प्रदेश राजधानी कहाँ ?

प्रदेश राजधानी कहाँ ?

धनगढी : मुख्यमन्त्रीको दौडधुप सुरु भएसँगै प्रदेश नम्बर ७ मा प्रदेशको राजधानीका लागि पनि बहस तीब्र भएको छ । सामाजिक सञ्चालहरूमा आ-आफ्ना तर्कहरू प्रस्तुत गर्दै प्रदेशको राजधानी दियापल हुने वा धनगढी अत्तरिया हुने भन्दै बहस सुरु हुन थालेको हो ।

प्रदेश नम्बर ७ मा तीन ठूला दलका नेताहरूको आधिकारिक भनाइ बाहिर नआए पनि माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ७ का पार्टी ईञ्चार्ज लेखराज भट्टले राजधानी सबैलाई पायक पर्ने स्थान धनगढी अत्तरिया भएको अभिव्यक्ति दिएका छन् ।

‘दुई जिल्ला कैलाली र कञ्चनपुरको जनसंख्याका हिसाबले पनि प्रदेशको राजधानी तराईमा हुनुपर्छ' उनले अन्नपूर्णसँग भने । ‘यसले थारु समुदायको भावना पनि समेटिन्छ ।'

भट्टको विचारमा सरकारले तीनवटा सामरिक महत्वका सडकहरू छिटो निर्माण गरी पहाडसँग तराईको पहुँच बढाउनुपर्छ । अहिले कञ्चनपुरको ब्रम्हदेव हुँदै महाकालीको तिरैतिर दार्चुला सदरमुकाम जोड्ने महाकाली करिडोर, धनगढी-खुटिया हँुदै दिपायल द्रुतमार्ग र टीकापुर बैनीया हुँदै बझाङको चैनपुर जोड्ने सेती लोकमार्ग कछुवा गतिमा निर्माण भइरहेका छन् ।

‘यी तीनवटा द्रुत मार्गहरूको सरकारले अबको तीन÷चार वर्षमा कम्तीमा पनि ‘डबल लेन' पक्की बनाएर पहाडी जनताको तराईमा बन्ने राजधानीसँगको पहुँच बढाउनुपर्छ' भट्टले भने ।

उनले भारतको उत्तराखण्डको उदाहरण दिँदै भने, ‘उत्तराखण्डको राजधानी देहरादूनमा राखिएको छ । तर उसले कुमाउँ र गढवालका जनताको सडक पहँचमा सहजता हुने गरी तीब्र गतिमा सडकहरू बनाएको छ । त्यसैले राजधानी तराईमा हुनुपर्छ । त्यसमा पहाडको सहज पहँचको ग्यारेन्टी हुनुपर्छ ।'

प्रदेश नम्बर ७ मा कैलाली र कञ्चनपुर जिल्ला मात्रै तराईका जिल्ला हुन । ७ वटा पहाडी जिल्लाको भन्दा यी दुई जिल्लाको जनसंख्या बढी छ । अझ तराईमा ४० प्रतिशत थारु समुदायको बसोबास छ । राज्य पुनर्संरचनासँगै कैलाली कञ्चनपुरलाई अगल पारेर छुट्टै नवलपरासीसम्मको थरुहट प्रदेशका लागि थारु समुदाय आन्दोलनमा पनि उत्रिएको थियो । तर अहिले साविकको सुदूरपश्चिम नछुट्टिए पनि थारु समुयालले आफ्नो पहिचानको माग राज्यले पुरा नगरिदिएको भन्दै निरास छ । ‘त्यो सम्बोधन गर्नका लागि पनि तराई उपयुक्त हुन्छ', भट्टले भने ।

हुन त चुनावका बेला पहाडमा चुनाव लडेका पार्टीका नेताहरूले राजधानी पहाडमा बनाउने र तराईमा चुनाव लडेका नेताहरूले तराईमा राजधानी बनाउने भनेर आ-आफ्नो चुनावी एजेन्डा बनाएका थिए । अहिले चुनाव सम्पन्न भइसकेपछि एउटै पार्टीका नेताका राजधानी बारे फरक फरक विचार बाहिर आएका छन् ।

एमाले उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का ईञ्चार्ज भीम रावलले अहिलेसम्म राजधानीका लागि मुख खोलेका छैनन ।

‘यसबारेमा हाम्रो पार्टीमा छलफल हुन बाँकी छ', उनले भने । ‘संविधानमै राजधानी र प्रदेशको नाम प्रदेश सभाले गर्ने भएकाले यसबारेमा खासै बोलिरहनु पर्दैन ।'

धनगढीमा चुनाव अघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका नेता लेखराज भट्टबीच राजधानी तराईमा राख्नुपर्ने सहमति भएको विषय चर्चामा छ । तर एमाले उपाध्यक्ष रावल त्यो गलत भएको दाबी गर्छन । ‘त्यो त्यत्तिकै चलेको हावा हो । हामीबीचमा केही कुरा भएको छैन', उनले भने ।

उपाध्यक्ष रावलले राजधानीका बारेमा पार्टीभित्र छलफल नै नभएको बताइरहेका बेला उनकै पार्टीका डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रेम आलेमगरले भने प्रदेशको राजधानी दिपायल हुनुपर्ने अडान राख्दै आएका छन् ।

उनले चुनावका बेला आफ्नो मुख्य चुनावी एजेन्डामै डोटीलाई राजधानी बनाउने राखेका थिए । ‘पार्टीभित्र के भइरहेको छ, के हुन्छ ? त्यो मलाई थाहा छैन तर प्रदेशको राजधानी सबैलाई पायक पर्ने स्थान भनेको दिपायल हो, त्यसैले राजधानी दिपायल हुनुपर्छ', उनले भने ।

उनले दिपायल ऐतिहासिक स्थान भएको, दिपायलमा धेरै क्षेत्रीय कार्यालयहरू भएकाले पनि संरचना बनाउन नपर्ने भएकाले राज्यको कम लगानी हुने र दिपायलको विमानस्थल पनि पक्की भइरहेकाले त्यो नै उपयुक्त हुने तर्क अघि सारे । ‘नौ जिल्लाको पायक पर्ने भएकैले त हिजो पञ्चायतका दिनमा पनि राजधानी दिपालय बनाइएको थियो भने अब किन नहुने ? ', उनले प्रतिप्रश्न गरे ।

हुन त प्रदेश सभामा एमालेले १७ सीट प्रत्यक्षमा जितेको छ भने उसले ८ सीट समानुपातिकमा पाउने सम्भावना छ । २ सीटले बहुमतबाट बञ्चित एमालेले प्रदेशको राजधानी र प्रदेशको नामका बारेमा अरु कुनै दलको समर्थन लिनुपर्ने हुन्छ । यस्तै माओवादी केन्द्रको प्रत्यक्षमा १० र समानुपातिकमा ४ सीट गरी १४ सीट आउने देखिन्छ । बाम गठवन्धनको प्रदेशमा दुई तिहाइ नै पुग्ने देखिन्छ ।

एमाले र माओवादीका नेताहरू प्रदेश राजधानीका बारेमा आ-आफ्नै तर्क दिइरहेका बेला, प्रत्यक्षमा ४ सीट र समानुपातिकमा ८ सीट गरी १२ सीटको सम्भावनामा रहेको कांग्रेसले पनि प्रदेश राजधानीका बारेमा आधिकारिक धारणा बाहिर ल्याएको छैन । तर डडेल्धुराबाट प्रत्यक्षमा जितेका प्रदेश सांसद कर्ण मल्ल भने डडेल्धुरालाई राजधानी बनाउनुपर्ने तर्क गर्छन् । ‘सुदूरपश्चिम अथवा प्रदेश नम्बर ७ का सबै ८ जिल्ला जान आउनका लागि डडेल्धुरा भएरै जाने आउने गर्नुपर्छ त्यसैले सबैभन्दा सेन्टरको जिल्ला डडेल्धुरा हो । यहाँ राजधानी हुनुपर्छ', उनले भने ।

राजधानीका लागि जनसंख्या, सबैको सहज पहुँच, विमानस्थल, प्रदेशका संरचनाका लागि चाहिने अवश्यक भुमि, आर्थिक र व्यापारिक क्षेत्र सम्मको सहज पहँुच जस्ता आधारभूत कुराहरू हुनुपर्छ । डडेल्धुरामा भने विमानस्थल पनि नभएको, प्रदेशका पूर्वाधारका लागि पनि जग्गाको उलब्धतामा समस्या आउने भएकाले त्यसका बारेमा खासै चर्चा भने चुलिन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.