स्याबास क्रिकेटर
अन्ततः पहिलो अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट उपाधि नेपालले आफ्नो पोल्टामा पारिछाड्यो । शारीरिक चुनौती चिर्दै क्रमशः भारत र बंगलादेशविरुद्ध कीर्तिपुर क्रिकेटमैदानमा ओर्लिएका हाम्रा खेलाडीले बंगलादेशलाई फाइनल स्पर्धामा हराएका हुन् । यो जितको सन्देश असामान्य छ ।
शनिबार अन्नपूर्ण पोस्ट्को पहिलो पृष्ठमा प्रकाशित हाम्रा फोटो संयोजक विकास कार्कीको तस्बिरले यी क्रिकेटरको कथाव्यथा कहेको थियो । शुक्रबारसाँझ खिचिएको त्यो तस्बिरमा फरक क्षमताका नेपालका दुई क्रिकेट खेलाडी नारायण पौडेल र महेश्वर केसीलाई खेलस्थान कीर्तिपुरबाट सामाखुसीको रानीबारीमा जाने क्रममा स्कुटरले डोर्याएर लगेको देख्न सकिन्छ । नेपाली क्रिकेट टीमको बर्दी लगाएर ह्विलचेयरमा सवार उनीहरूलाई स्कुटरले डोर्याइरहेको थियो । भारतीय टोलीमाथि विजय पाएर फर्किरहेका उनीहरूलाई घरसम्म छाड्नलाई आफ्नो व्यवस्थित सवारी थिएन ।
पौडेल र केसीलगायत खेलाडी सम्मिलित नेपाली टोलीले शुक्रबारमात्रै पहिलो अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधिका लागि भएको खेलमा भारतीय टीमलाई पराजित गरेको थियो । यी प्रतिभासम्पन्न क्रिकेटरलाई ल्याउनलैजान आयोजकले एउटा गाडीको व्यवस्था गर्न नसक्नु विडम्बना हो । फरक क्षमताका व्यक्तिको क्षमता अभिवृद्धि र प्रदर्शन गर्न दिइने अवसर र सामाजिक क्रियाकलापमा हुने पहुँचको स्तरले समाज विकासको खास स्थितिलाई प्रतिबिम्बित गर्छन् । नेपालका सडकहरू फरक क्षमता भएका व्यक्तिमैत्री छैनन् । अनि खेलकुद अझै पनि राज्यको विशेष प्राथमिकता बन्न सकेको छैन । अपांगताबाट उत्पन्न विशेष अवस्थालाई बुझ्ने हाम्रो आम समझदारीप्रति पुनर्विचारको आवश्यकता छ ।
धेरैजसो खेलाडीले आफ्ना रूची र नामका लागि खेलकर्मलाई जारी राखिरहेका छन् । आकर्षक र सुरक्षित जीवनयापन सम्भव नहुँदानहुँदै पनि वर्षौंसम्मको मेहनतको लगानी माया मार्न नसकेर खेललाई निरन्तरता दिइरहेका होलान् । त्यस्ता खेलाडीलाई प्रोत्साहन गर्नु समाज र राज्यको दायित्व हो । अझ विशेष क्षमता भएका खेलाडीलाई हेर्ने नीति अझै प्राथमिकतापूर्ण बन्नुपर्छ ।
अन्तर्राष्ट्रिय स्तरमा राज्यको प्रतिष्ठा उकास्न खेलकुदले ठूलो महत्व राख्छ । ब्राजिल अहिले विश्वमा आर्थिकरूपमा पनि शक्तिका रूपमा उदाइरहेको छ । तर त्यसभन्दा अगाडि फुटबलका कारण उक्त मुलुकले अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको थियो । ब्राजिलको छिमेकी अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई पनि फुटबलले विश्वमा चिनाएको छ । क्रिकेटका कारण श्रीलंका, बंगलादेश, वेस्ट इन्डिजजस्ता साना राष्ट्रले विश्वमा आफूलाई चिनाएका छन् । विश्वमा आफ्नो प्रभाव फैलाउन अब सैनिक र आर्थिक शक्ति भइरहनुपर्ने जरूरी छैन । खेलजस्तै सफ्ट पावरका अन्य माध्यमले राष्ट्रको छुट्टै र सकारात्मक पहिचान बन्नसक्छ ।
नेपालको खेलकुदसँग सम्बन्धित सरकारी निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल महासंघ, नेपाल क्रिकेट संघलगायत संस्था राजनीतिक नियुक्ति र आन्तरिक ‘राजनीति’ का कारण चर्चामा आइरहन्छन् । ती संस्था आकर्षक राजनीतिक नियुक्ति पाउने र आसपासेलाई जागिर लगाउने ठाउँका रूपमा आरोपित छन् । खेलाडीको वृत्तिविकास गर्ने र खेल क्षेत्रलाई आकर्षक बनाउन पनि ती संस्था सफल भएका छैनन् । खेल क्षेत्र राजनीतिक र अन्य नियुक्ति आकर्षक मानिने तर खेल खेल्ने खेलाडीले अप्ठेरो जीवन जिइरहनुपर्ने परिस्थितिको अन्त्य हुनैपर्छ ।
राम्रोसँग प्रचार गर्न सकेको भए पहिलोपटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय टीट्वेन्टी प्रतियोगिता राष्ट्रको छवि उकास्ने माध्यम बन्न सक्थ्यो । तैपनि केही छैन, फरक क्षमता भएका क्रिकेटर अनेकन् अभाव चिर्दै पाएको विजय शानदार छ । यो हामी सबैका लागि खुसी हुने बेला हो । यो फरक क्षमतामात्रै होइन, खास क्षमताले पाएको विजय हो । ह्विलचेयर क्रिकेट टोलीले दिएको योगदान हामी सबैका लागि खुसी हुनुपर्ने पछिल्लो एउटा कारण बन्न पुगेको छ । स्याबास, अनि सलाम-नेपाली क्रिकेटर ।