मान्छेले किन आत्महत्या रोज्छ ?
काठमाडाैं : जानी–जानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ। आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निरास भएर जिउनुभन्दा मर्नु सबैभन्दा उचित समाधान ठानी आत्महत्या गर्ने गरिन्छ। आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं सामाजिक दुर्घटना हो।
धार्मिक तथा सामाजिक दृष्टिले यसलाई पाप एवं अपराध आदि मानिँदै आए पनि अधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रूपमा हेरिन्छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनि करिब १० लाख मानिस आत्महत्या गर्छन्। सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ। विश्वमा हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ।
यो संख्या समस्त प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरभन्दा पनि बढी हो। प्रायः महिला पुरुषभन्दा बढी आत्महत्याको प्रयास गर्छन् तर तथ्यांकअनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरू नै बढी मर्ने गरेको पाइन्छ।
विगत दशकमा विश्वका प्रायः देशमा बालबालिका तथा किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढ्दो छ। नेपालमा थोरै अनुसन्धान, कमजोर रेकर्डिङ सिस्टम, अत्महत्या लुकाउने प्रवृत्ति आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ। नेपाल प्रहरीको तथ्यांकअनुसार प्रतिवर्ष ३.७ देखि १०.३ ले प्रति एक लाखमा आत्महत्या गर्ने गरेका छन्। आत्महत्याको दर गृहिणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ।
आत्महत्याका कारण
कुनै पनि मानव व्यवहारलाई एक मात्र स्पष्ट कारणबाट व्याख्या गर्न गाह्रो हुन्छ। आत्महत्यालाई पनि हालसम्मका विभिन्न वैज्ञानिक सिद्धान्तअनुरूप व्याख्या गरिएका छन तर कुनै पनि सिद्धान्त पूर्ण भने छैनन्। आत्महत्यामा थुप्रै तत्वहरू (जैविक, वंशाणुगत, सामाजिक तथा मनोवैज्ञानिक पक्ष) को भूमिका हुने गरेको पाइएको छ। आत्महत्या प्रयास गर्नेमध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त हुने गरेको विश्वव्यापी तथ्यांक छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनि करिब १० लाख मानिस आत्महत्या गर्छन्। सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ। विश्वमा हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ।
मानसिक रोगी भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिँड्ने मात्र नभई शारीरिक रूपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडित हुनेहरू पनि हुन्। तीमध्ये अस्वाभाविक रूपमा उदास भइराख्ने र उदासीनता (डिप्रेसन) आत्महत्याको प्रमुख (करिब ८० प्रतिशत) कारण मानिन्छ। यसै गरी, सिजोफ्रेनिया, वृद्धावस्थामा मस्तिष्क खिइने रोग डिमेन्सिया, रक्सी तथा अन्य लागुपदार्थ दुव्र्यसन, व्यक्तित्वको गडबडी आदि पनि आत्महत्याका कारण हुन्।
आत्महत्या प्रयास गर्नेलाई के गर्ने, के नगर्ने ?
कुनै पनि आत्महत्या प्रयासलाई चिकित्सकीय एवं मानसिक संकटकालीन घटनाका रूपमा लिनुपर्छ र तुरुन्त अस्पतालको इमर्जेन्सीमा लानुपर्छ। लाज, डर, संकोच मानेर वा हल्का घटना ठानेर हेलचेक्य्राइँ गर्दा बचाउन सकिने ज्यान गुम्न सक्छ।
इमर्जेन्सीमा कुनै शारीरिक संकटको उपचारपछि तत्काल मानसिक रोग विशेषज्ञको परामर्श लिनुपर्छ। मानसिक रोग भए÷नभएको, फेरि आत्महत्या गर्न सक्ने सम्भावना भए/नभएको निक्र्योल गरी सकेसम्म अस्पताल भर्ना गरी उपचार गराउनुपर्छ। फेरि प्रयास गर्दा झन् खतरनाक उपाय अपनाउन सक्ने हुँदा अत्यन्त सावधानीपूर्वक बिरामीलाई निगरानीमा राख्नुपर्छ। खतरनाक हातहतियार, जस्तो चक्कु, ब्लेड, डोरी तथा औषधि, विषादी आदि उसको पहुँचभन्दा टाढा राख्नुपर्छ।
विशेषज्ञको सल्लाहबमोजिम नियमित औषधि, मनोचिकित्सा आदि निगरानीमा गर्नुपर्छ। परिवार, आफन्त वा अन्यले पनि मद्दत गर्नुपर्छ। गालीगलौज गर्ने, लज्जित पार्ने वा सजाय दिएर सो व्यक्तिलार्य अझ वेदना दिने गर्नु हुँदैन। सुरक्षित एवं आत्मीय वातावरणमा आत्महत्या प्रयास गर्नेलाई उसको भावना व्यक्त गर्न दिनुपर्छ।
आत्महत्याबाट आफन्त गुमाएकालाई के गर्ने, के नगर्ने ?
आफन्तजनले आत्महत्या गर्ला भनेर कमैले अपेक्षा गरेका हुन्छन्। अतः यो खबरले परिवारजनलाई अचानक छाँगोबाट खसेझैँ अनुभव गराउँछ। घटनाको प्रत्यक्षदर्शीलाई बारम्बार झझल्को आइरहने र कतिपयलाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ नै हुन सक्छ। प्राकृतिक मृत्युको तुलनामा यसमा उनीहरू निकै मानसिक यातना, पीडा, हीनताबोध, आत्मग्लानि, अविश्वास, अन्योल, शोक, डर, चिन्ता आदि अनेकौँ भावना उथलपुथल हुने गरी महसुस गर्छन्।
आफन्तबाट आफूलाई किन विश्वास नगरेको, आत्मीय नसम्झेको, आफूले कहाँ गल्ती गरेँ, आखिर आत्महत्या किन गरे आदि बिझाउने प्रश्नहरूले निरन्तर पिरोलिरहन्छ। त्यसैले उनीहरूलाई पनि उचित परामर्श वा उपचारको खाँचो हुन्छ। सुरक्षित एवं आत्मीय वातावरणमा उनीहरूका भावना व्यक्त गर्न दिनुपर्छ। आत्महत्यासम्बन्धी सत्यतथ्य सूचनाहरू उपलब्ध गराउन र अन्य मानिसका प्रतिक्रिया बुझ्न, सामना गर्न मद्दत गनुपर्छ।
आत्महत्या प्रयास गर्न सक्नेका संकेत
* आत्महत्याबारे कुराकानी, इच्छा व्यक्त गर्नु
* सधैँ मृत्युबारे सोचिरहनु वा कुराकानी गरिरहनु
* आफू बेकार, असहाय वा निराश भएको व्यक्त गर्नु
* ‘म नजन्मेको भए राम्रो हुन्थ्यो’, ‘म मरेपछि तिमीहरू पछुताउलाऊ’, ‘अब कुनै उपाय नै छैन’ जस्ता वाक्य बोलिरहनु
* असाध्यै दुःखी भइरहेको मान्छे अचानक शान्त वा खुशी हुनु
* मृत्युको इच्छा राख्नु वा मृत्यु निम्त्याउनसक्ने खालका कार्य गरी अकारण जोखिम उठाउनु
* पहिलेका अभिरुचिहरूमा चाख हराउनु
* आफन्त साथीभाइहरूसँग नबुझिँदो गरी बिदाइ वा माफी माग्नु
* आफ्ना कामकाज, हिसाबकिताब विस्तारमा फस्र्यौट गर्नु
* मर्ने उपायबारे जानकारी खोज्नु
आत्महत्याबारे केही भ्रम
भ्रमः साँच्चै आत्महत्या गर्ने मानिसले त्यसबारे केही कुरा गर्दैनन्।
यथार्थः हरेक प्रयासअगाडि व्यक्तिले कुनै न कुनै रूपमा कसै न कसैलाई यस्तो भाव व्यक्त गरेको हुन्छ।
भ्रमः आत्महत्या गर्न दृढ संकल्प गरेकालाई कसैले रोकेर रोकिन्न।
यथार्थः उचित ध्यान एवं उपचार पाएमा अधिकांश आत्महत्या प्रयास रोक्न सकिन्छ
भ्रमः आत्महत्यासम्बन्धी सोधपुछ गर्दा व्यक्तिको आत्महत्या गर्ने सोच बढ्छ।
यथार्थः वास्तवमा सोधपुछले रोकथामको बाटो खुलाउँछ।
(मनोचिकित्सक डा. रवि शाक्यसँगको कुराकानीमा आधारित)