ग्यासको जोखिम

ग्यासको जोखिम

 

वीरगन्ज महानगरपालिकाको भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आगो लाग्दा दुई अग्निनियन्त्रकको जलेर मृत्यु भएको दुःखद घटनाले फेरि सबै झस्किएका छन् । आगोलागी केकसरी भयो, त्यो दुर्घटना थियो वा लापरबाहीका कारणले हुन गयो, त्यसमाथि खोजबिन आवश्यक छ । पटक-पटक ग्यास उद्योग÷सिलिन्डरहरूको विस्फोटबाट अनाहकमा नागरिकको ज्यान जाने शृंखला नरोकिनुले यस्ता खतराजन्य उद्योगहरूको नियमन गर्ने निकायहरूको उदासीनतामाथि गम्भीर प्रश्न उठेको छ । उत्पादक उद्योगदेखि हरेक घरको चुलोसम्म पुग्ने सिलिन्डर ठूलो सुरक्षा चुनौती बनेका छन् । तर सरकारी नियामक निकायहरूले यसको नियमित अनुगमन÷नियमन नगर्नु विडम्बना हो ।

अहिले देशभर करिब पाँच दर्जनको हाराहारीमा ग्यासको बोटलिङ प्लान्ट (उद्योग) छन् । यस्ता उद्योगबाट मासिक सालाखाला ८० लाख सिलिन्डर उत्पादन हुन्छ । तर विडम्बना, अहिले पनि बजारमा आएका अधिकांश सिलिन्डर विनापरीक्षण नै आउँछन् । त्यसमा कतिपय सिलिन्डरको हाइड्रोस्टेटिक र हाइड्रोलिक परीक्षणसम्म नभएको पाइन्छ । त्यस्तै म्याद नाघेको, कुच्चिएको, बांगोटिंगो र कम तौल भएका सिलिन्डरसमेत बजारमा भेटिन्छन् । यता ग्यास चुलो र सिलिन्डरमा जोड्ने पाइपसम्बन्धी मापदण्ड र सिलिन्डरको गुणस्तर तथा सुरक्षासम्बन्धी ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन’ भन्ने मापदण्डसमेत उद्योगीले पालना गरेका छैनन् । सिलिन्डरलाई राम्रोसँग जाँच नगरेकै कारण यसको विस्फोटबाट बर्सेनि सर्वसाधारणको ज्यान जाने गरेको छ । वीरगन्जमा त उद्योगमै आगलागी हुँदा दुईजनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।

ग्यासको बोटलिङ प्लान्टभित्र ग्यास बोक्ने बुलेट, लोड, अनलोड, पाइप प्रणाली, उपकरणको समयमै विस्थापन, रिपेयरिङ, दक्ष प्राविधिकको सहयोगमा नियमित रूपमा परीक्षणसहितको समग्र सुरक्षा प्रणाली नियन्त्रण गर्ने कुनै नीति, मापदण्ड र कार्यविधि नै छैन । ग्यास उद्योगहरू अहिले पनि छाडा रूपमा सञ्चालन भइरहेका छन् । व्यवसायीको हेलचेक्र्याइँकै कारण ज्यान जाने अवस्था निम्तिँदासमेत मानव सुरक्षाको यति गम्भीर विषयमा सरकार गम्भीर छैन । घटनापछि ताते झैं गर्ने सरकारी प्रशासनतन्त्र समय बितेसँगै यस्ता विषयमा चुप लाग्ने गरेका छन् । यस्तो नियतिका कारण प्रभावकारी रूपमा अनुगमन, नियमन र परीक्षण हुने गरेको छैन । उद्योगीले गरेको अपराधका लागि राज्य सक्रिय भएमा उद्योगीले आपूर्ति रोकिदिने, बन्द र हड्तालको धम्की दिने प्रवृत्ति पनि हामीले भौग्दै आएका छौं । यी सबैखाले प्रवृत्तिमा लगाम कस्नु आवश्यक छ, जसका लागि सरकारले नियमित र प्रभावकारी नियमन गर्नुपर्छ । अनि लापरबाही गर्ने व्यवसायीमाथि कारबाही गर्न सक्नुपर्छ ।

उसो त सरकारले अघिल्लो वर्ष माघ २९ गतेदेखि कार्यान्वयन हुने गरी सिलिन्डरको गुणस्तरबारे नयाँ मापदण्डसमेत ल्याएको यियो । नयाँ मापदण्ड पालना नगर्ने उद्योगीले उद्योग सञ्चालन गर्नसमेत नपाउने त्यसमा उल्लेख छ । उक्त मापदण्डमा सिलिन्डर उत्पादन, उत्पादित सिलिन्डर प्राप्त गर्दाको अवस्था र गुणस्तर, ग्यास रिफिल गर्दा र स्टोरेज गर्दा अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा उपायसम्बन्धी प्रावधानसमेत उल्लेख छ । तर सरकारले ल्याउने कानुन, नियम, ऐन, निर्देशिका र मापदण्डले व्यवसायीहरूलाई हत्तपत्त नछुने प्रचलनकै परिणतिस्वरूप वीरगन्ज दुर्घटना भएको हो । यो दुःखद घटनालाई आधार मानेर अब सरकार र उपभोक्ता हितसँग सम्बन्धित सबै निकायले ग्यास उद्योगको सञ्चालन, यसको नियमनमा कडाइ गर्नुपर्छ । भोलि कुनै गम्भीर दुर्घटना हुनुअगावै यस्ता प्रज्ज्वलनशील उद्योगलाई बस्तीबाहिर सार्न सरकारले पहल गर्नुपर्छ । सारमा वीरगन्ज दुर्घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने र ग्यासलगायत प्रज्ज्वजनशील उद्योगको संवेदनशीलतालाई बुझेर सरकारले सख्ती अपनाउनु अनिवार्य छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.