेत जारी गरे। किताब लेखेकै कारण आफ्नै समुदायबाट रुस्दीमाथि गरिएको सबैभन्दा निर्मम प्रहार थियो त्यो। एउटा लेखकका लागि यहाँभन्दा कठोर सजाय सम्भवत: अरू केही हुन सक्दैनथ्यो।

युद्धोत्तर साहित्य लेखनकालमा त्यसरी मृत्युदण्डको खुलेयाम सजाय घोषणा गरिनु मानवतावादको चरम खिलापमा थियो। एक दुर्भाग्यपूर्ण घटनाका रूपमा बाँकी विश्वले विरोध जनाइरहँदा यता भारतमा भने ‘जनता दल’को दबाबमा तत्कालीन राजीव गान्धी सरकारले ‘द स्याटनिक भर्सेस’माथि प्रतिबन्ध लगाउने निधो गरिसकेको थियो। त्यसो त साउदीको लगानी रहेको ‘इस्लामिक फाउन्डेसन अफ् लेइचेस्टर’ नामक संगठनले बेलायतमै पनि उक्त किताबमाथि प्रतिबन्ध लगाउने प्रयास नगरेको होइन।

सिंगो इस्लाम समुदायमाथि आक्रोशको आगो सल्काउने कारक बनेको ‘द स्याटनिक भर्सेस’ लेख्ने रुस्दीउपरको खास आरोप थियो - मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अवमूल्यन।

‘फतवा’ जारी भइसकेपछि रुस्दी लन्डन महानगरीय पोलिसको ‘स्टकल्याण यार्ड’को शरणमा लगिए। आफ्नो जीवनकालको महत्वपूर्ण नौ वर्षसम्म उनी विशेष प्रहरी सुरक्षामा आफ्नो अस्तित्व रक्षाका निम्ति संघर्ष गर्नुपर्‍यो। चारैतिरबाट एक्लिए उनी। आफ्ना हितैषी र परिवारबाट पनि अपेक्षित सहगोग पाउन सकेनन्। पत्नीले पनि साथ दिइनन्् उनलाई। बेलायती हवाई सेवाले इस्लामिक अतिवादीबाट आफूलाई खतरा उत्पन्न हुने हवाला दिँदै रुस्दीलाई आफ्नो हवाई सेवा प्रयोग नगर्न आग्रह गर्‍यो। कतिपय राजनीतिज्ञ तथा हितैषीसमेत त्रासकै कारण उनीसित दूरी बढाए। उनीबाट टाढा बस्न रुचाए। किताबले इस्लाम विश्वलाई यतिधेरै आक्रोशित तुल्यायो कि धार्मिक गुरु पैगम्बर मोहम्मदको पक्ष र रुस्दीको विपक्षमा विश्वका कतिपय स्थानमा हिंसात्मक प्रदर्शनसमेत भए।

इस्लाम समुदायको विरोध उपन्यासको शीर्षकसँग पनि थियो। त्योभन्दा बढी यसका केही भागमा। ती भाग मुस्लिम पवित्र धर्मग्रन्थ कुरानसित सम्बन्धित थिए। कुरानमा वर्णित धर्मगुरुको पवित्र स्थानलाई भ्रमित तुल्याएको र ‘सत्यलाई तोडमोड गरी बंग्याइएको’मा इस्लाम विश्व उनीविरुद्ध रिसले चुर भएको थियो। एउटा किताब लेखेकै भरमा उनले एक तहको ‘सांस्कृतिक युद्ध’ नै लड्नुपरेको तर्क त्यतिबेलाका केही नामुद टिप्पणीकारको छ। आफ्नो पक्षबाट उक्त ‘सांस्कृतिक युद्ध’ लड्ने उनी एक्ला सिपाही थिए। आफ्नो मोर्चा उनी एक्लैले सम्हाले, कोही आएन उनको ‘ब्याकफोर्स’ बनेर। उनीमथि थुप्रैपटक हमलाका प्रयास भए। ज्यान लिने धम्की हजारौं आए। तैपनि, उनी आफूसित चाहिँ कहिल्यै हारेनन्। भलै, प्रज्ञिक चेतका रुस्दी विवादलाई लम्बाइरहन उचित ठानेनन्। र, बाँकी इस्लाम विश्वसित माफी माग्ने निधो गरे। त्यसपछि क्रमश: विवाद मत्थरिने दिशामा गयो।

यता इरानी धार्मिक नेताले जारी गरेको ‘फतवा’ झन्डै एक दशकसम्म उनको थाप्लामा रहिरह्यो। त्यस अवधिमा शिरमा ‘फतवा’को घुम्टो ओढेर आफ्नो मृत्युको निम्तापत्र साथै बोकेर हिँड्न बाध्य भए। तर, सन् १९९८ मा फेरिएका नयाँ इरानी राष्ट्रपति मोहम्मद खतामीले उक्त ‘फतवा’ निष्क्रिय तुल्याइदिएपछि रुस्दी सार्वजनिक जीवनमा फर्किए। ‘फतवा’काल गुजारी सकेपछि सार्वजनिक जीवनमा फर्किंदै गर्दा सन् १९९९ मा रुस्दीले ‘द ग्राउन्ड बिनिथ हर फिट’ नामक उपन्यास प्रकाशित गरे।

सन् २०१२ मा संस्मरणात्मक किताब लेखे- ‘जोसेफ एन्टोन।’ त्यही वर्षका लागि ‘सामुअल जोन्सन’ पुरस्कारको १४ किताबको लामो मनोनयन सूचीमा अटाउन सक्षम बनेको यस आत्मवृत्तान्तमूलक गैरआख्यानमा रुस्दीले आफूमाथि ‘फतवा’ जारी भइसकेपछिका निर्मम र धारिला अनुभवलाई समेटेका छन्। प्रहरीको सुरक्षा घेरामा बितेको आफ्नो कठोर दैनन्दिनीको आयामलाई सहज रूपमा मनोवैज्ञानिक रंगसहित विश्लेषण गरेका छन्। आफ्नो व्यक्तिगत जीवनले भागेको डरलाग्दा उल्झन, तत्कालीन बेलायती मित्रहरू पल थेरोक्स्, बिल बुफोर्ड आदिसितको सम्बन्धको उचाइ तथा दोस्री पत्नी मेरिआनी विजिन्स्सँगको सम्बन्धविच्छेदबाट आफूमा परेको असरको आयामलाई समेत व्याख्या गरेका छन्। सँगै तेस्री पत्नी एलिजावेथ वेस्ट र चौथी पत्नी पद्मा पार्वती लक्ष्मी विद्यानाथनसितको मिलन र सम्बन्धविच्छेदको घटना पनि ‘जोसेफ एन्टोन’को विषवस्तुको दायरामा अटाएका छन्।


रुस्दीले लेखेको अर्को दमदार उपन्यास हो, ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१)। त्यही वर्षका लागि ‘जेम्स टेट ब्ल्याक मेमोरियल प्राइज’ र ‘बुकर प्राइज’ पनि यसले जित्न सफल भएको थियो। बेलायती औपनिवेशिक चंगुलबाट भारतले स्वतन्त्रताको बैसाखी टेक्दै गरेको कालखण्डका सामाजिक-राजनीतिक आयामलाई यस किताबले मिहिन रूपमा केलाउँदै औपन्यासिकीकरण गरेको छ। सन् १९४७ ताका भारतले बेलायती उपनिवेशबाट स्वतन्त्र हुँदै गर्दा जन्मिएको एउटा बालकको कथा समेटिएको यस उपन्यासले भारत विभाजनको दर्दनाक कथा पनि बिछट्टै कलात्मक शैलीमा भन्छ।

यस उपन्यास उत्तर औपनिवेशिकको कोटीमा पर्छ। त्यसो त उत्तरआधुनिक उपन्यासको कोटीमा पर्ने अब्बल उदाहरण रूपमा पनि यसैको नाम लिने गरिन्छ। यसमा सन् १९७५ देखि १९७७ सम्म तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय लोकतन्त्रको घाँटी निमोठ्ने गरी लादेको संकटकालको खरो आलोचना गरिएको छ। त्यसैले पनि होला यस उपन्यास विश्वका पाठकको चासोको केन्द्रमा लामो समय रहिरह्यो। त्यसो त पछि यस उपन्यासमाथि दीपा मेहेताको निर्देशनमा सिनेमा पनि बन्यो। तर, इन्दिरा गान्धीको नकारात्मक छविलाई देखाइएको आरोपमा भारतमा भने वितरक नै पाउन हम्मे पर्‍यो निर्मातालाई। अन्तत: यसको विवाद चुलिएर अदालतको दैलो ढक्ढक्याउन पुग्यो।

सन् १९८३ मा रुस्दीले पाकिस्तानी राजनीतिलाई केन्द्रमा राखेर अर्को उपन्यास लेखे- ‘सेम।’ चर्चित पाकिस्तानी राजनीतिज्ञ जुल्फीकर अलि भुट्टो र जर्नेल मोहम्मद जिया-उल-हकको कार्यकाल र जीवनकालका उत्तारचढाव यो उपन्यासको गुदो हो, जुन फ्रान्सबाट प्रदान गरिने ‘बेस्ट फरेन बुक अबार्ड’समेत हात पार्न सफल भएको थियो। त्यसैगरी, सन् १९९१ मा ‘इम्याजिनरी होमल्यान्ड्स’ लेखे। ६ खण्डमा विभाजित गैरआख्यानको संग्रह हो यो। ती ६ वटा खण्डअन्तर्गत ‘मिडनाइट्स चिल्ड्रेन’, ‘पोलिटिक्स् अफ इन्डिया एन्ड पाकिस्तान’, मुभी एन्ड टेलिभिजनलगायतका खण्डमा शीर्षकगत रूपमा सन् १९८१ देखि १९९२ सम्म उनले भोगेको समय र ती समयका आफ्ना राजनीतिक, सामाजिक तथा मनोवैज्ञानिक अनुभवलाई समेटेका छन् रुस्दीले। तत्कालीन भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएर सत्ता थामेकी थिइन्। अर्थात् रुस्दीले त्यही समयका राजनीतिक तथा लोकतन्त्रको मूल्यको खिलापमा गरिएका असीमित शक्ति अभ्यासका उत्तारचढावलाई यस किताबमा समेटेका छन्।

‘द मुर्स लास्ट साई’, सन् १९९५ मा प्रकाशित रुस्दीको पाँचौं उपन्यास हो। तत्कालीन बम्बे र कोची सहरको सेटिङमा बुनिएको यस उपन्यासको कथानकले कथावाचकको चार पुस्ताको कथा भन्छ। यस उपन्यासले सन् १९९५ को लागि ‘ह्विटब्रेड’ र सन् १९९६ को लागि ‘एरिस्टिओन’ पुरस्कार समेत जितेको थियो। उनको पेसागत आयामको कुरा गर्दा, सन् १९७० को दशक उनी बेलायती विज्ञापन एजेन्सी ‘ओगिल्भी एन्ड म्याथर’को लागि विज्ञापन लेखकको रूपमा काम गरे। रुस्दीले सन् २००५ मा भारत-पाक विवादित कश्मीर क्षेत्र र आतंकवादको चिरफार गरेर ‘सालिमार द क्लाउन’ नामक उपन्यास लेखे।

‘द गोल्डेन हाउस’ (२०१७) उनको पछिल्लो उपन्यास हो। चर्चित उपन्यास ‘द ग्रेट ग्याट्स्वी’ र ‘ब्राइडस्हेड’सित तुलना गरिएको यस किताबले समकालीन अमेरिकी अर्थ राजनीतिक परिदृश्यलाई खोतल्ने काम गरेको छ। बाराक ओबामाको चुनावी कालबाट थालनी हुने कथाले आठवर्षे कालखण्डको अमेरिकी उत्तारचढावलाई भन्छ। डोनाल्ड ट्रम्प जस्तै लाग्ने निरो नामको मुख्य पात्रलाई अर्थराजनीतिक कथ्यको केन्द्रमा राखेर मजबुत शैलीको कथावाचन गर्छ। खासगरी, उपन्यासमा राजनीतिक रूपले ताता तथा समय सान्दर्भिक विषयवस्तु छान्न माहिर रुस्दीको त्यही गुणका कारण पनि उनको लेखन बढी जब्बर कोटीमा पर्ने गरेको हो।

रुस्दी खरो मत निर्माण गर्ने र तार्किक टिप्पणी गर्ने राजनीतिक विश्लेषकको रूपमा पनि चर्चित छन्। उनले ‘ह्वाइट हाउस’को २१औं शताब्दीको हस्तक्षेपकारी विदेशनीतिको पनि तिखो आलोचना गरेका छन्। बोस्नियामाथि गरिएको ‘नेटो’ सैनिक तथा अमेरिकी हस्तक्षेपको पक्षमा रहेका रुस्दी इराकमाथिको हस्तक्षेपको भने रुखो आलोचना गरेका थिए। राजनीतिक टिप्पणी गर्दा खासगरी वाक स्वतन्त्रता, अल्पसंख्यकको अधिकार र आधारभूत मानवअधिकारको खुला तथा नैसर्गिक हकबाट निर्देशित रहने गर्छन्। उनका तर्कका आधार लोकतान्त्रिक मूल्य हुन्। ‘सर्वजन हिताय सर्वजन सुखाय’को मूल मन्त्र नै उनको राजनीतिक आस्थाको गुदो हो। मानवतावाद नै उनको खास धर्म हो।

मुम्बईको अल्पसंख्यक मुस्लिम समुदायका हुर्किएका र मुस्लिम संस्कृतिलाई अति नजिकबाट समेत चिनेका÷भोगेका सल्मान रुस्दीले इस्लाम धर्मको पुनरावलोकन गर्ने बेला घर्किइसकेको टिप्पणी गर्दै आएका छन्। सन् २००५ मा ‘द सन्डे टाइम्स्’को एक संस्करणले इस्लाम धर्मसम्बन्धी रुस्दीको अभिमत छापेको थियो। जसका अनुसार, ‘बुर्काले मुस्लिम महिलालाई धुलोबाट त बचायो, तर सशक्तीकरण हुनबाट भने रोक्यो। अब बन्द ढोकाका पल्लाहरू उघारिनुपर्छ। इस्लाम धर्मका परम्परावादी कठोर धार्मिक मान्यताको पुनर्विचार गरिनुपर्छ।’ त्यसो त इस्लाम धर्मको मात्रै होइन हिन्दु, क्रिश्चियनलगायतका धर्मभित्र निहित नकारात्मक पक्ष अर्थात् कट्टरताको खुला आलोचना गर्ने कमैमध्ये उनी एक हुन्।

कलिलै उमेरमै रुस्दीले विश्वको ध्यान खिचिन सक्ने हैसियतका किताब लेखे। रुस्दीको खास लेखकीय कौशल के हो त ? कुन गुणको बलमा उनका किताब यति भाँती अब्बल बन्न सकेका हुन् त ? उत्तर सहज छ। धारिलो राष्ट्रवाद, धार्मिक अतिवाद एवम् विस्तारवादको विरोधी स्वर र समकालीन मुद्दाको औपन्याशिकीरण गर्न सक्ने खुबीकै कारण उनको लेखनले विश्व साहित्यमा अब्बल स्थान ओगट्न सफल भएको हो। सन् २००८ मा ‘टाइम्स अफ लण्डन’ले ‘सन् १९४५ देखिका ५० महान् बेलायती लेखक’को सूची प्रकाशित गर्दै त्यसको तेह्रौं स्थानमा सल्मान रुस्दीलाई राखेको थियो। सन् २००७ मा रानी एलिजावेथबाट सम्मानित रुस्दी सन् २००८ मै ‘अमेरिकन एकेडेमी अफ् आर्टस् एन्ड लेटर्स’को सदस्यमा मनोनीत पनि भएका थिए।

विश्व सहित्यमा गन्ने हो भने कुनै न कुनै रूपमा विवादमा तानिएका लेखक थुप्रै छन्। अंग्रेजीमा लेख्ने भारतीय मूलका लेखकको सूची हेर्ने हो भने चाहिँ बढी विवादितको सूचीको टुप्पोतिर सायद रुस्दी नै पर्छन् होला। उनी आज आफ्ना बहुआयामिक विधाका किताबमार्फत विश्वको लेखकीय सत्तामा मजबुत हैसियतसहित दरिएका छन्। कतिपय अवस्थामा विश्वको सामरिक-आर्थिक शासकीय शक्तिसमेत कायल भएको छ रुस्दीको लेखाइका अघिल्तिर। ‘ह्वाइट हाउस’ प्रशासनको मथिंगल पनि चक्कराएको छ उनका कतिपय विचारका अघिल्तिर। सन् १९६८ मा क्याम्ब्रिज विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर उपाधि हासिल गरेका सल्मान रुस्दी २०औं शताब्दीको उत्तराद्र्धदेखि आजसम्म एकछत्र प्राज्ञिक सत्तामा आफ्नो प्रभुत्व कायम राख्न सफल एकजना प्रभावशाली लेखक हुन्।

(‘द गार्डियन’, ‘द सन्डे टाइम्स्’, ‘द न्युवर्क टाइम्स’ लगायत स्रोत सामग्रीको सहयोगमा।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.