रोनाल्डो-मेसीको सन्तान मोह
पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो हालै चौथो सन्तानका पिता बने । सात वर्षअघि नै उनी पहिलो सन्तान क्रिस्टियानो जुनियरको पिता बनेका थिए । पहिलो सन्तान सेरोगेसी मदर (भाडाको आमा) बाट भएको बताइएको छ । यद्यपि द सन्डे मिररले सन् २०१५ मा रोनाल्डोको पहिलो सन्तान सेरोगेसी मदरबाट नभएको तथ्य सार्वजनिक गरेको थियो ।
द सन्डे मिररले रोनाल्डो अमेरिका जाँदा आफू बसेको होटेलकी ‘वेट्रेस’सँग एक रात बिताउँदा दुर्घटनावश बस्न गएको गर्भबाट क्रिस्टियानो जुनियर जन्मिएको दाबी गरेको छ । त्यसअनुसार, क्रिस्टियानो जुनियरलाई आफूसँग ल्याउन रोनाल्डोले ती ‘वेट्रेस’लाई ठूलो रकम तिरेका छन् ।
आफ्नो पहिलो सन्तान क्रिस्टियानो जुनियर सात वर्ष पुग्नै लाग्दा समाचार सार्वजनिक भयो, रोनाल्डोले अर्काे सन्तानका लागि सेरोगेसी मदरको साथ लिएका छन् । त्यसको केही समयपछि अर्काे समाचार पनि आयो, रोनाल्डोकी प्रेमिका गर्भवती छिन् । गत जुनमा पैसाले किनेका ती आमाको कोखबाट रोनाल्डो जुम्ल्याहा नानीको पिता बने । रोनाल्डोले जुम्ल्याहामध्ये छोराको नाम माटियो र छोरीको नाम इभा राखेका छन् ।
त्यसको झन्डै पाँच महिनापछि गत नोभेम्बरमा रोनाल्डोकी प्रेमिका जियोरजिना रोड्रिगेजले पनि छोरी अलना मार्टिनालाई जन्म दिइन् । यससँगै रोनाल्डोका चार नानी भए- दुई छोरा र दुई छोरी ।
चौथो सन्तानलाई स्वागत गरेलगत्तै रोनाल्डोले एक चिनियाँ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले अझै तीन सन्तान चाहेको बताए।
कसैका लागि यो पूर्ण परिवार हुनुपर्ने हो । रोनाल्डोका लागि पनि । तर, रोनाल्डोको पछिल्लो खुलासाले सबैलाई चकित तुल्यायो । चौथो सन्तानलाई स्वागत गरेलगत्तै रोनाल्डोले एक चिनियाँ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले अझै तीन सन्तान चाहेको बताए।
चिनियाँ टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई उद्घृत गर्दै रोनाल्डोको देश पोर्चुगलको पत्रिका कोरियो डा. मन्हाले उल्लेख गरेअनुसार, रोनाल्डोले सात सन्तान चाहेको बताएका छन् । किन होला यत्ति धेरै सन्तान ? रोनाल्डो किन चाहन्छन् सात सन्तान ?
पहिलो छोरा क्रिस्टियानो जुनियरको खुसीका लागि सात सन्तान चाहन्छन् रोनाल्डो । विवाहअघि नै दुई छोरा भइसकेका मेसी अहिले तेस्रो सन्तानको पर्खाइमा छन् ।
सात रोनाल्डोको ‘लक्की नम्बर’ । उनको जर्सी नम्बर पनि सात । यही होला त रोनाल्डोले सात सन्तान चाहनुको कारण ? होइन । कारण अर्कै छ । ‘क्रिस्टियानो जुनियर निक्कै खुसी छन्’, रोनाल्डोले भनेका छन्, ‘उनी आफ्ना धेरै भाइबहिनी हुन् भन्ने चाहन्छन् । त्यसैले उनको खुसीका लागि म अझै तीन सन्तान जन्माउन चाहन्छु ।’
कारण रोनाल्डोले भनेजस्तै हुन सक्छ । त्यसो नहुन पनि सक्छ । यद्यपि उनले सात सन्तान जन्माउलान्÷नजन्माउलान् भविष्यले नै बताउँछ । तर, धेरै सन्तानको चाहना गर्ने अन्तर्राष्ट्रिय फुटबल स्टार उनी एक्लो भने होइनन् ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी पनि आफ्नो तेस्रो सन्तानको पर्खाइमा छन् । प्रेमिका एन्टोनेल्ला रोक्कुजोसँग गत जुनमा विवाह गरेका मेसीको त्यसअघि नै दुई सन्तान भइसकेका थिए- माटियो र थिएगो । मेसीले विवाहको तीन महिनापछि नै तेस्रो सन्तानबारे खुलासा गरेका हुन् । मेसीले इन्टाग्राममार्फत आफ्नो तेस्रो सन्तानका लागि श्रीमती एन्टोनेल्ला गर्भवती रहेको समाचार सार्वजनिक गरेका थिए । मेसीले आफ्ना दुई सन्तानसहित आफूले श्रीमती एन्टोनेल्लाको पेटमा हातले छोइरहेको तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरको क्याप्सनमा लेखिएको थियो, फ्यामिली अफ फाइभ (पाँच जनाको परिवार) ।
त्यसको केही समयपछि मेसीकी श्रीमती एन्टोनेल्लाले आफ्नो तेस्रो सन्तान पनि छोरा नै भएको खुलासा गरेकी छिन् । मेसी र एन्टोनेल्ला चाँडैै नै तेस्रो सन्तानलाई स्वागत गरिरहेका हुनेछन् । मेसीले पनि आफ्नो सन्तानका लागि रोनाल्डोले जस्तै आधा दर्जनभन्दा बढीको संख्यामा इच्छा व्यक्त गर्लान् ?
मिडियासामु आउन कम रुचाउने मेसीले यस्ता विषयमा विचार व्यक्त गरिहाल्ने छैनन् । यद्यपि तेस्रो सन्तानको तयारीले अन्तर्राष्ट्रिय फुटबलका कट्टर प्रतिद्वन्द्वी मेसीले सन्तान जन्माउने प्रतिस्पर्धामा पनि रोनाल्डोसँगै प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् ।
(एजेन्सीको सहयोगमा)