भूमिगत ब्यान्ड, भूमिगत फ्यान

भूमिगत ब्यान्ड, भूमिगत फ्यान

भूमिगत शब्द प्रायः राजनीतिमा प्रयोग हुन्छ । नेपालमा भूमिगत राजनीति गर्ने धेरै दलहरू अहिले स्थापित भएका छन् । राजनीतिमा मात्र होइन, नेपाली संगीत क्षेत्रमा पनि यस्ता भूमिगत समूहहरू पनि सक्रिय छन् । उनीहरूलाई धेरै नेपालीले देखेकै छैनन् र उनीहरूका संगीत सुनेकै छैनन् । यिनीहरू सीमित दर्शक श्रोतामाझ परिचित छन् ।

नेपालमा एक दशकभन्दा बढी भूमिगत राजनीति गरेको माओवादी २०६२÷०६३ पछि खुल्ला राजनीतिमा आयो । माओवादी जंगलबाट भर्खर सहर फर्किएको बेला काठमाडौंमा भूमिगत सांगीतिक समूह ‘अन्डरसाइड’को जन्म भयो । त्यसयता ब्यान्ड मेटल कन्सर्टहरूमा सहभागी भइरहेको छ, विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ ।

सन् २०१० मा स्थापना भएको मेटल ब्यान्ड अन्डरसाइडले सांगीतिक कार्यक्रममात्र होइन, देशमा समस्या पर्दा सहयोग पनि जुटाएको छ । ब्यान्डको भोकलमा अभिषेक केसी, गितारमा विकास भुजेल, विक्रान्त श्रेष्ठ र ड्रममा निशान्त छन् । २०७२ को भूकम्पमा नेपाल आक्रान्त भएको बेला ब्यान्डका भोकलिस्ट केसी र म्यानेजर भुवन केसी लन्डनमा थिए । उनीहरूले नेपालको लागि त्यहाँको सडकमा सहयोग संकलन गरे ।

undersies-concert

ब्यान्डका अनुसार त्यहाँ संकलन भएको दुई हजार पाँच सय डलर नेपालमा भत्किएका विद्यालय निर्माणका लागि प्रदान गरे । तर, धेरै नेपाली संगीत पारखीहरू अन्डरसाइडलाई चिन्दैनन् । किनकि यो अन्डरग्राउन्ड ब्यान्ड हो । यसको आफ्नै गायनशैली छ, आफ्नै दर्शक श्रोता छन् । ब्यान्डका म्यानेजर फ्लोर पावरका अनुसार ब्यान्डले ‘सतन इन योर स्टेरियो’ नामको एल्बम चाँडै रिलिज गर्दै छ । त्यसपछि ब्यान्डको नेपाल टुर गर्ने योजना छ ।

अन्डरग्राउन्ड भनिए पनि यस्ता सांगीतिक समूह राजनीतिक दलजस्तै पूर्ण भूमिगत हुँदैनन् । उनीहरूको संगीत प्रस्तुतिको शैलीमात्र भूमिगत हो । ‘उग्रकर्म’ सन् १९९९ मा स्थापना भएको यस्तै अन्डरग्राउन्ड मेटल ब्यान्ड हो । सन् २००० देखि ‘हिमालयन मेटल अफ डेथ’ भनेर गाउन थालेको यो ब्यान्डले सोही वर्ष ‘चन्डाल सैतान’ नामको एल्बम निकाल्यो । सन् २००१ मा ब्लड मेटल इनिसियसन एल्बम निकाल्यो । केही समय सुस्ताएको उग्रकर्म सन् २०१३ मा रिफर्म भयो । सोही वर्ष डिसअर्डर लस्ट एल्बम निकाल्यो । ब्यान्डमा सुनीलदेव पन्त, प्रतीकराज न्यौपाने, विजय श्रेष्ठ र विक्रम श्रेष्ठ छन् । अन्य व्यावसायिक सांगीतिक ब्यान्डहरू जस्तो जताततै नदेखिए पनि मेटल संगीतमा झुम्नेहरूका लागि यो ब्यान्ड सक्रिय छ । ब्यान्डको प्रस्तुति हेर्न र सुन्न युवा पुस्ताको बाक्लै उपस्थिति हुन्छ ।

नेपालमा अहिले उग्रकर्म, अन्डरसाइड, विनाश, डिसअर्डरलगायतका ब्यान्ड सक्रिय छन् । पहिला अन्डरग्राउन्ड रहेको एक्समन्त्र ब्यान्ड अहिले व्यावसायिक रूपमा कन्सर्ट गरिरहेको छ । ब्यान्डहरूमा सक्रियहरूका अनुसार काठमाडौंमा मात्र नयाँ पुराना गरी अहिले ५० हाराहारीमा यस्ता ब्यान्ड छन्।

काठमाडौंमा ‘विनाश’ नामको अन्डरग्राउन्ड ब्यान्ड पनि छ । सन् २००९ मा स्थापना हुँदा यसको नाम ‘काल’ ब्यान्ड थियो । सन् २०१० मा नाम परिवर्तन गरेर विनाश राखियो । त्यसपछि २०१२ मा ‘विनाशकारी’ नामको एल्बम निकालेको ब्यान्डले काठमाडौं, पोखरा र धरानमा कन्सर्ट गरेर एल्बम विमोचन गरेको थियो ।

lakhey

‘रमाइलो डेथ मेटल’लाई मुख्य जानरा बनाएको यो ब्यान्डमा हाल बिजेन्त, विक्रम, प्रतीक, शशांक र प्रवीण सदस्य छन् । अन्डरग्राउन्ड ब्यान्डहरूका प्रस्तुतिमा प्रायः आक्रोश, क्रोध, विद्रोह, बदलाका भावना सम्मिलन हुन्छन् तर यस्ता गीतलाई रमाइलो प्रस्तुतिका रूपमा पनि गर्न सकिने सोचेर विनाशले यसलाई रमाइलो डेथ मेटलको नाम दिइएको छ । ब्यान्डका सदस्य प्रवीण भन्छन्, ‘हामी लिरिकल्ली रमाइलो तर सिरियस विषयवस्तुमा प्रस्तुति दिन्छौं ।’

विनाशले नयाँ गीतहरू तयार गरिरहेको छ । ठमेलमा नयाँ ब्यान्डको एल्बम रिलिजका अवसरमा प्रस्तुति दिने तयारीमा रहेको विनाशका प्रवीण अन्डरग्राउन्ड भनिए पनि आफूहरू पूरै लुकेर गाउने ब्यान्ड नभएको बताउँछन् । भन्छन्, ‘मेटलमा इन्ट्रेस्ट हुनेहरूमाझ हामी परिचित छौं, सामाजिक सञ्जालमा पोस्ट गरेकै हुन्छौं, त्यसैले पुरै अन्डरग्राउन्ड होइन ।’

und

सन् २०११ मा स्थापना भएको लाखे ब्यान्डले नेवारी र नेपाली इथ्निकल मेटललाई मुख्य जानराका रूपमा लिएको छ । आफूलाई पहिलो नेपाली इथ्निक मेटल ब्यान्ड भएको दाबी गर्ने लाखे इन्टुमेन्टल ब्यान्ड हो । ब्यान्डमा अनिल धिताल, युसन महर्जन, आशिष महर्जन, रवीन्द्र महर्जन, नरेश प्रजापति, आशिष डंगोल र दीपक गुरुङ सदस्य छन् । लाखेले १५ भन्दा बढी नेवारी र नेपाली धुनहरू उत्पादन गरेको छ । ब्यान्डको पेजमा उल्लेख भएअनुसार अन्डरग्राउन्ड शैलीमा नेपालीपन दिएर ब्यान्ड स्थापना गरिएको हो ।

अन्डरग्राउन्ड ब्यान्डहरू सन् १९६० को दशकमा सांगीतिक आन्दोलनका रूपमा वैकल्पिक संगीत बनेर सुरु भएको पाइन्छ । नेपालमा ९० को दशकपछि यस्ता ब्यान्डहरू सक्रिय भए । अन्डरग्राउन्ड ब्यान्डहरूले मेटल, रक, ज्याज, ब्लुज, पंक जानराको संगीत बजाउने र गाउने गर्छन् । नेपालमा भने अधिकांश अन्डरग्राउन्ड ब्यान्ड मेटलमा आधारित छन् ।

यस्ता ब्यान्डका एल्बममा १२ मिनेटभन्दा माथिका गीत हुन्छन् भने त्यसभन्दा कम समयका गीतलाई एपी भनिन्छ । उनीहरू प्रायः एल्बमको प्रचार गर्दैनन्, कन्सर्टकै बेला फ्यानहरूले एल्बम किन्छन् । नेपालका सहरी क्षेत्रमा केन्द्रित अन्डरग्राउन्ड ब्यान्डका फ्यानहरू प्लस टु पढ्ने विद्यार्थी अधिक छन् । धेरै कलेजहरूमा यस्ता ब्यान्डको जन्म हुन्छ । प्लस टु पढ्ने विद्यार्थीहरूबीच मेटल मन पराउनेहरूको समूह ब्यान्डमा रूपान्तरण हुन्छ । उनीहरू प्राक्टिस गर्दै गाउँदै जाँदा कति यसरी नै निरन्तर ब्यान्डका रूपमा स्थापित हुन्छन् भने कति ब्यान्ड चाहिँ पढाइ सकिने बित्तिकै टुट्छन् ।

नेपालमा अहिले उग्रकर्म, अन्डरसाइड, विनाश, डिसअर्डरलगायतका ब्यान्ड सक्रिय छन् । पहिला अन्डरग्राउन्ड रहेको एक्समन्त्र ब्यान्ड अहिले व्यावसायिक रूपमा कन्सर्ट गरिरहेको छ । ब्यान्डहरूमा सक्रियहरूका अनुसार काठमाडौंमा मात्र नयाँ पुराना गरी अहिले ५० हाराहारीमा यस्ता ब्यान्ड छन् भने पोखरा, धरान, बुटवललगायतका सहरहरूमा पनि अन्डरग्राउन्ड ब्यान्डहरूको सक्रियता छ ।

विश्वमै अन्डरग्राउन्ड ब्यान्डहरूलाई व्यावसायिक हुन गाह्रो छ । नेपालमा झन सुरुका दिनमा रक, मेटल गाउनेहरूलाई समाजले संगीतमा भित्रिएको पाश्चात्य विकृतिका रूपमा लिन्थ्यो । तर, अहिले समय बदलिएको छ । विनाश ब्यान्डका प्रवीण भन्छन्, ‘समाजले कस्तो सोच्छ भनेर ध्यान दिएको भए यसरी ब्यान्डहरू हुने थिएनन्, अहिले नेपाली समाजले पनि रक, मेटल संगीत बुझ्न थालिसकेको छ । यस्ता ब्यान्डहरूको भविष्य राम्रो भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.