सुगम २ नम्बर प्रदेशमा आधा जनसंख्या गरिब !
काठमाडौं : भौगलिक रुपमा सुगम प्रदेश नम्बर २ मा गरिबीको दर उच्च देखिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा यो प्रदेशमा जनसंख्याको झन्डै आधा अर्थात ४८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।
धेरै जनसख्या रहेको प्रदेश २ मा उच्च गरिबी दर भएका कारण पुरै नेपालको गरिबी दर बढ्न पुगेको छ । यो प्रदेशमा नेपालको कुल जनसंख्याको १८.४ प्रतिशत मानिसको बसोबास छ । प्रदेश २ दोस्रो धेरै जनसख्या रहेको प्रदेश हो भने प्रदेश ६ पछि धेरै गरिब रहेको प्रदेश पनि हो ।
यो प्रदेशमा सडक सञ्जालदेखि राजमार्गले सबै जिल्ला जोडिएको छ । अन्न उत्पादनको भण्डारको रुपमा नेपालको तराईका ८ जिल्ला त्यहाँ नै छ । यो प्रदेशमा सप्तरी,सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सा जिल्ला पर्दछन् ।
किन प्रदेश २ गरिब छ ?
औद्योगिक नगरी वीरगन्जदेखि ऐतिहासिक जनकपुर सहर पनि प्रदेश २ मा नै पर्छन् । पुरै प्रदेश भारतसँग जोडिएकोले यहाँ आपुर्ति व्यवस्था पनि सहज छ । तर किन प्रदेश २ गरिब छ त ? प्रदेश २ मा कुपोषणको दर उच्च छ । १४.१ प्रतिशत बालबालिका मात्रै विद्यालयमा नियमित रुपमा जान्छन् ।
बाल मृत्युदर पनि उच्च छ । खानेपानी, विद्युत् र इन्धनको अझै अभाव छ । यहाँ असमानता र अन्धविश्वास उच्च छ । यही प्रदेशका धेरै महिला कथित बोक्सीप्रथाबाट प्रताडिन छन् भने दाइजोको उत्पीडन पनि उस्तै छ । प्रदेश २ मा धनी र गरिबको असमातना चरम छ भने जातीय विभेदको रुप पनि डर लाग्दो छ । यहाँ भष्ट्राचार चरम छ । विकास योजनाको पैसा बाँडेर खाने चलनले यहाँको स्थानीय तहमा छुट्याइएको बजेटमा अनियमिता हुने डरलाग्दो अवस्था छ ।
झन बढ्दैछ गरिबी
तराई–मधेसका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोरले पछिल्लो समयमा तुलनात्मक रुपमा मधेसमा गरिबी बढ्दै गएको बताए । उनले २०४६ सालको परिवर्तनपछि राजनीतिको दलको मधेसप्रतिको विभेदपूर्ण व्यवहारका कारण अझ गरिबी बढेको बताए ।
‘मधेसमा गरिबी बढ्नुमा २०४६ पछि नेतृत्व लिएका दलहरु जिम्मेवार छन्’, उनले भने । झाले पहाडका जिल्लासँग जोडिएका जिल्लामा कम गरिबी रहेको पनि तर्क गरे । पहाडसँग ‘कनेक्टिभिटी’ नहुनाले मधेसमा गरिबी बढेको उनको ठहर छ । सुनसरी र चितवनको विकास हुनुमा पहाड र तराईको कनेक्टिभिटी प्रमुख कारण रहेको उनले बताए । उनले भने, ‘उत्तर–दक्षिणको ‘कनेक्टिभिटी’ नहुँदा मधेसमा गरिबी बढेको हो ।’
चुरे दोहनले अवस्था विकराल
झाका अनुसार चुरे दोहनको कारण तराई मधेसको उत्पादकत्व घट्दै गएको छ भने कृषिको पराम्परिक प्रचलनमा संक्रमण आएको छ । अर्कातिर कृषिमा आधुनिकिरण हुन नसक्नु पनि गरिबीको मुख्य कारण हो । युवाहरु विदेशिएका कारण यो प्रदेश पनि रेमिट्यान्समा निर्भर छ । परम्परागत सिप र ज्ञानमा यहाँका बासिन्दा खुम्चिएकाले समेत प्रदेश २ मा गरिबी बढेको उनको धारणा छ । ‘मधेसका युवा परम्परागत काम गर्न लाज मान्छ’, उनले सुनाए, ‘त्यो रेमिट्यान्सको कारणले भएको हो ।’
गरिबीको खाडल झनझन् बढ्दै
नेपालमा पछिल्लो समयमा गरिबीको खाडल बढ्दै गएको छ । धनी अझ धनि भइरहेका छन् भने गरिब अझ गरिब हुँदै गएका छन् । असमान विकासका कारण गरिबीको खाडल बढ्दै गएको हो । विश्वकै खर्बपति विनोद चौधरी जस्ता धनाढ्य पनि यहीँ छन् भने खानसमेत नपाउने अत्यन्त गरिब, भूमिहीन र सुकुम्बासी समेत नेपालमा छन् ।
गरिब र धनीबीचको खालड पुर्न नसकेमा मुलुक अझ गरिब हुँदै जाने अवस्था छ । गरिबी दर घटाउन सरकारदेखि दातृ राष्ट्रले ठुलो धनराशी लगानी गरिरहेका छन् । तर, नेपालको गरिबी दर भने घट्नु साटो झन बढिरहेको छ । हालै राष्ट्रिय योजना आयोगले ७ प्रतिशत गरिबी बढेको तथ्याङ्क सार्वजनिक गरेपछि यो तथ्य पुष्टि भएको छ । नेपालको कुल गरिबी दर २८.६ प्रतिशत रहेको छ ।