समानुपातिकको सन्देश
प्रत्यक्ष निर्वाचन प्रणालीमा निकै पछाडि परेको कांग्रेस समानुपातिक मतगणनामा एमालेकै हाराहारी पुगेको छ । समानुपातिक प्रणालीमा एमाले ३१ लाख ७३ हजार मत ल्याएर पहिलो भएको छ भने कांग्रेसले ३१ लाख २८ हजार मत ल्याएको छ । प्रत्यक्ष प्रणालीमा निकै खुम्चिएको कांग्रेसले समानुपातिकतर्फ एमालेकै हाराहारीमा मत ल्याउनाले उसलाई केही न केही राहत मिलेको छ । यद्यपि, उसले पार्टीको पुनर्जागरण, शुद्धीकरण र सुदृढीकरण अभियानलाई नयाँ शिराबाट थाल्नु अत्यावश्यक छ । त्यो किन पनि भने, लोकप्रिय मतमा वामपन्थीको हिस्सा बढ्दै गएको छ भने कांग्रेस कमजोर हुँदै गएको छ ।
अहिले माओवादी केन्द्रले ल्याएको करिब १३ लाख ३ हजार मत र एमालेको मत जोड्ने हो भने करिब ५० प्रतिशत वामपन्थीको पोल्टामा गएको देखिन्छ । जबकि ०१५ सालमा कांग्रेसले प्रतिनिधिसभामा दुईतिहाइभन्दा बढी सिट प्राप्त गर्दा पनि उसको लोकप्रिय मत ४० प्रतिशत पनि कटेको थिएन । ०४८ र ०५६ को आम निर्वाचनमा प्रस्ट बहुमत ल्याउँदा पनि कांग्रेसले ३० र ३५ प्रतिशतको बीचमा लोकप्रिय मत पाएको थियो ।
विगत र अहिलेको चुनावी नतिजाले कांग्रेसलाई धक्का लागेकोमा शंका छैन । यद्यपि, समानुपातिक नतिजाले मतदाताले यो पार्टीलाई सम्मान गरेको र अझै उल्लेख्य जनमत यस पार्टीको पक्षमा रहेको देखाउँछ । आन्तरिक किचलो, सक्षम र बलियो नेतृत्वको अभाव, कैयौं अलोकप्रिय कामका बाबजुद मतदाताले समानुपातिकतर्फ कांग्रेसलाई सम्मानजनक मत दिएका छन् । यसको कदर गर्दै यो पार्टीले पहिले आन्तरिक रूपमा चुस्तदुरुस्त बनाउन र जनमुखी कार्य गर्ने संयन्त्र निर्माण गर्न लाग्नुपर्छ । नत्र कांग्रेसको लोकतन्त्रको संघर्षप्रति सहानुभूति राख्ने पुस्ता बूढो हुँदै जाँदा उक्त दलको जनमत थप घट्दै जान सक्छ ।
संविधानले तोकेबमोजिम समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत ल्याएर मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम पनि राष्ट्रिय दल बन्न सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेश २ को प्रदेशसभाको प्रत्यक्षमा पनि उनीहरूको प्रतिनिधित्व राम्रो छ । संसद्को अंकगणितमा ठूलो अर्थ नराखे पनि राजनीतिक रूपमा मधेसकेन्द्रित दल बेवास्ता गर्न नमिल्ने शक्तिका रूपमा देखिएका छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उल्लेख्य सिट जित्न सफल राजावादी र हिन्दुवादी राष्ट्रिय प्रजातन्त्र पार्टी र अहिले खासगरी सहरी क्षेत्रमा शिक्षित युवाबीच लोकप्रिय विवेकशील साझा पार्टीले भने समानुपातिक प्रणालीमा ३ प्रतिशतसमेत ल्याउन सकेनन् । यो परिणामले राप्रपा प्रवृत्तिको घट्दो र विवेकशील साझा प्रवृत्तिको बढ्दो आकर्षणलाई देखाउँछ । राप्रपाले राखेका राजतन्त्र वा हिन्दु राज्यका मुद्दाप्रति आम मतदातामा खासै रुचि नभएको मतपरिणामले देखाएको छ भने राष्ट्रिय पार्टी बन्न नसके पनि सहरी क्षेत्रमा विवेकशील साझाप्रतिको आकर्षण बढेको देखिएको छ ।
मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै प्रणालीको सम्पूर्ण मतपरिणाम आइसक्दाको प्रस्ट सन्देश हो, नेपाली राजनीतिमा वाम गठबन्धन बलशाली भएको छ भने कांग्रेस रक्षात्मक अवस्थामा पुगेको छ । कांग्रेसमा व्यापक सुधार आवश्यक भएको तथ्य हो तर समानुपातिक नतिजाले एउटा महत्वपूर्ण सन्देशचाहिँ दिएको छ, दलहरू मिलेर जानुको विकल्प छैन । वामपन्थीको पोल्टामा प्रचण्ड बहुमत भए पनि कांग्रेसले पाएको जनादेशलाई अवमूल्यन गर्ने छुट तिनलाई जनताले दिएका छैनन् । जित र हारलाई लोकतान्त्रिक विधिको स्वाभाविक प्रक्रिया ठान्दै नयाँ संविधान र पद्धतिलाई सुदृढ गराउने दिशातर्फ सबै दल उन्मुख हुनु पर्छ ।