आत्महत्या प्रयास गरेकी एक किशोरीको उपचार गर्दा ...
काठमाडाैं : एक जना १६ वर्षकी किशोरी एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न चाहन्थिन्। तर, आमाबाबुलाई छोरीको बिहे गरिदिएर उम्किने इच्छा रहेछ। ‘अहिले बिहे गर्दिनँ, पढ्छु’ भनेर छोरीले जति जिद्दी गर्दा पनि उनीहरूले मानेनन्।
अन्ततः उनको बिहेको टुंगो लाग्यो। जन्ती आउने अघिल्लो दिन ती किशोरीले बालीनालीमा प्रयोग गरिने कडा खालको विष सेवन गरेर आत्महत्याको प्रयास गरिन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याउन सकेका कारण उनको ज्यान जोगियो। तर, उनमा टोलाउने, रुने, खाना नखाने, कसैसँग हेलमेल नगर्ने जस्ता लक्षणहरू देखिएपछि उपचारका लागि मकहाँ ल्याइएको थियो।
उपचारका क्रममा मैले उनलाई एक्लै राखेर केही प्रश्न गर्दा ती किशोरीलाई ‘आत्महत्या गर्न पाएको भए सबै कुरा ठीक हुन्थ्यो’ भन्ने लाग्दो रहेछ। आमाबाबुले ‘हाम्रो बेइज्जत गरिस्, बिहेको तयारी सवै खतम भयो, उपचार गर्दा धेरै खर्च भयो’ भनेर करकर गर्ने गरेकाले उनलाई फेरि आत्महत्या गरूँ जस्तो लाग्दो रहेछ।
भनिन्छ– शारीरिक पीडाभन्दा भावनात्मक पीडा कम हुँदैन। तर, भावनात्मक पीडा कति छ भनेर सजिलै देख्न वा अनुमान लगाउन सकिँदैन।जब किशोरी वा किशोरहरूले आफूलाई परिवारको बोझ भएको सोच्छन् वा ठान्दछन्, जीवनमा आफ्नो उद्देश्य पुरा नहुने देख्दछन्, त्यतिखेर भावनात्मक पीडा हुन्छ र चिन्ता, छटपटीजस्ता लक्षण देखिन्छन्। आफ्नो काम वा पढाइमा ध्यान जाँदैन।
जीवन उद्देश्यहीन लागेपछि आत्महत्याको सोच आउँछ। जति आत्महत्या गर्नेबारे सोच आउँछ, त्यति नै कसरी आत्महत्या गर्ने भनेर विचार बलियो हुँदै जान्छ।
अन्तिम निर्णय लिन मात्र बाँकी भएको व्यक्तिमा थप तनाव हुनेबित्तिकै निर्णय लिने गरेको बाँचेकाहरू बताउँछन्। बाँचेकाहरू खुशी हुने पनि छन्। तर, ठीकै छ भन्ने पनि छन्। एक पटक आत्महत्याको प्रयास गरेर बाँचेकाहरूले फेरि पनि प्रयास गर्ने सम्भावना हुन्छ।
ती किशोरीले मर्छु नै भनेर त्यस्तो कडा विष किन खाइन् भन्नेतर्फ हेर्नुभन्दा यहाँ उनको व्यवहारले उब्जाएका के–के समस्या हुन् भन्नेतर्फ आमाबाबुको सोचाइ गएको देखिन्छ। किशोरीले किन यस्तो कठोर निर्णय लिन पुगिन् ? त्यसतर्फ ध्यान दिनुपथ्र्यो।
ती किशोरीको बिहे गर्ने इच्छा थिएन। पढ्ने इच्छा थियो। छिमेकी र आफन्तले उनलाई ‘विष खाएर मर्न खोजेकी केटी’ भनेका रहेछन् र उनले धेरैको अर्ती पनि सुन्नुपरेको रहेछ। यस्ता केस हेर्दा के बुझिन्छ भने आत्महत्याको प्रयास गरेर बाँचेकाहरूसँग के–कस्तो व्यवहार गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने ज्ञान मानिसहरूलाई छैन।
आमाबाबुले सन्तानका जायज मागलाई सक्दो सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। ती किशोरी अहिले ठीक भएकी छिन्। उनका आमाबाबुले पनि आफ्नो गल्ती स्विकारेका छन्।