वरिष्ठ संगीतकार चन्द्रराज शर्मा रहेनन्
काठमाडौं : वरिष्ठ संगीतकार एवं गायक चन्द्रराज शर्माको निधन भएको छ। ७८ वर्षीय शर्माको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान निधन भएको हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाटकहरूमा संगीत रचना गरेका शर्मा राष्ट्रिय गीत, शास्त्रीय संगीत र आधुनितक संगीत सबैमा पोख्त थिए। नेपालको पहिलो रंगीन चलचित्र 'कुमारी' मा पनि शर्माले संगीत रचना गरेका थिए।
बाल्यकालदेखि नै सांगीतिक वातावरणमा हुर्किएका शर्मा आफ्ना पिता यज्ञराज शर्मा सत्यालको संगीत सुन्दासुन्दै त्यसमै लागेका थिए। एक अन्तर्वार्तामा उनले भनेका छन्- 'बुबाले मलाई काखमा राखेर रियाज गर्नुहुन्थ्यो। त्यो सुन्दासुन्दै म संगीतमा लागेँ।'
नेपालमा कुनै पनि परिवारको तीन पुस्ताले संगीतमा बिताएको छ भने त्यो शर्माकै परिवार रहेको बताउँछन् लेखक प्रकाश सायमी। 'उहाँका बुबा यज्ञराज शर्मालाई श्री ३ जुद्धशम्सेरले संगीत शिरोमणि पदमवी दिएका थिए। २०२२ सालमा राजा महेन्द्रले चन्द्राजलाई नेपाल कला भूषण प्रदान गरे, उहाँका छोरा सुदीपराज शर्मा पनि संगीतमै हुनुहुन्छ', सायमीले भने, 'उहाँ शास्त्रीय संगीतको धरोहर त हुनुहुन्थ्यो नै आधुनिक र राष्ट्रिय संगीतमा पनि त्यति नै सिद्धहस्त हुनुहुन्थ्यो।'
शर्माले देवकोटाको खण्डकाव्य 'मुनामदन' मा संगीत गरेका थिए। उनलाई २०४९ मा छिन्नलता गीत पुरस्कार र २०५८ मा नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिएको थियो। फुटकर गीतहरूमा संगीत भरे पनि शर्माको मुख्य विधा गीतिनाटक नै थियो। मुनामदन र सकुन्तलाको संगीत रचना उनका स्मरणीय कृति हुन्।
'आफ्नै सम्पत्तिले यति गरियो, पछि थन्किएर बसियो, कतैबाट प्रोत्साहन मिलेन', राज्यले गीतसंगीत क्षेत्रमा लगानी नगरेकोप्रति उनको टिप्पणी हुने गर्थ्यो।
शर्माको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।