यस्तो छ क्रिकेटर-बलिउड कनेक्सन
क्रिकेटर र बलिउडको गहिरो कनेक्सन रहँदै आएको छ। भारतमात्र होइन, दुनियाँका दिग्गज क्रिकेटर पनि बलिउड सुन्दरीको मोहबाट बच्न सकेनन्। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान मन्सुर अलि खान पटौदीदेखि विराट कोहलीसम्म र भिभ रिचर्डस्देखि युवराज सिंहसम्म बलिउड नगरीको सुन्दरीको सुन्दरतामा फस्न पुगेका छन्। कसैको सम्बन्ध विवाहसम्म पुगेको छ भने केही सम्बन्धमा तुषारापात भएको छ। लामो समयसम्म प्रेममा लिप्त भए पनि केही क्रिकेटरले बलिउडसँग नाता जोड्न सकेनन्।
हट जोडीको सुटुक्क विवाह
अहिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाहले संसारभरको खेलकुद क्षेत्रलाई तरंगित पारेको छ। विगत लामो समयदेखि ‘रिलेसन’मा रहेका यो जोडीले गृहस्थी जीवन सुरु गरेको चर्चाले संसारभरका सञ्चारमाध्यममा स्थान पाइराखेका छन्। त्यसैगरी सामाजिक सञ्जालका भित्ता पनि यही जोडीको तस्बिरले भरिएको छ।
क्रिकेटर र चलचित्र क्षेत्रको मिलन पहिलो नभए पनि ‘एंग्री योङम्यान’ विराट र चञ्चले नायिका अनुष्काको ‘रोमान्स’, ‘डेटिङ’ र ‘विवाह’ सञ्चारमाध्यमका लागि ‘मसला’ बन्दै आएका छन्। क्रिकेट र बलिउडको सबैभन्दा हट जोडी बनेको विराट र अनुष्का एक स्याम्पुको विज्ञापनको सुटिङको दौरान पहिलोपटक भेटेका थिए। यसबीचमा विभिन्न उचारचढावको सामना गर्दै उनीहरूले लगनगाँठो कसे।
कप्तान कोहली र नायिका शर्माले सोमबार इटालीमा विवाह गरेका हुन्। विवाहका लागि दुवैको परिवार त्यहाँ पुगेका थिए। विवाहपछि कोहली र शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत भने, ‘हामी हाम्रो सम्बन्धलाई सधैं सुमधुर बनाइराख्ने प्रतिज्ञा गर्छाैं।’
कप्तान कोहली र नायिका शर्माले सोमबार इटालीमा विवाह गरेका हुन्। विवाहका लागि दुवैको परिवार त्यहाँ पुगेका थिए। विवाहपछि कोहली र शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत भने, ‘हामी हाम्रो सम्बन्धलाई सधैं सुमधुर बनाइराख्ने प्रतिज्ञा गर्छाैं।’
शर्मिलाले गरिन् नवावलाई बोल्ड
क्रिकेटर र बलिउडबीचको सम्बन्ध ६० को दशकपछि सुरु भएको हो। यही दशकपछि क्रिकेटका पिँढीले बलिउडमा आफ्नो जाल बिछ्याउन सफल भए। आफ्नो समयको चर्चित अभिनेत्री शर्मिला टैगोर भारतीय क्रिकेट टोलीका पूर्वकप्तान मन्सुर अलि खान पटौदीको छक्काको फ्यान थिइन् भने खान टैगोरको सुन्दरताको। यसले दुवै नजिकिए। तर, त्यस बेला भारत जातपातको अन्धविश्वासमा जकडिएको थियो। मन्सुर मुसलमान थिए भने शर्मिला बंगाली ब्राह्मण परिवारकी थिइन्। त्यसैले उनीहरूको सम्बन्धलाई दुवैको परिवारले स्वीकारेनन्। मन्सुरको प्रेममा पागल बनेकी शर्मिला आफैंले उपाय निकालिन्, हिन्दु धर्म त्यागेर मुस्लिम धर्म अँगालिन्। उनले धर्मसँगै आफ्नो नाम पनि परिवर्तन गरेर आयशा सुल्ताना राखिन्। त्यस बेला धेरैले क्रिकेटर र बलिउड नायिकाको वैवाहिक जीवन धेरै दिन नटिक्ने भन्दै हल्ला पनि फिँजाएका थिए। तर, उनीहरूले बजारिया हल्लालाई गलत साबित गरिदिए। विवाह गर्दै सात जुनी सँगै हुने कसम खाएका उनीहरूले त्यो कसमलाई तोडेनन्।
युवराजको बलिउड रोमान्स
भारतीय क्रिकेट टोलीका आक्रामक खेलाडी हुन्— युवराज सिंह। उनी जुन अन्दाजमा आक्रामक क्रिकेट खेल्थे, त्यही अन्दाजमा बलिउड सुन्दरी उनको फ्यान बने। कुनै समय चौका र छक्काका दिवाना बलिउड नायिका विस्तारै क्रिकेटरका पनि प्रिय बन्न पुगे। मोहबतें फिल्मकी नायिका किम शर्मा युवराज सिंहको आक्रामक खेलबाट निकै प्रभावित थिइन्। त्यसैले उनको तन टेलिभिजन सेटमा मात्र सीमित भएन, युवराजले खेल्ने स्टेडियमसम्म पुग्न थाल्यो। युवराज पनि उनकै प्रतीक्षामा बस्न थाले। विस्तारै उनीहरूबीच ‘रोमान्स’ सुरु भयो। लामो समयसम्म दुवै प्रेममा चुर्लुम्म डुबे। यो कुरा मिडिया हुँदै युवराजको आमासामु पुग्यो। दुवैको प्रेममा आमा अवरोध बनेपछि सम्बन्ध टुट्न पुग्यो।
सन् २००९ को आसपास युवराज अर्की बलिउड नायिका दीपिका पादुकोणसँग नजिकिए। युवराज र दीपिकाको रोमान्समा रणवीर कपुर तगारो बने। दीपिका युवराजलाई छाडेर रणवीरको अँगालोमा पुगिन्। यसबीच युवराज क्यान्सरबाट पीडित भए। लामो समयको उपचारपछि उनले क्यान्सरलाई जितेर नयाँ जीवन सुरु गरे। सुरुदेखि नै सुन्दरीको पछि लागेका युवराज अर्की बलिउड नायिका हेजल किचसँग नजिकिए। सलमान खानको बडिगार्ड फिल्मकी नायिका हेजलसँग लामो समय ‘डेटिङ’ गरे। किम र दीपिकाले झैं हेजलले युवराजको दिल तोडिनन् र गत वर्ष ३० नोभेम्बरमा विवाहबन्धनमा बाँधिए।
एक भए हरभजन र गीता
भारतीय क्रिकेट टोलीका अफ स्पिनर हरभजन सिंह बलिउडका केही फिल्ममा सानोतिनो रोल गर्दै आएकी गीता बसारको अघिपछि लामो समय घुमे। यी दुईबीचको सम्बन्धमा कैयौंपटक उतारचढाव आए। हरभजनकी आमाले गीतालाई स्वीकार नगरेपछि हरभजन र गीताको सम्बन्ध धरापमा परिरह्यो। तर, हरभजनले हार मानेनन्। करिब आठ वर्षको अथक प्रयासपछि छोराको प्रेमको अगाडि आमा झुकिन्। आमाको स्वीकृतिपछि हरभजनले सन् २०१५ मा विवाह गरे। अहिले उनीहरूको एक छोरी छन्।
शास्त्रीले पाएनन् ‘अमृत’
८० को दशकमा वर्तमान भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्री र चर्चित बलिउड नायिका अमृता सिंहको चर्चा त्यस बेला निकै हुन्थ्यो। ‘बेताव’ फिल्मबाट रजतपटमा उदायकी अमृता र शास्त्रीको प्रेम त्यस बेला मिडियाका लागि हटकेक मानिन्थ्यो। दुवैले स्टारडस्ट म्यागजिनको कभर पृष्ठका लागि सँगै फोटो सुट पनि गरेका थिए।
प्रेम र रोमान्ससँगै शास्त्रीले अमृतालाई औंठी पनि लगाइदिएका थिए। तर, अन्तिममा दुवैबीच सम्बन्ध बिग्रियो। शास्त्री अमृतालाई फिल्म नगरीको रंगीन संसार छाड्न दबाब दिन्थे भने स्टारडममा सवार अमृताले फिल्मी संसार नछाड्ने अडान कसिन्। यही कारण दुईबीच सम्बन्ध चिसियो र अमृताले शास्त्रीलाई आंैठी फिर्ता गरिन्।
कुमारी आमा बनिन् नीना
सन् ८० को दशकमा धारावाहिक टेलिभिजन कार्यक्रम ‘बुनियाद’बाट घरघरमा आफ्नो पहिचान बनाएकी अभिनेत्री नीना गुप्ता वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान भिभ रिचर्डस्को फ्यान बनिन्। टेलिभिजन कार्यक्रमबाट आफ्नो छुट्टै पहिचान बनाएकी नीनाको सुन्दरतामा कालो वर्णका रिचर्डस् फस्न पुगे। दुवैले लामो समय रोमान्स गरे। भिभ रिचर्डस् विवाहित थिए। त्यसैले नीनासँग रोमान्स मात्रै गर्ने दाउमा थिए। त्यहीबीच नीना गर्भवती भइन्। रिचर्डस्ले यो कुरालाई सुरुमा लुकाउन खोजे। त्यो बेला भारतीय सञ्चारमाध्यमको मसला र नीना र रिचर्डस्को अफेयर अनि कुमारी आमा हुन्थ्यो। अन्तत: रिचर्डस्ले नीनासँगको सम्बन्ध स्वीकारे। उनीहरूको छोरी मसावा गुप्ता भारतमा फेसन डिजाइनरका रूपमा चर्चित छिन्। उनले आफ्नो घरपरिवारको स्वीकृतिमा सन् २००५ मै विवाह गरेकी थिइन्।
कम रहेनन् जाहिर पनि
भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जाहिर खान अभिनेत्री एवं नृत्यांगना ईशा सरवानीको प्रेममा परे। दुवैले लामो समय ‘डेटिङ’ पनि गरे। तर, उनीहरू एक हुन भने सकेनन्। दुवैजनाले आफ्नो करिअरलाई ध्यान दिने भन्दै अलग भए। पहिलो प्रेममा असफल भएका जाहिरले दोस्रो पालिमा भने सम्हालिएर प्रेम गरे। प्रेम, रोमान्स र ब्रेकको फर्मुलाबाट गुज्रिसकेका उनी जीवनभर चोखो माया गाँस्न उद्यत थिए। यस्तैमा ‘चक दे इन्डिया’ की अभिनेत्री सागिरका घाटकेसँग नजिकिन पुगे। पहिलोपटक भारतीय क्रिकेटर सुरेश रैनाको विवाहमा सँगै देखिएका उनीहरूले केही समयको डेटिङ र रोमान्सपछि लगनगाँठो कसे।