अग्रादेखि यालापिकसम्म
२१ वर्षीया फुर्वा प्रधान पाँच हजार सात सय मिटर अग्लो याला पिकनामक हिमालको शिखरमा पुगिन् । शिखरमा पुग्दा कसलाई खुसी नलाग्ला ! उनलाई पनि त्यस्तै खुसी भयो । सीमातित आनन्द । उनले त्यहाँ अग्लिएका सेताम्मे हिमाल त देखिन् । तर, उनलाई ती हिमाल आफूभन्दा पनि होचा लागे । साना । किन लाग्यो त उनलाई यस्तो ?
पर्खनुहोस्, उनलाई यस्तो लाग्नुमा कारण छ -
त्यो हो, आफू बिताएको जीवन । विगत । आफूले भोगेको जीवन । विगतका प्रत्येक घटना उनी शिखरमै हुँदा फ्ल्यासब्याकझैं मनमस्तिष्कमा ठोक्किइरहे- बाल्यकालमा बिताएका क्षणहरू, गाउँ, गाउँकै आफन्तले दिएका धोका आदि । धोका मात्र कहाँ हो र ? भारतको आग्रास्थित वेश्यालयमा बिताएको नारकीय जीवन, नेपालको संघर्षपूर्र्ण यात्रा, न्यायका लागि लडेको कानुनी लडाइँ आदि उनले एकएक गरी सम्झिइन् । यसपछि उनको मुस्कान बिस्तारै मलिन भयो । एकदम मलिन । उनले आफूलाई बेच्नेको अनुहार सम्झिइन् । सम्झिँदा मुटु नै काँप्ने हिउँबीचमा पनि रगत उम्लिएर आयो । बर्बर आँसु बर्सियो । ओठ थर्थरी काँपे । अनि दुवै हात फैलाएर चिच्याइन्, त्यो पनि शिखरमा ‘तैंले गर्दा आज म यो हिमालसम्म आएँ ।’
बेचबिखनमा परेका महिलाको क्षेत्रमा काम गर्ने शक्ति समूहले हालै काठमाडौंमा सञ्चालन गरेको एक अन्तक्र्रियामा फुर्बाले पंक्तिकारहरूसँग भनेका कुरा हुन् यी ।
उनले आफ्नो विगतबारे यसरी फेहरिस्त लगाइन् :
म पहाडी गाउँले परिवेशमा हुर्केबढेकी हुँ । अध्ययनका लागि १३ वर्षकै उमेरमा गाउँकै एक स्थानीयको साथमा घर छाडेँ । तर, त्यो व्यक्तिले मलाई भारतको आग्राको वेश्यालयमा बेचिदिएछ । त्यसपछि मेरो जीवनमा वज्रपात पर्यो । प्रदेशको ठाउँ, कैयौंबाट हुने यौनशोषणको चरम यातनाबाट उम्केर आइपुग्न मैले थुप्रैपटक प्रयास गरेँ । अरु साथीले पनि यस्ता प्रयास गरिरहेका थिए ।
जसोतसो धेरैपटकको प्रयासमा नेपाल आएँ । नेपाल आइसकेपछि महिला बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको पुनःस्थापना केन्द्रमा आ श्रय लिएँ । सँगै अध्ययनलाई पनि अघि बढाएँ । शक्ति समूहमै बसेर एसएलसी उत्तीर्ण गरेँ । त्यसपछि मकवानपुरमा रहेर मानव बेचबिखनविरुद्ध केही समय काम गरेँ । मजस्तै फर्किएर आएका ६ जना पीडित बालिकासँगै मुद्दा हालेर आफूलाई बेच्ने दलाललाई एक सय ७० वर्षको जेल सजाय दिलाउनसमेत म सफल भएँ । त्यसपछि पदयात्रा तथा पर्वतारोहण (ट्रेकिङ तथा माउन्टेनियरिङ)को तालिम लिएर विभिन्न काम पनि सिकेँ ।
फुर्वाजस्तै मन छुने कथा छ - २४ वर्षीय जुनेली श्रेष्ठको पनि । उनीले पनि आफूलाई यसरी प्रस्तुत गरिन् :
म पनि दलालको पञ्जामा परेर भारतको आग्रास्थित वेश्यालयको कोठरीमा पुगेँ । त्यहाँबाट मलाई अहिलेको अवस्थामा आइपुग्न झन्डै आठ वर्ष लाग्यो । मैले पनि शक्ति समूहमै बसेर अध्ययनलाई अगाडि बढाएँ । भर्खरै स्नातक तहसम्मको अध्ययन पूरा गरेँ । म शक्ति समूहकै सामाजिक कार्यकर्ता हँदै मनोसामाजिक विमर्शकर्तासमेत भइसकेकी छु । तर आफ्नो कामलाई थप उचाइमा पुर्याउन सगरमाथा आधारशिविरसम्मको ट्रेकिङसँगै यससम्बन्धी तालिम (पथ पदर्शक) ट्रेकिङ गाइडका रूपमा काम गरिरहेकी छु ।
विगतका प्रत्येक घटना उनी शिखरमै हुँदा फ्ल्यासब्याकझैं मनमस्तिष्कमा ठोक्किइरहे- बाल्यकालमा बिताएका क्षणहरू, गाउँ, गाउँकै आफन्तले दिएका धोका आदि ।
जुनेली तथा फुर्वा दुवै सेभेन समिट वुमनका सदस्य हुन् । उनीहरूले मानव बेचबिखनविरुद्धका अभियन्ता सुनिता दनुवार र चरीमाया तामाङको साथ र सहयोगमा पर्वतारोहण र पदयात्रा तालिम लिएका हुन् । एकपटक समूहमै सगरमाथा आधारक्षेत्रसम्म आरोहण गरेपछि उनीहरू दुवैलाई हिमाल आरोहण तथा पथ प्रदर्शकको काम गर्ने रहर जाग्यो । र, यस क्षेत्रमै उनीहरूले आफनो करिअर देखे । यसो गर्न लागेको उनीहरूले तीन वर्ष भइसकेको छ । यसबीचमा जुनेलीले तीनमहिने ट्रेकिङ तालिम र फुर्वाले तीनमहिने ट्रेकिङ तथा माउन्टेनियरिङ तालिम लिए गाइडको प्रमाणपत्र लिइसकेकी छन् ।
नेपालको सुन्दरताले सबैलाई लोभ्याउने उनीहरूको भनाइ छ । हिमाल, गाउँ, पाखापर्वतजस्ता प्राकृतिक एवं मनोरम दृश्यहरूको अवलोकन पदयात्रा÷पर्वतारोहणबाट मात्र गर्न सकिने उनीहरू बताउँछन् । नेपाल विश्वकै पर्यटकका लागि सस्तो र उचित गन्तव्य भएको उनीहरूको भनाइ छ । यहाँको रहनसहन, मौलिक संस्कृति, ग्रामीण जनजीवन मनै लोभ्याउने किसिमको छ । यहाँ रहेका उच्च हिमशृंखलाले मानिसमा सकारात्मक ऊर्जा थप्ने उनीहरूको तर्क छ । ‘हामी धेरै आरोहअवरोह पार गरेर शान्त, शीतल स्वच्छ हिमालको चुचुरामा पुग्छौं’, फुर्वाले भनिन्, ‘र सारा गन्तव्य र धेरै अग्ला उचाइ पनि बल्ल आफूभन्दा होचा पाउँछौं । तर, पनि हाम्रो गोडा जमिनमै हुन्छ । यो यात्राले जिन्दगी पढाउँछ ।’
नारकीय जीवनबाट छुटेपछि केही गर्नुपर्छ भन्ने अठोटका साथ अघि बढेकाले आफूहरू यो स्थानमा आएको फुर्वाले बताइन् । नेपालमा यति नै संख्यामा गाइड छन् भन्ने यकिन नभए पनि महिलाको संख्या करिब २० प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ । त्यसमा पनि बेचबिखनमा परेका महिला आफूले नदेखेको उनले बताइन् । फुर्वाले याला पिक (५८०० मि.) तथा बोडेल पावेल पिक (५७०० मि.) आरोहण गरिसकेकी छिन् । एक मौसममा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने यस क्षेत्रमा चुनौती पनि थुप्रै रहेको उनले जानकारी दिइन् । ‘हरेक क्षेत्रमा राम्रा र नराम्रा मान्छे भइहाल्छन्’, उनले भनिन्, ‘विभिन्न मुलुकका विभिन्न प्रवृत्तिका मान्छेसँग रहेर जोखिमपूर्ण यात्रामा जानु सहज पक्कै हुँदैन ।’
कतिपय समयमा विदेशीले पैसाको रवाफ देखाउँदै नजिकिन खोजेको उनको स्मृतिपटलमा ताजै छ । त्यतिखेर उनले के गरिन् त ? उनले जोसिलो पाराले सुनाइन्, ‘हतास नभई सभ्य जवाफ दिएँ - आई नो यू आर रिच एन्ड फ्रम डेभलप्ड कन्ट्री एन्ड आई एम अ योङ गर्ल, बट आई एम हियर टू लिड यू ।’
तर प्रायः सबै असल र अनुशासित हुने जुनेलीको अनुभव छ । उता फुर्वाको अनुभव झनै रोचक छ- एकपटक माउन्टेनियरिङका लागि आयरल्यान्डबाट आएका पर्यटकले उनको नेतृत्वमा पवर्तारोहण गर्न पाउँदा अचम्म माने । महिला त्यो पनि यस्तो कम उमेरको ‘लेडिज गाइड’ विश्वमै एकदमै कम हुने उनले प्रतिक्रिया दिए । साथै राम्रो गाइड गरेको भन्दै उनलाई आठ सय अमेरिकी डलर टिप्ससमेत दिएको जुनेली बताउँछिन् । त्यति मात्र कहाँ हो र ? त्यतिखेर उनीसँग विभिन्न देशका पत्रकारले आफूसँग अन्तर्वार्ताका लागि समयसमेत मागेको बताउँदा उनी गौरवान्वित अनुभूति गरिरहेकी थिइन् ।
फुर्वाले हालै बिहे गरिन् । निकट भविष्यमै लाङटाङमा आयोजना हुने पर्वतारोहणसम्बन्धी एड्भान्स तालिम लिने र अन्तर्राष्ट्रिय प्रमाणपत्र लिने उनको उत्कट अभिलाषा छ । ‘साँच्चै हिमाल आरोहण गर्न जटिल छ’, यति भनिरहँदा उनमा आत्मविश्वासको उचाइ थपिँदै थियो, ‘जबजब मलाई हिमाल चढ्न गाह्रो लाग्छ, त्यतिखेर त्यो कालकोठरीको जञ्जिर ताडेर भाग्न गरेका पटकपटकको संघर्ष सम्झिन्छु । अनि मलाई त्यो कठिन बाटो हिँड्न र पहाड चढ्न सहज हुन्छ । बिल्कुल सजिलो ।’
बेचबिखन प्रभावित हुन् या जुनसुकै प्रकारको हिंसापीडित नै किन नहुन् मान्छेलाई स्वतन्त्र रहन कसैले रोक्न नसक्नेमा फुर्वा र जुनेली दुवैको एकमत छ । त्यसैले हिमालजस्तै फैलिन र चराजस्तै उड्न आफूहरूलाई कसैले रोक्न नसक्ने उनीहरू बताउँछन् । यति मात्र होइन, बेचबिखन प्रभावित भए पनि नयाँ किसिमको काम गरेर विश्वमा नेपालको नाम चम्काउने बाटोमा लागिरहेको आफूहरू सधैं लागिरहने उनीहरूको भनाइ छ । बेचबिखन प्रभावितको परिचय लिएरै सगरमाथा चढ्ने र मानव बेचबिखनविरुद्ध सधैं लागिपर्ने फुर्वाको सपना छ । ‘अनि जुनेलिको नि’, हामीले अन्तिममा सोध्यौं । उनले उत्तर दिन ढिला गरिनन्, ‘मेरो पनि लक्ष्य त्यही हो । किनकि शिखर चुम्ने इच्छा कसको पो हुँदैन र ? ’