ग्यास उद्योगमा भीषण आगलागी : दुई अग्नि नियन्त्रकको मृत्यु, ४० कराेड बढीको क्षति
वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरस्थित सुपर ग्यास उद्योग प्रालिको प्लान्टमा बुधबार भएको भीषण आगलागीमा परी दुई अग्नि नियन्त्रकको मृत्यु भएको छ। आगो निभाउने प्रयासमा घटनास्थल पुगेका अरू तीन जना अग्नि नियन्त्रक घाइते भएका छन्। तीमध्ये गम्भीर घाइते दुई जनाको काठमाडौंको ट्रमा सेन्टरमा र एक जनाको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ।
ग्यास उद्योगको प्लान्टमा बुधबार बिहान लागेको आगो निभाउन वीरगन्ज महानगरपालिकाबाट गएको वारुणयन्त्र (दमकल) का पाँच कर्मचारीमध्ये आगोले जलेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। तीन जना घाइते भएका थिए। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका कार्यालयको वारुणयन्त्र शाखाका हवल्दार तनहँुको डुम्रे घर भएका ४३ वर्षीय मधुसूदन मि श्र र फायरम्यान सर्लाहीको लालबन्दीका ४१ वर्षीय यादवप्रसाद अधिकारी छन्।
घाइतेमध्ये वारुणयन्त्रका चालक अरुणकुमार महतो र फायरम्यान विराटनगर घर भएका सञ्जीव नेपालको वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार दिउँसै हेलिकोप्टरबाट काठमाडौं पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए।
अर्का घाइते अम्बिका पटेलको भने वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ। बुधबार बिहान आगो निभाउन गएको महानगरपालिकाको वारुणयन्त्र पनि जलेर ध्वस्त भएको छ। आगलागीबाट उद्योग परिसरमा रहेका ग्यास ढुवानी गर्ने भारतीय नम्बर प्लेटका चार वटा बुलेट ट्यांकर, उद्योगका तीनवटा ट्रक र ट्रकमा रहेको करिब ७ सय ५० वटा खाली सिलिन्डरसहित उद्योगको कार्यालय भवन जलेर सबै नष्ट भएको छ।
उद्योग परिसरमा रहेका भारतीय नम्बर प्लेटका चार वटा बुलेटमध्ये एउटा बुलेटको मात्रै ग्यास नष्ट भएको र बाँकी तीन वटा बुलेटमा रहेका ग्यास भने सुरक्षित रहेको उद्योगका एक जना सञ्चालक अबुल कयश अन्सारीले बताए। तर, चार वटै बुलेटको इन्जिनसहितको गाडी जलेर नष्ट भएको उनले बताए।
‘उद्योग परिसरमा रहेको ग्यास भण्डारण गर्ने दुईवटा भरी बुलेट भने सुरक्षित छ। आगलागीबाट करिब ३५–४० करोड रुपैयाँ क्षति भएको अनुमान छ', उनले अन्नपूर्णसँग बुधबार साँझ भने, ‘क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।'
पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बुधबार बिहान ७ बजेतिर उद्योगको प्लान्टमा लागेको आगो नौ घन्टापछि अपराह्न तीन बजेतिर मात्र नियन्त्रणमा आएको बताए। उद्योगमा बिहान लागेको आगो निभाउन महानगरपालिका कार्यालयबाट गएको पहिलो वारुणयन्त्र जलेर नष्ट भएपछि त्यसलगत्तै महानगरपालिका कार्यालयकै अर्को वारुणयन्त्र, नेपाल आयल निगमको अमलेखगन्ज डिपो र सीमावर्ती भारतीय सहर रक्सोलमा रहेको आईओसीको डिपोबाट गरी थप तीन वटा वारुणयन्त्र मगाइएको थियो। तर, उद्योगमा रहेका बुलेटमा लागेको आगो थप भयावह बन्न सक्ने त्रासले ती तीनवटै वारुणयन्त्र दिनभर उद्योगभन्दा पाँच सय मिटर टाढै रोकेर राखिएको थियो।
अपराह्न ३ बजेतिर उद्योगभित्रको आगो मत्थर भएपछि मात्र सुरक्षाकर्मी र केही अग्नि नियन्त्रकले उद्योग परिसरभित्र प्रवेश गरेका थिए। त्यसपछि मात्र बाँकी रहेको आगो निभाएका थिए। आगलागीको खबर पाएलगत्तै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पुगेका थिए। यस्तै, नेपाल प्रहरीका प्रदेश नम्बर २ का प्रमुख एआईजी विजयलाल कायस्थ, सशस्त्र प्रहरीका डीआईजी कवीन्द्रमान श्रेष्ठ, नेपाल प्रहरीका एसएसपी सूर्यप्रसाद उपाध्याय, पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरलगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकारी घटनास्थल पुगेका थिए।
‘वारुणयन्त्रबाटै आगलागी'
ग्यास उद्योगको प्लान्टमा बुधबार भएको आगो लाग्नुको यकिन कारण खुल्न नसकेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए। तर, अहिले भौतिक क्षतिको विवरण संकलन गर्ने काम मात्र भइरहेको भन्दै उनले आगलागीको यकिन कारणबारे अनुसन्धान गरेपछि मात्रै केही भन्न सकिने उनले बताए। तर, घटनाका प्रत्यक्षदर्शीले भने बुधबार बिहान उद्योग अगाडि पुगेको महानगरपालिकाको वारुणयन्त्रबाटै आगलागी भएको सञ्चालक अन्सारीले दाबी गरेका छन्।
उद्योगका सञ्चालक अन्सारीका अनुसार मंगलबार राति भारतबाट ग्यास लिएर उद्योगभित्र छिरेका चारवटा बुलेटमध्ये एउटाबाट मंगलबार रातिदेखि नै ग्यास चुहिएको थियो। बुधबार बिहान करिब साढे पाँच बजेतिर बुलेटबाट ग्यास ‘अनलोड' गर्न ब्युँझिएका बुलेट चालक र उद्योगका कर्मचारीले ग्यास लिक भएको थाहा पाएपछि सम्भावित दुर्घटनाबाट बच्न वीरगन्ज महानगरपालिका कार्यालयको वारुणयन्त्र शाखामा फोन गरेर खबर गरेका थिए, बिहान साढे ६ बजेतिर। त्यसपछि तत्कालै वारुणयन्त्रसहित अग्नि नियन्त्रक बिहान सात बजेतिर उद्योगमा पुगेका थिए। उद्योगको प्रवेशद्वार अगाडि पुगेर फैलिएको ग्यास नियन्त्रणका लागि तयारी गर्दै गर्दा चालकले स्टार्ट गर्ने क्रममा वारुणयन्त्रको इन्जिनबाट निस्किएको झिल्का (स्पार्क) ले ग्यास टिपेका कारण आगलागी भएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै सञ्चालक अन्सारीले दाबी गरे।
रामनारायण दास, महानगर वारुणयन्त्र कमान्डर
बुधबार बिहान सात बजेतिर उद्योगबाट फोन आएपछि चालकसहित हामी ६ जना वारुणयन्त्र (दमकल) सुखचैनामा रहेको ग्यास उद्योगमा पुग्यौं। उद्योगको मुख्य गेट (प्रवेशद्वार) अगाडि पुगेर दमकल रोक्यौं। ड्राइभर दमकलभित्रै थिए, मसहित अरू चार जना दमकलबाट झरेर उद्योगको गेटअगाडि पुग्यांै। त्यहाँका कर्मचारीले बुलेटबाट ग्यास लिक भएर चारैतिर फैलिएको बताए। उद्योग परिसरभित्र र बाहिर फैलिएको ग्यासलाई पानीको फोहोरा हानेर नियन्त्रण गर्ने सल्लाह भयो।
त्यसपछि ड्राइभरले दमकल स्टार्ट गर्नेबित्तिकै अचानक आगोको ठूलो लप्का आइहाल्यो दमकलमा सल्कियो, आगोको लप्का हामीतिर पनि आयो, मचाहिँ लप्का फैलिएको भन्दा ठीक विपरीत दिशातिर भागे तर अरू पाँच जना साथी भने आगोको लप्का बढिरहेकै दिशातर्फ भागे, म विपरीत दिशातिर भागी नहरमा हाम फालेर बचें तर अरू तीन जना साथीलाई आगोको लप्काले छोपिहाल्यो, दुई जनाको घटनास्थलमै मृत्यु भयो, अर्का तीन जना घाइते भए। मलाई लाग्छ, बुलेटबाट लिक भएर हावामा फैलिएको ग्यास, दमकल स्टार्ट गर्ने क्रममा इन्जिनबाट निस्किएको आगोको सानो झिल्कोले टिपेका कारण आगलागी भएको हो। तर, आगलागीको यकिन कारण यही हो भन्ने अवस्था छैन।
शेरबहादुर कार्की, निमित्त प्रमुख, महानगर वारुणयन्त्र शाखा
ग्यास उद्योगमा लागेको आगो निभाउन गएको पहिलो एम्बुलेन्स जलेको खबर पाएलगत्तै वारुणयन्त्र शाखाबाट अर्को दमकल एम्बुलेन्स लिएर म निस्केको हुँु। उद्योगभन्दा चार सय मिटर वरैबाट उद्योग नजिकसम्म पुग्न सकिने अवस्था देखिएन। त्यसमा पनि मैले ल्याएको दमकल पनि बिग्रियो। उता, उद्योग भित्रबाट आगोको लप्का र धुवाँको मुस्लो ह्वारह्वार्ती आइरहेको थियो। निरन्तर पड्किएका ग्यास सिलिन्डरका फलामका टुक्रा उछिट्टिएर बाहिर उडिरहेको थियो, त्यसै क्रममा हाम्रै वारुणयन्त्र शाखाका तीन जना कर्मचारी भाग्दै गरेको देखियो, उनीहरूमध्ये दुई जनाको जिउमा आगोको लप्का बलिरहेको थियो, उनीहरू केही पर खेतमा ढलेको देखें, अर्का एक जना भने दौडँदै आफूतिर आएको देखें।
उनी पनि जलेर घाइते भइसकेका थिए, उनलाई स्थानीयले मोटरसाइकलमा हालेर अस्पताल लगे, अरू दुई जना उद्योगको पूर्वतर्फको गाउँमा पुगेछन्, उनीहरूलाई पनि गाउँलेले एम्बुलेन्समा राखेर हस्पिटलमा पुर्याएको खबर सुनेको छु। बिहान उद्योग नजिक पहिले पुगेको वारुणयन्त्रको धुवाँ फ्याँक्ने साइलेन्सरको झिल्कोले लिक भएर हावामा फैलिएको ग्यास भेटेपछि आगलागी भएको हुन सक्छ। महानगरको वारुणयन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक र कर्मचारी असुरक्षित अवस्थामा काम गर्न बाध्य छन्। आगलागी भएको स्थानमा आगो निभाउन जाँदा हामीलाई चाहिने लाइफ ज्याकेट, सुरक्षित हेलमेट केही व्यवस्था छैन। महानगरसँग चार वटा दमकल रहे पनि दुई वटा पहिलेदेखि नै बिग्रिएका छन्। एउटा त आज जलिहाल्यो, भएको अर्को पनि आजै बिग्रियो। यदि, अन्यत्र आगलागी भइहाल्यो भने पनि निभाउन जाने सद्दे एउटा पनि दमकल छैन।
टीकाप्रसाद उपाध्याय अधिकारी, मृतक यादव अधिकारीका बुबा
वीरगन्जबाट जेठो छोरा (मृतक यादव अधिकारी)को अफिसमा काम गर्नेहरूले घटनाबारे बुधबार बिहान फोन गरी जानकारी दिएलगत्तै कान्छो छोरा र दुई जना भाइसँगै सर्लाही लालबन्दीबाट वीरगन्जका लागि हिँडेका हौं। यहाँ आएपछि प्रहरीले घटनास्थलमा जानै दिएनन्। भित्र बुलेटमा आगो लागिरहेको छ, पड्कने सम्भावना छ भन्दै शव भएको ठाउँमा तीन घन्टासम्म जान दिएनन्। दुई बजेतिर मात्र शव भएको खेतमा जान दिए। शव जलेर चिन्न मुस्किल भइरहेको थियो। तर, नजिकैबाट हेर्दा मात्र जेठो छोरो हो भनेर ठम्याउन सकँे। उसको तीन छोरा, एक छोरी र श्रीमती छन्। सबै लालबन्दीमै बस्छौं। यो मात्र जागिरका लागि वीरगन्जमा बसेको थियो। घरको मुली नै यही जेठो छोरो थियो। घर धान्ने यही छोरो संसारबाट बिदा भयो अब त हाम्रो परिवार र लालाबालाको बिचल्ली नै हुने भयो। हिजो मात्रै फोन गरेर म भोलि घर आउँदै छु भनेको थियो।
मृतकलाई एक लाख र घाइतेलाई ५० हजार दिने सांसद यादवको घोषणा
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागीमा परी ज्यान गुमाएका मृतकको परिवारलाई जनही एक/एक लाख र घाइतेको उपचारका लागि ५०/५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन्।
भारतको पटना विश्वविद्यालयको एक कार्यक्रममा सरिक हुन बुधबार पटनामै रहेका संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले बुधबार साँझ अन्नपूर्णलाई फोन गरी मृतकको परिवारलाई जनही एक/एक लाख र घाइतेको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन्।
घटनाबारे जानकारी पाएलगत्तै आफूले आगो नियन्त्रणका लागि बिहार सरकारसँग समन्वय गरी रक्सौलको भारतीय आयल निगमसँग रहेको वारुणयन्त्र, आगो नियन्त्रणका लागि पठाउने पहल गरेको उनले बताए।
घटनाबारे बुधबार बिहानैदेखि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग बारम्बार सम्पर्कमा रहेर जानकारी लिएको भन्दै उनले आगलागीको घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन टोली गठन गर्न सरकारसँग माग पनि गरेका छन्। मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्न सरकारसँग माग पनि उनले गरेका छन्। उनले अति संवेदनशील ग्यास उद्योग र प्लान्ट मानव बस्तीबाट टाढा स्थानान्तरण गर्न पनि सरकारसँग माग गरेका छन्।