७५ जिल्लाको समानुपातिक गणना सकियो : कांग्रेस र माओवादीको मत अन्तर १८ लाख
काठमाडौं : मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार अब दुई जिल्लाका केही क्षेत्रको मतगणना बाँकी छ। आयोगका सहायक प्रवक्ता मुकुन्द्र शर्माका अनुसार सुनसरी क्षेत्र नम्बर ३ र सर्लाही क्षेत्र नम्बर २, ३ र ४ को गणना जारी छ।
प्रत्यक्षतर्फ ८० सिटमा विजयी भएको एमाले समानुपातिकतर्फ समेत पहिलो पार्टी बनेको छ। एमालेले ३१ लाख ६१ हजार दुई सय २३ मत ल्याएको छ। एमाले भन्दा कांग्रेस करिब ५० हजार मत अन्तरले पछाडि छ। प्रत्यक्षतर्फ २३ सिटमा विजयी भएर तेस्रो पार्टी बनेको कांग्रेस समानुपातिकतर्फ ३१ लाख ११ हजार दुई सय ६२ मत ल्याएर दोस्रो बनेको हो।
प्रत्यक्षतर्फ ३६ सिटमा विजयी हुँदै दोस्रो दल बनेको माओवादी समानुपातिकमा तेस्रो बनेको छ। माओवादी कांग्रेस भन्दा १८ लाख १५ हजार चार सय ४२ मतले पछाडि छ।
आयोगका अनुसार ७५ जिल्लाको गणना हुँदा माओवादीले १२ लाख ९५ हजार आठ सय २० मत मत पाएको छ। चौथो पार्टी बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने चार लाख ६९ हजार सात सय ९० मत पाएको छ। पाँचौ स्थानमा रहेको संघीय समाजवादी फोरम, नेपाल राजपालाई पछ्याइरहेको छ। फोरमले चार लाख ६८ हजार नौ सय ५६ मत पाएको छ।
चुनाव अगाडि सबैभन्दा धेरै चर्चा रहेको तर प्रत्यक्षतर्फ एक सिटमा पनि विजयी हुन नसकेको विवेकशील साझा पार्टीले भने दुई लाख १२ हजार दुई सय ९३ मत पाएको छ।
मतका आधारमा सातौ दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ एक सिट जिते पनि राष्ट्रिय दल बन्नबाट चुकेको छ। राप्रपाले १ लाख ९६ हजार एक सय ९० मत मात्र पाएको छ। गत साउनमा मात्र राप्रपाबाट फुटेर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले भने ८८ हजार दुई सय ८० मत पाएको छ।
त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल समेत राष्ट्रिय पार्टी बन्न सकेन। नयाँ शक्तिले प्रत्यक्षतर्फ एक सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी नबन्ने निश्चित भएको हो। नयाँ शक्तिले ८१ हजार चार सय ४६ मत मात्र पाएको छ। राष्ट्रिय जनमोर्चाले ६२ हजार एक सय २३ मत पाएको छ भने अन्य दलले समानुपातिकतर्फ तीन लाख ५४ हजार चार सय ९८ मत पाएका छन्।
आयोगका अनुसार थ्रेसहोल्ड कटाउने एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमसहितका पाँच दल मात्र राष्ट्रिय पार्टी बन्ने छन्।