‘पाँच वर्षभित्र जाजरकोटको परिचय बदल्छौ‌‌‌‌‌'

‘पाँच वर्षभित्र जाजरकोटको परिचय बदल्छौ‌‌‌‌‌'

जाजरकोट : प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक निर्वाचित पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षभित्र जाजरकोटको परिचय बदल्ने बताएका छन् । विजयी भएपछि मतदातालाई धन्यवाद दिन शुक्रबार आयोजना गरिएका कार्यक्रमहरूमा बस्नेतले जिल्लाको मुहार फेर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जाजरकोट भन्ने बित्तिकै धेरैका मानसपटलमा रोग, भोग, अभाव र अविकासलगायत कुराको चित्र कोरिन्छ । महामारीको रूपमा फैलिएको झाडापखाला होस् वा स्वाइन फ्लु, खाद्यन्न अभाव होस् वा विद्युत् र सडक यातायातको असहजता । यी कारणले पनि यो जिल्लाको परिचय स्वदेश तथा विदेशमा निकै पिछडिएको जिल्लाको रूपमा परिचित छ ।

यो परिचयलाई नवनिर्वाचित जनप्रतिनिधिले बदल्ने उद्घोष गरेका छन् । उनीहरूले जाजरकोटलाई पिछडिएको जिल्लाको उपमा इतिहासको रूपमा सीमित गर्ने दाबी गरेका छन् ।

सांसद बस्नेतले भने, ‘अबको जाजरकोट हिजोको जस्तो औषधि नपाएर मर्नुपर्ने, सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने, चामल नपाएर भोकमरीमा पर्नुपर्ने, प्राविधिक र उच्च शिक्षा पढ्न जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्छौं । घोडा तथा खच्चडमा चामल र मालसमान ढुवानी गर्नु पदैन, अब हामी गाउँ-गाँउमा मोटर बाटो पुर्‍याउँछौं । अब हिजोको जस्तो जाजरकोट हुँदैन । अबको जाजरकोट समृद्ध र विकासको पथमा लम्केको जाजरकोट हुन्छ ।'

‘भारतको रुपैडियादेखि कोहलपुर, छिन्चु, जाजरकोट, डोल्पा हुँदै चीनको मरिम धो जोड्ने भेरी करिडोर निर्माण, मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति, जाजरकोट जुम्ला सडकको ट्र्याक खोल्ने र दाङदेखि जुम्ला हुँदै रारा जोड्ने सडक निर्माणका लागि जाजरकोट र जुम्लाको बाधकको रूपमा रहेको लेकमा करिब आठ किलोमिटर सुरुङ मार्गबाट छोटो मार्ग बनाउने गरी तत्काल काम थाल्छौं ।

यी सबै सडक सञ्जालमा जोडिएपछि प्रदेश ६ को आर्थिक, सामाजिक र पर्यटकीय दृष्टिकोणले जाजरकोटलाई केन्द्रविन्दु बनाएर काम थाल्छौं ।' उनले भने, ‘यो भाषण होइन साँच्चिकै काम गरेर देखाउँछौं । अबको पाँच वर्ष जाजरकोटको परिचय बदल्ने र प्रदेश ६ लाई समृद्ध बनाउने हो । हिजो जे÷जस्तो कमजोरी भए पनि अब मेरो पूरै ध्यान जाजरकोटको पूर्वाधार विकास र रोजगारी सिर्जनामा लगाउनेछु ।'

२०७० सालको संविधानसभा सदस्यमा निर्वाचित हुँदा आफू संविधान लेख्ने काममै व्यस्त भएकोले जिल्लाको विकासमा पूरा ध्यान दिन नसकेको स्विकार्दै अब आफूले जिल्लाको अवस्था परिवर्तनमा समय खर्चिने बस्नेतले दाबी गरे । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै बस्नेतले विगतमा सरकारको मन्त्री हुँदा पनि जाजरकोटका लागि जति गर्नुपर्थ्यो, त्यति नगरेको भनी जनताले गरेको गुनासो जायज भएकाले अब त्यस्तो गुनासो आउन नदिने बताए ।

जिल्लाका सात वटै स्थानीय तहमा अस्पताल निर्माण गर्ने, एक वर्षभित्र खलंगादेखि पाँचकटिया, खलंगादेखि थलह, र खलंगादेखि डोल्पाको सिमाना रहेको त्रिवेणीसम्म बाह्रै महिना गाडी चल्ने बनाएरै छाड्ने बताए । उनले अहिले निर्माण भएका सबै कच्ची सडकहरूमा कालोपत्रे गर्ने काम पनि एक वर्षभित्रमै सुरु गर्ने र स्थानीय जनतामा रोजगारी सिर्जनाका लागि ढिमेको पाँचकटियामा सुन्तला जोन प्रोजेक्ट सुरु गर्न लागिएको र जडीबुटी प्रशोधनका लागि उद्योग सञ्चालनका साथै अन्य पहल तत्काल सुरु गर्ने बस्नेतले बताए ।

नलसिंहगाड जलविद्युत् आयोजनाको पूर्णता र बारेकोटमा बासस्थान रहेको विश्वकै दुर्लभ जनावर रेडपान्डाको संरक्षण गरेर जाजरकोटको विकासमा फड्को मार्ने आफ्नो योजना रहेको बस्नेतले बताए । प्रदेश ‘क' का सांसद गणेशप्रसाद सिंह र प्रदेश ‘ख' का करवीर शाहीले जिल्लाको विकासमा इमानदारीपूर्वक लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.