मुख्यमन्त्रीका लागि दौडधुप

मुख्यमन्त्रीका लागि दौडधुप

 

धनगढी : प्रदेश ७ को समानुपातिकको मतगणना सकिनै लाग्दा मुख्यमन्त्री को बन्ने भन्ने पनि चर्चा हुन थालेको छ । प्रदेश ७ मा प्रदेशतर्फ प्रत्यक्षमा वाम गठबन्धनको दुई तिहाइ मत पुगेको छ । प्रदेशका ३२ सिटमध्ये एमालेले १७ र माओवादीले १० गरी २७ सिट जितेको छ ।

चुनावअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले प्रदेश ७ को मुख्यमन्त्री एमालेबाट हुने सहमति गरेका थिए । त्यसबेलाको सहमतिअनुसार प्रदेश १, ३, ४ र ७ मा एमालेबाट मुख्यमन्त्री हुने र त्यस बाहेकका प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनाउने सहमति भएको एक जना एमालेका नेताले बताए ।

प्रदेश ७ मा एमालेबाट पूर्वकृषिमन्त्री तथा एमालेका प्रदेश सहसंयोजक कर्णबहादुर थापाको नाम चर्चाको अग्रस्थानमा छ । एमाले स्रोतका अनुसार चुनावअघि उनलाई नै मुख्यमन्त्री बनाउने भनेर बाजुराबाट समानुपातिक सूचीमा राखिएको छ । थापा समानुपातिक सूचीको १ नम्बरमा छन् ।

थापाले चुनावका बेला गरिएको पत्रकार सम्मेलनमा पनि पार्टीले मुख्यमन्त्रीका रूपमा आफूलाई अघि सारेको स्विकारेका थिए । तर, एमालेले चुनावअघि मुख्यमन्त्रीको घोषणा गरेरै चुनावमा गएमा भोटमा फरक पर्न सक्ने आकलन गर्दै थापाका बारेमा सार्वजनिक रूपमा केही बोलेको थिएन ।

तर, समानुपातिकको पछिल्लो मतपरिणामअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिला पु¥यानै पर्ने संवैधानिक व्यवस्था भएकाले एमालेबाट समानुपातिकमा पुरुष चयन नहुने हुन कि भन्ने चिन्ता गरिन थालिएको छ ।

प्रदेश ७ मा प्रदेशका लागि एमालेबाट प्रत्यक्षतर्फ कुनै पनि महिला निर्वाचित भएनन् । विश्लेषकहरू एमालेको भागमा समानुपातिकबाट ८ जना प्रदेश सांसद भागमा परे पनि मुख्यमन्त्रीका दाबेदार थापा नपर्ने हुन कि भन्ने एमालेमा चिन्ता बढ्न थालेको छ । ‘पछिल्लो परिणामअनुसार दुई÷तीन जना पुरुष पर्छन् कि भन्ने आशा गरेका छौं’, एमाले नेता दीपकप्रसाद देवकोटाले भने ।

एमालेबाट थापा समानुपातिकमा नपरेपछि त्यसपछि मुख्यमन्त्री को बन्ने भन्ने पनि बहस हुन थालेको छ । कर्ण थापापछि मुख्यमन्त्रीका लागि दोस्रो पुस्ताका युवा नेताहरूको पनि चर्चा सुरु हुन थालेको छ । पुरुषमा कैलालीका पार्टी अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका पार्टी अध्यक्ष तारा लामा र महिलाबाट कञ्चनपुरबाट समानुपातिक सूचीमा रहेकी निरु पालको समेत चर्चा हुन थालेको स्रोतले बताएको छ । कञ्चनपुरबाट समानुपातिकको १ नम्बरमा रहेकी निरुपाल पार्टी केन्द्रीय सदस्य हुन् । उनी महेश बस्नेत मन्त्री भएपछि युवा संघको अध्यक्षसमेत भएकी नेतृ हुन् ।

‘पार्टीभित्र अहिले नै मुख्यमन्त्रीका लागि छलफल भने सुरु भइसकेको छैन, पार्टीले छलफल चलाउँछ, यसबारेमा शीर्ष नेताहरूबीच पनि छलफल हुन्छ, अहिले त समानुपातिकको नतिजा नै आइसकेको छैन’, एमाले नेता महेश्वर पाठकले भने ।

एमालेबाट मुख्यमन्त्रीका लागि ‘हेभिवेट’ नभेटिएपछि माओवादी केन्द्रलाई दिँदा कसलाई दिने भन्ने चर्चा पनि सुरु हुन थालेको छ । माओवादी केन्द्रका प्रदेश ७ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य लेखराज भट्ट भन्छन, ‘थारूबाट वीरमान चौधरी र हरिराम चौधरी पनि मुख्यमन्त्री हुने हैसियतका नेता हुन् । उता पहाडमा त्रिलोचन भट्ट र झपट बोहरा पनि छन् ।’ तर उनले पनि अहिले नै मुख्यमन्त्रीको बारेमा पार्टीभित्र पनि छलफल सुरु भइनसकेको बताए ।

वीरमान चौधरी सशस्त्र युद्ध सुरु भएदेखिकै नेता हुन् । उनले पार्टीको तल्लो कमिटीदेखि नै धेरै जिल्लाको इन्चार्ज भएर काम गरिसकेका छन् । उनी माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य पनि हुन् । त्यस्तै हरिराम चौधरी पार्टीका पोलीटब्युरो सदस्य तथा थारूवान् राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।

कांग्रेसमा मुख्यमन्त्री बन्ने सम्भावना न्यून छ । कांग्रेसले प्रदेश ७ का ३२ मध्ये ४ स्थानमा मात्र जितेको छ । कैलालीको निर्वाचन क्षेत्र १ बाट जितेका रणबहादुर रावल मुख्यमन्त्रीका दाबेदार भए पनि उनको पार्टीका चार सिटले कांग्रेस प्रतिपक्षमा बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.