तीन पटक आत्महत्या प्रयास गर्नेको बयान : ‘लाइफ इज ब्युटिफुल’
काठमाडौं : मेरो घर ललितपुर, ताल्छीखेलमा पर्छ। म परिवारको एक्लो सन्तान हुँ। २०६६ असार १५ गते मेरो आमाले आत्महत्या गर्नुभयो। जसको प्रत्यक्षदर्शी म थिएँ। आमालाई झुण्डिरहेको अवस्थामा देख्ने पहिलो व्यक्ति म नै थिएँ। बुबाले २०६९ वैशाख ८ गते आत्महत्या गर्नुभयो।
आमाले आत्महत्या गर्दा मेरो उमेर २० वर्ष थियो। आमाले घरको सिलिङमा झुण्डिएर आत्महत्या गर्नुभएको थियो भने बुबाले घरको कम्पाउन्डभित्र रहेको इनारमा हाम्फालेर आत्महत्या गर्नुभएको थियो।
जतिबेला आमाले आत्महत्या गर्नुभयो, त्यतिबेला उहाँ मानसिक समस्यामा हुनुहुन्थ्यो। उहाँले मनोचिकित्सकको निगरानीमा औषधि पनि खाइरहनुभएको थियो। डाक्टरले आमाको दिमागको बायाँपट्टि प्वालजस्तो देखिएको बताएका थिए। जसले गर्दा एक्लै हुँदा पनि उहाँलाई काननजिकै आएर कोही बोलिरहेको जस्तो लाग्ने हुन्थ्यो। मैले नै उहाँलाई मनोचिकित्सककोमा लगेर चेकजाँच गराएको थिएँ।
डाक्टरले केही समय नियमित औषधि सेवन गर्नुपर्ने बताएका थिए। आमाले औषधि पनि सेवन गर्नुभयो। तर, उहाँले नियमित औषधि खानुभएन। ‘म बाँचेर बा र छोरालाई दुःख भयो, म नहुँदा यिनीहरूलाई सुख हुन्छ’ भन्ने जस्ता कुरा बारम्बर गर्नुहुन्थ्यो।
आमाले पहिलो चोटि सुसाइड एटेम्प्ट गर्दा मैलै नै देखेको थिएँ। म घरमै भएको बेला परेकाले मैले उहाँलाई जोगाउन सकेँ। पहिलो सुसाइड एटेम्पटमा आमाले कृषिबालीमा प्रयोग गर्ने विषादी सेवन गर्नुभएको थियो। मैले तुरुन्तै पाटन अस्पताल पुर्याउन सकेका कारण उहाँको ज्यान जोगिएको थियो। दोस्रो पटक उहाँले सिलिङमा झुण्डिएर सुसाइट एटेम्प्ट गर्नुभएको थियो।
त्यो पनि मैले बेलैमा देखेकै कारण उहाँलाई बचाउन सकेको थिएँ। तेस्रो पटक घरमा कोही नभएको बेला पारेर उहाँले आत्महत्या गर्नुभएको थियो। बुबाको घरजग्गाको कारोबार थियो। मैले थाहा पाएअनुसार बुबाको कारोबारमा निकै ठूलो घाटा भएको थियो। जसले गर्दा बुबा निकै तनावमा हुनुहुन्थ्यो। यसैबीच आमाले आत्महत्या गरेपछि उहाँ थप तनावमा हुनुहुन्थ्यो।
आमाको मृत्युपछि बुबाले दोस्रो विवाह गर्नुभएको थियो। जसका लागि मैले पनि भूमिका खेलेको थिएँ। बुबालाई साथी होला भनेर नै उहाँलाई दोस्रो विवाह गर्न नातागोताले पनि सल्लाह दिएका थिए। सामाजिक काममा पनि सक्रिय बुवालाई समाजमा धेरैले राम्रो मानिस ठान्थे। समाजमा मानसम्मान र इज्जत भएको व्यक्ति एकाएक आर्थिक कारोबार डामाडोल भएर सडकमा आइपुग्ने स्थिति भएपछि उहाँ हतास हुनुभएको अनुमान लगाउन सकिन्थ्यो।
सन्दीप शाही ठकुरी, मनोपरामर्शदाता, आभास समूह
तर, उहाँले मलाई कुनै पनि कुरा सेयर गर्नुभएको थिएन। उहाँ एक्लै बस्न रुचाउनुहुन्थ्यो। उहाँले आफूलाई परेका समस्या कसैलाई पनि सेयर गर्नुभएन। स्वास्थ्यप्रति एकदमै सचेत भए पनि बुवाले आफ्नो मानसिक स्वास्थ्यबारे ख्याल नगरेको जस्तो लाग्छ।
म कलेज पढ्दै गरेको अल्लारे विद्यार्थी नै थिएँ। तीन वर्षको बीचमा आमा र बुवाले आत्महत्या गरेपछि घरमा एक्लो भएको म त्यतिबेला निकै ‘होपलेस’ थिएँ। पढ्ने र करिअरबारे सोच्नुपर्ने बेलामा ममाथि जुन वज्रपात आइलागेको थियो, त्यो सायद कमैलाई पर्छ होला। मलाई मानसिक स्वास्थ्यबारे त्यति धेरै ज्ञान पनि थिएन। डिप्रेसनका बिरामीले आत्महत्या गर्ने चान्स बढी हुन्छ भन्ने जानकारी त्यतिबेला हुन्थ्यो भने म आमाको मृत्युपछि अझ बढी सजग भएर बुवालाई उपचारका लागि अस्पताल लग्थेँ।
आमा र बुबाले आत्महत्या गरेपछि नितान्त एक्लो भएको ममाथि लागेका लाञ्छनाले मलाई निकै नै हतास बनाएको थियो। कतिले ‘छोराकै कारणले होला, बाआमाले आत्महत्या गरेका’ भनेर मलाई ‘टर्चर’ दिन्थे। ‘आत्महत्या ‘जिनेटिक’ हुन्छ, अब यसले पनि आत्महत्या गर्छ’ भनेर कुरा काट्नेहरू धेरै थिए।
टोलछिमेक तथा नातागोताका मानिसले मलाई बाआमाको आत्महत्यामा मेरो दोष देखाउँदै यसले पनि चाँडै आत्महत्या गर्छ भनेर कुरा गरिरहेका हुन्थे। मरिसकेका बाआमालाई लिएर समाजमा धेरै नै नकारात्मक कुरा हुन्थे। आत्महत्या गर्नेहरू कायर हुन् भन्थे।
परिवारमा त म एक्लो भइसकेको थिएँ। मैले समाज तथा नातागोता कतैबाट पनि सहारा पाइरहेको थिइनँ। बुवाको ऋण तिर्न घर तथा भएभरको जग्गा बेचिसकेको थिएँ। मसँग घर पनि थिएन। बेरोजगार थिएँ। म कसैले मलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने ठान्थेँ। तर, कोही मलाई सहयोग गर्न तयार थिएनन्। जसले गर्दा मैले बाँच्ने आधार गुमाएको सोच्न थालेँ। म बाआमाले आत्महत्या गरेपछिको ‘भिक्टिम’ थिएँ।
तर, मलाई कसैले पीडितको व्यवहार देखाएनन्। उल्टै ‘आत्महत्या गर्ने कायर बाउआमाको छोराले पनि आत्महत्या नै गर्छ’ भनेर मलाई तर्साइरहे। समाजमा टिकेर बस्ने आधार नभएपछि जो कोही पनि डिप्रेसनमा जान्छ नै। बाआमाले आत्महत्या गरेपछि मलाई सहानुभूति दिनेभन्दा पनि ‘अब त तँलाई ढुक्क भयो होला’ भन्नेहरू धेरै थिए।
तीन पटक सुसाइड एटेम्प गर्दा पनि ज्यान नगएपछि म सजिलै मर्न सकिँदो रहनेछ भन्ने निष्कर्षमा पुँगे।
मैले आमाले सिलिङमा झुण्डिएर आत्महत्या प्रयास र आत्महत्या गरेको देखेको थिएँ। मैले पनि त्यही सिको गर्दै कलेजको टाइले झुण्डिने प्रयास गरेँ। मैले तीन पटक सुसाइट एटेम्प्ट गरेँ। झुण्डिएर ज्यान फाल्ने कुरा निकै गाह्रो रहेछ। टाईले घाँटीमा पासो लगाएर झुण्डिएपछि हुने उकुसमुकुसलाई थेग्न नसकेर नै मेरो ज्यान जोगिएको हो।
झुण्डिएपछि एक निमेषका लागि उत्पन्न भएको डरले नै मेरो ज्यान जोगिएको हो। मैले पहिलो सुसाइट एटेम्प्ट बुबा बितेको पाँच महिनापछि गरेको थिएँ। म केका लागि र कसको लागि बाँच्ने भन्ने कुविचार आएपछि मैले आत्महत्या गर्ने प्रयास गरेको थिएँ। आत्महत्या प्रयास गर्दा मलाई कताकता अलिअलि डर पनि थियो। त्यही भएर मैले एउटा हातमा चक्कु लिएर घाँटीमा पासो लगाउँथे, साह्रै गाह्रो भयो भने टाई काट्न सकियोस् भनेर।
तीन पटक सुसाइड एटेम्प्ट गर्दा पनि ज्यान नगएपछि म सजिलै मर्न सकिँदो रहेनछ भन्ने निष्कर्षमा पुँगे। मैले सुसाइड एटेम्प्ट गर्दा अरू कसैले देखेर जोगाएको पनि होइन। झुण्डिएपछि मभित्र आएको सानो डरले मलाई जोगायो। मर्न नसकेपछि जिउने कसरी भन्ने उपाय खोज्न थालेँ। मेरो अनुभवमा झुण्डिसकेपछि जब सास बन्द भएर अब गइयो भन्ने चेतना बाँकी नै रहँदा कतै न कतैबाट एउटा डर आउँदो रहेछ।
त्यही डरले मलाई जोगाएको हो। सुसाइड एटेम्पट गर्दा कुनै न कुनै बिन्दुमा एउटा डर सबैमा आउँछजस्तो लाग्छ। विष सेवन गर्ने बेलामा पनि यस्तै डर आउँछ होला। तर, विष सेवन गरिसकेपछि उपचारको अभावमा जोगाउन सकिँदैन। झुण्डिनेहरूको केसमा भने कसैले देखेमा वा झुण्डिनेहरूमा आउने डरले नै उनीहरूलाई जोगाउँछ जस्तो लाग्छ।
आत्महत्या प्रयास गरेकालाई घरपरिवार र समाजले गर्ने गलत व्यवहारका कारण उनीहरूले पुनः प्रयास गर्ने गर्छन्। मैले घरमा बाआमाले आत्महत्या गरेको देखेको, आफैँले पनि तीन पटक कोसिस गरेकाले मलाई आत्महत्या गर्ने सोचबाट बाहिर ल्याउन पछि केही हदसम्ममा सहज भयो। मैले भोग्नुपर्ने दुःख र असहजता केही बाँकी थिएन।
तीन पटकको सुसाइड एटेम्प्टपछि म मनोपरामर्श र उपचारका लागि मनोचिकित्सककहाँ पुगेँ। कतिपयका सन्दर्भमा सुसाइड एटेम्प्ट गर्नेहरूले उपचार नपाउने, घरपरिवारको साथ र सहयोग नपाउने भएकाले पुनः प्रयास गरेर आत्महत्या गर्ने गर्छन।
मैले बाँच्ने उपायको खोजी गर्न थालेँ। सहयोग खोज्न थालेँ। त्यही बेला मैले अभास समूह भन्ने संस्था भेटेँ। जहाँ अहिले म कार्यरत छु। सुसाइड भिक्टिमहरू कुन तहसम्मको कठिन अवस्थामा पुग्छन् भनेर जानकारी दिन मैले पहिलो पटक पाटन अस्पतालमा आफ्ना कुरा सेयर गरेको थिएँ। मिडियामा ‘सम्पूर्ण’ साप्ताहिकमार्फत पहिलो पटक आफूले भोगेको दुःख कष्ट सेयर गरेको हुँ।
आमाले पहिलो चोटि सुसाइड एटेम्प्ट गर्दा मैलै नै देखेको थिएँ। म घरमै भएको बेला परेकाले मैले उहाँलाई जोगाउन सकेँ। पहिलो सुसाइड एटेम्पटमा आमाले कृषिबालीमा प्रयोग गर्ने विषादी सेवन गर्नुभएको थियो। मैले तुरुन्तै पाटन अस्पताल पुर्याउन सकेका कारण उहाँको ज्यान जोगिएको थियो। दोस्रो पटक उहाँले सिलिङमा झुण्डिएर सुसाइट एटेम्प्ट गर्नुभएको थियो।
यदि कसैमा आत्महत्याको सोचाइ आयो भने उसले त्यो कुरा कसै न कसैलाई सेयर गर्नैपर्छ। एक जना मानिसलाई चाहिँ भन्नैपर्छ। आफूलाई सहयोग गर्न सक्नेलाई भन्नैपर्छ। जीवनमा आइपर्ने उतारचढावबाट भाग्ने र निराश हुने गर्नु हुँदैन। हरेक कोणबाट जिन्दगी सुन्दर हुन्छ, ‘लाइफ इज ब्युटिफुल’। सकारात्मक सोच बढाउने गतिविधिमा संलग्न हुनुपर्छ।
छिटोभन्दा छिटो मनोचिकित्सकसँग परामर्श गरेर उपचार सुरु गर्नुपर्छ। सबैभन्दा मूल्यवान जीवन नै हो भनेर बाँच्ने आधार खोज्नुपर्छ। तेस्रो पटक एटेम्प्ट गरेको एक वर्षपछि म सामान्य जीवन बिताउन सक्ने अवस्थामा फर्किएको थिएँ।
‘महाभूल गरेँ’ रवीन्द्र (नाम परिवर्तन), ३८
मेरो घर मोरङ, सुनसरी हो। चार वर्षअगाडि वैदेशिक रोजगारीमा मलेसिया गएको थिएँ। घर–परिवार छोडेर जानुको पीडा मनमा छँदै थियो। त्यसमाथि ऋणको भारी टाउकोमा बोकेर विदेशिएको थिएँ। विदेश गएर टन्न पैसा कमाएर फर्कन्छु भन्ने लाग्थ्यो। त्यहाँ पुगेपछि सोचेको भन्दा निकै फरक पाएँ। सुरुमा त काम नै पाइएन। पाएको काम पनि कम्पनीले भनेको जस्तो काम थिएन।
दिनको १८ घण्टा काम गर्नुपथ्र्यो। राम्रोसँग निन्द्रा पुग्दैनथ्यो। खानेकुरा पनि मिल्दैनथ्यो। कामअनुसार तलब पनि पाइएन। समयमा तलब कहिल्यै हातमा परेन। जिन्दगीदेखि नै हार खान थालेँ। पैसा कमाउन हिँडेको मान्छे रित्तो हात घर कसरी फर्किनु भन्ने भयो। मरेपछि बरु सुुख पाउँछु भन्ने लाग्थ्यो। घरमा एकदुई दिन रुनुकराउनु गर्लान्, पछि आफैँ मन बुझाउँछन् भन्ने लाग्यो।
एउटै कोठामा धेरै जना बस्थ्यौँ। तर, सबैको काम फरक–फरक समयमा हुन्थ्यो। धेरै पटक साथीहरू नभएको मौका छोपेर सिलिङमा झुण्डिने कोसिस गरेको थिएँ। कहिले को आइपुग्थ्यो, कहिले को। मान्छे आएको चाल पाउनेबित्तिकै हत्तपत्त डोरी लुकाएर ढोका खोल्थेँ। एक दिन सबै साथीहरू काममा गएको मौका छोपेँ। लुकाएको डोरी निकालेर झुण्डिएँ। झुण्डिने क्रममा डोरी चुँडिएर भुइँमा पछारिएछु। त्यसपछि मलाई केही थाहा भएन।
पैसा कमाउन हिँडेको मान्छे रित्तो हात घर कसरी फर्किनु भन्ने भयो। मरेपछि बरु सुुख पाउँछु भन्ने लाग्थ्यो। घरमा एकदुई दिन रुनुकराउनु गर्लान्, पछि आफैँ मन बुझाउँछन् भन्ने लाग्यो।
होशमा आउँदा अस्पतालमा थिएँ। कोठामा सँगै बस्ने साथीले त्यस्तो अवस्थामा भेटेर अस्पताल पुर्याएको रहेछ। त्यहाँ अरू पनि धेरै साथीभाइ जम्मा भएका थिए। त्यसको केही समयसम्म उनीहरूले मलाई एक्लै छाडेनन्। केही समयपछि उनीहरूले मेरो परिवारसँग सम्पर्क गरेछन्। नेपाल फर्कन मसँग पैसा थिएन। साथीहरूकै आर्थिक सहयोगमा नेपाल फर्कें।
त्यो घटनापछि मर्नदेखि एकदमै डर लाग्न थाल्यो। जे देखे पनि डर लाग्थ्यो। बाटोमा हिँड्दा पनि गाडीले किचेर मर्छु कि जस्तो अनुभव हुन्थ्यो। बिस्तारै आफ्नो मन बुझाउन थाले। मनमा सकारात्मक सोच ल्याउन थालेँ। म फेरि केही गर्न सक्छु भन्ने लाग्यो। आफूले गुमाएका कुराहरूभन्दा आफ्नो साथमा भएका परिवारको बारेमा सोच्न थालेँ। आफ्नै ठाउँमा केही गर्छु भनेर लागेँ।
अहिले सुनसरीकै एउटा मार्केटिङ कम्पनीमा मार्केटिङ हेडका रूपमा काम गरिरहेको छु। त्यो बेलामा मर्न चाहेको मान्छे अहिले केही गर्ने कोसिसमा छु। जीवनदेखि हार मान्नु मेरो महाभूल थियो। मैले महाभूल गरेँ।
‘जिन्दगी बारम्बार पाइँदैन’,सुमिना (नाम परिवर्तन),२८
काठमाडौँ, शान्तिनगरमा मेरो घर छ। केही समयअगाडि म एक जना केटासँग प्रेम सम्बन्धमा थिएँ। प्रेम सम्बन्धमा भएको तीन वर्षपछि उसको अर्कै प्रेमिका भएको थाहा पाएँ। उसले फोन र म्यासेजहरू बिस्तारै कम–कम गर्न थाल्यो। मैले गरेको फोन उठाउन छाड्यो। मलाई वास्ता नै गर्न छाड्यो। मलाई एकदमै पीडा भयो, हीनताबोध हुन थाल्यो।
त्यो बेलामा ऊबाहेक अरू कसैका बारेमा पनि नसोच्ने भएकी थिएँ। घरमा आफ्नो प्रेमको बारेमा कसैलाई भनेकी थिइनँ। भित्रभित्रै उकुसमुकुस भएर आउँथ्यो। मनको कुरा राख्ने कोही मान्छे पाइनँ।
केही पनि सोच्न सक्ने अवस्था थिएन। एक दिन कताबाट ‘म मर्छुु’ भन्ने भावना आयो। आफू मरेपछि उसले जिन्दगीभर पछुताएर बस्छ भन्ने लाग्यो। नाकाबन्दीको बेलामा स्टोभ बाल्न भनेर घरमा मट्टीतेल ल्याइएको थियो। एकदिन राति सुत्ने बेला आफूले सक्नेजति मट्टितेल खाएँ। केही समयपछि एकदमै गाह्रो भयो। चिच्चाउन–कराउन थालेँ।
नाकाबन्दीको बेलामा स्टोभ बाल्न भनेर घरमा मट्टीतेल ल्याइएको थियो। एकदिन राति सुत्ने बेला आफूले सक्नेजति मट्टितेल खाएँ। केही समयपछि एकदमै गाह्रो भयो। चिच्चाउन–कराउन थालेँ।
घरमा सबैले थाहा पाए। सबै जना आत्तिन थाले। बिस्तारै मेरो होश गुम भयो। हजुरआमाले ‘साबुनपानीको झोल खुुवाउनू, ठीक हुन्छ’ भन्नुभएछ। कसैले एम्बुलेन्स बोलाउन थालेछन्। घरमा लाग्नेजति सबै घरेलु उपाय उनीहरूले लगाएछन्। केही समयपछि मलाई अस्पताल पुर्याएछन्। केही दिन अस्पतालमा बस्नुपर्यो।
मैले आफ्नो सबै कुरा परिवारलाई भनेपछि उहाँहरूले मलाई निकै सम्झाउनुभयो। साथीहरूले पनि निकै साथ दिए। केही समय त परिवारले मलाई एकछिन पनि एक्लै छोडेन। उनीहरूले मलाई गरेको माया देखेर म निकै भावुक भएँ। त्यो बेलामा म आफूलाई माया नगर्ने मान्छेका लागि मर्न खोजेकी थिएँ। मलाई त्यति धेरै माया गर्ने मान्छेलाई मैले देखिनँ।
जिन्दगी भनेको बारम्बार नपाइने रहेछ। पहिलाको कुरा सम्झिँदा ‘म एकदमै मूर्ख थिएँ’ जस्तो लाग्छ। अहिले जीवन एकदमै राम्रो छ। गत महिना मैले परिवारले खोजिदिएको एक जना केटासँग लगनगाँठो कसेँ।
‘जीवन खेर फाल्ने हक कसैलाई हुँदैन’ रुबी (नाम परिवर्तन),२२
म परिवारकी एक्ली छोरी हुँ। स्कुल पढ्दा आमाबुवाले मेरो कुरा नै बुझ्नुहुँदैन जस्तो लाग्थ्यो। उहाँहरूले गरेको÷भनेको जे कुरा पनि नराम्रो लाग्थ्यो। मलाई जतिबेला पनि ‘पढ्पढ्’ मात्रै भन्नुहुथ्यो। सधैँ गाली मात्रै खानुपथ्र्यो। रिजल्ट आएको दिन झन् धेरै गाली खानुपथ्र्यो। उहाँहरूले जे कुरा गरे पनि सही हुन्थ्यो, मैले जे कुरा गरे पनि गलत।
सुरुमा ड्याडीदेखि एकदमै रिस उठ्थ्यो। पछि ममीदेखि पनि रिस उठ्न थाल्यो। मेरो कुरा कसैले सुन्दैनन् जस्तो लाग्थ्यो। त्यो बेलामा म १० कक्षामा पढ्थेँ। कसैले गाली गर्नेबित्तिकै ‘आज मेरो अन्तिम दिन हो, अब म मर्छु’ भन्दै धम्काउँथेँ। कैयौँ पटक बाथरुममा छिरेर ड्याडी–ममीलाई ‘म अब मर्छु’ भनेर डर देखाउँथेँ।
सधैँ मरौँ मरौँ लाग्थ्यो। के गरौँ र कसो गरौँ हुन्थ्यो। सबैले गाली मात्र गर्छन्, कसैले माया गर्दैनन् भन्ने मनमा आउँथ्यो। केही दिन मनलाई चित्त बुझाए पनि फेरि मर्छु भन्ने सोच मनमा आइहाल्थ्यो। मेरो धम्की सुनेर ड्याडी–ममी जति बेला पनि मेरो गोठालो लाग्नुपर्ने स्थिति आइसकेको थियो। पढाइमा पनि राम्रोसँग ध्यान जान सकेन। म मर्यो भने सबैलाई आनन्द हुन्छ भन्ने मात्र सोच्थेँ।
टीभी सिरियल र फिल्ममा हात काटेर, झुण्डिएर, औषधिहरू आएर मान्छे मरेको देखेकी थिएँ। औषधि खाने र हात काट्ने आँट आएन। एक दिन घरमा गाली गरेको निहुँमा सल बाँधेर सिलिङमा झुण्डिएँ।
टीभी सिरियल र फिल्ममा हात काटेर, झुण्डिएर, औषधिहरू आएर मान्छे मरेको देखेकी थिएँ। औषधि खाने र हात काट्ने आँट आएन। एक दिन घरमा गाली गरेको निहुँमा सल बाँधेर सिलिङमा झुण्डिएँ। छट्पटिँदै गरेको अवस्थामा घरमा ड्याडी–ममीले थाहा पाउनुभयो। हत्तपत्त सल खोलेर अस्पताल पुर्याउनुभएछ। घाँटी वरिपरि सलको डामले घाउ नै बनेको थियो।
पछिसम्म पनि त्यो डाम गएको थिएन। त्यो दिनबाट ड्याडी–ममीले कहिल्यै गाली गर्नुभएन। त्यो गाली उहाँहरूले मेरै लागि गर्नुभएको थियो भनेर मैले पछि बुझेँ। अहिले सोसल वर्क विषय लिएर ब्याचलर्स पढिरहेकी छु। सडक बालबालिका र वृद्धवृद्धाको क्षेत्रमा काम गर्न रुचाउँछु। भविष्यमा सामाजिक अभियन्ताका रूपमा काम गर्ने योजना छ। मलाई लाग्छ– यति अमूल्य जीवन खेर फाल्ने हक कसैलाई छैन।
यी पनि पढ्नुहाेस्
मान्छेले किन आत्महत्या रोज्छ ?
आत्महत्या प्रयास गरेकी एक किशोरीको उपचार गर्दा ...
+