प्रदेश ७ को राजधानी अत्तरिया नै : भट्ट

प्रदेश ७ को राजधानी अत्तरिया नै : भट्ट

महेन्द्रनगर : कैलाली ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका नेता लेखराज भट्टले प्रदेश ७ को राजधानी अत्तरिया नै उपयुक्त हुने बताएका छन् । शुक्रबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद भट्टले उक्त धारणा राखेका हुन् । ‘प्रादेशिक राजधानी जनघनत्व, आर्थिक र सामाजिक आधार हेरेर निर्धारण हुन्छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘सबै कुरालाई र विज्ञहरूको रायसल्लाह सुझावलाई समेत हेर्ने हो भने अत्तरिया नै प्रदेश ७ को राजधानी बन्न सक्छ ।’

तराईका दुई जिल्ला र पहाडका सात जिल्ला समेतलाई सहज हुने र आर्थिक र सामाजिक रूपले विकास गर्न सक्ने ठाउँ नै उपयुक्त हुने उनको भनाइ थियो । उनले प्रदेश राजधानी सुरक्षाका दृष्टिकोणका साथै विकासका पूर्वाधार अघि बढाउन सहज हुने ठाउँ नै हुने बताए । ‘अत्तरियामा राजधानी बनाएर पहाडसँग जोड्न तीन ठूला लोकमार्ग निर्माण हुनेछन्’, उनले भने, ‘सेती लोकमार्ग, खुटिया–दिपायल दु्रत मार्ग र महाकाली लोकमार्ग निर्माणको कार्य तीव्र रूपमा अघि बढ्छ ।’ उनले यी तीन ठूला लोकमार्ग अघि बढाएर पहाडका विमानस्थलको स्तरोन्नति अघि बढाइने र प्रादेशिक राजधानीसँग जोडिने बताए । उनले प्रदेश राजधानी कहाँ बनाउने भन्ने अन्तिम निर्णय भने प्रदेशसभाले नै गर्ने बताए ।

‘प्रदेशसभा बस्छ, त्यसले उपयुक्त सबै स्थानको खोजी गर्ला’, भट्टले भने, ‘ अहिले विभिन्न ठाउँका बारेमा चर्चा गरिए पनि प्रदेश राजधानी भौगौलिक क्षेत्र, आर्थिक गतिविधिलाई अघि बढाउने सहित विभिन्न क्षेत्रसँग जोड्न पनि अत्तरिया नै उपयुक्त हुनेछ ।’ उनले वाम गठबन्धनको नेतृत्वमा सरकार निर्माण हुने निश्चित भएको भन्दै अब बन्ने प्रदेश सरकारले गठबन्धनभित्र र बाहिर रहेका कांग्रेसलगायत दलसँग समेत छलफल गर्ने बताए ।

कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहा निर्माणको कामले समेत द्रुत गति लिने भन्दै उनले दिल्ली–काठमाडौंसमेत अत्तरियासँग नजिक भएकाले उपयुक्त रहेको बताए ।

मुख्यमन्त्री को हुने भन्ने चर्चा रहेका बेला उनले वाम गठबन्धनबाट कुन पार्टीले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने टुंगो लागेपछि पार्टीले नै निर्णय गर्ने प्रस्ट पारे । पार्टी एकतामा विषयमा कसैले शंका गर्न नहुने भन्दै उनले सरकार गठनसँगै पार्टी एकताको प्रक्रियासमेत अघि बढ्ने प्रस्ट पारे ।

जनतासमक्ष राखेका प्रतिबद्धता पूरा गर्न अबको सरकारले काम अघि बढाउने भन्दै उनले अब विकासलाई जनतासँग जोड्ने हिसाबले काम अघि बढ्ने बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.