मोहनको जुडो-शैली

मोहनको जुडो-शैली

सुरुमा जिम्न्यास्टिक खेलाडीको फूर्तिफार्ती देखेर जिम्न्यास्टिकले लोभ्यायो, धनगढीका मोहन बमलाई । ऐश्वर्य विद्या निकेतनमा कक्षा ८ मा पढ्दै गर्दा धनगढी रंगशालामा जिम्न्यास्टिक खेलाडीको किक र जम्पिङ देखेर मोहन लोभिए । उनले परिवारमा नभनीकन जिम्न्यास्टिक खेलेरै छाड्ने अठोट गरे । विद्यालयको पढाइ सकिनासाथ उनी जिम्न्यास्टिकको प्रशिक्षण लिन थाले । तर, उनको जिम्न्यास्टिकमा उफ्रिने र किक हान्ने रहर लामो समय टिकेन।

मोहन जिम्न्यास्टिक प्रशिक्षणमा दौडिए, सुदेशसागर जोशीलाई गुरु थाप्दै । तर दुई सातामै प्रशिक्षकले धनगढी छाडेपछि मोहनलगायत खेलाडीको जिम्न्यास्टिक खेल्ने सपना चकनाचुर भयो । एक दिन धनगढी रंगशालाको सूचना पाटीमा मोहनको नजर पुग्यो, जसमा सुदूरपश्चिममा प्रख्यात प्रशिक्षकबाट जुडोको विशेष प्रशिक्षण दिइने खबर थियो । जिम्न्यास्टिक सिक्न नपाएका मोहन जुडोको प्रशिक्षणमा भर्ना भए ।

जिम्न्यास्टिकमा जस्तै जुडोमा पनि रोलिङ, फरवार्ड र ब्याकवार्डको ट्रेनिङ हुन्थ्यो । ‘सुरुमा जिम्न्यास्टिक सिकेकोले फिचर मिल्ने खेल भएर पनि उनलाई जुडो मन पर्न थाल्यो । १३ वर्षको उमेरमा जुडोको गी लगाएका जुडोसँग विस्तारै साइनो गाँस्दै गए । तर, घरमा छोराले जुडो खेल्छ भन्ने कुरा कसैलाई थाहा थिएन ।

मोहनको टोलीलाई त्यतिबेला नेपालगन्जका प्रशिक्षक हरि श्रेष्ठले जुडो सिकाउँथे । जुडो म्याटमा खेलिने खेल हो । तर सुरुसुरुमा धनगढीमा म्याटको व्यवस्था थिएन । त्यसैले, उनीहरूले ब्याडमिन्टन कोर्टमा जुडो सिके । उनी प्रतिपक्षसँगको भिडन्तमा भुइँमा पछारिँदाको पीडा अझै भुलेका छैनन् । ‘म्याटको अभावमा पनि जुडो खेल्ने जोस मरेन,’ मोहन भन्छन् ।

प्रतियोगितामा सहभागी

भुइँमा जुडो सिक्दै आएका मोहनले जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा भाग लिँदै गए । सबै खाले प्रतिस्पर्धामा सफलता पनि पाउँदै गए । खेल र पढाइ सँगसँगै अगाडि बढाएका उनले धनगढीमा दस जोड दुई सकाए । त्यति नै बेला प्रशिक्षक हरि धनगढीबाट सरुवा भए । धनगढीमा पुनः जुडो खेल प्रशिक्षकविहीन बन्यो । जुडोको नशा लागिसकेका मोहन जुडो सिक्न र पढाइलाई अगाडि बढाउन काठमाडौं हानिए । त्रिपुरेश्वरको राष्ट्रिय जुडो प्रशिक्षक केन्द्र उनको लागि वरदान भयो ।

अन्तर्राष्ट्रिय जुडो महासंघबाट लेभल दुईसम्मको प्रशिक्षक कोर्स गर्ने पहिलो नेपाली मोहन बमको जुडो कला अहिले अस्ट्रेलियामा मौलाएको छ ।

काठमाडौंको बसाइलाई आर्थिक रूपले झेल्न पनि उनले जुडोमै केही गर्ने लक्ष्य बनाए । उनका लागि काठमाडौंको माउन्ट एभरेस्ट जुडो क्लब र प्रशिक्षक राजेश कर्माचार्य भगवान्जस्तै भए । उनी त्यस क्लबमा साना खेलाडीलाई जुडो सिकाउँदै आफू पनि सिक्न थाले । एकान्त कुनाको डक्स फाउन्डेसन र भैंसेपाटीको होप्याडमा उपत्यकाका विभिन्न ठाउँमा रहेको अनाथालयका बालबालिकालाई पनि जुडो सिकाउन थाले । ‘खेल्नका लागि पनि सानालाई खेलाउने उपाय रचेँ । अनाथहरूलाई जुडो सिकाउन पाउँदा झनै सन्तुष्टि मिल्दो रहेछ,’ मोहन भन्छन् ।

मोहनको लगनशीलता देखेर जुडो संघले उनलाई संघको कार्यालय सचिवको हैसियतमा काम गर्ने मौका दियो । त्यसपछि उनी झनै जुडोको नजिक भए । सन् २०१० मा थाइल्यान्डमा भएको जुनियर एसिएन ट्रेनिङ जुडो क्याम्पमा प्रशिक्षणको लागि जाने मौका पाए । दुई साताको प्रशिक्षण लिएर फर्किएका उनी प्राविधिक रूपले पनि बलियो भए ।

खेलमा प्राविधिक रूपले बलियो भए पनि मोहनलाई उनको तौलले भने कहिल्यै साथ दिएन । खेल्ने तरिका र विपक्षीलाई हराउन सक्ने क्षमता उनमा पर्याप्त थियो । जुडोको अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिन ६० केजी तौलको हुनुपर्छ तर उनी ५० केजीभन्दा माथि जान सकेनन् । अन्तर्राष्ट्रिय खेल खेल्न ६० केजी तौल नपुग्दा सधंै तड्पिनु पर्‍यो । ‘जुडोको लत लागि सकेपछि छोड्न सकिँदो रहेनछ । मैले खेलाडीभन्दा अब आफूलाई प्रशिक्षकमा निखार ल्याउने सोच बनाएँ,’ उनी भन्छन् ।

उनले आफूले सिकेको सीप साना खेलाडीमा लगाउँदै गए । सन् २०११ मा काठमाडौंमा अन्तरसंस्था राष्ट्रिय जुनियर जुडो च्याम्पियनसिप भयो । त्यसमा मोहनले सिकाएको डक्स फाउन्डेसन सात स्वर्णसहित च्याम्पियन बन्यो । त्यसपछि सन् २०१२ मा बंगलादेशमा अन्तर्राष्ट्रिय जुडो महासंघले आयोजना गरेको ‘क्याडेड जुडो फर पिस’ च्याम्पियनसिपमा उनले नै नेपाली टोलीको प्रशिक्षण सम्हाले । त्यहाँ नेपाल १० स्वर्णसहित पहिलो भयो । त्यसबाट उनी झनै उत्साहित भए ।

प्रशिक्षणमा जमिरहेका उनलाई खेलाडीको भोक पनि मरेको थिएन । धनगढीमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले ५० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने निर्णय गरे । आफूले जुडोको कखरा सिकेकै स्थानमा भएको छैटौं राष्ट्रिय खेल्न आतुर थिए । ५० केजीसमूहमा फाइनलमा मध्यमाञ्चलका रोहन थापालाई हराएर स्वर्ण पनि जिते । उनले धनगढीमा जितेको स्वर्ण सुदूरपश्च्मिाञ्चलका लागि पहिलो स्वर्ण थियो । परिवारलाई समेत खेलमा लागेको थाहा नदिएको मान्छे उनी । त्यही गएर पहिलो पटक सुपलाई स्वर्ण दिलाउन सक्दा खुसीको सीमा रहेन । ‘सञ्चार माध्यममा एकाएक मोहनले स्वर्ण जित्यो भनेको थाहा पाएपछि परिवारसमेत छक्क परेछन्,’ उनी भन्छन् ।

त्यसो त मोहनले सन् २०१२ मा अर्का प्रशिक्षक राजेश कर्माचार्यको साथमा फिनल्यान्डको राष्ट्रिय टोलीलाई पनि जुडो प्रशिक्षण दिए । जुडोमा सक्रिय उनी खेलकै सिलसिलामा अस्ट्रेलियाका जुडो प्रशिक्षक म्याटको नजरमा परे । उनकै सहयोगमा सन् २०१३ मा अस्ट्रेलिया गए । उनको जुडो कला अहिले अस्ट्रेलियामा मौलाएको छ । ‘नेपालमा भन्दा अस्ट्रेलियामा खेलको माहोल राम्रो छ । नेपालमा खेल्न गए बिग्रिन्छ भन्ने डर हुन्छ । यहाँ खेलेन भने बिग्रन्छ भन्ने डर छ । अस्ट्रेलियामा आएर मैले जुडो र समग्र खेललाई बुझेँ,’ २६ वर्षीय मोहन भन्छन् ।

उनी अहिले जुडोको प्रशिक्षणसहित त्यहीँ नेपाली टोलीबाट पनि खेल्छन् । पहिला तौल नपुग्दा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गुमाउँदै आएका मोहनको अहिले तौल पनि पुगेको छ । उनी आगामी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई स्वर्ण दिलाउने लक्ष्यका साथ अस्ट्रेलियामा तयारी गरिरहेका छन् । ‘नेपाल जुडो संघले सागको छनोट खेल गर्न लागेको जानकारी मलाई दिएको छ । छनोट भएँ भने नेपाललाई पदक दिलाएर छाड्नेछु,’ मोहनले भने ।

अस्ट्रेलियामा भएको प्रतियोगितामा मोहनले नेपाली टोलीबाट चार स्वर्ण जितेका छन् । यस्तै हालै भएको सिड्नी ओपन जुडो च्याम्पियनसिपमा भने उनले रजतमा चित्त बुझाए ।

उनी अन्तर्राष्ट्रिय जुडो महासंघबाट लेभल दुईसम्मको प्रशिक्षक कोर्स गर्ने पहिलो नेपाली हुन् । उनले गत वर्ष लेभल दुई कोर्स गरेका थिए । नेपालमा अहिले उनले जस्तै कोर्स भर्खरमात्र पृथ्वी आलोकले गरेका छन् । प्राविधिक र शैक्षिक हिसाबले बलिया मोहनको लक्ष्य प्रशिक्षकको रूपमा नेपाली जुडोलाई अझ माथि लैजाने छ ।

अस्ट्रेलियामा सिकेको सीप नेपाली जुडोमा लगाउने योजनामा रहेका उनी अन्तर्राष्ट्रिय जुडो महासंघले सञ्चालन गरेको जुडोको प्रशासनिक कोर्ससमेत पूरा गर्ने पहिलो नेपाली हुन् । मोहनले जुडो खेलको प्रविधिबारे ‘डीबीडी’ पनि तयार पारेका छन् । उक्त डीबीडीबाट अहिले विश्वका ३८ देशका खेलाडीले प्रशिक्षण लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.