महिला माउतेको कथा : ‘इसारा नै काफी छ’
चितवन कुमरोजकी मीना चौधरी बिहान झिसमिसेमै उठ्छिन् । त्यसबेला घडीले ५ बजाएको हुन्छ । बच्चाबच्चीका लागि खाजा बनाएर स्कुटर स्टार्ट गर्छिन् र सौराहास्थित हात्तीसार पुग्छिन् । अब उनले आफ्ना लालाबाला होइन, अजंगको हात्ती स्याहार्नुपर्छ ।
उनी एकएक इसारामा चलाउँछिन् अजंगको हात्तीलाई । विगत ६ वर्षदेखिको दैनिकी हो यो । अजंगको जीवलाई इसारामै चलाउँछु भन्ने उनले जीवनमै कल्पना गरेकी थिइनन् । ३६ वर्षीया मीना भन्छिन्, ‘माहुते हुन्छु होला भन्ने कल्पना पनि गरेकी थिइनँ । आज आफैं बनेकी छु । खुसी छु ।’
चितवन राष्ट्रिय निकुञ्जस्थित पूर्वीसेक्टर कार्यालय सौराहाको हात्तीसारमा मीनाको दिन बित्छ । उनी दिनैभर हात्तीसँगै व्यस्त हुन्छिन् । हात्तीलाई आफ्नो इसारामा हिँडाउँछिन् । हात्ती ‘लक्ष्मणगज’को रेखदेखको जिम्मा मीनाले पाएकी छिन् । बेलुकी ८ बजेसम्म लक्ष्मणगजको स्याहारमा जुट्छिन् ।
मीनाले पत्रिकामार्फत थाहा थाएकी थिइन्- महिला माहुतेको आवेदन खुलेको सूचना । माहुते बन्न सामान्य लेखपढ भए पुग्ने थाहा पाइन् । माहुते बन्ने योग्यता थियो- पौडी खेल्न सक्ने, रुख चढ्न सक्ने, अनि हात्तीले मन पराउने घाँस चिन्न सक्ने । त्यसका लागि उनले १५ दिनको तालिम लिइन् । ६ महिना प्रौढ शिक्षामात्रै पढेकी उनले प्रयोगात्मक परीक्षा दिइन् । अन्तिममा छनोटमा परिन् ।
मीना हरेक दिन हात्ती लिएर जंगल जाने, घाँस ल्याउने र हात्ती चराउने गर्छिन् । भन्छिन् ‘सुरुसुरुमा निकै अप्ठ्यारो लागेको थियो । अहिले त रमाइलो लाग्छ ।’ पति रामेश्वर चौधरी पनि पहिले त्यहीँ काम गर्थे । सँगै काम गर्न थालेपछि बिहे गरिन् । तीन वर्षकी छोरी घरमा राखेर उनी हात्तीको स्याहारमा खटिएकी छिन् । उनको कमाइले परिवार धानिएको छ ।
घरका लालाबालाको स्याहारपछि सौराहास्थित हात्तीसारमा पुगेर उनीहरूले अजंगको हात्ती स्याहार्नुपर्छ ।
अजंगको जीवलाई एकै इसारामा घुमाउने अर्की महिला माउते हुन्- चितवन पदमपुरकी मीना महतो । उनी पनि विगत ६ वर्षदेखि निकुञ्जमै काम गर्दै आएकी छिन् । उनी हात्तीलाई कुची (धान, सक्खर र नुनलाई घाँसले बेरेर बनाइने हात्तीको आहारा) बनाउने, खुवाउने, आवश्यकताअनुसार गस्तीमा लैजाने र पाहुनालाई हात्ती सफारी गराउँछिन् ।
उनी पनि बिहानै उठ्छिन् । घुम्टो छाडेर सजिलो हुने पोसाक लगाउँछिन् । झिसमिसेमै पुग्छिन्- हात्तीसार । त्यसपछि बासस्थान सफा गर्नु, घाँस लिन जंगल पुग्नु, हात्ती चराउनु उनको दैनिकी हो । उनका पति यो संसारमा छैनन् । उनी एकल महिला हुन् । आर्थिक अभावले पिरोलेको उनलाई हात्तीसारमा जागिर मिल्यो । त्यसलाई उनी भाग्यले साथ दिएको बताउँछिन् । भन्छिन्, ‘भाग्यले साथ दियो । यहाँ काम पाएँ । गुजारा चलेकै छ ।’ उनलाई अहिले छोराको पढाइ-खर्च जुटाउन कुनै समस्या छैन ।
चितवन सौराहाकी ३२ वर्षीया चीनमाया चौधरी अर्की महिला माउते हुन् । हात्तीको हेरचाहमा उनी पनि उत्तिकै सक्रिय छिन् । चीनमाया पछुवा (माहुतेले गर्ने पहिलो चरणको काम) को काम गर्छिन् । मीना र उनी वयस्क पोथी हात्तीको स्याहारमा जुट्छन् । उनीहरू मिलेर ‘सुन्दरमाला’ हात्ती चलाउँछन् । चीनमायालाई पनि सुरुमा निकै गाह्रो लाग्यो । तर, चीनमायाले हिम्मत गरिन् । घरेलु काम गरेभन्दा माहुते भएकोमा उनलाई खुसी लाग्छ । महिलाले अवसर पायो भने जे पनि गर्न सक्छ भन्ने उहादरण बनेका छिन् उनीहरू । ‘पहिला हात्ती देख्दैमा डर लाग्थ्यो’ चीनमाया भन्छिन्, ‘घर निकुञ्जनजिकै भएकोले पनि अरूले गरेको देख्दा काम गर्न मन लाग्यो ।’ उनका पति सौराहा-होटेलका सवारी चालक हुन् । घरमा दुई सन्तान छोडेर उनी दिनहँ काममा व्यस्त हुन्छिन् । गत जेठदेखि करारमा काम गरिरहेकी उनी रमाइलो लागिरहेको बताउँछिन् ।
सर्लाहीकी ३९ वर्षीया सुनौना पञ्जियार पनि ६ महिनादेखि माहुतेको रूपमा कार्यरत छिन् । उनी लोकसेवा आयोगमार्फत परीक्षा पास गरेर त्यहाँ पुगेकी हुन् । उनको पति ठगा पञ्जियार फनित (माहुतेको माथिल्लो तहको काम)को काम गर्छन् । उनैको प्रेरणाले सुनैना माहुते बनेकी हुन् । उनी ‘बहादुरगज’ हात्तीलाई स्याहार गर्ने र चलाउने गर्छिन् । विस्तारै कामको अनुभव लिँदै गरेकी सुनैनाले जोखिम र रमाइलो उत्तिकै हुने गरेको बताइन् । गस्तीमा जाने, पाहुना घुमाउने काममा उनी सक्रिय छिन् । हात्तीलाई कस्तो घाँस खुवाउने भन्नेबारे उनीसँग राम्रो ज्ञान छ । सुनैना भन्छिन्, ‘छोरी मान्छेले नसक्ने के काम रहेछ र ? ’
पतिले हात्ती चलाउने गरेको देखेपछि चितवन बछौलीकी गीता दनुवारलाई पनि माहुते बन्न जाँगर चल्यो । घर-व्यवहार धान्न सहज हुन्छ भन्ने लागेर गीताले माहुते बन्न परीक्षा दिइन् । नाम निकालिन् । उनी अहिले ‘कुची’ बनाउँछिन् । ‘कसरागज’ हात्ती रेखदेख गर्नेे जिम्मा उनको छ । उनी घाँस काट्न रुख चढ्छिन् । दुई सन्तानकी आमा गीता पहिला अप्ठ्यारो लागेको बताउँछिन् । आफ्नो काममा खुसी छिन् । भन्छिन्, ‘छिमेकीले पत्याउँदैनथे । अहिले मेरो काम देखेर सबै छक्क छन् ।’
माहुते बन्दाका रोचक घटनासमेत छ उनीहरूसँग । हात्ती लिएर जंगल जाँदा पटकपटक उनीहरू जंगली हात्तीको आक्रमणबाट मुस्किलले बाँचेका छन् । हात्ती चराउन जंगल क्रममा पालुवा हात्तीलाई जंगली हात्तीले आक्रमण गर्ने गर्छन् । उनीहरू भन्छन्, ‘हात्ती चलाउने कुरा सजिलो त कहाँ छ र ? ’ सुखःदुख यसैमा बानी परेको छ ।’
पछुवा र माहुतेसहित चितवन राष्ट्रिय निकुञ्जमा सातजना महिला छन् । सौराहाको हात्तीसारमा पाँच जना, निकुञ्ज कार्यालय कसरामा एक जना र हात्ती प्रजनन केन्द्रमा एक जना महिला कार्यरत छन् । कामको अनुभवको आधारमा उनीहरूको तीन-तहमा वर्गीकरण गरिएको छ । फनित र पछुवाको सहयोगमा माहुतेले काम गर्छन् ।
माहुतेको काम पूरै दिन हात्तीको रेखदेख गर्नु हो । नजिक घर भएकालाई घर जाने सुविधा पनि दिइएको छ । टाढा घर भएकालाई त्यो सुविधा छैन । महिला माहुतेलाई कार्यालयले प्रोत्साहन गरेको बताउँछन् चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल । भन्छन्, ‘महिलाको पनि समान सहभागिता गराउने कोसिस गरिरहेका छौं ।’