'मुख्यमन्त्रीको निर्णय वाम गठबन्धनले गर्छ'

'मुख्यमन्त्रीको निर्णय वाम गठबन्धनले गर्छ'

चार दशकदेखि कमयुनिस्ट राजनीतिमा क्रियाशील अष्टलक्ष्मी शाक्य एममाले उपाध्यक्ष तथा एमाले ३ नं प्रदेशकी प्रमुखसमेत हुन् । उद्योगमन्त्री महिला बालबालिका तथा समाजकल्याणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्रीको दावेदारका रुपमासमेत हेरिएको छ । काठमाडौं क्षेत्र नं ८ को ‘ख’ बाटा प्रदेशसभा सदस्यमा निर्वाचित शाक्यसँग प्रकाश अस्थाले गरेको कुराकानी: 

वाम-गठबन्धनको विजयप्रति तपाईंको प्रतिक्रिया के छ ?

जनताको हिजोदेखिको चाहना पूरा भएको छ । विकासका लागि एकीकृत वामपन्थीको स्थिर सरकार आवश्यक छ, त्यसले मात्र समृद्धि र स्थायी शान्ति सम्भव छ भन्ने अपेक्षाका साथ यो जनमत प्राप्त भएको हो । जनताको त्यही भावना मतद्वारा अभिव्यक्त भएको हो ।

वाम विजयसँगै अपेक्षा र चुनौती पनि बढेका छन् । अब कसरी अघि बढ्छ गठबन्धन ?

कतिपयले कम्युनिस्ट सरकार आएपछि अस्थिरता बढ्ने र अधिनायकवाद लादिने भन्ने खालका भ्रम पनि फैलाए । पाँचजना सदस्यसहित जतिखेर पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो, त्यो बेला पनि एउटै लक्ष थियो, देशलाई शोषण र उत्पीडनबाट मुक्त गर्ने । सुन्दर र न्यायपूर्ण नेपाल बनाउने । त्यही लक्ष्य बोकेर अघि बढेका शक्ति हुन् वामपन्थी । संविधानमा नेपाललाई समाजवादउन्मुख बनाउने उल्लेख गरिएको छ । संविधान कार्यान्वयनका लागि पनि वाम समीकरण र एकता जरूरी थियो । एकता प्रक्रियामा चुनौती छन्, तर समृद्धिका लागि ऐतिहासिक एकतातर्फ उन्मुख हुँदै गर्दा हाम्रो उद्देश्यमाथि शंका नगर्न सबैमा मेरो आग्रह छ ।

वामपन्थीले देशमा स्थायी शान्ति, समृद्धि र न्याय स्थापना गर्छन् भन्ने आधार के छ ?

मनमोहन अधिकारीको नौमहिने अल्पमतको सरकारका काम मात्रै हेर्ने हो भने कम्युनिस्टले देशको समृद्धि र समानताको नेतृत्व लिन सक्छन् भन्ने प्रमाणित हुन्छ । जनआन्दोलनपछि प्रजातन्त्र पुनःप्राप्ति भएको अवस्थामा हाम्रा विरुद्धमा जसरी अनेक खालका हल्ला फैलाइएको थियो । बूढाबूढीको जीवन सुरक्षित हुँदैन, लगानीको वातावरण बन्दैनलगायतका भ्रम छरिएको थियो । तर हाम्रो सरकारले सुशासनको स्पष्ट संकेत दियो । नौस अभियान, आफ्नो गाउँ आफैं बनाउँ, ज्येष्ठ नागरिकलाई भत्ता त्यसैका उदाहरण हुन् । हिजो कोरेको गोरेटो नै हामीप्रति जनताको भरोसाको आधार बन्यो ।

समीकरणको सहयात्री एमाओवादीप्रति पुराना विषयलाई लिएर आक्रोश र गुनासा पनि होलान् नि ?

जनताका गुनासा स्वाभाविक हुन् । उचित गुनासो हामी सुन्छौं । हिजो माओवादी युद्धमा थियो । युद्धले कति कुरा गुमाए पनि केही कुरा त पाएका पनि छौं । त्यसकारण विगतका कुरा कोट्याएर केही फाइदा छैन । त्यसबाट हामीले शिक्षा लिनुपर्छ । माओवादीले पनि शान्तिपूर्ण प्रक्रियाबाटै देश विकास हुन सक्छ । शान्तिपूर्ण आन्दोलनले नै देशमा स्थिरता र शान्ति ल्याउन सक्छ भनेर ०६२÷०६३ मा हामी लडेका हौं । त्यसैको प्रतिफल हो, संघीय लोकतान्त्रिक गणतन्त्र । संविधानसभाबाटै विश्वकै उत्कृष्ट संविधान निर्माण गरेका छौं । अभियान, क्रान्ति, मान्छे, पार्टी र संस्था रूपान्तरित हुन सक्छन् । माओवादीले समृद्धि र समता स्थापित गर्न सँगै अघि बढ्न चाहँदा अविश्वास गर्ने कुरा भएन ।

वाम समीकरण धेरै टिक्न सक्दैन, वामको सरकार नबन्न पनि सक्छ भन्ने संशय व्यक्त भएका छन् नि ?

मान्छे सधैंभर एउटै सोच र मानसिकताको हुन्छ भन्ने म मान्दिनँ । मान्छे नै हो रूपान्तरण र परिवर्तित हुने । जहाँसम्म माओवादीको कुरा छ, ऊ सच्चिन तयार हुनुपर्छ । यही चुनावका दौरान हामी सँगसँगै भोट माग्न जानेक्रममा जनताले गरेका प्रश्नले माओवादी मित्रहरूलाई अप्ठ्यारो नपारेको होइन । प्रतिउत्तरमा माओवादी नेताहरूले हामी सच्चिन तयार छौं भन्नुभएको छ । जहाँसम्म नेतृत्वको कुरा छ, दुवै पार्टीका नेताहरूबीच गम्भीर कुराकानी भएको छ । हिजोका सबै मनोमालिन्य र कमीकमजोरी बिर्सेर हामी अघि बढ्नुपर्छ भन्ने सहमति भएको छ नेतृत्वबीच ।

त्यसो भए वामपन्थीको सरकार बन्नेमा कुनै शंका गर्नु पर्दैन?

नेकपा एमालेको उपाध्यक्षका हैसियतले जनतालाई ढुक्क हुन आग्रह गर्छु र विश्वाससमेत दिलाउन चाहन्छु—वामपन्थीको सरकार बन्छ । हाम्रोजस्तै आम चाहना पनि वामपन्थीको स्थायी सरकार नै हो । वामशक्ति छरिएकै कारण, देशमा ठूला राजनीतिक परिवर्तन हुँदासमेत र तमाम खालका निरंकुशता अन्त्य गर्दा पनि हामीले सोच्न सकेनौं भने दुर्भाग्यपूर्ण हुनेछ । अब त्यो दुर्भाग्य आउँदैन ।

आम चाहना पनि वामपन्थीको स्थायी सरकार नै हो । वामशक्ति छरिएकै कारण, देशमा ठूला राजनीतिक परिवर्तन हुँदासमेत र तमाम खालका निरंकुशता अन्त्य गर्दा पनि हामीले सोच्न सकेनौं भने दुर्भाग्यपूर्ण हुनेछ ।

चुनावका दिनमा भोट माग्न जाँदा पनि जनताले हामीसँग यस्तै प्रश्न गरेका थिए । अब ढिलो नगरि सरकार बन्नुपर्छ, पार्टी एकीकरण गर्नुपर्छ । अब व्यक्तिगत र पार्टीगत स्वार्थको लडाईं लड्ने बेला छैन । हामीले हिजो एउटै घोषणापत्र बनाएर चुनावमा गएका कारण पनि यी सबै प्रक्रिया सहज हुनेछन् । जनताको यो अपार माया, समर्थन र एकताप्रतिको भावनालाई नेतृत्वले विश्वाघात गर्दैन । अब वामपन्थी सरकार आयो आयो ।

 सरकार पहिले कि पार्टी एकीकरण ?

सरकार निर्माणमा ढिलाई गर्नु हुँदैन । तर पार्टी एकीकरण र सरकार निर्माण उत्तिकै प्राथमिकताका विषय हुन् । अब ढिलो नगरी दुवै प्रक्रिया अघि बढ्नुपर्छ । जति ढिलो गर्‍यो, देशले उति नोक्सान बेहोर्नुपर्छ

 अब एउटै व्यक्तिको नेतृत्वमा पाँचवर्षे सरकार बन्ने हो ?

यस विषयमा भने संस्थागत निर्णय भएको छैन । दुवै पार्टीको संस्थागत निर्णयमै एमाले-माओवादीबीच ६०÷४० प्रतिशतको उम्मेदवारी बाँडफाँट भएको हो । त्यसअनुसार कार्यकर्ता पनि परिचालित भए । सोही भावनालाई कदर हुनेगरी जनमत पनि आयो । तर अब बाँकी महत्वपूर्ण मुद्दा टुंग्याउन संस्थागत छलफल गर्न बाँकी छ । अब छिट्टै दुवै पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्छन् । दुवै पार्टीका हाइकमान्ड बैठक हुन्छ । अस्थिरता ननिम्तने गरी देशलाई सर्वोपरि ठान्दै हामी निर्णय लिन्छौं ।

समता र न्यायको वकालत गर्ने वामपन्थीले चुनावमा प्रत्यक्षतर्फ महिलालाई विश्वास गरेको पाइएन नि ?

संविधान र कानुनले एकतिहाइ महिलालाई सांसद बनाउनैपर्ने प्रावधान राखेको छ । समानुपातिकमा वाध्यात्मक अवस्था भयो । सोअनुसार हामीले नामसूची पनि बुझायौं निर्वाचन आयोगलाई । तर प्रत्यक्षमा महिलाले स्थान पाएनन् । अहिले सबैले प्रश्न उठाएका छन् । वामपन्थी भएर पनि महिलालाई किन अघि सारिएन ? महिलालाई किन विश्वास् गरिएन भन्ने प्रश्न म स्वयंले गरें । सक्षम महिला नभएर यस्तो भएको होइन । राजनीतिक अवस्था र व्यवस्था परिवर्तन भए पनि हाम्रो सोेचाइ यथास्थितिमै छ । महिला पनि प्रतिस्पर्धामा जित्न सक्छन्, नेता बन्न सक्छन्, जित्न सक्छन् भन्नेमा धेरै व्यक्तिमा अहिले पनि आशंका छ । त्यो समस्या नेतृत्वमा पनि छ ।

बाहिर कतिसम्म सुनियो भने ५० लाखले पनि चुनाव खर्च नपुग्ने । कम्तिमा पनि एक करोडको तयारी गर्नुस् भनेको सुनियो । हाम्रो समाजमा सम्पत्तिको मालिक प्रायः पुरुष नै छैनन् । यो हदसम्म खर्च गर्न त धनी नै हुनुपर्‍यो । निम्न, निम्न मध्यम र मध्यम वर्गीय पुरुषले पनि चुनाव लड्न सक्ने अवस्था अब रहेन । 

तलदेखि माथिसम्मको हाम्रो नेतृत्व पुरूषको हातमा छ । गाउँ, नगर र जिल्ला कमिटीमा महिलाको सहभागिता कम र कमजोर छ । हाम्रो पार्टी विधानमा सबै कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भन्ने प्रावधान छ, तर कार्यान्वयन भएको छैन । यो चुनावमा पनि तीनजना उम्मेदवारको नाम पठाउँदा एउटा महिलाको नाम पठाउनैपर्ने प्रावधान बनाएका थियौं, तर त्यसो गर्दा पनि जित्न सक्ने महिला तलको प्रतिस्पर्धामै पछि परे । नाम पठाउनका लागि मात्र पठाइयो । त्यसकारण अब सोचाइ र संरचनामा रूपान्तरणको आवश्यकता छ । समानुपातिकमा मात्रै महिला पठाउँदा यसले नेतृत्व विकास गर्दैन ।

खर्चिलो र भड्किलो चुनावकै कारण पनि महिलाले नेतृत्व नलिने वातावरण तयार गरियो भनिँदैछ नि ?

निर्वाचनको तरिका र प्रणाली अति महँगो र अप्ठ्यारो छ भन्ने कुरो यस पटकको चुनावमा म आफैंले भोगें । काठमाडौंजस्तो सहज ठाउँमा मैले खर्चिलो चुनाव भोगें । पहिलेको चुनावमा कम पैसा खर्च गरेर मैले चुनाव जितेको थिएँ, बीचमा हारें । तर अहिले त धेरै खर्च जोहो गर्नुपर्ने वाध्यता रह्यो । म आफैंले भोगें । दोस्रो, बाहिर कतिसम्म सुनियो भने ५० लाखले पनि चुनाव खर्च नपुग्ने । कम्तिमा पनि एक करोडको तयारी गर्नुस् भनेको सुनियो । हाम्रो समाजमा सम्पत्तिको मालिक प्रायः पुरुष नै छैनन् । यो हदसम्म खर्च गर्न त धनी नै हुनुपर्‍यो । निम्न, निम्न मध्यम र मध्यम वर्गीय पुरुषले पनि चुनाव लड्न सक्ने अवस्था अब रहेन । अब हाम्रो चुनावी उम्मेद्वार कस्ता आउँछन् ? कस्ता व्यक्तिले जितेर आउँछन् ? यस्तो अवस्थाबाट गुज्रेर जानेले निर्माण गरेको संसद् कस्तो होला ? अब निर्वाचन आयोग र सबै दलले चुनाव मितव्ययी बनाउनेबारे गम्भीर छलफल चलाउनुपर्छ ।

निम्छरो र गरिबको हित गर्छु भन्ने पार्टीको एउटा उम्मेदवारले लाखौं लाख र करोड खर्च गरेर चुनावमा लड्ने अवस्था आएपछि आम जनताको प्रतिनिधित्व त नहुने भयो संसद् र सरकारमा ?

त्यही गाह्रो भयो । पार्टी र आन्दोलनमा निरन्तर लागेका, विचारमा प्रतिबद्ध व्यक्तिहरूले चुनाव लड्न नपाउने अवस्था आयो । यो अवस्था अन्त्य गर्न हामी गम्भीर बन्नुपर्छ । हामीले उम्मेदवार छनौट गरिरहँदा हाम्रै केही शीर्ष नेतृत्वले मैले चुनाव लड्न सक्दिनँ भनेर समेत भन्नुभयो । यो स्थिति सर्वत्र छ । यसले हाम्रो अर्थतन्त्र धराशायी त बनाउँछ नै, सँगै भ्रष्टाचार र अनैतिकतालाई टेवा पुर्‍याउँछ । निर्वाचन मितव्ययी, पारदर्शी र सबैका लागि अनुकूल निर्वाचन प्रणाली बनाउनुपर्छ । त्यसका लागि घनिभूत बहस आवश्यक छ ।

हामी संघीयताको अभ्यासको चरणमा छौं र सात प्रदेशका लागि हुने प्रशासनिक खर्चले देशलाई झनै आर्थिक व्ययभार बढ्ने निश्चित छ । त्यसलाई धान्न सकिएला ?

हाम्रो पार्टी यस विषयमा गम्भीर छ । पार्टीमा यसबारेमा धेरै छलफल चलेका छन् । संघीयता आवश्यकता थियो, सोहीअनुसार हामीले संविधान बनायौं । थेग्न सक्छ भनेर नै हामीले सात प्रदेशमा सहमत भएका हौं । अहिले त सात प्रदेशको केही पनि पूर्वाधार छैन । केन्द्रीय र स्थानीय सरकारमात्रै चलाएको अनुभव छ हामीलाई । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रिमण्डल, सरकार, कर्मचारी व्यवस्थापन, आवास, प्रदेशसभा सञ्चालन, सचिवालयलगायतका विषय छन् । तर यसको व्यवस्थापन नगरी सुखै छैन । एकचौटीलाई यसको व्यवस्थापन चुनौतीपूर्ण हुनेछ । भएकै पूर्वाधारलाई व्यवस्थापन गरेर जाने भन्नेबारे पार्टीमा छलफल भएको छ । नयाँ बनाउनुभन्दा भएकैलाई उपयोग गर्नु उचित हुनेछ ।

तीन नम्बर प्रदेशकै कुरा गरौं । कुनै एउटा कुनोमा लगेर प्रदेश राजधानी बनाएर त भएन नि । सबैको भावना त्यसमा समेटिनुपर्‍यो । एकपटक त कठिन हुनेछ, त्यसको सामना गर्नै छ । त्यसपछि भने प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ । तीन नम्बर प्रदेशसँग पर्याप्त प्राकृतिक स्रोत र साधन छन् । तीन नम्बर प्रदेशका जनतालाई कसरी रोजगारी सिर्जना गर्ने ? कसरी आत्मनिर्भर बनाउने भन्नेबारे योजना बनाउनेतर्फ अब लाग्ने हो भने त्यो सम्भव छ । तर केही समय केन्द्रीय सरकारलाई प्रदेशसभाको बोझ भने पर्नेछ ।

सातवटा प्रदेशमध्ये सम्भवतः छ प्रदेशमा वाम सरकार बन्ने पक्का जस्तै छ, मुख्यमन्त्री छान्दा समावेशी मान्यताको ख्याल गरिएला नि ?

मुख्यमन्त्रीको निर्णय पार्टीले गर्ने हो । पार्टीकै निर्णयका आधारमा म प्रदेशसभामा लडेकी हुँ । जितेर आइसकेपछि मुख्यमन्त्री हुने कतिपयको इच्छा हुनसक्छ । तर त्यसमा एमाले-माओवादीको संयुक्त निर्णय आउनुपर्‍यो । यसमा समावेशी गर्नैपर्‍यो । त्यो नगरी सुखै छैन । तर यसमा विवाद आउने देख्दिनँ ।

निजी जीवनको कुरा गरौं । पतिपत्नी नै जीवनभर राजनीतिमा संलग्न रहनुभयो । राजनीति र परिवारलाई कसरी सँगै अघि बढाउनुभएको छ ?

म काठमाडौंको झोंछेंको नेवार परिवारमा जन्मिएको व्यक्ति । व्यक्तिगत जीवनका धेरै कथा छन् । त्यता नजाउँ । राजनीति गर्ने अधिकार पुरुषलाई, हाम्रा दाजुलाई त नभएको अवस्थामा छोरीले राजनीतिकै लागि घर छाड्ने विषय चानचुने थिएन । मसँग दुइटा बाटा थिए, कि कसैसँग बिहे गरेर घरजम कि त राजनीति । मैले राजनीति रोजें । २०३६ पुस ४ गते सधैंका लागि घर छाडें । पञ्चायती निरंकुशता ढाल्न निरन्तर भूमिगत राजनीतिमा संलग्न भएँ । सहर र गाउँका गरिब, किसान र मजुदरबीच पुगें । सिन्धुपाल्चोकको पिस्करबाट पूर्णकालीन र भूमिगत राजनीति सुरु गरें । दृढतापूर्वक राजनीतिमा लागें । त्यही दौरान अमृतकुमार बोहरासँग विचार मिलेको आधारमा झण्डामुनि बसेर बिहे गरें । रूपरंग होइन, वर्गका आधारमा मायाप्रेम भयो । बिहे गर्नका लागि पार्टीले मापदण्डै बनाउँथ्यो, निर्णय नै गर्नुपथ्र्यो ।

त्यसपछि हाम्रा दुई सन्तान भए । तिनको नाम पनि हामीले पार्टीबाटै प्रभावित भएर आस्था र विश्वास भन्ने नाम दियौं । काठमाडौंमा केटाकेटी लिने व्यक्तिको अभाव भयो । तिनलाई मैले जनताकै बीचमा छाडें । त्यो कठिन निर्णय गरें । २०४१ सालमा बच्चाबच्चा लिएर म झापा पुगें । छोरा र छोरीलाई बेग्लाबेग्लै साथीका साथ छाडिदिएँ । बहुदल आइसकेपछि मात्रै हाम्रा छोराछोरीले आफ्ना बाबुआमा चिने । सानैमा छोडेर अलि ठूलो भएपछि भेटेका थियौं हामीले । छोरीलाई बाबुआमा भनेर थोरै हेक्का रहेछ , छोरालाई त पटक्कै थाहा थिएन, हामी नै बाबुआमा हौं भन्ने । उनीहरू दिदीभाई भन्ने पनि थाहा थिएन ।

आफ्ना कलिला सन्तान छाडेर समृद्ध र न्यायपूर्ण समाजका लागि लड्नुभयो । तपाईंकै छोराछोरी र अरू लाखौं युवा पिढीले अब सुुख पाउलान् ?

हिजो मेरो व्यक्तिगत अवस्थाले मैले छोराछोरी छाडेर हिँड्नुपर्‍यो । आज चुनावका दौरान कतिपय ठाउँमा भोट माग्न जाँदा ८० नाघेका वृद्ध बाबुआमालाई मैले एक्लै पाएँ । विदेशमा सन्तान एक्लै, यता बाबुआमा एक्लै । पानी तताएर खुवाउनेसमेत कोही छैनन् । त्यो पीडा मैले महसुस गरेको छु । तीन नम्बर प्रदेशको म संसद् भएकाले यो प्रदेशमा आत्मनिर्भर बन्ने योजना बनाउने प्रण गरेको छु । यहाँका सबै जिल्ला घुमेका कारण पनि म यो भन्न सक्छु । यो प्रदेशबाट क्रमशः कोही पनि व्यक्ति विदेश जान नपर्ने अवस्था सिर्जना गर्न पहल गर्नेछु । जलस्रोत, पर्यटन, जडिबुटीलगायतका अनेक कुरा छन् यहाँ, जसबाट हामी समृद्ध हुन सक्छौं । हामी वामको पहिलो प्राथमिकता नै देशमा रोजगार सिर्जना गर्ने र युवा पलायनलाई रोक्ने हो । नागरिकले आफ्नो परिवारबाट भिन्न भएर बस्नुपर्ने वाध्यताको अब विस्तारै अन्त्य हुनेछ । अब त्यो जिम्मेवारी वामपन्थीको काँधमा आएको छ ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.