प्रदेश राजधानीका लागि दलभित्र मतभेद
नेपालगन्ज ब्युरो : सरकारले प्रदेश नं ५ को राजधानीका लागि आन्तरिक रूपमा आवश्यक पूर्वाधार निर्माण कार्य दाङमा सुरु गरिसकेको छ । ५ को राजधानीका लागि दाङ वा बुटवलमध्ये एक ठाउँमा तोके पनि अस्थायी प्रदेश सरकार बस्ने पूर्वाधार तयारी भने दाङमा नै भइरहेको छ । तर यस प्रदेशका पूर्वी जिल्लाका नागरिक भने दाङभन्दा बुटवल नै उपयुक्त हुने भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
दाङदेखि पश्चिमतिरका जनताले दाङमा प्रदेशको राजधानी उपयुक्त हुने विचार राख्दै आएका छन् । बुटवलनजिकका जिल्लाबाट भने बुटवलमै केन्द्र राख्दा सबैलाई सहज हुने माग आएको छ । नागरिक मात्रै होइन, राजनीतिक दलका नेतृत्वहरूसमेत प्रदेश राजधानीको विषयमा दुईमत राख्दै आएका छन् । निर्वाचन जित्न प्रदेश राजधानीको एजेन्डालाई मुख्य बनाएका दलका नेतामा पनि ५ नम्बरको राजधानी कहाँ राख्ने विषयमा मतभेद रहँदै आएको छ । वाम गठबन्धनको बहुमत आएको प्रदेश नम्बर ५ मा नागरिक अगुवादेखि राजनीतिक दलका नेतासमेत प्रदेश राजधानीका विषयमा दोहोरो धारणा राख्दै आएका छन् । हाल मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले नेता शंकर पोखरेलले पनि दाङलाई नै प्रदेश राजधानी बनाउने एजेन्डा बनाएका थिए ।
चुनावी समयमा मात्रै होइन, अहिले पनि सबैको पायक पर्ने र भौतिक पूर्वाधार जुटाउन दाङमै राजधानी हुने जनतामाझ विश्वास दिलाइरहेको शंकर पोखरलले बताए । तर एमालेकै अर्का नेता विष्णु पौडेल भने बुटबलमै राजधानी हुनुपर्ने अडानमा छन् । सार्वजनिक समारोहदेखि पत्रकार सम्मेलनमा समेत पौडेलले आफू निर्वाचनका समयमा जनतालाई दिएको बाचा पूरा गर्ने अठोटमा रहेको बताउँछन् । ५ नं प्रदेशका दुईतिहाइ नागरिकको मत बुटवल नै भएको भन्दै दाङको विषयमा धेरै कुरा नगर्न उनको आग्रह छ । ठूलो औद्योगिक सहर र पूर्वाधार विकासमा समेत अगाडि भएकाले बुटवललाई पहिलो प्राथमिकता दिनुपर्ने पौडेलको तर्क छ ।
प्रदेश सरकारले नै राजधानी तोक्ने भएका कारण भौतिक पूर्वाधार, स्थायित्व, सुरक्षालगायत मापदण्डलाई हेरेर स्थायी राजधानी तोकिनेछ ।
माओवादी केन्द्रका नेताहरू पनि प्रदेश राजधानीका विषयमा एकमत देखिँदैनन् । माओवादी नेता एवं सांसद कृष्णबहादुर महरा दाङ र टोपबहादुर रायमाझीले बुटबलको पक्षमा लबिङ गर्दै आएका छन् । प्रभावशाली नेताले नै निर्वाचनका समयमा जनतामाझ प्रदेश राजधानी बनाउने बाचा गरेका कारण अहिले नेताहरू आफ्नै दलभित्र नै एक मत हुन नसकेका हुन् । रूपन्देही क्षेत्रनजिकका जिल्लाका नागरिक बुटवलमा राजधानीको माग राख्दै आएका छन् भने पश्चिम क्षेत्रका नागरिक दाङ नै सबैलाई पायक पर्ने बताउँछन् ।
बाचा पूरा गर्न आग्रह
दाङका नागरिक अगुवा र बुद्धिजीवीहरू राजधानीका लागि दाङको विकल्प नभएको बताउँदै आएका छन् । उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायणप्रसाद भुसालले भने, '२०६६ सालदेखि नै राजधानीको माग गर्दै जिल्लामा हामीले अगुवाइ गरेका छौं', उनले भने, 'अन्य जिल्लाका निजीक्षेत्रसँग पनि समन्वय भएका कारण व्यापारिक दृष्टिले पनि दाङ नै उपयुक्त छ ।'
दाङ मात्र नभई पश्चिम क्षेत्रका बर्दिया, सल्यान, प्युठान, रुकुम रोल्पालगायतका जिल्लाबाट दाङ नै उपयुक्त हुने धारणा आएको छ । पश्चिम नवलपरासीदेखि बर्दियसम्मको बीच भागमा दाङ पर्ने भएकाले पनि उपयुक्त भएको र नेताहरूको पनि सोही आश्वासनलाई नै मत दिएको भन्दै रोल्पा रुकुम क्षेत्रका नागरिकले दाङको विकल्प खोज्न नहुने बताएका छन् । रोल्पा र रुकुमका उत्तरी बिकट भाग र तराईको समथर भूभागका जनतालाई पायक पर्ने उपयुक्त स्थान दाङ भएको गैसस महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाँठा मगर बताउँछन् ।
तर पूर्वी जिल्लाका नागरिकको माग भने बुटवलमै भएको छ । केही दिनअघि मात्रै विज्ञसहितको टोलीले बुटवलमा पनि राजधानीको पूर्वाधारका लागि स्थान हेरेर फर्किएकाले बुटवलमा राजधानीको सम्भावना बढेको त्यहाँका नागरिक अगुवाले बताएका छन् । निर्वाचन जित्ने बेला त्यस क्षेत्रका नागरिकको सहुलियतका लागि बुटवल राजधानी बनाउने एजेन्डा ल्याउने तर अहिले राजधानी अन्यत्र लैजान नपाइने बुटवल नजिकका जिल्लाका नागरिकको भनाइ छ । पाँच नं प्र्रदेशका लागि गरिएको आन्दोलनमा अगुवाइ गरेका अर्घाखाँचीवासीले प्रदेश राजधानी बुटवलमै बनाउनुपर्ने बताएका छन् । त्यस क्षेत्रका नागरिक मात्रै नभई राजनीतिक अगुवाको भनाइ पनि बुटवलमै राजधानी बनाइनुपर्ने अडान देखिएको छ । भौतिक पूर्वाधारमा विकास भएकाले तत्काल खर्च पनि कम हुने भएकाले बुटवलको विकल्पबारे सोच्न नहुने मानवअधिकार तथा शान्ति समाजका जिल्ला उपाध्यक्ष माधव पौडेलको भनाइ छ ।
गल्मीका नागरिक पनि बुटवलकै पक्षमा देखिएका छन् । नागरिक समाज गल्मीका अध्यक्ष अध्यक्ष पदमप्रसाद पाण्डे भन्छन्, 'लुम्बिनीलगायत राप्ती अञ्चलभित्र रहेका अधिकांश जिल्लालाई समेत पायक पर्ने भएकाले बुटवल नै प्रदेश राजधानी हुनुपर्ने हो । राप्तीका प्युठान, रोल्पालाई समेत बुटवल नै पायक पर्दछ ।'
रूपन्देहीसहित अर्घाखाँची, कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पा, गुल्मीका नागरिक बुटवलको पक्षमा छन् । बर्दियाँ बाँके, पूर्वी रुकुम, रोल्पा, प्युठान र सल्यानका नागरिक भने दाङमै उपयुक्त हुने पक्षमा छन् । यद्यपि प्रदेश सरकारले नै राजधानी तोक्ने भएका कारण भौतिक पूर्वाधार, स्थायित्व, सुरक्षालगायत मापदण्डलाई हेरेर स्थायी राजधानी तोकिनेछ ।
नेपालगन्जबाट गोविन्द देवकोटा, दाङबाट गोपाल शर्मा, रोल्पाबाट खेम बुढा मगर, अर्घाखाँचीबाट प्रेमनारायण आचार्य, गुल्मीबाट गंगा खड्का, पाल्पाबाट कृष्ण पोखरेलको सहयोगमा तयार पारिएको ।