अनिल : फ्लोरिसिङ डिरेक्टर
चलचित्र ‘लोम्बा’ सिनेमा हलहरूमा प्रदर्शनमा आएको छैन । केही दिनअघि मात्रै सम्पन्न भएको ‘किम्फ फेस्टिभल’मा यो चलचित्र पनि छनोट भयो । गत असारमा अमेरिकामा भएको ‘आदिवासी चलचित्र महोत्सव-२०१७’ मा लोम्बाले ‘बेस्ट फिल्म’, ‘बेस्ट डाइरेक्टर’ र ‘बेस्ट कस्ट्युम’सहित तीनवटा अवार्ड हात पारेको थियो । यी केही प्रतिनिधि परिचय हुन् लोम्बालाई चिनाउने । यस चलचित्रका निर्देशक हुन्, अनिल बुढामगर ।
निर्देशक अनिल सिनेमासँग आफ्नो परिचय गाँस्न चाहन्छन् । लोम्बा बनाइसकेपछि हिजोआज उनी नयाँ मूभिकाका लागि काम गरिरहेका छन् ।
यी २४ वर्षे निर्देशकको प्रेरणाको स्रोत हुन्, बाजे । उनी आफ्नो करियरको कुरा गर्दा बाजेको नाम छुटाउँदैनन् । पञ्चायतकालीन अड्डामा गाउँको सिमाना विवाद मिलाउने कामको अगुवाइ गर्दा रहेछन् बाजे । समाजसेवा गरेकै कारणले होला उनलाई सारा गाउँलेले सम्मान गर्थे । साँवा अक्षरमात्र चिनेका बाजेप्रति गाउँलेले गरेको आदर देखेर अनिल लोभिन्थे । ‘बाजेले जस्तै असल काम गरेर सबैको मन जित्न चाहन्थेँ,’ उनले भने, ‘यो उत्कण्ठा सानैदेखि मनमा पलाउँदै गयो ।’
लोम्बाको अर्थ मगर भाषामा नाइके भन्ने हुन्छ । लोम्बा रुकुमको उच्च पहाड र हिमाली क्षेत्रमा पाइने भेडीगोठ र हजारौं भेडाहरूको ‘नाइके भेडा’को मृत्युपछि गोठालालाई आउने संकटको बारेमा छ ।
२०५२ सालदेखि माओवादीले सशस्त्र द्वन्द्व चलायो । आफ्नै गाउँ रुकुम, टकसेरामा बस्ने वातावरण थिएन । पढाइका लागि उनी दाङ झरे । कक्षा ६ मा पढ्दै गरेका उनलाई नेपाली शिक्षक नारायण भट्टराईले सबैलाई कथा लेख्न अह्राए । अनिलले पनि जानी÷नजानी लेखे । अनिलको यो कथा कक्षाभरिकै सबैभन्दा राम्रो घोषित भयो । उनी सम्झन्छन्, ‘त्यसपछि खुसी भएर अरू धेरै लेख्न थालेँ ।’
उनले औपचारिक पढाइसँगै लेखन यात्रालाई निरन्तरता दिई नै रहे । उनले मगर भाषामा ‘पापीनागार’ उपन्यास प्रकाशित गरे ।
पढाइको सिलसिलामा राजधानी छिरेसँगै उनी रंगमञ्चतर्फ आकर्षित भए । यहाँ नवीन सुब्बा, अनुप सुवेदी, छिरिङरिता शेर्पा, शोभा चन्द आदिसँग संगत भयो । उनले सुनेका ठूला मान्छेसँग सम्बन्ध गाँसिदै गयो । अब सिनेमाबाट झनै बाहिरिन नसक्ने बताउँछन् अनिल।
अभिभावकको सपना उनी लाहुरे भएको हेर्ने थियो । उनलाई चाहिँ त्यतातिर रुचि भएन । बाबुले लाहुरे बनाउन तालिम केन्द्रमा समेत भर्ना गरिदिए । अनिलले त्यसलाई बीचैमा छाडिदिए । उनी फिल्म क्षेत्रमा आउन चाहन्थे, घरपरिवार मान्दै-मान्दैन थियो ।
उनले साथीहरूसँग मिलेर नयाँ फिल्ममा काम थाले । यसमा उनको लगानीमात्रै डुबेन साथीहरूसमेत टाढिए । यसबाट आफूलाई संकट परेको सम्झन्छन् उनी । ‘एकातिर घरबाट ल्याएको पैसा सबै डुबेको थियो भने अर्कोतिर मेरो रुचिमा अभिभावकले साथ दिएका थिएनन्,’ उनले थपे, ‘मैले बीचैमा लाहुरेको तालिमसमेत छाडेको घटनाले सब चिडिएका थिए ।’
रंगमञ्चको तालिमकै समयमा उनमा नयाँ सोच पलायो । आफ्नै जिल्ला रुकुमको हिमाली क्षेत्रमा गएर फिल्म बनाउने । ६ महिना लगाएर फिल्म सुटिङ भयो । क्यामरा गतिलो थिएन । प्राविधिक पक्ष अब्बल नभए पनि फिल्मले उठाएको विषयप्रति उनी आशावादी नै थिए । ठूलो मेहनतपश्चात् फिल्म तयार भयो । अनिल भन्छन्, ‘कम खर्चमै पनि फिल्म बनाउन सकिने रहेछ । तर, मेहनत चाहिँ गर्नुपर्छ ।’
लोम्बाको अर्थ मगर भाषामा नाइके भन्ने हुन्छ । लोम्बा रुकुमको उच्च पहाड र हिमाली क्षेत्रमा पाइने भेडीगोठ र हजारौ भेडाहरूको ‘नाइके भेडा’को मृत्युपछि गोठालालाई आउने संकटको बारेमा छ । यसले त्यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक पक्षको उजागर गरिदिन्छ ।
अनिलका फिचर फिल्म ‘गोठालो’ २०१२, युँ पा (टुक्रेको मुटु) २०१२, रैथाने ज्ञानबिनाको जीवन २०१३, पहिचानको खोजी २०१४ (डकुमेन्ट्री) सार्वजनिक भएका छन् ।