राम्रो ‘म’
पृष्ठभूमि
जीवनमा व्यहोरेका मुख्य घटना र त्यसले पारेको प्रभावप्रति भोक्ताको विहंगम दृष्टिसहितको अभिव्यक्ति उसको आत्मकथा हो। मूलत: लेखक आत्मकथामा आफ्नो व्यक्तित्व निर्माणको इतिहास पस्किरहेको हुन्छ। फ्रान्सेली आत्मकथाविद् फिलिप लुजेनले आत्मकथाका चारवटा तत्वको चर्चा गरेका छन् १. आत्मकथा घटनाहरूको सिलसिलेवार वर्णन हो, २. आत्मकथा पश्चदर्शी हुन्छ, ३. आत्मकथामा वैयक्तिक इतिहास र निजत्वको चर्चा हुन्छ, ४. आत्मकथामा लेखक, वक्ता र नायक एकै व्यक्ति हुनुपर्छ। लुजेन चौथो तत्वलाई सर्वाधिक महत्वपूर्ण बताउँछन्।
पछिल्लो समय नेपाली साहित्य बजारमा आत्मकथाको बाढी आएको छ। लेख्न सक्नेले आफैं, नसक्नेले छाया लेखकद्वारा लेखाएर र कतिपयले सम्पादकको सहयोग लिएर आफ्ना जीवनकथालाई बजारमा पुर्याएका छन्। मदनकृष्ण श्रेष्ठको ‘महको म’ यिनैमध्येको एउटा उत्पादन हो। मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीमध्ये पहिलो व्यक्ति मदनकृष्ण श्रेष्ठको आत्मजीवनी हो यो पुस्तक। पुस्तकमा लेखकले जन्मदेखि आफ्नो ६५ वर्षसम्मका मुख्य घटनाहरूलाई चर्चा गरेका छन्।
नेपालको रंगमञ्च र हास्यव्यंग्य विधामा मदनकृष्ण र हरिवंश परिचय दिइरहनु पर्ने नाम होइन। विशुद्ध कलाकारिताबाट माथि उठेर पछिल्लो समय विभिन्न सामाजिक गतिविधिमा समेत उहाँहरूको प्रशस्तै योगदान देखिन्छ। श्रव्यदृश्य सामग्रीमार्फत समाजमा भएका कुरीतिहरूलाई उजागर गर्ने र सर्वसाधारण जनतालाई सुसूचित गर्ने काममा पनि उहाँहरू अग्रपंक्तिमा हुनुहुन्छ। नेपालले गौरव गर्ने अन्तरर्राष्ट्रिय स्तरको कलाकार हुनुहुन्छ उहाँहरू दुवै। त्यसैले मानिसलाई उहाँहरूका जीवनीबारे कौतुहल हुनु स्वाभाविक हो। खासगरी उहाँहरूको वैयक्तिक जीवन, कलाकारिता क्षेत्रमा उहाँको प्रवेश, संघर्ष र उपलब्धि, र मुख्य रूपमा हास्यव्यंय विधाको सैद्धान्तिक तथा व्यावहारिक पाटोमाथि उहाँहरूको अनुभव तथा निष्कर्ष आम पाठक समुदायले जान्न चाहेका कुरा हुन्। उहाँहरूको अनुभवबाट सिक्न चाहनेहरूको जमात पनि ठूलै छ। ‘चिना हराएको मान्छे’मार्फत हरिवंश आचार्यले यसअघि नै आफूलाई पाठकमाझ प्रस्तुत गरिसक्नुभएको छ भने, ‘महको म’ मार्फत मदनकृष्ण श्रेष्ठ पुस्तकाकारमा आउनुभएको छ।
आत्मकथाको सारसंक्षेप
लगभग तीन सय पृष्ठमा फैलिएको मदनकृष्णको आत्मकथा सानासाना ७७ वटा पाठमा विभाजित छ। उहाँको जन्म काठमाडौं, जितपुरफेदीको एउटा परिवारमा २००७ साल वैशाखमा भएको हो। ६ महिनाको उमेरमै उहाँले आमाको काख गुमाउनु भयो। उनका बुवाले विवाह गरेका अरू तीन श्रीमतीको पनि अकालमै मृत्यु भएकोले मदनले तीन सानिमाको काखसमेत गुमाउनु पर्यो। पुस्तकको वर्णनअनुसार जिम्बाल हजुरबुवा, प्रधानपञ्च पिताको यो परिवार आर्थिक रूपमा भने त्यति सबल नरहेको बुझिन्छ। विभिन्न कारणवश उहाँको शिक्षादीक्षा पनि सहज हुन सकेन। १४ वर्षकै उमेरमा कक्षा ९ मा पढ्दै गर्दा स्थानीय स्कुलमा पढाउनु पर्यो। आर्थिक कारणले गर्दा एसएलसी पास गर्नुअगावै उहाँको कर्मचारी सञ्चय कोषमा जागिर सुरु भइसकेको थियो। जागिर गर्दै गर्दा बाहुनकी छोरीसँग उहाँको प्रेम भयो। यो प्रेम दुवै परिवारमा मान्य थिएन। त्यसैले उहाँहरूले गोप्य विवाह गर्नुभयो।
पतिपत्नी दुवै जागिरे हुँदा पनि उहाँहरूको सहर बसाइ सहज भने भएन। आर्थिक रूपले कहिल्यै उँभो लाग्न सक्नु भएन। त्यसमाथि मदनको चासो गीतसंगीतमा थियो। गीतसंगीत र अभिनय गर्न सक्ने क्षमताले नै कालान्तरमा उहाँलाई सफलता दिलायो। विशेष गरेर हरिवंश आचार्यसँग भेट भएपछि गाईजात्रे कार्यक्रममा प्रदर्शन गरिएको संयुक्त हास्यव्यंग्य कार्यक्रमबाट उहाँको सफलता अगाडि लाग्न थाल्यो। प्रायोजित हास्यव्यंग्य कार्यक्रमदेखि हास्यव्यंग्य कार्यक्रमका अडियो क्यासेटको बिक्रीबाट राम्रो आर्थिक उपलब्धि भयो। यसपछि भने उहाँले पछि फर्केर हेर्नु परेन। रंगमञ्च, फिचर फिल्म, टेलिसिरियल आदिमार्फत उहाँ अभिनय क्षेत्रमा राम्रै गरी जम्नु भयो। आफ्नै कम्पनी खडा गरेर विज्ञापनहरूमा समेत खेल्न थाल्नुभयो।
२०४६ साल र २०६३ सालको राजनैतिक आन्दोलनमा अग्रपंक्तिमा रहेर लेखक, कलाकारको अगुवाइ गर्नुभयो। सामाजिक चेतनामूलक कार्यक्रमको प्रदर्शनीमा अहिले पनि मदनकृष्ण र हरिवंशको खोजी हुन्छ। समाजमा विद्यमान कुरीति र गलत क्रियाकलापको विरुद्धमा हरिवंशसहित उहाँ कसरी जोडिन पुग्नुभयो भन्ने कुराहरूको आत्मकथामा उहाँले सविस्तार चर्चा गर्नुभएको छ। छोराछोरीले पनि राम्रो प्रगति गरे। यसरी चारैतिर सफल हुँदै गरेको अवस्थामा उहाँकी पत्नीलाई एकपछि अर्को गर्दै क्यान्सरले आक्रमण गर्न थाल्यो। श्रीमतीको पटकपटकको शल्यक्रियाबाट सुस्ताउन नपाउँदै यता उहाँलाई पनि पार्किन्सन देखा पर्यो। पार्किन्सनको पनि सफल शल्यक्रियापश्चात् अहिले उहाँ सामाजिक गतिविधिमा उत्तिकै सक्रिय रहँदै आउनुभएको छ।
विश्लेषण
जीवनमा घटेका र लेखकलाई उल्लेख गर्न उपयुक्त लागेका घटनाहरूको रेखीय प्रस्तुति हो यो आत्मकथा। हुनेखाने नै लाग्ने परिवारका एक्ला छोरा मदनकृष्णले आर्थिक कष्ट व्यहोर्नु परेको कारण पुस्तकले प्रस्तुत गरेको छैन। सहरमा बस्ने एकल परिवारका समस्यालाई जीवन्त रूपले प्रस्तुत गरिएको छ। अप्ठ्यारा परिस्थितिमा विचलित नहुनको लागि प्रेरणा मिल्ने प्रसंगहरू पनि छन्। चर्चा गरिएका प्रसंगहरूसँगै अन्तर्घुलित लेखकका मानसिक भावहरूले पठनलाई आकर्षक तुल्याउँछन्। पत्नी बिरामी हुँदा ‘देवता भनाउँदा’ सँग उहाँलाई रिस उठ्छ। तर मौकामा सम्झे जति देउताहरूसँग गुहार पनि माग्नुहुन्छ। मदनको द्वन्द्वात्मक मनोविज्ञानको यो पाटाले उहाँलाई आम मानवको एउटा प्रतिनिधिको रूपमा प्रस्तुत गरेको छ। विशिष्ट र वरिष्ठ देखाउने दम्भबाट मुक्त छ लेखन।
कला क्षेत्रमा मदनको कुनै औपचारिक शिक्षा छैन। उहाँ सैद्धान्तिक ज्ञान लिएर यस क्षेत्रमा प्रवेश गर्नुभएको होइन। यो कुरा उहाँले संगीतको प्रसंगमा स्वीकार्नु पनि भएको छ। स्वर छ, संगीतको लय चिन्न सक्नुहुन्छ, तर त्यसको तालको बारेमा उहाँलाई कुनै ज्ञान छैन। उहाँलाई अभिनय आउँछ, कसैको बोली र हाउभाव नक्कल गर्न आउँछ। तर नक्कल गर्दा के कुरालाई उहाँ जोड दिनुहुन्छ, अभिनय गर्दा कुन विषयलाई महत्व दिनुहुन्छ, मान्छेलाई हँसाउने सामग्री उहाँ कसरी खोज्नुहुन्छ जस्ता कुराहरू पुस्तकमा फेला पर्दैन। चिनियाँ भाषाको अनुकरण गर्ने क्रममा गरेको एउटा अभ्यासको अलिकति चर्चा छ, त्यति हो। प्रस्तुतिको लागि सामाजिक करीति, राजनीति र प्रशासनमा व्याप्त भ्रष्टाचार आदिको विषयवस्तु छनोट, संवाद निर्माण आदिका तौरतरिकाका बारेमा पनि उहाँ मौन हुनुहुन्छ।
मदनकृष्ण श्रेष्ठले कलाक्षेत्रमा प्राप्त गरेको उच्च छविको दाँजोमा उहाँको लेखन निकै निम्छरो सावित भएको छ। आत्मकथा लेखकमा चाहिने आँट उहाँले देखाउन सक्नुभएको छैन। लेखक हुने रहर पूरा गर्ने उत्कट इच्छाले लेखक बनि टोपल्नेहरूको लहरमा उभिन उहाँलाई जरुरी थिएन।
एउटा सफल र चर्चित कलाकारको जीवन भनेको दैनिक र व्यावसायिक जीवनका नियमित घटनामात्र होइन भन्ने तर्क पुस्तकले स्थापित गर्दैन। पुस्तकमा उहाँलाई सहयोग गर्ने र कलाक्षेत्रमा ब्रेक दिने केही व्यक्तित्वको प्रसंग उल्लेख गर्नुबाहेक उहाँलाई प्रभाव पार्ने कलाकार र तिनका कलाकारिताको चर्चा पटक्कै छैन। उहाँको जे क्षमता थियो, त्यो जन्मजात थियो, त्यो उहाँको स्वभाव थियो, प्रवृत्ति थियो। उहाँले त्यसलाई आर्जन गर्न सकिने गुणको रूपमा स्वीकार्नु भएकै छैन, र त्यसैले आत्मकथाको भाग बनाउन आवश्यक ठान्नु भएन। उहाँले क्षमता आर्जन गर्न संघर्ष गर्नुभएको छैन, अवसरको लागि चाहिँ गर्नु परेको छ। पुस्तकको मौलिकता भनेको त्यसका हरफहरूमा अनुभूत गरिने उहाँको लवजको झल्को हो। घटना र प्रसंगलाई हल्का बनाएर हास्यरस थप्ने उहाँको निजीपन त्यहाँ भेटिन्छ। उदाहरणको लागि परीक्षामा पास हुन जाँच दिनुअघि खाने औषधि गुल्टाबाइट, संगीतको तालको नाममा भैंसी आहाल बस्ने ताल आदि। अनुभवका निचोडहरूलाई व्यक्त गरिएका सुन्दर वाक्य रचनाहरू पनि ठाउँठाउँमा फेला पर्छन्।
सम्पादनका थुप्रै समस्याहरू बाँकी छन्। सम्भवत: पुस्तक एउटा सोलोडोलो कच्चा पदार्थको रूपमा थियो, त्यसलाई सम्पादकले ७७ वटा पाठमा विभाजन गरिदिए। यो पाठ विभाजन पाठकलाई छुट्टाछुट्टै विषय पढ्न सजिलो जस्तो देखिए पनि प्रभावशाली बन्न सकेको छैन। कुराहरू दोहोरिएका र परस्पर काटिएका छन्। सानिमाहरूले आमाको अभावको अनुभव हुन नदिएको प्रसंग सँगसँगै आमा भनेको के हो भन्ने बुझ्नै नपाएको अभिव्यक्ति पनि आएको छ। माओवादी जनयुद्ध २०५१ सालमा सुरु भएको (पृ. २११) कुरा सम्पादनबाट फुत्केको छ। लेखाइ यतिसम्म सरल छ कि, कतिपय ठाउँमा यो लेखाइ केटाकेटीको लागि लेखिएको हो कि भन्ने भान पर्छ। जस्तो कि, ‘सानो छँदा म अत्यन्तै काँचो बुद्धिको थिएँ’ (पृ. १८), ‘त्यतिबेला एसएलसीलाई म्याट्रिक पनि भनिन्थ्यो’ (पृ. १२), ‘त्यसबेला अहिले जस्तो ग्यास चुलोको सुविधा थिएन’ (पृ. ३०), ‘फोन गर्नलाई त्योबेला कुनै मोबाइलको सुविधा पनि थिएन’ (पृ. १२२) आदि।
आत्मकथा लेखनको अहिलेको बजारले एउटा महत्वपूर्ण सवाल उठाएको छ- समाजका हरेक सफल व्यक्ति स्वयम् लेखक बन्न जरुरी छ ? कोही व्यक्तिको बारेमा सर्वसाधारण मानिसहरू जान्न उत्सुक छन् भन्नुको अर्थ त्यही व्यक्तिको हस्ताक्षरमा उसको जीवनी पढिनुपर्छ भन्ने कदापि लाग्दैन। एउटा क्षेत्रमा उचाइ चुमेको व्यक्ति अर्को क्षेत्रमा पनि त्यही स्तरमा पुग्न सक्छ भनेर सोच्नु त्रुटिपूर्ण हुन जान्छ। मदनकृष्ण श्रेष्ठको कुरा गर्दा उहाँले कलाक्षेत्रमा प्राप्त गरेको उच्च छविको दाँजोमा उहाँको लेखन निकै निम्छरो सावित भएको छ। आत्मकथा लेखकमा चाहिने आँट उहाँले देखाउन सक्नुभएको छैन। लेखक हुने रहर पूरा गर्ने उत्कट इच्छाले लेखक बनि टोपल्नेहरूको लहरमा उभिन उहाँलाई जरुरी थिएन। आत्मकथा त्यो बेला सफल मानिन्छ, जब लेखकले आफ्ना कमजोरी, गल्ती र असफलताहरूलाई नडराई, नलजाई उल्लेख गरेको हुन्छ। ‘महको म’ यो पाटोमा बेखबर छ। लेखक आफैंले विभिन्न मिडियामा चर्चा गर्नुभएको पारिवारिक किचलोका प्रसंगहरूलाई आत्मकथाको भाग बनाउनु भएको छैन। ‘अनेक घरायसी झमेलाले दिक्क भइरहेको थिएँ’
(पृ. १४४) भनेर एक ठाउँमा उल्लेख गर्नुबाहेक त्यस्ता झमेलाको बारेमा खासै चर्चा छैन। मान्छेको व्यक्तित्व विकासमा ‘झमेला’ को पनि उत्तिकै स्थान हुन्छ। लुजेनको परिभाषाअनुसार, पनि आत्मकथा भनेको व्यक्तित्वको सिंगो चित्र हो। त्यसो त, आफ्ना कमजोरी र असफलताहरू लेख्न नसक्नु मदनकृष्णको मात्र समस्या होइन, आम मानव प्रवृत्ति हो। लेखाइमा उत्कृष्टता नहुनु पनि उहाँको कमजोरी होइन। खासमा उहाँको बारेमा एउटा अनुसन्धानात्मक जीवनी लेखिनुपथ्र्याे। प्रकाशकहरूले पनि उहाँजस्ता व्यक्तिकै हस्ताक्षरको भन्दा वस्तुपरक अनुसन्धानमा आधारित जीवनीमा ध्यान दिनु जरुरी छ। यद्यपि कुनै पनि व्यक्तिको लेखक बन्ने, आफूलाई मन लागेको कुरा प्रकाशित गर्न पाउने अधिकार त छँदैछ।
निष्कर्ष
साहित्यिक विधाको रूपमा आत्मकथा वैयक्तिकता र निजत्वको दस्तावेज हो। यथार्थमा आत्मकथामा स्मृतिको आधारमा विगतका घटनाहरूको एउटा प्रक्षेपण हुने गर्दछ। जसरी आख्यानमा लेखकले पाठकलाई काल्पनिक संसारमा पुर्याउँछन्, त्यसैगरी आत्मकथाले पनि भूतकालको समय र स्थान बोध गराउन एउटा काल्पनिक संसार खडा गर्नै पर्ने हुन्छ। यसकारण उत्तरसंरचनावादी लेखक पाउल डी म्यानले आत्मकथा एउटा विधाको रूपमा मृत भइसकेको घोषणा गरेका हुन्। आत्मकथाको पाठकलाई त्यसमा उल्लेख गरिएका घटना र प्रसंगको सत्यताको परख गर्नु सबैभन्दा ठूलो चुनौती हो। आत्मकथामा घटनाको उल्लेख सँगसँगै त्यसले लेखक र नायकमा पारेको प्रभाव र व्यक्तित्व निर्माणमा त्यसको योगदान पनि वर्णन हुन सक्यो भने मात्र त्यो प्रभावकारी हुन सक्छ। घटनाहरूको रेखीय प्रस्तुतिले एउटा पाठ (टेक्स्ट) तयार पार्नुबाहेक वास्तविक आत्मकथाको महत्वलाई चाहिँ उजागर गर्दैन।
‘महको म’ मार्फत कलाकार मदनकृष्णले आफ्ना जीवनका महत्वपूर्ण घटनाको बारेमा जानकारी दिनुभएको छ। उहाँका बाल्यकाल, युवावस्थाका संघर्ष र पछिल्लो समयमा व्यहोर्नु परेका त्रासदीहरूको पठनले पाठकलाई प्रभावित पार्छन्। विभिन्न दु:ख, कष्ट र अवरोधहरू हुँदाहुँदै पनि उहाँ एउटा सफल व्यक्ति बन्नुभएको छ। श्रीमती र स्वयम् आफूलाई लागेको कडा बिमारबाट पनि निकास पाउनुभएको छ। सामान्य मान्छेको क्षमताभन्दा बाहिरको उपचार सुविधा पाउन सक्नुको पछाडि उहाँका दर्शकको माया नै हो। यसलाई उहाँले स्वीकार्नुभएको छ। उहाँको जीवन एउटा सफल जीवनको उदाहरण हो। जीवनमा अँध्यारा पाटा नभएर हो वा अन्य कुनै कारणवश त्यसको चर्चा गर्नुभएको छैन। सारमा, आत्मकथा ‘महको म’ वास्तविक अर्थमा ‘राम्रो म’ बनेको छ भन्दा अत्युक्ति हुँदैन।