थरीथरी रंगका रंगयात्रा
मोतीबहादुर कार्की केही वर्षयता पोखरा गैरापाटनमा भेटिन्छन्। स्याङ्जा पुतलीबजार स्थायी घर भएका उनी पोखरा बस्न थालेको चौध वर्ष भयो। यसबीच उनले आफ्ना थुप्रै साथीसंगी फेरेका छन्, सपनाहरू फेरेका छन्, जीवनप्रतिको मूल्य फेरेका छन् र सँगसँगै फेरेका छन् आफ्नो नाम। आफ्नो जानकारीबिना आफैंमाथि थोपरिएको अनिच्छित नाम परिवर्तन गरेर उनी आफूले आफैंलाई ‘परिवर्तन’ गरेका छन्।
त्यसो त स्कुल पढाउने ‘माड्साब’ले आफ्नो नामजस्तै बनाउन राखिदिएको नामसँग ८ कक्षा पढ्दै उनलाई मोहभंग भइसकेको थियो, तर वरिपरिको समाज र परिवारले नस्वीकार्ला कि भन्ने डर र लाजले उनलाई लामो समय थिच्यो। गत असोजमा काठमाडौंमा आयोजित ‘थिएटर फर सोसियोपोलिटिकल डायलग (सामाजिक राजनीतिक संवादका लागि नाटक) शीर्षकको नाटक निर्देशन कार्यशाला’मा पहिलोपटक भेटिएका उनी आफूलाई राजनीतिप्रति खास चासो नभएको बताएका थिए। आफ्नो नाम परिवर्तन गर्नुपछाडि ६२÷६३ को जनआन्दोलनपश्चात् आएको सामाजिक-राजनीतिक ‘परिवर्तन’ एउटा कारण भएको चैं स्वीकारिरहेका थिए। भन्दै थिए, ‘म आफू नै कति परिवर्तन भइसकेँ भने यो नाम परिवर्तन गर्नुकोे पछाडि त्यस्तो विशिष्ट उद्देश्य पनि छैन।’ परिवर्तनको यो भनाइमा विरोधाभाष मात्र नखोज्ने हो भने यसले सामाजिक राजनीतिक मुद्दाहरूले मानिसहरूको जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुराप्रति परिवर्तनजस्ता आमयुवाको शंका झल्काउँछ। शंकाको कुरो छोडौं, परिवर्तनकै कुरा गरौं।
आफूलाई मन लागेपछि जुनसुकै कुरा आँटिहाल्नेहरूको जमातमा पर्छन् परिवर्तन। अझ आफूले गरेको कामले अरूलाई प्रेरणा दिन्छ कि भन्ने छनक पाएपछि धेरै नसोची ‘पहल’ गरिहाल्छन्। गाउँमा नयाँ काम सुरु गरौं न त भनेर कुनै जमानामा कृषि फार्म खोलेर डुबिसकेका परिवर्तन जीवनमा अनुभवले ज्ञान र परिपक्वता ल्याउने विश्वास राख्छन्। उनै परिवर्तन अहिले पोखराको सांस्कृतिक चेहरामा नाटकघर नामको एउटा लाली भर्न तल्लीन छन्। पोखरा गैरापाटनको एक रोपनी निजी जग्गा साझेदारीमा लिएर उनी नाटकघर बनाउँदैछन्। माछापुच्छ«े काखमा देखिने नाटकघरको नाम राखेका छन्, ‘पोखरा थिएटर’।
अचम्म त के छ भने यसपालि पनि परिवर्तन आफैंमा नेपाली रंगमञ्चमा मज्जाले परिचित नाम होइनन् तर यसपालिको उनको तयारी अलि गम्भीर देखिन्छ। नाटकघर निर्माणमा उनले केही सहृदयी स्थानीयवासीको साथ पाएका छन्। पोखराका समाजसेवी शंकरनाथ कोइराला र दिल गुरुङ परिवर्तनको नाटकघर सपनाका दुई दरिला खम्बा भएर उभिएका छन्। यी तीनजना कर्मठको लगानीमा पोखरा थिएटरले आफ्नो बाहिरी आवरण उभ्याइसकेको छ।
परिवर्तनले पोखरामा मञ्चन भएका केही नाटकमा काम गरेका छन् तर उनकै भाषामा उनलाई ‘रंगमञ्चको राम्रो ज्ञान’ छैन। सायद यसैकारण हुनुपर्छ पोखरामा भएका नाटक बुझेका र पुराना रंगकर्मीहरूले उनलाई त्यत्ति धेरै विश्वास गरिसकेका छैनन्। यस कुरामा परिवर्तन त्यत्ति धेरै दु:खी पनि छैनन्। ‘उहाँहरूको अविश्वास र चासो जायज नै छ, मैले विश्वास कमाउने गरी काम गरिसकेको छुइनँ तर विश्वास कमाएकाहरूले नाटकघर निर्माणलाई नै चासो नदिनुभएकाले मैले आफ्नो अनि आफूजस्तै अरू साथीहरूको ऊर्जा खेर जान नदिने प्रयास गरेको हुँ। म सफल हुनैपर्छ भन्ने पनि छैन। तर संसारमा आफूले विज्ञता हासिल गरेको विषयमा मात्रै सपना देख्नुपर्छ भन्ने पनि त छैन।’
परिवर्तनको यो सपना नाटकघर बनेर चाँडै विपनाको एउटा अंशमा परिणत हुँदैछ। तीनमहिने कार्यशालाको पहिलो महिना सक्किनै लाग्यो। अब दुई महिनापछि एउटा नाटक तयार हुनेछ।
नाटकबारे धेरै नबुझेको भने पनि परिवर्तनले नाटकघर निर्माणका क्रममा थुप्रै रंगका रंगयात्राहरू गरिसकेका छन्। औपचारिक सिकाइको हिसाबले काठमाडौंको निर्देशन कार्यशाला पहिलो भए पनि यसबीचमा उनले थुप्रै नाटक पढेका छन्, काठमाडौंमा मञ्चन हुने अधिकांश नाटक हेरेका छन्, केही तालिम चहारेका छन्, नाटकघरमा चाहिने सामग्री किन्न आफैं भारतको राष्ट्रिय नाट्य विद्यालय पुगेका छन्, रंगमञ्चमा काम गरिरहेका देशीविदेशी रंगकर्मीसँग अन्तरक्रिया गरिरहेका छन्। ‘यतिले मात्र पुग्दैन’, उनी आफैं भन्छन्, ‘भर्खर बुझ्दैछु, रंगमञ्च त निख्खर अभ्यास गर्नुपर्ने काम रहेछ। यो सम्झँदा पनि आफैंले गरेको कामप्रति चैं खुसी नै लाग्छ। कम्तीमा नियमित अभ्यास गर्ने थलो त बनाइएछ। अब आफू पनि सिक्छु, अरूलाई पनि सिक्न मद्दत गर्छु।’
अहिले परिवर्तन आफंैले बनाएको निर्माणाधीन नाटकघरमा अन्य १४ प्रशिक्षार्थीसँगै नाटक सिक्दैछन्। प्रशिक्षार्थीहरू नयाँ नै भए पनि आफूले सिकेजति कुराले आफूलाई नाटक प्रशिक्षक भन्न नसुहाउने निक्र्योल निकालेपछि उनी पनि प्रशिक्षार्थी नै बनेर सहसिकाइको यो धारमा मिसिन आइपुगेका हुन्। उनका ‘ड्रिम पार्टनर’ दिल गुरुङ पनि रेडियो प्राविधिकको आफ्नो जागिर सकेपछि घर नगईकन सीधै नाटक सिक्न गैरापाटन आइपुग्छन्। सबैजना सिक्ने भएपछि सिकाउने चैं कसले त ? धेरै छन् सिकाउने पनि। नाटक आफू मात्रै एउटा विधा नभएको र कलासाहित्यका अरू थुप्रै विधाको संगम भएको बुझेपछि उनीहरू नाट्य प्रशिक्षणका लागि कसैलाई बोलाउन पछि पर्दैनन्।
परिवर्तन र दिलले निर्माणाधीन नाटकघरमा स्थानीय राजनीतिज्ञदेखि साहित्यकार, चित्रकार, संगीतकर्मीदेखि लिएर पोखराका पुराना र काठमाडौंका स्थापित रंगकर्मी कलाकारहरू सम्मलाई ल्याइसकेका छन्। ‘ज्ञान माग्न लाज र अहम्भाव त्याग्नुपर्दो रहेछ। असल भावना लिएर जाने हो भने र आफ्नो मागको सीमितता बुझ्ने हो भने कलाकारलाई सहयोग गर्न सबैजना तयार हुँदा रहेछन्’, उनीहरूको ठम्याइ छ। त्यसो त परिवर्तनका केही अथक आग्रहपछि नाटककार सरुभक्तदेखि पुराना पोखरेली कलाकारहरू प्रकट पगेनी, प्रकाश घिमिरे, राजनीतिकर्मी रवीन्द्र अधिकारीलगायत काठमाडौंबाट दयाहाङ राई, राजकुमार पुडासैनी, बुद्धि तामाङसम्म आफ्ना सिकाइ बाँड्न पोखरा नाटकघर पुगिसके। अहिले मण्डला थिएटरका निर्देशक राजन खतिवडा परिवर्तन र उनको समूहलाई नाटक सिकाउन भनी ढुक्कैले पोखरा बसेका छन्। खतिवडाको समूहले निर्माणाधीन नाटकघरमा नियमित कार्यशाला सञ्चालन गरिरहेको छ भने निर्माणका बाँकी काममा सल्लाह, सुझाव र अनुभव आदानप्रदानसमेत गरिरहेको छ। नाटक सिक्ने नयाँ पुस्तामा अदम्य ऊर्जा भएको देख्छन् खतिवडा। परिवर्तन र उनको समूहमा अहिले देखिएको उत्साह गम्भीर नाटक गर्न पर्याप्त नभए पनि यो ऊर्जाकै जगमा त्यो गम्भीरता निर्माण गर्न सकिनेमा उनी विश्वस्त छन्। भन्छन्, ‘मान्छेले कुनै पनि कुरा जानेर आएको हुँदैन, अध्ययन र अनुभवसँगै ज्ञान जन्मिने हो। परिवर्तनजीको लगाव र प्रतिबद्धता हेर्दा अहिले शंकाभन्दा बढी विश्वास गर्न सकिन्छ।’
नाटकप्रति परिवर्तनको लगाव र प्रतिबद्धता कसरी पनि देख्न सकिन्छ भने उनी नाटकघर निर्माण र यसमा पोखराको जनचासो जुटाउन अहोरात्र लागेका छन्। परिवर्तनले विवाह गरेका छन् तर आफू पोखरामा दिदीसँग बस्छन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेकी उनकी श्रीमती कीर्तिपुरमा बस्छिन्। बेलाबेला नाटकसम्बन्धी काम लिएर परिवर्तन काठमाडौं आउँछन् र श्रीमती भेट्छन्। भेटमा श्रीमतीले उनलाई अंग्रेजी भाषा सुधार्न मद्दत गर्छिन् ताकि यसले उनको रंगमञ्चीय ज्ञानको दायरा पनि फराकिलो बनाओस्। धेरै कमलाई थाह छ— परिवर्तनले ऋण लिएर नाटकघरको सपनामा लगानी गरेका छन्। उनको दिनचर्या पनि उस्तै छ। बिहान उठ्नेबित्तिकै नाटकघरमा आइपुग्छन्। कार्यशालामा सक्रियतापूर्वक भाग लिन्छन्। बन्दै गरेको नाटकघरका सामग्री बटुल्न बजार दौडन्छन्। फोनमा कसैलाई नाटकघरकै प्रगति विवरण सुनाइरहेका हुन्छन्। ढुंगामाटो गिटीबालुवामा पनि लागिरहेकै हुन्छन्।
बेलुकाको कार्यशालाको लागि बन्दोबस्ती गर्छन्। प्रशिक्षक बोलाउँछन्, उस्तै परे लिन जान्छन्। कार्यशाला सहभागीसँगै नाच्छन्, उफ्रिन्छन्। उनलाई थाक्ने फुर्सद छैन। नाटकघरबाट अबेर बेलुका १० बजे कोठा पुगेपछि उनलाई नाटक लेखनको हुटहुटीले पछ्याउँछ। केही हरफ लेखी पनि हाल्छन्। ‘दुई महिनादेखि लेख्दै गरेको नाटक त अस्ति च्यातिदिए’, उनले सुनाए, ‘मैले आफैंले लेख्दै गरेको नाटकमा समाज नै भेटिनँ। समाज नअटाएको कथामा नाटक गरेर मैले आफ्नो सपनालाई न्याय गर्न सक्छु भन्नेमा अब मलाई शंका छ।’
रंगमञ्चले समाज र राजनीतिमा ल्याउनसक्ने प्रभावका बारेमा परिवर्तनको शंका परिवर्तनकै क्रममा छ। काठमाडौंमा विमल सुवेदीसँग नाटक निर्देशनको तीनहप्ते कार्यशाला लिइसकेपछि रंगमञ्च र समाजको सम्बन्ध खोज्न बाध्य तुल्याएको उनी सहर्ष स्वीकार गर्छन्। भन्छन्, ‘समाजलाई पछाडि छाडेर हिँड्न खोज्ने चीजलाई कला मान्न नसकिने रहेछ।’ सुन्दा यस्तो लाग्छ— नाटकघर त एउटा मेटाफरमात्र हो उनको सपनाको। सामाजिक न्यायका लागि रंगमञ्चको प्रयोग चैं उनको दीर्घकालको सपना हो।
परिवर्तनको यो सपना नाटकघर बनेर चाँडै विपनाको एउटा अंशमा परिणत हुँदैछ। तीनमहिने कार्यशालाको पहिलो महिना सक्किनै लाग्यो। अब दुई महिनापछि एउटा नाटक तयार हुनेछ। व्यवस्थापन पनि हेर्नुपर्ने भएकाले परिवर्तनले सम्भवत: उक्त नाटक खेल्ने छैनन्। तर, नाटकको सम्पूर्ण निर्माण प्रक्रियामा संलग्न हुनेछन्। ‘त्योचाहिँ सिक्नका लागि’, उनी सुनाउँछन्, ‘मलाई साँच्चै धेरै थाहा छैन तर केही गर्नुपर्छ भन्ने थाहा छ।’
केही गर्नुपर्छ भन्ने थाहा पाएका परिवर्तन र दिलजस्ता युवाहरूले यो ‘केही’का लागि नाटक नै किन रोजे त ? यो प्र्रश्नले अरू जवाफ भेट्ला नभेट्ला तर नेपाली नाट्यकर्मको ‘कुनै बेलाको उर्वर थलो मानिने पोखरामा रंगमञ्चको पुनर्बहार त पक्कै ल्याउनेछ। परिवर्तनले ल्याउन खोजेको परिवर्तनका आफ्नै चुनौतीहरू पनि छन्। नाटकघर सपनाका लागि विगत दुई वर्षदेखि परिवर्तन ‘भोलेन्टियर’ गरिरहेका छन्। पूरै समय यसमै दिनुपर्ने भएकाले आम्दानीको अन्य स्रोत खोज्ने फुर्सद छैन। त्यसकारण आफ्नो ‘व्यक्तिगत खर्च’ निकै घटाएका छन्। नाटकघर निर्माण सक्न अझै केही रकम अपुग नै छ। केही रकम चन्दा दिएर अनुचित प्रभाव राख्न खोेज्ने व्यक्तिहरूसँग सहयोग लिएर जोखिम लिन चाहँदैनन् उनी।
देश संघीयताको ढाँचामा जाने क्रममा छ र सहरहरू ‘स्मार्ट सिटी’ बन्ने लक्ष्यमा छन्। स्मार्ट सिटीको घोषणापत्रमा नअटाएका ‘सांस्कृतिक पर्यटकीय अवधारणाहरू’ यसरी व्यक्तिविशेषको मात्र सपना बनेर बस्नु समुन्नत सुन्दर सहर र दिगो विकासका लागि पर्याप्त होलान् त ? हेर्दै जानु छ। माफ गर्नुहोला, नाटकलाई त सधैं हेरिएकै मात्र छ, अब विमर्श चैं गर्ने बेला भएको हो कि ?