एमाले-माओवादी एकीकरणको बहस गाउँसम्म

एमाले-माओवादी एकीकरणको बहस गाउँसम्म

प्युठान: प्युठान नगरपालिका-४ बिजुवार टारीका नागरिक समाजका अगुवा लोकबहादुर भण्डारी दुई ठूला कम्युनिस्ट पार्टी एक भएकोमा खुसी छन् । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणामसमेत वाम गठबन्धनकै पक्षमा बहुमत आएपछि उनमा थप खुसी छायो । तर बेलाबेला राजनीतिक क्षेत्रमा हुने उतारचढावले उनमा शंका भने अझै मरेको छैन।

‘अब मुलुकलाई कस्तो बनाउने भन्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आइसक्यो', उनले भने, ‘जनताले वाम गठबन्धनलाई रुचाएका छन् । जनमतको सम्मान राजनीतिक नेतृत्वले गर्नुपर्छ।'

मुलुकमा स्थायी सरकार नबन्दा जनतालाई राजनीतिप्रति वितृष्णा जागिरहेको उनले सुनाए । ‘राणाशासन र पञ्चायत फाल्ने पनि जनता नै हुन्', ८१ वर्षीय भण्डारी भन्छन्, ‘धेरै सिट जित्यौँ भनेर वाम गठबन्धनले घमण्ड गर्नुहुँदैन । देशलाई सही बाटोमा लैजानेतर्फ ध्यान दिनुपर्छ ।'

चुनावको अन्तिम नतिजा आएसँगै जिल्लाका चोकचोकमा नयाँ बन्ने सरकार र वाम गठबन्धनबीच पार्टी एकीकरणको विषय सर्वत्र चासोका रूपमा हेरिएको छ । दुईचार जनाको समूह जुट्दाबित्तिकै देशको समसामयिक राजनीतिको विषयमा चर्चा हुने गरेको देखिन्छ । व्यापारी, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसानहरूलाई समेत सरकार गठन र पार्टी एकीकरणको चासोले छोएको छ ।

‘चुनाव त यसअघि नै भइरहेको थियो', बिजुवार भौकारोडमा व्यवसाय गर्दै आएका बांगेसाल दरभानका झवेन्द्र शर्माले भने, ‘देशका दुई ठूला वाम पार्टीले चुनावी तालमेल गरेकाले यसपालि धेरै चासो बढेको हो ।' पार्टी एकीकरण हुने÷नहुने विषयमा धेरै चासो बढिरहेको समेत उनी सुनाउँछन् । ‘देश विकासका लागि धेरै पार्टी हुनु आवश्यक देखिँदैन', शर्मा भन्छन्, ‘वाम गठबन्धनहरू पार्टी एकीकरण गरेर अघि बढ्नु देशहितमा हुन्छ ।' अस्थायी सरकारकै कारण देशमा लगानीको वातावरण नबनेको उनको भनाइ छ । विपक्षी दललाई समेत सम्मान गरेर राज्यसत्ता सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

निर्वाचनबाट कुनै पनि दलले दुईतिहाइ बहुमत लिएका छैनन् । सबै दललाई जनताले मिलेर देश चलाउने गरी जनमत दिएकाले यसको सम्मान गर्न समेत नागरिक समाजका अगुवाहरू सुझाव दिन्छन् । वाम गठबन्धनका दुई दलहरू अबदेखि एक भएको महसुस गरेर अघि बढ्नुपर्ने जिल्लावासीको सुझाव छ । ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टीहरू अघि बढ्नुपर्ने देखिन्छ', शर्माले भने, ‘वाम गठबन्धन पार्टी एकीकरण गरेर अघि बढेमा मात्र देशले निकास पाउँछजस्तो लाग्छ ।' सरकारबाहिर रहने दलहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेसमेत उनको सुझाव छ ।

अबको प्रधानमन्त्री, वाम गठबन्धनको पार्टी एकीकरण, नयाँ बन्ने पार्टीको नेतृत्वलगायत विषय आम मतदाताको चासोको विषय बनिरहेको छ । लामो समयको पर्खाइपछि स्थानीय तहलगत्तै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका मतदाताले देशलाई आर्थिक रूपमा सबल बनाउने गरी अबको नेतृत्व जिम्मेवार बन्नुपर्ने आशा राखेका छन् ।

जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई समेत मतदाताले व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्न सुझाएका छन् । यसअघि निर्वाचित जनप्रतिनधिहरूले बोलेअनुसारको काम पूरा नगरेको समेत जिल्लावासीको गुनासो छ ।

स्रोतसाधन प्रशस्त भए पनि जिल्ला सदैव पछाडि परिरहेको आम मतदाताहरूको सधैँको गुनासो देखिन्छ । जिल्लामा कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा थुप्रै सम्भावना छन् । जलाशययुक्त नौमुरे जलविद्युत् आयोजना, चाल्नेटार विमानस्थलको निर्माण, झिमरुक नदी नियन्त्रण, झिमरुक फाँटमा व्यावसायिक कृषिखेती, स्वर्गद्वारी मन्दिरको बृहत् गुरुयोजना निर्माण, बाग्दुला-भीमगिठे सडक निर्माणलगायत योजनालाई विशेष चासोका साथ हेर्नसमेत प्रतिनिधिहरूलाई जिल्लावासीले आग्रह गरेका छन् ।

सबै योजना स्थायी सरकार निर्माण भएमा मात्र पूरा हुने धेरैको विश्लेषण छ । ‘एउटा सरकारले योजना ल्याउँछ, अर्कोले हटाउँछ', प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले भने, ‘जनताको हितमा ल्याइएका योजना पूरा गर्न कम्तीमा पनि पाँच वर्षसम्म सरकारको नेतृत्व एउटैले गर्नुपर्छ ।' जिल्लाबाट ऊर्जाशील युवाहरू विदेश पलायन हुने क्रम बढिरहेकाले जिल्लामै रोजगारीका सिर्जना हुने खालका अवसर जुटाउन सबैको चासो हुनुपर्ने उनी बताउँछन् । ‘सबैको साथ र सहयोग भएमा परिवर्तन सम्भव छ', कक्षपति भन्छन्, ‘निर्वाचनमा हारजितलाई राजनीतिक इगोका रूपमा लिनुहुन्न ।'

जिल्लाबाट प्रतिनिधि तथा प्रदेशसभा दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, प्रदेशसभा (क)मा एमालेका निवर्तमान जिल्ला अध्यक्ष हरि रिजाल र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य कृष्णध्वज खड्का विजयी भएका छन् । पौडेल र खड्कालाई भावी मन्त्रीको दाबेदारका रूपमा समेत हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.