समानुपातिक सूचीका ‘फस्ट ब्वाइ’ रिजल्ट आउँदा फेल !
सुरेन्द्र काफ्ले
काठमाडौं : नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको प्रत्यक्षतर्फ धेरै सीट जितेपछि समानुपातिकमा रहेका पुरुष उम्मेदवारहरु बढारिएका छन् ।
स्थानीय तह निर्वाचनमा पहिलो दल बनेपछि एमालेमा प्रवेश गरेर समानुपातिकबाट उम्मेदवार बनेका धेरै नेताहरु महिलालाई समेट्नु परेकाले आउट भएका छन् ।
सूर्य चिन्हमा समर्थन जनाउँदै निर्वाचनको मुखमा एमालेमा प्रदेश गरेका ६ जना भन्दा धेरै नेता सांसद बन्नबाट चुकेका छन् । एमालेले दुई पुरुषलाई मात्रै सामनुपातिकबाट सांसद बनाएपछि परिवार दलका अध्यक्ष एकनाथ ढकाल, चुरे भावर पार्टीबाट एमालेमा प्रवेश गरेका बद्री मैनाली, राप्रपाबाट प्रवेश गरेका पूर्व उपसभामुख गंगाप्रसाद यादव, मालेबाट प्रवेश गरेका अइन्द्रसुन्दर नेम्वाङ, मधेश समता पार्टीबाट प्रवेश गरेका मेघराज निषाद, उद्योगपति मोतीलाल दुगड, समिल मियाँ अन्सारी सांसद हुनबाट चुकेका हुन् । पार्टी छोडेर सांसद बन्ने आशा राखेका नेताहरुको मन अहिले खिन्न भएको छ ।
चुरे भावर पार्टीबाट निर्वाचनको मुखमा एमाले प्रवेश गरेका बद्री मैनालीले राष्ट्रिय मुद्दा मिलेका कारण एमाले प्रवेश गरेकाले सांसद हुनु नहुनु ठुलो कुरा नभएको बताए । उनले संवैधानिक अड्चनका कारण आफू लगायत धेरै पुरुष सांसद बन्नबाट बञ्चित भएको बताए ।
‘३३ प्रतिशत महिलालाई समेट्नै पर्यो, दलित, मधेसी, मुस्लिम, जनजाति सबैलाई समेट्दा म जस्ता धेरै परेनौं, स्थायी समिति सदस्य र पोलिब्यूरो सदस्य त पर्नु भएन’, उनले भने ।
उनले पार्टीले उचित मूल्याङ्कन गर्नेमा आफु विश्वास्त रहेको बताए । ‘हामी पार्टी प्रवेश गरेपछि मुलुक नै एमालेमय भएको छ, त्यो नै हाम्रो लागि ठुलो कुरो हो, सांसद नै बन्नु पर्छ भन्ने छैन’, उनले भने, ‘अरु पनि ठाउँ धेरै छन्, पार्टी अध्यक्ष केपी ओलीले सबै कुरा बुझ्नु भएकै छ ।’
एक नम्बर सूचीका अभागी पुरुष
समानुपातिक सुचीको एक नम्बर परेका अधिकांश पुरुष सांसद बन्नबाट बञ्चित भएका छन् । आदिबासी जनजातिबाट बिजय सुब्बा, थारुबाट हनुमान चौधरी थारु, दलितबाट रामप्रित पासवान र मधेसीबाट मोतिलाल दुगडको नाम समानुपातिक सूचीको एक नम्बरमा छ ।
सुब्बा, चौधरी, पासवान र दुगड सबै सांसद बन्न पाएनन । खसआर्यबाट एक नम्बर सूचीका मुकुन्द न्यौपाने र ११ नम्बर सुचीमा रहेका मोहन बानियाँले मात्रै समानुपातिक सूचीबाट सांसद बन्ने अवसर पाएका छन् । मुगुका बानियाँ पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बन्ने भएका हुन् ।