चराझैं समुद्र माथिमाथि

चराझैं समुद्र माथिमाथि

थाइल्यान्ड पुगेको दोस्रो दिन हामी पताया सहरछेउमै रहेको समुद्रमा पुग्यौं । ३० जना जति अटाउने बोटबाट पानीको सडकमाथि १५ मिनेट हुइँकिएपछि स्थिर बनाइएको एउटा पानीजहाज (सिप) भेटियो । बोट त्यही सिप छेउमा पुगेर अडियो, सबै त्यही सिपमा उक्लियौं । बोटबाट सिपमा जाने र फर्कंनेको घुइँचो सरोबरी थियो ।

Gopi-kr-Dhungana_4पोखरामा पाराग्लाइडिङको संसारमा छुट्टै आनन्द छ । कुनै दिन यसको मजा लिने अवसर परेको थिएन । समुद्रमाथि उडिरहेका दृश्य पतायाको त्यस्तै उडान पारासेइलिङ रहेछ । असार १७ गते यस्तै हावामा कावा खाँदै उड्ने दिन आयो । पारासेइलिङमा चराजस्तै उड्ने विशेष अवसर थियो तर थाई गाइडले केवल आधा घन्टाको मात्र समय दिएकी थिई । पारासेइलिङमा चरा बनेर वर्षौंको रहर पूरा गर्ने अवसर छुटाउन मन थिएन । उडूँ समुद्रमाथि एक्लै उड्नुपर्ने ! उडाउने जेट स्की झन्डै पाँच सय मिटर तल समुद्रमा । स्कीमा बाँधिएको प्लास्टिकको डोरी पारासेइलिङमा जोडिएको छ र त्यहाँ लाइफ ज्याकेटमा आफू बाँधिनुपर्ने । उडेपछि आफूलाई गाह्रो-साह्रो परे सुन्ने कोही नहुने । स्कीको गतिसँग पारासेइलिङको गति तलमाथि भए सिधै तल समुद्रमा खसिने ।

झापाको गौरादहस्थित गाउँघरमै हुर्किएँ, किस्नी खोला छेवैमा थियो । विद्यार्थी जीवनमा घरगोठालो बनेर दिनहुँ एकपटक खोला पुगिन्थ्यो तर पनि कहिल्यै पौडिन सिकिनँ । त्यसैले, मन भएर पनि पारासेइलिङमा नउड्ने बताएँ । जीवनसंगी कमलाले भनिन्, ‘मेरो पनि ठूलो इच्छा हो तर स्वास्थ्यका कारण उड्न नसक्ने भएँ । तपाईं सक्नुहुन्छ, जसरी पनि उड्नोस् ।’ १७ जनाको समूहमा दुई भतिज, महिला र सँगै गएकामध्ये ७० वर्षे वृद्ध पनि उड्ने । ‘म किन नउड्ने ? ’

संगीले उड्ने टिकट लिइदिइछन् । लाइनमा बसेँ । वृद्धको उमेर बढी भएर पाएनन् । उनी थक्क-थक्क भएपछि मलाई मौका गुमाउन नहुने थप बल आयो । लाइनमा बसेपछि लाइफ ज्याकेटमा बाँधिएँ, उकुसमुकुस हुँदोरहेछ । पालो आयो । स्की होल्ड भइरहँदा अर्कोलाई सिपमाथि झार्ने र मलाई त्यही ठाउँबाट उडाउने काम भयो । स्कीकै गतिमा पारासेइलिङसँगै १० पाइला जति दौडिएर आफूलाई हुत्याइदिएँ, लाग्यो मैले सारा शरीर समुद्रलाई अर्पिदिएँ । पारासेइलिङले गति लिँदै जाँदा बाँधिएको कुनै गाँठो फुस्किएर समुद्रमा खस्छुझैं भयो, सास रोकिएझैं भयो । आँखा चिम्लिएँ । एकछिनपछि बिस्तारै उघारेँ । तल जेट स्की हुइँक्याइरहेको थियो थाई नागरिक । ऊ बेलाबेला मलाई माथि आकाशमा उडिरहेको चरोलाई जसरी हेथ्र्यो । म पनि बेलाबेला उसलाई हेर्थे उसरी नै । मैले मेरो समूह हेरेँ, कसैलाई ठम्याउन सकिनँ । छतबाट हेर्दा आकाशमा चरोजस्तो देखिन्थ्यो त्यो अनुभूति आफूलाई गरेँ र हावामा कावा खाँदै थाइल्यान्डको पताया सहर नियालेँ । समुद्रभरि पानीजहाज, पारासेइलिङ, जेट स्की, विभिन्न प्रकारका बोटहरूले साम्राज्य गरिरहेका थिए ।

सिपको पछाडि पुगेपछि ड्राइभरले स्की बिस्तारै चलायो, मेरो पारासेइलिङ तल समुद्रमा झर्न थाल्यो । तल हेरेँ, उसले संकेत गर्‍यो समुद्रमा चोबिने हो ? पूर्वसूचना पाएकाले मैले माथिबाटै संकेत गरेँ, ‘नो नो’ । अरू माथि उडिरहँदा तल समुद्रमा झ्वाम्म चोबिएको र लगत्तै स्की दौडाउँदा पुनः माथि पुगेको देख्दा जीउ जिरिंग भएथ्यो । करिब सात मिनेट उडेपछि सिपमा ओर्लिने बेला आयो । माथिबाटै हात हल्लाएँ, खुसी प्रकट गरेँ । स्कीले गति कम गरेपछि ओर्लिएँ । अत्यन्तै हलुका महसुस भयो । डर त त्यतिबेला थपियो, जब जीवनसंगीले म उडेको भिडियो देखाइन् ।

कोरल आइल्यान्डमा डुबुल्की

पारासेइलिङपछि त्यही बोटले अर्को स्थिर सिपमा पुर्‍यायो । त्यहाँ केही भाट तिरेर समुद्रमुनि हिँड्ने अवसर पाइने रहेछ । समूहकी तुलसा अधिकारी शिवाकोटीले त्यो चाहना पुरा गर्नुभयो । माछोजस्तै बनेर कृत्रिम श्वासमा करिब पाँच मिटर गहिराइसम्म हिँड्न पाइने ‘सी वाकर’ को फाइदा लिन छोडेर सिपको टुप्पोमा उक्लियौं हामी दुई । चारैतिर समुद्रलाई पृष्ठभूमिमा पारेर अघाउन्जी तस्बिर खिच्यौं, समुद्रको बीचमा पुगेको इतिहास रच्न ।

पानीजहाजको पछाडि पुगेपछि ड्राइभरले स्की बिस्तारै चलायो, मेरो पारासेइलिङ तल समुद्रमा झर्न थाल्यो । तल हेरेँ, उसले संकेत गर्‍यो समुद्रमा चोबिने हो ?

त्यसपछि फेरि त्यही बोटबाट कोरल आइल्यान्ड पुग्यौं । गाइडले एक घन्टा समय दिई, सि-बिचमा रमाउन । अर्धनग्न विदेशीहरूको हुलमा हामी पनि त्यस्तै भयौं । हामी दुईका लागि बाँकी १५ जना नयाँ भए पनि गोरखापत्रका जयदेव भट्टराईसँग मेरो पुरानै चिनजान थियो । पशुपति क्षेत्र विकास कोषका सदस्य नवलकिशोर चौधरीसँग काठमाडौंदेखि स्वर्णभूमि एयरपोर्टसम्म पुग्दा प्लेनमै औपचारिक चिनजान भएको थियो । एकआपसमा सामुद्रिक किनारमा डुबुल्की मार्न कसैलाई लज्जा महसुस भएन ।

कोही ‘सन-बाथ’ मा मस्त थिए त कोही डुबुल्कीमा । कोही डुबुल्कीका लागि सुरसार गर्दै थिए त कोही थाकेर स्विमिङ कस्ट्युम र विकनीमा बालुवामाथि उत्तानो परिरहेका थिए । पहिलोपटक पुग्नेहरू भने फोटो सुटमै व्यस्त थिए । हामी धेरैको पहिलो सामुद्रिक डुबुल्की भएकाले एकआपसमा हात समाउँदै अघि बढ्यौं । क्रमशः एक्लै-एक्लै रमाउन थाल्यौं । सेतो बालुवा र नुनिलो पानी सहयात्री थिए । छेउको थुम्कोजस्तो लाम्चो पहाड (टापु) हाम्रो साक्षी थियो ।

चीन, ताइवान, फिलिपिन्सका महिलाको समूह एकआपसमा हात समातेर हामीले नबुझ्ने गीत गाउँदै घाँटीसम्म डुबाएर समुद्रको आनन्द लिइरहेका थिए । हामीले पनि हातेमालो गर्दै तालमा ताल मिलायौं । केहीबेर पानी बाहिर बालुवामा राखिएका आराम गर्ने ठाउँमा सुतेर थकाई मार्‍र्यौं । आउँदाकै स्पिड बोटमा तीव्र गतिमा झन्डै ४५ मिनेट लगाएर पताया फर्कियौं ।

पताया टु बैंकक

तेस्रो दिन बिहान पतायास्थित आफू बसैकै होटेलमा ब्रेकफास्ट गरियो । नौ बजेतिर पतायालाई बाईबाई गर्दै बैंकक फर्कियौं । पहिलो दिन स्वर्णभूमि एयरपोर्टमा साँझ ४ बजे ओर्लिए पनि त्यो भव्य एयरपोर्ट छिचोलेर लगेज लिई १७ नम्बर गेटबाट बाहिरिँदा झन्डै दुई घन्टा लाग्यो । एयरपोर्ट बाहिर गाडी चढुञ्जेल सात तले पार्किङ कम्प्लेक्स र त्यसकै सामुन्नेको ठूलो पार्किङ (टुँडिखेलजत्रै) बाहेक बैंककका कुनै ठाउँ पनि अवलोकन गर्न पाएका थिएनौं । झन्डै तीन घन्टाको तीव्र गतिको यात्रापछि राति साढे आठ बजे पताया पुग्यौं ।

थाइल्यान्डको पहिलो रात र दोस्रो दिनको समुद्र घूमघामपछि रात्रिकालीन पताया भ्रमण सकेर बैंकक फर्किंदै थियौं । पताया जाँदाको बाटोमा फ्लाइओभर फाट्टफुट्ट देखेका थियौं । फर्कंदा त झन्डै ८० किलोमिटर लामो चार लेनको एउटै फ्लाइओभर देख्दा चकित भयौं । सडकको बीचमा बाटो कट्नु पर्‍यो भने दुई सय मिटर सडक छेउछेउ उकालो बाटो उक्लिएर मूल सडकमाथिबाट बाटो काटी सोही शैलीमा ओरालो झर्दै सडक पार गर्नुपर्ने रहेछ । नेपालका चौबाटोमा मनलाग्दी बाटो काटेको सम्झना यिनले गराए ।

जीपीएस नेभिगेटरको सहायतामा बैंकक प्यालेस होटेल हुँदै इकोटेल (होटेल) मा पुगेर वि श्राम लियौं । सामुन्नेमा देखियो, ८५ तले ‘जोए’ टावर । फ्रि टाइममा एक्लै घुम्नुपर्ने सुनेकाले काठमाडौंमै डा. कृष्ण देवकोटा (थाइल्यान्डबाट पहिरोमा पीएचडी) लाई सहारा मागेको थिएँ । उहाँले बैंककमा कार्यरत श्री आचार्यसँग सम्पर्क गराइदिनु भएको थियो । साँझ होटेलमा भेट भएपछि उहाँले मेट्रो रेल चढाएर क्रुज चल्ने बैंककको बीच भागबाट बग्ने नदी ‘चाओप्राया’ पुर्‍याउनुभयो । बिना बुकिङ सबै यात्रा सुविधा पाएर हामी मक्ख थियौं । नदी किनारको सभ्यता पुस्तकका पानाहरूबाट यथार्थ जीवनमा उत्रिएको क्षण थियो त्यो । मैले काठमाडौं उपत्यकाभित्रका नदीहरू सम्झेँ, कहिले होला बैंककका नदीजस्तै सङ्लो पानीमा बोट वा क्रुज चल्ने अवस्था ?

सफारी  वर्ल्ड सफर

चौथो दिनको यात्रा थियो ‘सफारी वर्ल्ड : मरिन पार्क’ को । हाम्रो त्यसमा पनि प्रि-बुकिङ थिएन । त्यहाँ पुगेपछि थाहा भयो, ‘मिस’ गर्न नहुने ‘जंगली दुनियाँ’ रहेछ भनेर ।

कताबाट पस्ने, कहाँ, कसरी र कतिमात्रै घुम्ने ? पत्तै नहुने । दिनभर घुम्ने यस्तोमा गाइड हुन्न रैछ । पुर्‍याउने र ल्याउनेमात्रै सुविधा हुँदोरहेछ ट्राभल एजेन्सीको । एक दिनमा मुस्किलले सबै घुमघाम र सो हेर्न भ्याइने । चितवनको सौराहा एकसरो सामान्य घुमेको हाम्रा लागि जंगल सफारी अपार थियो । थाइल्यान्डकै एकदमै लोकप्रिय यो पार्कमा मनोरञ्जन र जनावरका खेलहरू रहेछन् । सफारी वल्र्ड जुलोजिकल पार्क, एकापट्टि जंगली जनवारको दुनियाँ र अर्कोपट्टि तालिम दिइएका जंगली र पालुवा जनावरको प्रदर्शनी । कतै इलिफेन्ट सो, कतै सिलायन सो अनि कतै डल्फिन सो । सफारी वल्र्डमा मान्छेको भीड देख्दा लाग्थ्यो बैंककको समृद्धि कतै यसैबाट त भएको होइन ? सेक्स टुरिज्मले विकास भएको भनिएको थाइल्यान्डका आयस्रोत अनेक देखिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.