राजनीतिक नियुक्ति नगर

राजनीतिक नियुक्ति नगर

 

वर्तमान कामचलाउ सरकारका केही मन्त्रीहरूले जाँदाजाँदै आफ्ना र दल निकटका व्यक्तिहरूलाई राजनीतिक नियुक्ति र अन्य तरिकाले लाभ पुर्‍याउन खोजेका छन् । कामचलाउ सरकारले राष्ट्रको दैनिक जीवनमा आइपर्ने सामान्य कामबाहेक महत्वपूर्ण नीतिगत निर्णय गर्नु हुँदैन । त्यसमाथि जाँदाजाँदै महत्वपूर्ण नियुक्तिहरू गरेर गलत राजनीतिक संस्कारलाई बढावा र निरन्तरता दिने काम सरकारले गर्नु हुँदैन ।

अहिले मन्त्रीहरूले राजनीतिक नियुक्तिका लागि दिन थालेका दबाबका कारण मन्त्रालयका सचिवहरू अप्ठेरो र अलमलमा परेका छन् । कहाँसम्म भने उनीहरूमध्ये केही बिदामा बस्न थालेका छन् भने केही सकेसम्म मन्त्रीलाई भेट्न नपरोस् भन्ने तरिकाले काम गर्न थालेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव, आपूर्तिमन्त्री जयन्त चन्द आदिले आफूनिकट व्यक्तिहरूलाई विभिन्न निकायमा राजनीतिक नियुक्तिका लागि सचिवहरूमाथि दबाब दिन थालेका छन् ।

सिँचाइमन्त्री सञ्जयकुमार गौतम बाढीपीडितलाई सहयोग भन्दै अर्बौं रकम निकासा गराउन अर्थ मन्त्रालय धाउन थालेका छन् । प्रधानमन्त्री देउवासमेत नजिकका व्यक्तिहरूलाई विभिन्न ठाउँमा नियुक्ति दिलाउन लागिपरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराएर मुलुकको संविधान कार्यान्वयन र संघीयतातर्फको रूपान्तरणलाई साकार रूप दिएका भनेर जस पाउन सक्ने प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पनि यस्ता गतिविधिमा लाग्नबाट रोक्नुपथ्र्यो । उल्टै उनी आफैं यस्ता क्रियाकलापमा सामेल हुनु शोभनीय हुँदै होइन । अहिलेको सरकारमा भएको मुख्य दल कांग्रेसको विपक्षमा जनादेश आएकाले पनि यस्ता गतिविधि उचित र नैतिक हुन सक्तैनन् ।

मंसीर १० र २१ मा सम्पन्न चुनावमा प्रतिनिधिसभा र सातमध्ये ६ वटा प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीमा एमाले-माओवादी मिलेर बनेको वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रस्ट भएको छ । यो जनादेश सत्तारूढ दल कांग्रेसको विपक्षमा छ । लोकतन्त्रको लागि सबैभन्दा धेरै संघर्ष गरेको दाबी गर्ने दल कांग्रेसले लोकतान्त्रिक पद्धति र मर्मविपरित कार्यकारी अधिकारसहितको सरकारले झैं व्यवहार गर्न मिल्दैन ।

चुनावमा अभूतपूर्व विजय हासिल गरेको वाम गठबन्धनको मुख्य दल एमालेले यस्ता राजनीतिक नियुक्तिहरू मान्य नहुने र उसको नेतृत्वमा सरकार बनेपछि यस्ता नियुक्ति उल्ट्याइने जनाएको छ । त्यसो त एमालेले कामचलाउ सरकारको नेतृत्व गरेको बेलामा राजनीतिक नियुक्ति गरेको र कार्यकर्ता र नजिकका व्यक्तिहरूलाई राज्यस्रोतबाट पोस्न आर्थिक अनुदान दिएका नजिर छन् । २०७३ असारको अन्तिम साता माओवादी केन्द्रले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो र स्वतः कामचलाउ बनेको थियो ।

उनी नेतृत्वको सरकारले सोही वर्ष साउन ७ र १८ मा बसेको मन्त्रिपरिषद्को निर्णयबाट विभिन्न व्यक्तिहरूलाई लाखौं रुपैयाँको आर्थिक सहयोग गरेको थियो । भविष्यवेत्ता भनिएका बालक आदित्य दाहाल नामक प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय भएको थियो । उक्त सरकारले गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड आदिमा राजनीतिक नियुक्ति र सरुवाबढुवासमेत गरेको थियो । त्यसबेला ओली नेतृत्वको कामचलाउ सरकारको व्यापक आलोचना भएको थियो ।

ओलीअघिका सरकारहरूले पनि जाँदाजाँदै महत्वपूर्ण राजनीतिक नियुक्तिहरू गर्ने र आफ्ना कार्यकर्ता पोस्ने गरेका थिए । सरकार कामचलाउ भइसकेपछि नियुक्ति गर्न, सरुवाबढुवा गर्न राजनीतिक नैतिकताले दिँदैन । जसले गरेको भए पनि यस्तो प्रवृत्तिले असल राजनीतिक संस्कार निर्माण गर्दैन । लामो राजनीतिक संक्रमणपछि मुलुक स्थिरता र समृद्धि उन्मुख हुँदै छ । संक्रमणकाल अन्त्य गरेको जस पाउने अवस्थामा सरकारले नियुक्तिहरूमा लोभ देखाएर विवादमा आउनु उचित हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.