'जनताको काममा खटिनेछु
जितलाई कसरी लिनुभएको छ ?
यो मेरो जित होइन, यो सबै जनताको जित हो। मैले यो जितलाई सकारात्मक हिसावले लिएको छुँ। जनताले ठूलो जिम्मेवारी काँधमा राखिदिएका छन्। उनीहरुले आफ्नो दायित्व पूरा गरेका छन्। अब मैले उनीहरुका लागि काम गर्नुपर्ने छ। म रातदिन समेत नभनेर जनताको काममा अहोरात्र खटिएर काम गर्नेछु।
तपाईका क्षेत्रका समस्या कसरी हल गर्नुहुन्छ ?
मेरो निर्वाचन क्षेत्रमा धेरै समस्याहरु रहेका छन्। सबैभन्दा ठूलो समस्या महाकाली पारि रहेको दोधारा-चाँदनीमा हो। जहाँ मेरो आफ्नै घर हो। यो ठाउँ सदरमुकामसँग जोड्नेका लागि महाकाली नदिमा निर्माण गरिने पक्की पुल निर्माण, दोधारा चाँदनीमै निर्माण हुने भनिएको सुख्खा बन्दरगाहाको निर्माण, महाकाली र जोगबुढा नदीमा तटबन्धसहितका नदी नियन्त्रण गर्नु, शिक्षा, स्वास्थ्य, बेरोजगारी थुपै्र समस्या रहेका छन्। अब यो क्षेत्रको समस्या समाधानका लागि मेरो काम अघि बढ्ने छ। महाकाली नदीमा निर्माण हुने पक्की पुल निर्माणको कामलाई समयमा निर्माण सम्पन्न गरिसक्ने र सुख्खा बन्दरगाहा निर्माणको कामलाई समेत अघि बढाउनका लागि प्रदेश र केन्द्र सरकारसम्म पहल गरिनेछ। यस्तै दोधारा चाँदनी क्षेत्रमा सिँचाई सुविधा पुर्याउनका लागि महाकाली नदीबाटै तीनसय ५० क्यूसेक पानी सहितको सिँचाईको व्यवस्था गर्ने दिशामा अघि बढ्ने छ।
जनता समक्ष गरेका सबै वाचाहरु पूरा गर्न सक्नुहुन्छ त ?
मैले आफ्नो क्षेत्रका लागि रातदिन भनेर काम गर्ने अठोट लिइसकेको छु। प्रदेश सरकारबाट गर्न काम प्रदेश सरकारबाट र केन्द्रमा गर्नुपर्ने पहलका लागि समेत म लाग्ने छु। जनतालाई दिइएका प्रतिबद्वताहरु पूरा गर्नकै लागि अब काम गर्ने हो। मतदाताको काम निर्वाचित गराउनु थियो, उनीहरुले गराइसके। अब काम गर्ने पाला निर्वाचित साँसदहरुको हो। जनमतको कदर गर्ने हिसाबले मैले काम गर्ने छु। जनतालाई गुनासो गर्ने ठाउँ दिने छैन्।
प्रस्तुती : विष्णुप्रसाद देवकोटा