कान्तिको बेथिति

कान्तिको बेथिति

महाराजगन्जस्थित कान्ति बाल अस्पतालको आईसीयू वार्ड सञ्चालनमा गम्भीर समस्या देखिएको छ । मुलुकको एक मात्र केन्द्रीय सरकारी बाल अस्पतालमा उपचार सेवा प्रभावित भएपछि थुप्रै बालबालिका यो सेवाबाट वञ्चित भएका छन् । आईसीयू वार्डमा कार्यरत नर्सहरूले एकपछि अर्को गर्दै राजीनामा दिएका कारण सेवा प्रभावित भएको हो । नर्सहरूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुनुमा अस्पताल व्यवस्थापन दोषी छ । कतिपय निजी अस्पतालमा भन्दा आधा कम तलब हुनु, त्यो पनि समयमै नपाउनु, एकजनाले सातजनासम्म बिरामी हेर्नुपर्ने तथा ज्यालादारी र करारमै लामो समय काम गर्नुपर्ने हुनाले नर्सहरूले जागिर छोड्ने क्रम बढेको हो । 

त्यसमाथि अस्ट्रेलिया, बेलायतजस्ता विकसित मुलुकमा समेत नर्सको माग बढ्न थालेपछि थुप्रै नेपाली नर्स त्यसतर्फ आकर्षित हुन थालेका छन् । यस्ता अनेक कारणको मारमा कान्ति बाल अस्पताल परेको छ । यहा“को सेवा दिनहु“ प्रभावित छ । अस्पताल सेवामा बेथिति बढ्दै जा“दा सम्बद्ध निकायहरू उदासीन हुनु चिन्ताको विषय हो ।

स्वास्थ्य सेवा आम सर्वसाधारणको मौलिक हक हो । संविधानले नै त्यस्तो अधिकारको सुनिश्चितता गरेको सन्दर्भमा बालबालिकाको स्वास्थ्यप्रति यो स्तरको असंवेदनशीलता देखिनु लज्जाको विषय हो । अस्पतालमा उपचार गर्न पुगेका बालबालिका सेवा नपाई महँगा निजी अस्पताल र क्लिनिक जानुपर्ने जुन बाध्यता उत्पन्न भएको छ, त्यसको जवाफदेही को हुने ? उपचार खर्च धान्न सक्ने आर्थिक हैसियत भएका अभिभावकका हकमा यसले प्रभाव नपारे पनि त्यस्तो हैसियत नभएको हजारौं मानिस यसबाट प्रभावित छन् । त्यसकारण अस्पताल व्यवस्थापनले कान्तिको उपचार सेवालाई सहज र व्यवस्थित बनाउनेतर्फ गम्भीर हुन आवश्यक छ ।

कान्ति बाल अस्पतालको आईसीयू वार्डमा एक वर्षयता ५२ बेड छन् । त्यसअघि १८ वटा मात्रै बेड भएको उक्त वार्डमा पर्याप्त स्टाफ नर्स नहुँदा आएका बिरामी अन्यत्रै ‘रिफर’ गर्ने गरिएको पाइन्छ । आईसीयू वार्डको समस्या अहिले सार्वजनिक भए पनि कान्तिमा पछिल्लो समयमा बेथिति बढ्दै गएको थियो । गएको भदौमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ‘सय दिनमा अस्पताल सुधार्न’ अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । अस्पतालको आफ्नै आय यसको सञ्चालनका लागि पर्याप्त नभएकाले मन्त्रालयले एक करोड रकम उपलब्ध गराउने बाचा गरेअनुरूप दियो । त्यसबखतको आर्थिक अभावको जोहो मन्त्रालयले गरिदिए पनि अहिले पुनः कान्ति आर्थिक संकटमा छ । चिकित्सक र कर्मचारीहरूको तलब र सुविधा समयमै उपलब्ध गराउन धौ-धौ परिरहेको स्वयं अस्पताल प्रशासनले बताएको छ ।

आईसीयू वार्डमा नर्स अभाव मात्रै कान्तिको समस्या होइन । समग्रमै अस्पतालको उपचार सेवा प्रभावित भएको देखिन्छ । अस्पताल प्रांगणमै देखिने लथालिंग अवस्थाले धेरै हदसम्म यो उजागर हुन्छ । त्यसमाथि आफ्ना आम्दानी घट्दै जुन तहको आर्थिक संकटमा कान्ति फस्दै गएको छ, त्यसलाई सरकारले गम्भीर रूपमा नलिने हो भने यसको अवस्था अझै रुग्ण हुँदै जाने निश्चित छ । त्यसकारण बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने यो अस्पताल अधोगतिमा जानुको यावत् कारण पहिल्याई त्यसले दिने सेवा सहज, चुस्त र व्यवस्थित बनाउने दायित्व सरकारको हो । तलब सुविधा थोरै हुनु वा समयमै नपाउनु मात्रै समस्या हो वा अरू लापरबाहीका कारण पनि कान्तिको कन्तविजोग भएको हो ? खोजी हुन आवश्यक छ । त्यस्तो खोजी गर्न स्वास्थ्य मन्त्रालयको अग्रसरता जरुरी छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.