स्वदेश फर्कन चाहन्छन् भुटानी शरणार्थी

स्वदेश फर्कन चाहन्छन् भुटानी शरणार्थी

 

दमक : संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायोग (यूएनएचसीआर)ले यही वर्ष अर्थात् सन् २०१७ देखि भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम बन्द गरेको छ । कार्यक्रम अवधिभर एक लाखभन्दा धेरै भुटानी शरणार्थी अमेरिका, युरोप, अस्ट्रेलियालगायत नौ मुलुक पुगिसकेका छन् । तर, अझै १० हजार भुटानी शरणार्थी स्वदेश फर्कने आशामा झापा र मोरङका अस्थायी शिविरमा समय कुरेर बसिरहेका छन् ।

भुटान फर्कने आशाका साथ शिविरमा बास बस्दै आएकामध्ये धेरैलाई स्वदेशकै मायाले तानिरहेको छ । तिनैमध्ये एक हुन्, हर्कजंग सुब्बा । स्वदेश फिर्तीका लागि ज्येष्ठ नागरिक अभियानका संयोजक सुब्बा बाध्यतामा धेरै शरणार्थी तेस्रो देश गए पनि आफूहरू भने नमरुञ्जेल स्वदेश फर्कने आशाका साथ नेपालमै बास बस्दै आएको बताउँछन् ।

‘अकबर र वीरबलजस्तो हामी दिउँसो १२ बजे राँको बालेर भए पनि न्याय खोजेरै छाड्छौं’, उनी भन्छन्, ‘बरु ज्यान जाला हामी घर फर्केरै छाड्छौं ।’सन् १९९० को दशकमा लखेटिएका ९५ प्रतिशत भुटानी शरणार्थीको कागजपत्र आफूहरूसँग सुरक्षित रहेको उनको दाबी छ । न्यायका लागि अन्तर्राष्ट्रिय अदालतमा पुग्ने योजना रहेको उनी सुनाउँछन् । उनी ४६ वर्षको उमेरमा भुटानबाट लखेटिएका थिए ।

स्वदेश फर्कने अडानका साथ थोरै संख्याका शरणार्थी शिविरमा बसे पनि भुटान सरकारले उनीहरूको मागबारे चासो दिएको छैन । भारतको बाटो भएर आएका उनीहरूलाई भारतले पनि बाटो दिने÷नदिने भन्ने टुंगो छैन । स्वदेश फर्कन प्रतीक्षारत शरणार्थी शिविर व्यवस्थापन समितिका पूर्वसचिव सञ्चहाङ सुब्बा भन्छन्, ‘धेरै मानिस बाहिर गइसके, अब बाँकी रहेका हामीलाई स्वदेश फर्काउन नेपाल, भारत र भुटान सरकारले त्रिपक्षीय वार्ता थाल्नुपर्छ ।’ स्वदेश फिर्तीे अभियान जीवनपर्यन्त चलिरहने उनको कथन छ ।

स्वदेश फिर्ती आन्दोलनमा सक्रिय अगुवा सन्तवीर जन्मिएको, हुर्किएको अनि पसिना बगाएको ठाउँको मायाले अझै तान्ने गरेको बताउँछन् । ‘हाम्रो के गल्ती थियो र भाग्नुपर्‍यो ? ’, उनी भन्छन्, ‘अब जीवनको अन्तिम क्षणमै भए पनि आफ्नै देश फर्कने चाहना अझ बढेर आएको छ ।’ उनका अनुसार स्वदेश फर्किन चाहने शिविरका तीन हजार शरणार्थी पाका उमेरका छन् ।

८३ वर्षीय देवीचरण आचार्य २५ वर्षअघिको पारिवारिक जमघट सम्झिएर तरक्क आँसु झर्ने गरेको सुनाउँछन् । भन्छन्, ‘पुनर्वास त हाम्रा लागि यमराजभन्दा ठूलो भयो । जिउँदैमा श्रीमान्- श्रीमती छुट्टिएर बस्नुपरेको छ ।’

भीमबहादुर पौडेल पनि अपांगता भएका छोरोसँग शिविरमा कष्टसाथ बस्दै आएका छन् । ९० वर्षीया टासी गुम्बा तामाङको अवस्था पनि उही छ । तीन छोरा पुनर्वासमा गए । ससाना दुई जना मात्र साथमा छन् ।

शिविरहरूमा पहिलेजस्तो स्वदेश फिर्तीका लागि आन्दोलन हुँदैन । नेतृत्व गर्ने दल पनि छैनन् । तर, केही भुटानी अगुवाले स्वदेश फिर्तीको आन्दोलनलाई भरथेग गर्दै आएका छन् । भुटानी अगुवा डा. भम्पा राई भन्छन्, ‘शिविरमा बसेकाहरू नमरुञ्जेलसम्म स्वदेश नै फर्कने आशामा छन् ।’ यो स्वाभिमानको चाहना जीवन रहुञ्जेल चलिरहने उनी बताउँछन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.