पूर्वको तीन जिल्लामा मधेशी दल कमजोर

पूर्वको तीन जिल्लामा मधेशी दल कमजोर

विराटनगर : प्रदेश १ मा परेका तीन जिल्लामा मधेशकेन्द्रित दलले समानुपातिकतर्फ अपेक्षाकृत मत पाउन सकेनन् । झापा, मोरङ र सुनसरीमा मधेशकेन्द्रित दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निकै कम मत प्राप्त गरे । मधेश आन्दोलनका बेला यी तीनै जिल्लालाई ती दलले आफ्नो आधार इलाकाका रूपमा प्रस्तुत गरेका थिए । प्रदेश १ बाट तीन जिल्लालाई मधेशबाट छुट्याउन नदिने भन्दै आन्दोलन गर्दै आएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई ती तीन जिल्लाका मतदाताले निकै कम मत दिएका हुन् ।

पहिलो मधेश आन्दोलनमा सुनसरीमा तीन र मोरङमा चार निर्वाचन क्षेत्रमा अत्यधिक मतान्तरले विजय हात पारेका मधेशकेन्द्रित दललाई नयाँ संविधान जारी भएपछि सम्पन पहिलो प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ कम मत आएको हो । प्रदेशका तीन वटै जिल्लाको दक्षिणी भेगलाई मधेशकेन्द्रित दलको प्रभाव मानिन्थ्यो ।

फोरमले मोरङमा सदर मतको समानुपतिकतर्फ ७.२६ प्रतिशत (३०३१५) मत प्रतिनिधिसभामा पाएको छ भने प्रदेशसभातर्फ समानुपातिकमा ७ सात प्रतिशत (२९२५५) पाएको छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र ५ मा मात्रै फोरमका प्रतिनिधिसभाका उम्मेदवार राजकुमार यादवले १८ हजार ६ सय ४९ मत एवं प्रदेशसभामा निर्वाचित जयराम यादवले ११ हजार २ सय १ मत प्राप्त गरेका थिए । ‘हामीले अपेक्षा गरेअनुसारको मत नखसेकै हो’, यादवले भने ।

त्यस्तै राजपाले समानुपातिकतर्फ प्रतिनिधिसभामा २.१३ प्रतिशत (८८९७) मत प्राप्त गरेको छ । प्रदेशसभा तर्फ राजपाले २ दशमलव १५ प्रतिशत (८८९७) मत प्राप्त गरेको छ । मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेकोमा ४ लाख १७ हजार ६ सय १ मत खसेको थियो । ‘हाम्रो प्रभाव क्षेत्रमै समानुपातिकतर्फ पनि थोरै मत आएको छ’, राजपा मोरङका नेता मोहम्मद कादिरले भने ।

झापामा राजपा र फोरम दुवैलाई अपेक्षाकृत मत आउन सकेन । झापामा संघीय समाजवादी फोरमले प्रतिनिधिसभाको समानुपातिकतर्फ १.४४ प्रतिशत (५५३७) मत पाएको छ भने प्रदेशसभामा कुल सदर मतको १.५ प्रतिशत मत मात्रै पाएको छ । राजपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ १.०५ प्रतिशत (४०५५) र प्रदेशसभातर्फ १.१५ प्रतिशत (४४३५) मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

झापामा मधेशकेन्द्रित दलको सुनसरी र मोरङको तुलनामा संगठन पनि कमजोर रहेको थियो । विगतका मधेश आन्दोलनमा खासै प्रभाव नपर्ने झापामा दुई पटक भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ राम्रो मत आए पनि प्रत्यक्षमा जित निकाल्न सकेको थिएन ।

सुनसरीमा समेत फोरमले विगतको तुलनामा समानुपातिकतर्फ थोरै मत आएको छ । फोरमले प्रतिनिधिसभातर्फ समानुपातिकमा ५.७५ प्रतिशत (१६८२६) मत पाएको छ भने प्रदेशसभातर्फ लगभग ६ प्रतिशत मत प्राप्त गरेको छ । अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको दुवै निर्वाचनमा विजय प्राप्त गरेको जिल्लामा यसपटक प्रत्यक्षतर्फ मधेशकेन्द्रित दलको पराजय भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र ५ मा फोरमले कांग्रेसलाई समर्थन गरेपछि राजपाका उम्मेदवारले नराम्ररी पराजय भोगेका थिए । पहिलो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र ३, ४ र ५ फोरमले जितेको थियो । राजपाले प्रत्यक्षतर्फ २.१७ प्रतिशत (६३७०) मत पाएको छ । प्रदेशसभातर्फ राजपाले २ प्रतिशत (५८३१) मत पाएको छ । सबैभन्दा बढी प्रभाव भएको सुनसरी क्षेत्र ५ मा फोरमले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेकाले समानुपातिकतर्फको मतसमेत कांग्रेस र वाम गठबन्धनका मधेसी मतदाताले दिएको आकलन गरिएको छ ।

सुनसरी क्षेत्र ३ मा पहिलो संविधानसभा निर्वाचनमा फोरमबाट विजयी भएका विजयकुमार गच्छदार दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै नेतृत्वको लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिँदै विजयी भएका थिए । तर यसपटक काग्रेससँग पार्टी एकीकरण गरी उम्मेदवार बनेका गच्छदारका कारण पनि मधेसकेन्द्रित दलको समानुपातिकतर्फको मतपरिणाममा असर परेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.