समानुपातिकमा वाम गठबन्धनकै अग्रता

समानुपातिकमा वाम गठबन्धनकै अग्रता

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै गणना आइतबार सम्पन्न भएको छ। प्रत्यक्षतर्फ दुवै निर्वाचनमा वर्चस्व बनाएको वाम गठबन्धनले समानुपातिकमा भने झिनो अग्रता पाएको छ।

समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरी एमाले पहिलो दल बनेको छ भने कांग्रेस ३१ लाख २८ हजार ३ सय ८९ मतसहित दोस्रो र माओवादी केन्द्र १३ लाख ३ हजार ७ सय २१ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ। प्रत्यक्षतर्फ भने एमालेले ८०, माओवादीले ३६ र कांग्रेसले २३ सिटमा जित निकालेका थिए।

समग्र परिणाममा अघिल्लो संसदमा जस्तै माओवादी तेस्रो दल बनेको छ भने कांग्रेस फराकिलो अन्तरमा एमालेभन्दा पछि परेको छ। समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४० र माओवादीले १७ सिट हात पार्ने देखिएको छ।

त्यसैगरी संघीय समाजवादी फोरम र राजपाले ६-६ सिट पाउने सम्भावना छ। समानुपातिकमा राजपाले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ प्राप्त गरेको छ। विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६६ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ सिट जितेका राप्रपा, नयाँशक्ति, नेमकिपा र राजमोले समानुपातिकमा तीन प्रतिशत मत पुर्‍याउन सकेनन्। आगामी संसद्मा उनीहरूको भूमिका स्वतन्त्रसरह मात्रै हुनेछ।

निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न भने केही समय लाग्ने जनाएको छ। दलले प्राप्त गरेको मतको आधारमा सिट संख्या बाँडफाँट गर्न अझै एक साता लाग्ने आयोगका सचिव वेगेन्द्रराज शर्माले जनाएका छन्।

समानुपातिकतर्फ एमालेको मत ०६४ यता बढेको छ भने माओवादीको मत घट्दो छ। ०६४ सालमा एमालेले २१ लाख ८३ हजार ३ सय ७० मत पाएको थियो। ०७० सालको संविधानसभामा एमालेले २२ लाख ३९ हजार ६ सय ९ मत प्राप्त गरेको थियो। उसले ०७० सालभन्दा अहिले प्राप्त गरेको मतको अन्तर ९ लाख ३३ हजार ८ सय ८५ छ।

माओवादीले ०६४ सालमा ३१ लाख ४४ हजार २ सय ४ प्राप्त गरेको थियो। उसले ०७० सालमा जम्मा १४ लाख ३९ हजार ७२६ मत प्राप्त गर्‍यो। दोस्रो संविधानसभामा उसको १७ लाख ४ हजार ४ सय ७८ मत घटेको थियो। वाम गठबन्धनका कारण यसपटक प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकतर्फ जम्मा १७ सिटमा चित्त बुझाउनुपर्ने भएको छ।

माओवादीको जनाधार कमजोर भएकाले समानुपातिकतर्फ मत कम आएको प्राध्यापक कृण्ण खनाल बताउँछन्। ‘माओवादीको जनाधार निकै कमजोर रहेको समानुपातिक मतले देखाउँछ। वाम तालमेलले उसलाई लाभ पुगेको हो', उनले अन्नपूर्णसँग भने।

कांग्रेसले ०६४ सालको संविधानसभामा २२ लाख ६९ हजार आठ सय ८३ मत ल्याएको थियो। ०७० को संविधानसभामा उसले १ लाख ४८ हजार ४ सय ८७ मत बढाउँदै २४ लाख १८ हजार ३ सय ७० पुर्‍यायो। यसपटकको निर्वाचनमा पनि उसले ७ लाख १० हजार १९ मत बढाएको छ। प्राध्यापक खनाल समानुपातिकतर्फ कांग्रेसले बढी मत प्राप्त गर्नुले उसको जनाधार कमजोर नभएको सन्देश दिएको बताउँछन्।

०५१ सालमा एमालेले प्रत्यक्षतर्फ बढी सिट जिते पनि पपुलर भोटमा कांग्रेस अगाडि रहेको र अहिलेको निर्वाचनमा संगठन निर्माण तथा प्रचार-प्रसार र उम्मेदवार छनोटमा ध्यान दिन नसक्दा कांग्रेसले प्रत्यक्षतर्फ थोरै सिट ल्याएको उनको बुझाइ छ। राजनीतिक विश्लेषक नीलाम्बर आचार्य पनि जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्न कमजोर देखिएको कांग्रेसलाई आफ्ना कमजोरी सुधार्न जनताले दबाब दिएको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.