सिमकोट-हिल्सा एक्सप्रेस
‘फुर्सद छ ? ’
चन्द्रकान्तजीले सोध्नुभो ।
तत्काल के बेहोर्नुपर्ने भो भन्नेझैं लागेर टार्न खोजेँ, ‘आज त व्यस्त छु ।’ वास्तवमा पट्यारलाग्दो जिन्दगीका केस्रा केलाउँदै ओछ्यानमा पल्टेर म पुरानो घरको दलिन र दलिन भित्रका चिर्पट गनिरहेको थिएँ ।
‘होइन अर्को हप्ता १०÷१२ दिनलाई टाइम निकाल्नुस् । हिल्सासम्म पुगेर आऊँ । भोलि विचार गरेर ‘हाँ’ या ‘ना’मा जवाफ दिनुहोला ।’ उहाँले चारो हाल्नु भो ।
‘हिल्सा’ कानमा चिसो बतास भित्रिएझैं भयो । ‘हिल्सा’ सुनेको, नपुगेको ठाउँ । उडान भर्न मेरो मनका दायाँबायाँ पंख बेजोडले हल्लिए । मन एकतमासले रोमाञ्चित बन्न पुग्यो ।
हिल्सा हाम्रो सीमा इलाका मात्र होइन; प्रसिद्ध कैलाश, मानसरोवर भएको तिब्बतसँग भारत र नेपाललाई धार्मिक तथा सांस्कृतिक रूपमा जोड्ने संगम पनि हो । कर्णालीको मूल नदी हुम्ला-कर्णाली, राकसताल, मानसरोवर हुँदै स्वर्गको उकालो जाने उहिलेको बाटो पो त्यही थियो कि जस्तो लाग्छ, जुन महाभारतको समापन पर्वमा उल्लेख गरिएको छ ।
यी सबै विषयमा जान्न खोजेको मेरो आतुर मनले आदेश दियो, ‘चन्द्रकान्तजीलाई फोन गरिहाल !’
‘म साथ दिन तयार छु’, चन्द्रकान्तजीलाई मैले एक सासमा भनंँे ।
‘असल’, उहाँले भन्नुभो ।
सित्तैमा स्वर्ग जाने बाटो हिँड्न पाइने कल्पनामा झोलाझाम्टा तयार पारेँ । फोनको प्रतीक्षा थियो । तर, दुई हप्तासम्म फोन आएन । ‘आ... झुक्यानमा परेँ’, मनले ठान्यो । र, म अन्य सुसे धन्दामा लागेँ । तर, अकस्मात् एक दिन जाने दिनको टुंगोसहित फोन आयो।
सदाझैं एक घन्टा ढिलो गरी प्लेन उड्यो नेपालगन्ज । ठूलो साँझमा म वीरेन पुनको दलानमा हाजिर भएँ । बेलुका ‘यती’ चढेर आइएको थियो, बिहान ‘तारा’ । हिजोको झोलाको तौल १८ केजी, यतिले बोकेको तारामा तीन केजी बढी भो । यति चढ्नु र तारा चढ्नुको फरक । काउन्टरका अर्का भाइले मेरो परिचयपत्र हेर्दै भने, ‘सरलाई तीन किलो छुट ।’
१० मिनेट ढिला गरी हवाईजहाज उड्यो । झन्डै ४० मिनेटपछि सिमकोट पुगियो । घाम एक-टाँगामाथि आइसकेको थियो । घडीको सुइले ९ हानेछ ।
‘म पासाङ !’
हँसिलो मुहार भएको तन्नेरी युवकको आवाजले मलाई उत्साहित बनायो ।
‘परिचित नाम ।’ मनले हल्का सम्झियो । मेरा धेरै साथीको नाम पासाङ छ । सबै हँसिला, रसिला । महामहिम उपराष्ट्रपतिसँग पहिलो भेटमा पनि त्यस्तै रमाइलो अनुभूति भएको थियो । मलाई ‘संसार भरका पासाङहरू सहृदयी र हँसमुख हुन्छन् जस्तो लाग्यो । मनमनै गरिएको यो आत्मसंवादमा म आफैं हाँसे ।
सित्तैमा स्वर्ग जाने बाटो हिँड्न पाइने कल्पनामा झोलाझाम्टा तयार पारेँ । फोनको प्रतीक्षा थियो । तर, दुई हप्तासम्म फोन आएन ।
पासाङको घरमा लामो कचहरी नगरी मैले झोलाबाट फटाफट आफ्ना लत्ताकपडा निकालेँ । जाडोको अन्दाज नभएकाले अलि बढी नै कपडा झोलामा कोचेको थिएँ । पासाङको सुझावमा दुई तिहाइ कपडा, ल्यापटप र एक जोर अतिरिक्त जुत्ता त्यही छाडेँ । किताबको सट्टामा केन्डिल बोकियो । गाँस टिपरे ससाना छरिता झोला बोकर हामी उकालियौं ।
एक घन्टा उकालो हिँडेपछि सिमकोट ब्यारेक सिरानमा पुगेर यात्रा बिसायौं । लगभग हम-उमेरका आधा दर्जन युवा त्यहाँ भेटिए । जो भोट हाल्न आफ्नो गाउँ केर्मी जाँदै थिए । अंजुक, ठरिक, कन्जोक, केसाङ, हिसे र पाल्जोर लामा हुम्लाका होनहार युवाहरूझैं प्रस्तुत भइरहेका थिए । मेरा मित्र एवं पथप्रदर्शक पासाङजीका परिचित थिए ती साथीहरू । हामी केही बेरमै ओरालो लाग्यौं । ओरालो लागेपछि म विस्तारै पछि पर्दै गएँ । साथीहरू मलाई आफैं माझमा हिँडाउन चाहनुहुन्थ्यो । तर मैले भनेँ, ‘मलाई छोड्दिनु भो भने मात्रै पछ्याउन सक्छु । हिँड्न नसक्नेका लागि नियम नै यही हो ।’
पानी-नाउलामा साथीहरू बिसाइरहेका थिए । एकजना ‘बाबुसाब’ पुरातन सुल्पा तान्दै थिए । सुल्पा तानेर छोडिएको धूवाँ लामा दारीमा अल्झिरहेका थिए । झन्डै ३० वर्षजति लगातार खैनी, बिँडी, चुरोट सेवन गरेको मैले प्वाक्क सोधेँ ।
‘खोकीले सताको छैन तपाईंलाई ? ’
‘नाइँ’, उनले जवाफ दिए । कुरो अगाडि बढेन ।
डाँडाफायाको माझगाउँको चौतारीमा चिया अर्डर भएछ । गाउँको स्कुलका हेडसर साथीहरूलाई देखेर गफिन आए । उनको अड्कल यसपटक एमाओवादीका बागी उम्मेदवार छक्कबहादुर लामाले बाजी मार्ने भन्ने थियो । हामीसँग समय थिएन । पुनः बाटो लाग्यौं । करैंचे करैंचे तेर्सो बाटो सुरु भयो । तर ओरालोमा खुट्टा खाँदिएर मलाई भने हिँड्न झनै गाह्रो भएजस्तो भो । तै म आफूलाई घिसारिरहेको थिएँ ।
हामी तारुखोला अवस्थित होटलमा खाजासँगै अलमलिँदा नजिकैको च्याघारा भीर । भीरले उब्जाएको मोटर-बाटोको अर्थ-राजनीतिबारे गफियौं । हिल्सा-सिमकोट एक्सप्रेस रोक्ने ‘भिलेन’ भनेर त्यही भीरलाई देखाइने गरिएको रहेछ । कहालीलाग्दो भीर कोपेर सानो गोरेटो उकालो बाटो निकालिएको थियो । भित्तामा झोला छोइएर अलिकति घचेटिँदा अकस्मात् मेरो मन र शरीर दुवै थरर्र काँप्यो । मेरो जीवनले त्यस्ता सैकडौं पहरा, छाँगा र गल्छेँडाहरू पार गरेको थियो । तर त्यस्तो मनै थरर्र भने पहिलोपटक भएको थियो । जीउ काँपेपछि थकान महसुस भयो । मेरा हातखुट्टा फतक्क गलेजस्तै भए । एकछिन आराम फर्माएर हामी फेरि बाटो लाग्यौं । डाँडापारि घाम डुबिसकेको र बाटो लामो भएकाले साथीहरू अघि लाग्न बिदा भए । पासाङ र म डाँडकेर्मीको सानो होटलमा बास बस्यौं ।
हामी तारुखोला अवस्थित होटलमा खाजासँगै अलमलिँदा नजिकैको च्याघारा भीर । भीरले उब्जाएको मोटर-बाटोको अर्थ-राजनीतिबारे गफियां । हिल्सा-सिमकोट एक्सप्रेस रोक्ने ‘भिलेन’ भनेर त्यही भीरलाई देखाइने गरिएको रहेछ । कहालीलाग्दो भीर कोपेर सानो गोरेटो उकालो बाटो निकालिएको थियो ।
चिसो बाक्लिँदै थियो । अलि अघिसम्म बगिरहेको धारा र बगिरहेको पानी जमिसकेछ । पासाङले आगो ताप्न भान्साघरमा बोलाए । पासाङ होटलेका नातेदार नै रहेछन् । दिनको एकडेढ घन्टा पनि नहिँडिरहेको ज्यानले लगातार सात घन्टा हिँड्नु मामुली कुरा थिएन । त्यो पनि लेक लाग्ने ठाउँमा । भान्सामा पस्नेबित्तिकै खाना पकाउँदै गरेकी साहुनीलाई सोधेँ, ‘खाने कुरा के के छ ? ’
‘बियर, दाल, भात, तरकारी, प्याकेजिङ गरिएको चाइनिज चिकन, मैदाको रोटी पनि छ । के खाने ? ’ उल्टै सोधियो ।
मैले ठट्टा गर्दै भनें, ‘त्यो त रोङ्वाहरूका लागि । लामाहरूले खाने असली कुराचाहिँ पाऊँ न ।’
लिस्टमा, ‘उवाको रक्सी, झोपाको मासु, स्थानीय सिमीको दाल, मुलाको अचार, हरियो खुर्सानी र रोटी’ तेस्र्याइयो । जिन्दगीमा यी स्वादिष्ट जिनिस एकसाथ चाख्न कमै मान्छेले पाउँछन् । मैले पासाङलाई हेरेँ । उनले उवाको सट्टा बियर रोजे । हाम्रो अर्डर भो । जाडोमा चुल्हो ताप्दै उवा र झोपाको स्वाद लिँदै मैले बूढीमाउलाई सोधेँ,
‘आमा ! हिजोआज पहिलाको भन्दा सुख छ कि दुःख ? ’
‘बाटो जोडिएपछि सबै कुरा सजिलो भाको छ । माछामासु, घिउ, तेल, नुन, लत्ताकपडा, जुत्ता, खाद्यान्न सबै सजिलो भा’छ । पिँध्ने, कुट्ने काम पनि बिसाइयो । लेकबेसी गर्ने काम पनि बस्तुभाउ पाल्न छोड्दै लगेपछि सजिलो भा’छ ।’ आमाले सास नै नबिराई जस्तो भन्नुभो ।
मैले कुरा बिट मार्ने हिसाबले सोधे, ‘सुख मात्रै रैछ, त्यसो भए ? ’
‘होइन, होइन ! दुःख हुँदै नभएको होइन । पैसाको दुख्ख छ ।’
मैले भने, ‘पैसाको कुरा आएपछि अप्ठ्यारो परिगो नि ? ’
उहाँले अर्थ-राजनीतिको पोया गाँस्दै भन्नुभो, ‘लेखमा चौंरी र भेडा मासिँदै गए । मल र पुरानो बीउबिजन र ठूलो परिवार नहुँदा खाने अन्न उब्जाउ कम हुँदै गयो । नयाँनयाँ काम खोज्न बाहिर जानुपर्ने भो । यहाँ हामी सबै जहान परिवारलाई पैसा उमार्ने पेसागत काम भएन ।’
४ बजे बिहानै निद्राले छोड्यो । अत्यधिक चिसो थियो बाहिर । मेरो हिँडाइको तुलनामा बाटो लामो थियो । ओखरथालाबाट साढे ७ बजे गाडी निस्कन्छ र हामी छोडिन्छौं भन्ने भयका कारण उठेको आधा घन्टाभित्रै तयार भएर हामी बाटो लाग्यौं । घरबेटी सानो लामा एलवाङ गुम्बासम्म जाने रहेछन् । लाइट बालेर उनी हाम्रोअगाडि लागे । बाटो फराकिलो थियो । सानो लामा उडिरहेझैं लाग्थे । अलि अगाडि गएर रोकिन्थे । हामी पुगेपछि हिँड्थे । सायद अँध्यारोमा उनलाई घुम्तीका मोडहरूमा डरलाग्दो हो । आफ्ना गाउँका अनेकन पुराना मिथकहरू सुनेकै कारण आफ्नै गाउँठाउँमा मान्छे डराउँछ । मैले पासाङलाई ‘डर’ बारे सोधेँ । उनले मलाई सानो लामा डरले गर्दा नै हामीलार्ई नछोडेको बताए । रिम-रिम उज्यालो भएपछि सानो लामा देखिएनन् । ओखरथलामा हामी ७ बजे नै पुग्यौं । तर, गाडीको नामनिशान थिएन । त्यस्तो जाडोमा पनि मेरो भित्री कपडा पसिनाले लथपथ भिजेका थिए ।
‘छिट्टो जानुभो भने एलवाङमा ट्रक चढ्न पाउनुहुन्छ, नत्र तुमकोट बास तपाईंहरूको’, कफी साहूले भने । तर, गाडी चढ्न पाइएन भने आजको बास एलवाङ या मुचु मेरो मनले भन्यो । हिँड्नुको विकल्प थिएन । तर, मैले पासाङलाई भने, ‘बिस्तारो जाऊँ, अब हडबडाएर नहिँडौं ।’
जोर सल्ले पुग्दा रापिलो घाम देखा पर्यो । पासाङले भने, ‘अब खोला झर्नुपर्छ । घामको दर्शन अब एलवाङपछि मात्रै ।’ सल्लीखोला पुग्ने ओरालोमा अकस्मात् ट्रकको घ्यारघ्यार सुनियो । होटल छेउमा ट्रक रोकियो । भोट भाषामा पासाङले हाम्रा लागि सिट रिजर्भ गरे । जोर सल्लेमा सामान झारेर गाडी फर्किंदा ११ बजेको थियो । त्यतिन्जेलमा हामीले होटलमा तीन÷तीनवटा बाक्ला अमलेट रोटी बजाएर, भोटे चिया कुवाबाट उघाएर गाग्रीमा हालेझैं अन्दाजी चार मानाका दरले उदरस्थ गरिसकेका थियौं ।
ट्रकमा कुनै नाम नम्बर थिएन । पक्का बेवारिसे । पिंक कलरले पोतिएको ट्रक जन्मिएदेखि मृत्युपर्यन्तसम्म कपडा नभिरेको आदिम मानवजस्तो देखिन्थ्यो । पातलो नाक नक्सा भएको, गोरो सुसे गँजेडिया लाग्ने केटो यमानको चाइनिज ट्रकको ड्राइभिङ सिटमा थियो । हामी ट्रकमा चढ्यौं ।
सल्ली खोलाको भीरको ओह्रालो बाटो, लुरे ट्रक ड्राइभर र राज्यबाट बेवारिसे छोडिएको ट्रक चढेर बाँकी सडक-यात्रा सुरु भो । अविश्वास र डरमि िश्रत स्वरमा मैले ड्राइभरलाई सोधेँ, ‘हामी आजै हिल्सा पुग्छौं ? ’
उसले सहज उत्तर दियो, ‘५ बजेभित्रै ।’ मैले उसलाई अविश्वासको नजरले हेरेँ । ऊ फिस्स हाँस्यो मात्र ।
जंगलमा गुम्बाका लामा विद्यार्थी जम्मा गरिएका दाउरा छेउमा झुण्डझुण्ड उभिएका थिए । तीन ठाउँमा रोकेर दाउरा लोड गरिए गाडीमा । १२ बजे हामी यलवाङ पुग्यौं ।
ड्राइभरले भान्छा गरुन्जेल हामी स्थानीयसँग यलवाङबारे गफियौं । यलवाङ नाम्खा गाउँपालिकाको प्रस्तावित सदरमुकाम रहेछ । उसले हतारमा खाना खायो, अलिक अगाडिको गुम्बामा लामा विद्यार्थीले दाउरा ओराले । दर्जनौं साँघुरा घुम्तीहरू भएका अनेकन ओराली-उकाली चढाउँदै नपत्याउदो त्यो फुच्चे ड्राइभरले नारा-ला भञ्ज्याङ (४,५४३ मिटर) पार गरेर टक्रक्कै बेलुका ५ बजे पुर्यायो । वाचा गरेको समयमै पुर्याएकाले मेरो अनुहारतिर हेर्दै सगर्व सुनायो, यही हो ‘हिल्सा ।’
हिल्सा नदी किनारको खोँचमा रहेको पूर्व फुकेको पश्चिम सुकेको एउटा सोतोजस्तो लाग्ने टार रहेछ । खोलापारि माथिल्लो कुइनेटोमा तिब्बतको भूभाग पर्दो रहेछ र उनीहरूले व्यवस्थित भन्सार कार्यालय बनाएका रहेछन् । पारिपट्टिको पूर्वी भाग भने हाम्रैमा पर्दो रहेछ, लिमी जाने बाटो । वारि हाम्रो हिल्साको पूर्वी भागमा सानाठूला गरी पुगनपुग आठ दर्जन योजनाविहीन (निर्माणाधीन समेत) झुरुप्प घरहरू रहेछन् । तल्लो भागमा ढुंगाको चिनो लगाएर आआफ्नो घडेरी सुरक्षित गरेको देखिन्थ्यो । जनयुद्ध सकिनुअघि माओवादीले त्यहाँ व्यापार गरेर बसेकाहरूबीच दामासाहीमा जग्गा बाँडेका रहेछन् । पूर्वतिरको केही भाग भने यारीका मान्छेहरूको नम्बरी जग्गा परेको रहेछ । यति बेला एमाले, कांग्रेस र माओवादीका तीनजना ठूलै नेता त्यहाँ ठूला होटल खोलेर प्रतिस्पर्धा गरिरहेका रहेछन् । हामी बेलुका थापाजीको होटलमा बस्यौं, उनकै आग्रहमा । उनलाई हामीले यारीमा भेटेका थियौं । तर, होटलमा काम गर्ने सबै मान्छे हिँडिसकेकाले आफ्नो सेवा आफैं गर्नुपर्ने अवस्था रहेछ ।
बिहान हामी एक निमेसमै गाउँ घुम्यौं । झोलुंगे पुल तरेर पारिबाट वारि हेर्यौं ।
‘सर हामी कुबेलामा आइपुग्यौं । वैशाखदेखि आधा कात्तिकसम्म यहाँ निकै ठूलो रौनक हुन्छ । सरदर तीन हजार मान्छे प्रतिदिन बास बस्छन् । अटाइनअटाइ भीड हुन्छ’, पासाङले अनुभव सुनाए ।
यति बेला भने ९० प्रतिशत घरमा ताला लगाइएको थियो ।
मानसरोबर होटलकी साहुनी तिब्बतीयन मूलकी पेम ओङ्मु लामा ताक्लाकोट काउन्टीकै हुनुहुँदो रहेछ । हेक्पाका रैथाने हुम्ली कांग्रेसका नेता कार्मा तुन्डुप तामाङसँग २२ वर्षअगाडि बिहे गरेर हिल्सामै घरजम गर्नुभएको रहेछ उहाँले ।
‘हेक्पालीहरू व्यापार गर्न आउने । कसोकसो कार्मामा दिल बस्यो । दुई छोरी एक छोरा भयो ।’ साहुनीका रसिला कुरा बढ्दै गए, ‘तिब्बेतमा त्यति बेला केटाले केटीको घर खानुपर्ने संस्कार थियो । ममात्रै उल्टो गर्यो । साहूको घर खान आयो ।’
‘२० वर्ष अघिसम्म पनि तिब्बतमा नेपालमा भन्दा बढी दुःख थियो । अन्न पात, चौंरीको घिउ, मरमसाला, काठपात यतै बाटो लैजान्थ्यो । तर, अहिले उल्टो छ’, साहुनीको अनुभव बोल्यो ।
‘अहिलेको तिब्बतमा कसरी राम्रो भो भन्ने लाग्छ ? तपाईंले के थाहा पाउनुभा छ ? ’ मैले उत्सुकतासाथ सोधेँ ।
‘केटाकेटीलाई निःशुल्क तर अनिवार्य शिक्षा लागू गर्यो । निःशुल्क स्वास्थ्य सेवा सुरु भयो । पढ्ने केटाकेटीलाई दिइने खानाले खाद्यान्न अपुग हुन छोड्यो । टनेल खेती सुरु भएपछि खाद्यान्न, सागपात, गेडागुडी सबै उत्पादन हुन थाल्यो । उत्पादन गरेको सामग्री सरकारले किन्ने, निःशुल्क शिक्षा, स्वास्थ्य भएपछि मान्छे सुखी भइहाल्दो रहेछ । अहिले त व्यवस्थित घरहरू बनाउन पनि सरकारले सहयोग गर्ने भएपछि के चाहियो ? ’ तिब्बतीय सुखको राज साहुनीको मुखबाट फुस्कियो ।
ढुंगा बटुल्ने काम पाएका ठिटाहरूसँग म हिल्साको विवरण मागिरहेको थिए ।
‘हिल्सामा यत्तिका मान्छे कहाँबाट आए ? ’ अनुभवी होला भनेर अन्दाजी ६० वर्षीया नाक्पुलाई सोधेँ । तर उल्ले त, ‘मलाई के थाहा, काँ-काँबाट आयो आयो ? ’ भन्यो । हामी सबै हाँस्यौं ।
पेमु ओङ्मुले मेरो प्रश्नको जवाफ दिए । ‘यारीको त एक घर मात्रै छ । धेरैजसो हेक्पा गाविसको, खगाल गाउँ, धिकेल, यल्वाङ, च्यादुङकोहरू अलिअलि छ । सबैले होटल गर्ने हो । वर्षमा ६५ वटा होटल चल्छ । पहिलापहिला भारी बोक्नेको संख्या पनि ठूलो थियो । पुल बनेपछि त्यो पनि घट्यो ।’
पक्की पुल एक वर्ष पहिले बनेको रहेछ । सानो र असुरक्षित ठाउँमा । पारिपट्टि हिउँ पहिरो खस्ने र वारिपट्टि पहिरोको मुहानमै । पुल बन्नुभन्दा अगाडि चार जनाको ज्यान गएको ठाउँमै अहिले ठेकेदार तेजबहादुर महतले पुल बनाएका रहेछन् । ‘हामीले त्यहाँ नबनाऊँ भनेको कसैले सुनेनन् । अहिले त प्रचण्ड आएरै उद्घाटन गरेर गइसक्यो’, साहुनीको गुनासो थियो ।
हामी भान्छामा भेला भएर गफिइरहेकै ठाउँमा एक दर्जन चिनियाँ अधिकारीहरूको हूल पस्यो । केही सुटबुटमै थिए, केही अनौपचारिक पोसाकमा । मैले अंग्रेजीमा, ‘हेलो गुडमोर्निङ ! वेलकम एभ्रिवडी !’ भनेर वातावरण सहज बनाउन खोजेँ । उनीहरूमध्ये एकजनाले ‘गुडमोर्निङ’ भने । अनि लामा भाषामा केही भने ।
त्यसपछि हाम्रो होटलको साहुनी र हामी (पासाङ र म) दुईबाहेक स्थानीयवासी बाहिरिए । तिब्बती भाषामा साहुनीले मेरो सानो परिचय दिनुभो । ‘म काठमाडौंबाट आएको, सानोतिनो लेखक तथा अनुसन्धाता हुँ’, मैले साहुनीलाई यही भनेर परिचय दिएको थिएँ । उनीहरूमध्ये एक ताक्लाकोट काउन्टीका प्रमुख र अर्का एकजना बोर्डर सेक्युरिटी युनिटका चिफ रहेछन्, मेनलैन्डकै बासिन्दा । कहिलेकाहीँ चिया, कफी र अग्र्यानिक खाना खान मन लाग्दा काउण्टी प्रमुख हुलसहित वारी तर्दा रहेछन् ।
काउन्टी प्रमुख एउटा ठूलै झुण्ड बोकेर केही दिनअघि मुचुसम्म गएका रहेछन् । मुचु निमाविलाई सहयोग पनि गरेछन् । उनले तिब्बत र त्यो भेगको भाषिक, सांस्कृतिक, सामाजिक सबैखाले सम्बन्ध समधुर रहेको चर्चा गरे । ‘अब नेपालले पनि विकास गर्नुपर्छ’ भन्ने सुझाए । ‘दुई मुलुकबीचको सामान्य मानिसको जीवनस्तरमा खाडल देखा पर्यो भने आपसिक सामाजिक सम्बन्ध पनि कमजोर बन्छजस्तो लाग्छ’, उनले भने । सायद विगतमा कर्णाली वारिपारि हुने गरेको बिहेबारी र अन्य लेनदेन सम्बन्धलाई ध्यानमा राखेर पनि भनेको हुनसक्छ ।
वैशाखदेखि भदौसम्म भारतीयहरू कैलाश-मानसरोवर हेलीसेवामा आउँछन् र फर्कन्छन् । कांग्रेस, एमाले र माओवादी साहूहरूकैमा बस्छन् । सिमकोटका साहू र हिल्साका यी तीन साहूबाहेक अन्त केही पनि ट्रक रोक्न हुँदैन । आममानिसको सरोकारसँग जोडिने ट्रकहरू हुन् । हिल्सामा ११ वटा ट्रक चल्ने रहेछन् । एमाले, माओवादी र कांग्रेसका लोकल साहूहरूले सञ्चालन गरेका । वर्षमा सरदर आठ महिना चलाउँछन् । दिनमा सरदर आठवटा ट्रिपरले चीनबाट खाद्यन्न, लत्ताकपडा, सिमेन्ट, छड र अन्य सामग्री ओसार्छन् । प्रतिट्रिप एक लाख सरदर भाडा लिन्छन् । मान्छेको भाडा हिल्सा टु जोर सल्ली प्रतिव्यक्ति दुई हजार ।
रक्सीबाहेक सबै चिज सहज भित्रिन्छन् । भन्सार कार्यालय छैन । के तिरेर सामान ल्याउँछन् ? चिनियाँ करेन्सी रेमेम्वी कसरी पाइन्छ ? कसैलाई केही थाहा छैन । किनकि चिनियाँ करेन्सी साट्ने बैंक एक्सचेन्ज छैनन् । यारीमा भेटिएका हल्दार भाइ भन्दैथे, ‘हामीलाई चिनियाँ रक्सी नियन्त्रण गर्ने मात्र आदेश छ ।’ झन्डै त्रिदेशीय नाकाको यो हालतले हाम्रो गम्भीरतालाई राम्ररी संकेत गर्छ।
आयातीत सामान केहीबाहेक सबै हुम्लामा खपत हुन्छ । सुर्खेत र नेपालगन्जबाट सरदर एक दर्जन फ्लाइट हुन्छ सिमकोटमा । तिनले पनि मानिसका साथसाथै खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामान नै ओसार्छन् । खपत हुम्लामै हुन्छ ।
दिनपिच्छे आउने यी सामग्री ‘हुम्लीले कसरी किन्छन् ? ’ वैभव र गरिबी दुवैलाई नजिकबाट हेरेका मेरा मित्र अंगबहादुर लामालाई मैले सोधेँ ।
‘हालसम्म अस्थायी उपाय खोजिएका छन् तर भविष्यको भर छैन’, उहाँको जवाफ थियो ।