खुलस्त संवाद : ‘हाम्रो शब्दकोशमा ईर्ष्या र इगो छैनन्’

खुलस्त संवाद : ‘हाम्रो शब्दकोशमा ईर्ष्या  र इगो छैनन्’

काठमाडाै‌ :‘सांगीतिक दाजुभाइ’ सत्यराज आचार्य र स्वरूपराज आचार्यलाई नेपाली स्रोताले संयुक्त रूपमा सत्य–स्वरूप भनेर चिन्छन्। आधुनिक तथा पाश्र्वगायनमा जमेका यी दाजुभाइको प्रेम तथा संगीत सहयात्रा नेपाली संगीत उद्योगले उदाहरणीय मान्छ। सत्य–स्वरूपसँग रामकुमार डिसीले खुलस्त संवाद गरेका छन् :

उमेर होइन, परिपक्वताका आधारमा तपाईंहरूमध्ये को दाजु, को भाइ ?
सत्यः उमेरका हिसाबले म दाइ भए पनि स्वभावका हिसाबले म भाइजस्तो छु। उसको स्वभाव अलि ‘रिजभ्र्ड’ खालको छ। ऊ विचार गरेर मात्रै बोल्छ। अलि बढी परिपक्व पनि छ । म अलि रोमान्टिक, चटपटे टाइपको छु। दाइ अलि गम्भीर, भाइ अलिकति चकचके टाइपको हुनुपर्छ भनिन्छ। तर, हामी ठ्याक्कै उल्टो छौँ।

गीत–संगीतमा नि ?
सत्यः गीत–संगीतमा दाजुभाइ भन्ने नै छैन। हामी छुट्टाछुट्टै आ–आफ्ना कोठामा म्युजिक ‘कम्पोज’ गर्छौं। तर, हामी एकअर्र्काको म्युजिक कम्पोजिङ सुन्छौँ। कहिलेकाहीँ स्वरूपले मेरो संगीत सिर्जनामा ‘करेक्सन’ गरिदिन्छ। मैले पनि उसको करेक्सन गरिरहेको हुन्छु। गीत–संगीतका क्षेत्रमा कहिले ऊ दाइ बनिरहेको हुन्छ, कहिले म बन्छु। यसमा हामी हाराहारी नै छौँ।

पब्लिकले सत्य र स्वरूप भनेर सजिलै चिन्छन् ?
स्वरूप: पहिले धेरै जना झुकिन्थे। ‘सत्य–स्वरूप भनेको एकै जना हो कि ?’ भन्ने पनि सोच्थे। सत्यलाई स्वरूप र स्वरूपलाई सत्य भनेर बुझिरहेका मान्छे पनि धेरै पाउँथ्यौँ। तर, अहिले धेरैले चिन्नुहुन्छ।

brother

चर्चित हुँदाहुँदै पनि ‘आइडेन्टिटी क्राइसिस’को अनुभव गर्नुपरेको छ ?
स्वरूपः हामीले त्यस्तो अनुभव कहिल्यै गरेका छैनौँ। सत्य–स्वरूप सम्बन्धका बीचमा त्यस्तो ‘टर्मिनोलजी’ नै टिक्दैन। सत्यलाई स्वरूप भनेर चिनियो भने पनि दुवै जनालाई चिनेको हो। मलाई सत्य भनेर चिनियो भने पनि दुवै जनालाई चिनेको हो।

को हिट, को फ्लप ? कसको स्वर मीठो ? कसले राम्रो संगीत गर्न सक्ने ? जस्ता शब्द हाम्रा ‘डिक्सनरीमै’ छैनन्। यही कारणले नै हामी सत्य–स्वरूप भएर रहनसकेका छौँ।

तपाईंहरूले पपगायनबाट ‘इन्ट्री’ गर्नुभयो। अहिले आधुनिक र पाश्र्वगायनमा जम्नुभएको छ। फेरि पपतिरै फर्किने सम्भावना कत्तिको छ ? 
स्वरूपः अहिले पनि हामी गीत गाइरहेका छौँ। ‘तिम्रो नशालु आँखाले’ भन्ने गीतको ट्युन पनि पपगीतकै हो। अरू गीतमा पनि त्यस्तो पाउन सकिन्छ। हामी एउटा पूर्ण ‘रोमान्टिक’ खालको एल्बम निकाल्ने सोचमा पनि छौँ। त्यसमा अलि ‘फास्ट नम्बर’का गीत हुनेछन्। पश्चिमी ‘फ्लेभर’ र नेपाली लोकगीत ‘फ्युजन’ गर्ने योजना बनाएका छौँ।

गीत–संगीतमै रमाइरहेका दाजुभाइ गायकलाई फिल्मको रहर कसरी लाग्यो ?
सत्यः हामी गीत गाउनुअघि बाल्यकालमा अभिनय पनि गथ्र्याैं। नाटकमा खेल्थ्यौँ। बुवा (वरिष्ठ गायक भक्तराज आचार्य) ले पनि नाटकहरूमा धेरै अभिनय गरिसक्नुभएको छ। आमाले पनि केही नाटकमा खेल्नुभएको छ।

एक हिसाबले अभनिय हाम्रो परिवारमै घुसेको छ। मैले नै १२ वर्षको उमेरमा ‘शुक्रवारको दिन’ र ‘त्रिमित्र’ भन्ने नाटक निर्देशन गरेको थिएँ। तीमध्ये एउटा स्कुलमा, अर्को राष्ट्रिय नाचघरमा मञ्चन भएको थियो। हामी दाजुभाइले त्यसमा खेलेका पनि थियौँ।

हामी दुवैमा अभिनयको सोख थियो। हामी सानोमा एकदमै धेरै फिल्म हेर्थ्यौँ। त्यो बेला म्युजिकको स्रोत भनेको पनि फिल्म नै हुन्थ्यो। पाटन हल गएर फिल्म हेथ्र्यौं। फिल्म हेर्दा हिरो बन्नुपर्छ भन्ने पनि लाग्थ्यो। ‘प्लेब्याक सिंगर’ बन्नुपर्छ भन्ने पनि लाग्थ्यो।

पछिल्लो समय स्वरूपले त्यसलार्ई छोड्दै गयो। म चाहिँ ‘क्यारिकेचर’ र अभिनय गरिरहन्थेँ। केही समय मैले प्रज्ञा–प्रतिष्ठानमा जागिर पनि खाएँ। त्यहाँ जागिरसँगै नाटक पनि गर्थें। ‘आचार्य’ शीर्षकको बुवाको ‘बायोपिक’मा अभिनय गर्ने अवसर पनि पाएँ। फिल्म गरेपछि ठूलो पर्दाको मोह पनि बढ्यो।

तर, पछिल्ला फिल्ममा सत्यको मात्रै भूमिका देखिन्छ। स्वरूप चाहिँ देखिनुहुन्न । किन ?
सत्यः उसले अभिनय मोह बिस्तारै छोड्दै गयो।
स्वरूपः म दर्शकका रूपमा मात्रै सीमित हुँदै गएँ। फिल्ममा अभिनय गर्ने खासै रुचि पनि छैन। तर, म फिल्मको ‘क्रिटिकल’ दर्शक चाहिँ हो।

तर, फिल्म मेकिङमा भने सक्रिय नै हुनुहुन्छ नि ? 
स्वरूपः हो, मेकिङमा भने लागेकै छु। ‘साढे सात’ हामीले लगानी गरेको पहिलो फिल्म हो। अरू पनि बनाउने योजनामा छौँ।

भक्तराज आचार्र्यका छोरा नहुनु हुँदो हो त गीत–संगीतमा तपाईंहरूको स्थान के हुन्थ्यो ?
सत्य: भक्तराज अचार्यकै छोरा नभएको भए हामी गायक नहुन पनि सक्थ्यौँ, हुन पनि सक्थ्यौँ। यही हुन्छ भन्ने छैन। कतिको बुवा गायक छन् तर छोराहरू छैनन्। कति बाउ गायक छैनन् तर छोराहरू गायक छन्।

brother1_1

बुवा गीत–संगीतमै भएका कारण अप्ठ्यारो खेप्नुपरेको छ ? अर्थात्, बुवाको छायाले छोपेको छ कि ?
सत्य: हरदम अप्ठ्यारो भोग्नुपर्छ। एउटा राम्रो गायकका छोराहरूले त्यही पेशालाई अँगालेपछि उनीहरूको पनि बाउसँग तुलना हुने रहेछ। खासमा अहिले हाम्रो प्रतिस्पर्धी नै बुवा हो।

सत्य–स्वरूपले गीत गाए भन्दा अन्य हाम्रा कुनै समकालीन गायकसँग तुलना गरिँदैन। ‘बुवाले कस्तो गाउनुभएको थियो, यिनीहरूले कस्तो गाए’ भनेर तुलना गरिन्छ। तर, यसलाई हामी सकारात्मक रूपमा लिन्छौँ। यसले हामीलाई अझ माझिन सहयोग पुर्‍याएको छ।

पिताको प्रतिष्ठा धान्नुपर्ने जिम्मेवारी पनि होला नि ?
स्वरूप: निश्चय पनि छ। त्यो जिम्मेवारी बोध नभइदिएको भए हामीले अहिलेसम्म संगीत क्षेत्र नै छोडिसकेका हुन्थ्यौं। जे पायो, त्यही गीत–संगीत गरिरहेका हुन्थ्यौँ। धेरै कलाकारका छोराछोरीले आफ्ना बुवाआमाको प्रतिष्ठा याद नगरेको पनि पाइन्छ।

बुवाको प्रतिष्ठाप्रतिको बोधले नै हामी अहिले सत्य–स्वरूप छौँ। त्यही कारणले हामी गीत–संगीत छान्ने कुरामा एकदमै सेचत पनि हुन्छौँ। हामीले जे पायो, त्यही नगाउने, जहाँ पायो, त्यहीँ गएर नगाउने कारण नै बुवा हो। आफ्नो नामभन्दा बढी बुवाको नाम ‘मेन्टेन’ गर्नुपर्छ भन्ने कुरामा सचेत छौँ।

परिवारले भोग्नुपरेको सबैभन्दा ठूलो पीडा कुन हो ?
सत्य: बुवामाथि भएको आक्रमण नै ठूलो पीडा हो। कुनै प्रसिद्ध गायक गीत–संगीत क्षेत्रबाटै टाढा रहनुजत्तिको ठूलो पीडा के हुन्छ सक्छ र, परिवारका लागि।

त्यस परिस्थितिलाई जितेर कसरी अघि बढ्नुभयो ?
स्वरूप: त्यसको कुरा गरिसाध्य छैन। अहिले पनि हामी त्यसलाई जित्न संघर्ष गरिरहेका छौँ। पलपल जुधिरहेका छौँ। हाम्रो ठाउँमा अरू भइदिएको भए यो क्षेत्रमा टिक्न सक्थेनन् होला। पलायन भइसकेका हुन्थे।

कुन कुरालाई लिएर दाजुभाइबीच अहिलेसम्मकै ठूलो झगडा भएको छ ?
सत्य: हामीबीच त्यस्तो झगडा नै भएको छैन।

नेपाली समाजमा दाजुभाइबीच झगडै नहुने, लफडै नहुने पनि हुन्छ र ?
स्वरूपः भयो भने हामीबीच गीत–संगीतका कुरालाई लिएर बहस हुन्छ। कम्पोज गरेको ‘करेक्सन’ गर्ने कुरामा हुन्छ। हामीबीच संगीतलाई लिएर मात्र तार्किक झगडा हुन्छ।

00s

एकअर्काको ईष्र्या कत्तिको गरिन्छ ?
सत्यः हाम्रो शब्दकोशमा इगो, ईष्र्याजस्ता शब्द छैनन्।

नेपाली कला र गीत–संगीत क्षेत्रमा जोडीहरू त्यति धेरै टिक्न सकेका छैनन्। यति लामो समयदेखि तपाईंहरूबीच मजबुत ‘बन्डिङ’ हुनुमा दाजुभाइ सम्बन्धको भूमिका कस्तो छ ?
सत्य: जोडी भनेकै फुट्नका लागि बन्ने हो। केही समयसम्म काम गर्‍यो, एउटा अलि बढी हिट भयो भने अर्काले ईष्र्या गर्‍यो, अनि फुट्यो। धेरै टिकेको जोडी ‘मह’ जोडी नै होला। जोडी टिक्न नदिने मुख्य कारण ‘इगो’ नै हो।

हामीले चाहिँ त्यसलाई आउन नै दिएका छैनौँ। अवश्य पनि हामी एक ठाउँ रहनुमा दाजुभाइ सम्बन्धले काम गरेको छ। तर, त्योभन्दा बढी संगीतले गरेको छ। हाम्रो जोडी मजबुत भइराख्नुमा दाजुभाइ सम्बन्धको देन ४० प्रतिशत मात्रै हो, संगीतको ६० प्रतिशत छ।

दाजुभाइ छुट्टिएर बसेको सबैभन्दा लामो समय ?
सत्य: हामी प्रायः सँगै रहन्छौँ। एउटै घरमा बस्छौं। हामीबीचको ‘बन्ड’लाई भौतिक दूरीले केही फरक पार्दैन्। छुट्टिनेबारे हामीले सोचेका पनि छैनौँ। भविष्यमा छुट्टै घरमा बसिए पनि मन भने छुट्टिनेछैन।

कुनै सांगीतिक कार्यक्रमका लागि टाढा रहँदा एकअर्कालाई कसरी सम्झिने गर्नुहुन्छ ?
सत्य: त्यसरी मिस गर्नु नै परेको छैन। हामीले छुट्टाछुट्टै कार्यक्रम लिन पनि छोडिसक्यौँ। जहाँ भए पनि सत्य–स्वरुप सँगै हुन्छौँ।

तपाईंहरू बाल्यकालमा फटाहादेखि नामुद चोरसम्म हुनुहुन्थ्यो रे। सज्जन बन्न कति गाह्रो भयो ?
सत्य: सानोमा हामी एकदमै चकचके थियौँ। २०४६ सालमा बुवामाथि आक्रमणको घटना भएपछि हामी एकाएक सुध्रियौँ। चकचक गरिरहने हामीमा त्यो घटनापछि अचानक परिपक्वता आयो।

नेपाली संगीत माया–पिरतीभन्दा बाहिर आउन सकेन। मजदुरका, गरिखानेका, गरिबका गीत किन गाउनुभएन ?
सत्य: कसरी ? देश प्रेम, अपांगतासम्बन्धी हामीले धेरै गीत गाएका छौँ। तर, त्यस्ता गीत ‘अडियन्स’ले कम सुनिदिन्छन्। चाहे त्यो देश प्रेम, देश भक्तिको होस् या मायाप्रेमको, हामीकहाँ मायाप्रेमका गीतहरू नै शाश्वत र कालजयी हुन्छन्।

तर, तपाईंहरूले जनताको गीत गाउनुभएन भन्ने छ नि ?
स्वरूप: त्यस्तो होइन। हामीले देशमा क्रान्ति भएको बेला क्रान्तिका गीत नगाएको पनि होइन। भूकम्प जाँदा ‘मोटिभेसन’ गीत नगाएको पनि होइन। बाढी आउँदा बाढीपीडितका गीत नगाएको पनि होइन। देश डुब्दा ‘मेरो देश डुब्नै लाग्यो’ भन्ने पनि गाएका छौँ।

बाढी आउँदा ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ’ भन्ने पनि गाएका छौँ। ‘दीप बनोस हाम्रो जीवन’ भन्ने खालका अरूलाई उत्प्रेरणा दिने गीत पनि गाएका छौँ। अस्ति भर्खरै मात्र पनि दलित समुदायको पक्षमा गीत गाएका छौँ। 

सत्य: यस्ता गीतहरू हामीले मात्रै कम गाएको होइन। संसारमै यस्तैे हुन्छ। ‘कमर्सियल’ गीतका पछाडि लाग्ने, बजारका पछाडि कुद्ने ‘ट्रेन्ड’ संसारमै छ।

रामेश, रायन, जीवन शर्माका जनवादी गीतहरूलाई कसरी हेर्नुहुन्छ ?
स्वरूप: उहाँहरूले गरिब, उत्पीडनमा परेका वर्गका पक्षमा गीत गाउनुभएको छ। उनीहरूलार्ई आफूमाथि भएको थिचोमिचोबारे सुसूचित गराउने खालका गीत गाउनुभएको छ।

हामी एक ठाउँ रहनुमा दाजुभाइ सम्बन्धले काम गरेको छ। तर, त्योभन्दा बढी संगीतले गरेको छ। हाम्रो जोडी मजबुत भइराख्नुमा दाजुभाइ सम्बन्धको देन ४० प्रतिशत मात्रै हो, संगीतको ६० प्रतिशत छ।

सत्य: उहाँहरूले जुन प्रकारको गीत गाउनुभयो, त्यस्तै गीत हामीले पनि गाएका छौँ। उहाँहरूले गाएको ‘गाँउ–गाँउबाट उठ’ र हामीले गाएको ‘मेरो देश डुब्नै लाग्यो’ उस्तै–उस्तै हुन्। उहाँहरूले त्यतिबेलाको परिस्थितिमा त्यो गीत गाउनुभयो। उहाँहरू आलोचित पनि हुनुभयो होला।

जनतालाई जगाउने, गलत शासनको विरोध गर्नु जनपक्षीय गीत गाउनु नै हो। ‘गाँउ–गाँउबाट उठ’ जस्तो गीत अहिले हामीले पाए गाउँछौँ। ‘मेरो देश डुब्नै लाग्यो’ जस्तो गीत उहाँहरूले उतिबेला पाएको भए पनि गाउनुहुन्थ्यो होला।

अहिले ‘कन्टेक्स्ट’ फरक भएकाले मात्रै गीत फरक भएका हुन्। तर, जनताका लागि वकालत गर्ने कुरामा कमी छैन।

आधुनिक नेपाली संगीतको खास विशेषता के हो ? भाषाबाहेक यो कसरी हिन्दी संगीतभन्दा फरक छ ?
सत्य: हाम्रो भाषा नै फरक छैन। हाम्रो भाषा र लिपिमा पनि धेरै समानता छन्। शब्दहरूमा पनि समानता छ। पूर्वीय सभ्यता भनेकै भारतवर्ष हो। पूर्वीय संगीत भनेको भारतवर्षको संगीत हो। उनीहरूले जेजस्तो संगीत प्रयोग गर्र्छन्, हामी पनि त्यस्तै गर्छौं।

सबैभन्दा गाह्रो आधुनिक गीत गाउँदा नै हुन्छ। यसमा सबैतिरको मिश्रण पाइन्छ। यहाँ पश्चिमी र पूर्वेली संगीतको सम्मिश्रण हुन्छ। गजल पनि हुन्छ, शास्त्रीय संगीत पनि हुन्छ। तर, लोकसंगीत हाम्रो आफ्नो हो। जस्तो, सोरठी गीत विशुद्ध नेपालीको गीत हो।

‘प्लेब्याक सिंगिङ’ भनेको बाँधिएर गाउनुपर्ने गायन हो। यसमा मज्जा/नमज्जा के हुन्छ ?
सत्य: त्यसको पनि आफ्नै मज्जा छ।
स्वरूप: पहिले चाहिँ बाँधिनुपर्छ भन्ने जस्तो लाग्थ्यो। फिल्मको दृश्य र त्यसको पात्र कल्पना गरेर गाउनुको पनि छुट्टै मज्जा हुन्छ।
सत्य: यो अलि च्यालेन्जिङ पनि हुन्छ। तर, काम गर्न पनि मज्जा आउँछ।

परिवारमा महत्‍वपूर्ण विषयमा कसले निर्णय लिनुहुन्छ ?
सत्य: बुवाले।
स्वरूप: हाम्रो अभिभावक बुवा नै हो। घरको निर्णय अहिले पनि बुवाले नै लिनुहुन्छ।

घरको अर्थतन्त्र कसरी चलाइन्छ ?
स्वरूप: हामी दाजुभाइ नै बराबर हेर्छौं। बुवाको रेडियो नेपालबाट पेन्सन आउँछ। हामी ठूलो भयौँ भनेर मनपरी गर्दैनौँ। हामीले कमाएको सबै लगेर आमालाई दिन्छौँ। चाहिने खर्च उहाँबाटै लिन्छौँ। आमाले नै सबैलाई मिलाउनुहुन्छ।

दाजुभाइका आनीबानी

‘स्वरूप परिपक्व छ’

satyarup
सत्यराज अाचार्य

को बढी मेहनती छ ?
स्वरूप नै मेहनती छ।

को अल्छी छ ?
अल्छी चाहिँ मै हो।

कसले राम्रो गाउँछ ?
हामी सँगै गाउँछौँ, सँगै कार्यक्रम गर्र्छौं। कमाइ पनि बराबरी नै हुन्छ।

को धेरै रिसाउँछ ?
बढी रिसाउने पनि मै हुँ। मेरो अलि ‘हाई टेम्पर’ छ। रिसाएँ भने नराम्रोसँग रिसाउँछु। तर, चाँडै सेलाउँछु पनि।

पहिले कसले फकाउँछ ?
स्वरूपले फकाउँछ।

कसले धेरै चियोचर्चा गर्छ ?
त्यस्तो कामै गर्दैनौँ हामी।

रोमान्टिक को हो ?
रोमान्टिक पनि मै हुँ।

भाइको मन पर्ने कुरा ?
उसको दूरदर्शिता मन पर्छ। उसले भनेका कुरा सधैँ मिल्छन्।

भाइको मन नपर्ने कुरा ?
उसको ‘रिजर्भनेस’ मलाई सबैभन्दा मन पर्ने कुरा हो। कहिलेकाहीँ त्यही कुरा नराम्रो लाग्छ। अलिकति खुलिदिए हुन्थ्यो जस्तो लाग्छ।

एक बिहान ब्युँझँदा स्वरूप हुनुभयो भने ?
एकदमै खुशी हुन्छु। मलाई एकदमै मन पर्ने गायक हो ऊ। मीठो स्वर छ। संगीतको सेन्स राम्रो छ। ऊ परिपक्व पनि छ।

‘सत्य झनक्क रिसाउँछ’

sworup_1

स्वरूपराज अाचार्य

को मेहनती छ ?
दुवै जना मेहनती छौँ।

को अल्छी छ ?
सत्य अलि अल्छी छ।

कसले राम्रो गाउँछ ?
सधैँ सँगै हुन्छौँ, गीत रेकर्डिङ पनि सँगै गर्छौं। दुवै जना उस्तै गाउँछौँ।

को धेरै रिसाउँछ ?
धेरै रिसाउने, झनक्क रिसाउने सत्य नै हो।

पहिले कसले फकाउँछ ?
हामी खासै रिसाउँदैनौँ।

कसले धेरै चियोचर्चा गर्छ ?
हामीबीच त्यस्तो चल्दैन।

रोमान्टिक को हो ?
रोमान्टिक पनि सत्य नै हो।

दाइको मन पर्ने कुरा ?
ऊ बढी ‘फ्रयांक’ छ। त्यही मन पर्छ।

दाइको मन नपर्ने कुरा ?
उसको त्यही ‘फ्य्रांकनेस’ मन पर्दैन।

एक बिहान ब्युँझँदा सत्य हुनुभयो भने ?
सत्यमा भएका कतिपय चिज ममा छैनन्। त्यसो भएमा म आफूलाई भाग्यमानी ठान्छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.