पर्साको ग्यास उद्योगमा लागेको आगो नियन्त्रण
काठमाडौँ : पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। संघको कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए।
चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनले बताए। ‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहास उद्योगभित्र पहिलोपटक आगलागी भएको छ’, उनको भनाइ थियो। सो आगलागीमा परी थुप्रै ग्यास सिलिण्डर पड्किएको तर कतिवटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन।
उनले ग्यास उद्योगमा सञ्चालनमा रहेको सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए। बुधबार बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेश गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन्।