अन्तिम भेट
‘यो अन्तिम भेट पनि हुन सक्छ !’ उसले छुट्टिने बेला भनेकी थिई ।जिन्दगीको भागदौडमा मान्छेलाई अचेल मेसिन बनाइदिएको छ । बाँच्नका लागि यति भागदौड गरिरहेका छौं कि केही महत्वपूर्ण कुराहरू पछि परिरहेका छन् । हामीसँग छुटिरहेका छन् । आखिर म पनि यही समयको भागदौडमा सामेल एक प्रतियोगी न परेँ ।
म बाँच्न संघर्ष गर्दै थिएँ । हाम्रो भेट उसले भनेझैं भइदिएको थियो । लगभग सल्लाह गरेर छुट्टिएझैं । भेटघाट बन्द । आआफ्नै जीवन संघर्षको मैदानमा कुदाकुद गर्न थाल्यौं । व्यस्तताले मान्छेलाई फूर्तिलो बनाउँदो रहेछ । यादहरूलाई धमिलो बनाइदिँदो रहेछ । तर, कति दिनसम्म ?
प्रविधिको दुनियाँमा हामी बाँचिरहेका छौं जसले हामीलाई डोर्याइरहेको छ । हो, यही प्रविधिले हामी दुईलाई जोड्न थाल्यो । यसबीच ऊ तराईतिर हेल्थ प्रोजेक्टमा काम गर्न गइसकेकी थिई । पहाडी समाजमा जन्मी हुर्किएकी नेपाली मात्र बुझ्ने ऊ तराई कसरी गई ? यो प्रश्नभन्दा पनि उसले त्यहाँ भाषालाई कसरी सहजतापूर्वक लिएर काम गर्ली भन्ने लाग्न थाल्यो ।
मैले सोधेँ, ‘तिमी त्यहाँको भाषा त बुझ्छौ नि ? ’धेरै बेर उसले टाइपिङ गरिरहेको सिग्नल म्यासेन्जरमा आइरह्यो । बल्ल जवाफ आयो, ‘भाषा आखिर माध्यम न हो । म सिक्दैछु।’
त्यसपछि उसले तराईबारे बेलाबेला सुनाइरहन थाली । हाम्रो बोलचाल बढ्दै गयो । उसका कुराहरू लम्बेतानका हुन्थे, जसलाई मैले सुन्नैपर्ने हुन्थ्यो । उसको त्यो उत्साहजनक बखान र ध्वनिमधुरताले पनि मलाई तानेको हुनुपर्छ ।
मोबाइलको घन्टी बज्यो । स्क्रिनमा उत्तम श्रेष्ठ आइरहेको थियो । उठाएँ, ‘हेलो’‘मलाई चिन्यौ ? हामी बचपनको यार । चित्र बनाउँथ्यौं नि हामी ।’ मोबाइलमा उत्तम नभएर अरू नै बोलिरहेको थियो । आवाज चिन्ने कोसिस गरेँ । उसले दिएको जानकारीअनुसार चित्र बनाउने सानोको साथी अनिल थियो । मैले भनेँ, ‘अनिल ।’
‘कसरी चिन्यौ यार ? ’ उसको आवाजमा प्रसन्नता थियो ।
नचिन्ने कुरै थिएन । उत्तमसँग भेट हुँदा हामी अनिलको कुरा गथ्र्यौं । ५ कक्षामा सँगै पढ्थ्यौं । अनिल र म चित्र बनाउथ्यौं । ६ कक्षा पढ्दापढ्दै अनिलले मलंगवा छोड्यो । ऊ वीरगन्ज गएको हामीले सुनेका थियौं । त्यसैले पनि उत्तम र म बेलाबेला उसको कुरा गरिरहन्थ्यौं । वीरगन्जमा कर्मथलो बनाएर बसेको धर्मनाथलाई बेलाबेला सोध्थ्यौ, ‘तैंले अनिललाई वीरगन्जमा भेटिनस् ? ’ उसले जहिल्यै छैन भनेर जवाफ दिन्थ्यो । वीरगन्ज गएको बेला उत्तमले आखिर खोजेरै छाडेछ । एउटा खुसी थपिएको थियो ।
‘तिमी वीरगन्ज आऊ । हामी भेट्नु पर्छ’, उसले भनिरह्यो ।
त्यसपछिका दिनहरूमा हाम्रो कुरा भइरह्यो । ऊ मलाई वीरगन्ज बोलाइरहन्थ्यो । म म्याद थप्दै आश्वासन दिइरहन्थेँ । मेरो म्याद थप्ने कामले उसलाई चाहिँ कहिल्यै निराश बनाएन ।
‘म वीरगन्ज आउँदैछु ।’ एक दिन मैले उसलाई भनेँ । ऊ काममा व्यस्त थिई । उसको अफिसले छुट्टी दिइरहेको थिएन । तर पनि उसले मलाई आउन भनी । धेरै समयपछि ऊसँग भेट्ने मौका जुर्दै थियो । खुसीको सीमा नाघ्नु कुनै नौलो भएन । तर, यो खुसीमा उत्साह थियो या थिएन दैव जानून् ।
त्यसपछि अनिललाई फोन गरेर बताएँ । म आउँदैछु भन्ने जानकारीले ऊ खुसी थियो । टिकट लिएपछि धर्मनाथलाई पनि जानकारी गराउन मनासिब ठानेँ । मलंगवामा सँगै पढेको सहपाठी । तराईतिर लंगौटिया दोस्त भन्छन् । हो हामी यस्तै थियौं । मलंगवामा सुरेन्द्र यादव, धर्मनाथलाल कर्ण र म सधै्ं सँगै हुन्थ्यौं । घरमा बाहेक । १० कक्षाको टेस्ट परीक्षा र एसएलसीमा समेत हामी सँगै हुन्थ्यौं । परीक्षा सकिनासाथ पढ्ने बहानामा सिनेमा घर पुग्थ्यौं । दिनहुँ नयाँनयाँ फिल्म हेर्दै परीक्षा दियौं । अहिले सम्झिँदा अचम्म लाग्छ ।
होटलमा कफी पियौं । सँगै कफी पिएको त्यो अन्तिम भइदियो । ऊ फर्किन चाहन्थी । रानीघाटमा बिदाइको हात हल्लाउँदै म फर्किएँ । फर्किंदा मन भारी थियो । यति लामो दूरी तय गरेर म केवल एक कप कफी पिउन आएको थिएँ ।
नाइट बस चढेपछि साथीहरूलाई फोन गरेँ । सबैभन्दा पहिले उसलाई फोन गरेँ । म आउँदै गरेको खबरले ऊ निकै खुसी थिई । उसले मसँग भेट्नकै लागि भनेर अफिसबाट बिदा लिएकी थिई । त्यो कुरा मलाई बताई । सुरज बराललाई फोन गर्न बिर्सिएछु । झल्याँस्स सम्झिएँ । उसले बेलाबेला वीरगन्ज आउन अनुरोध गरिरहन्थ्यो । कहिले त कराउँथ्यो पनि ।
“कति काम गर्छस् ? यसो साथीभाइसँग भेट्ने समय पनि मिला ।” सुरज बेलाबेला भन्थ्यो । उसलाई फोन नगरी वीरगन्ज पुग्नु भनेको उसको मन दुखाउनु हो । त्यसैले उसलाई फोन गरेर बताएँ ।
बल्ल काउन्टरबाट बस अघि बढ्यो । यसबीच उसले मलाई धेरैपटक फोन गरिसकेकी थिई । हाम्रो भेट हुने कुराले ऊ निकै उत्साही थिई । उसको आवाजले बताउँथ्यो । लामो समयपछिको भेट हुने आशाले अनौठो आभास दिलाउँदैथ्यो ।
उफ ! कलंकीदेखि नागढुंगा पुग्न पनि दुई घन्टा लाग्यो । चिसो बढ्दै थियो । रातको अन्धकारमा बस गुडिरहेको थियो । सम्झनाको डोरीले मलाई बाटिरहेको थियो ।
पशुपतिनाथको जंगलमा उसले मेरो हात समातेर हिँड्दाहिँड्दै हात कस्सेर समाई अनि चिच्याई, ‘अबुई !’ अचानक चिच्याएकीले म तर्सें । के भएछ भन्ने लाग्यो । सोधेँ । उसले ‘उ त्यहाँ’ भनेर डराउँदै देखाई । अचम्म, उसले खरानी बेस्सरी घसेको जोगीलाई देखाइरहेकी थिई । ‘कस्तो डर लाग्यो’, ऊ भन्दै थिई ।
म नडराउन आग्रह गर्दै थिएँ । ऊ भने डर लाग्छ भन्दै थिई । त्यो उकालो भर्याङ छिटोछिटो उक्लिन थाली । म उसको पछिपछि । मृग चर्ने ठाउँ पुग्दा मात्र उसले सन्तोषको सास फेरी । उसले मेरो हात छोडेकै होइन ।
घरगृहस्थी जीवनदेखि टाढा भएकाहरूको जीवनशैली पनि अनौठो हुन्छ । उनीहरू आफ्नै भेषमा दंग हुन्छन् । तर, मलाई लाग्यो— उनीहरू देखेर ऊजस्तै डराउनेहरू पनि होलान् । घरगृहस्थी जीवन र यो समाजदेखि डराएर भागेकाहरूसँग डराउने पनि छन् । म सोच्दै थिएँ । उसले मलाई तानी । ‘के सोचेको ? ’ उसले सोधी ।
‘त्यही जोगीलाई सम्झिरहेको’, फ्याट्टै भनिदिएँ ।
‘जोगी हुने मन छ कि क्या हो ? ’ उसले जिस्क्याउन खोजी ।
उसले तानेको बाटोतिर पछिपछि लागेँ । ससाना कुटीजस्तै देखिने देवालयहरू देखिन्थे । हामी एक ठाउँमा बस्यौं । म उसलाई हेरिरहेको थिएँ । उसले चाल पाई । मैले एकोहोरो उसलाई हेर्नै हुन्न । उसको लागि यो एक अपराध समान थियो । आँखा तरी । उसका ठूल्ठूला आँखाले मलाई खाऊँलाझैं गरी । त्यसै रिसाई ।
फर्किंदा बाटोमा भनेकी थिई, ‘यो अन्तिम भेट पनि हुन सक्छ ।’ नभन्दै त्यस्तै भइदियो । ऊ जागिरको लागि तराई झरी । म जागिरको लागि पहाड । भौगोलिक दृष्टिले हामी दूर-दूर भयौं ।
बिहान ६ बजे वीरगन्ज पुगियो । बस घन्टाघरतिर बढ्दै थियो । पाँच वर्षपछि वीरगन्जको माटोमा टेक्दै थिएँ । बसबाट ओर्लिनासाथ उसलाई फोन गरेँ । घन्टी जानासाथ फोन उठ्यो । मैले वीरगन्ज पुगेको जानकारी गराएँ । उसको अनिदो आवाज आइरहेको थियो । मचाहिँ कति न सुतेको थिएँ र ! बसको थकाइ, चिसोले निदाउन पाएको होइन । ऊ बिहानको ९ बजेको बस चढेर आउने भई ।
मोबाइल हातमा खेलाउँदै सोचेँ, पहिले कसलाई फोन गरूँ ? धर्मनाथ, अनिल, सुरज सबैले आउनासाथ फोन गर्नु भनेका थिए । द्विविधाबीच धर्मनाथको नम्बर पहिले डायल गरेँ । एकैछिनमा ऊ लिन आयो ।
६ कक्षामा छुट्टिएको साथी अनिल पनि आइपुग्यो । अनुहार दुरुस्तै उही थियो । अलि मोटाएछ साथी । पच्चीस वर्षपछि हामी भेटिएका थियौं । मन त्यसै हर्षित थियो ।
खाना खाएर म उनीहरूसँग छुट्टिन खोजेँ । सबै मलाई खाऊँलाझैं गरी हेरिरहेका थिए । ‘यतिका वर्षपछि भेट भएको छ । आज मेरो घरमा बस्ने हो । आज बस ।’ अनिल भन्थ्यो । सुरज झन् थप्थ्यो, ‘पाँच वर्षमा आउने अनि चलिदिने ? आज बस् ।’
मैले कसैलाई भेट्नु थियो । समय दिएको थिएँ । जुन कुरा उनीहरूलाई भन्न सक्तिनथेँ । उनीहरूको कुराले मन द्विविधामा पर्यो । बेलुका भेट्ने र सँगै बस्ने बाचा गरेर म छुट्टिएँ ।
साढे १० बजे उसको फोन आयो । त्यति बेला म घन्टाघरमुनि उभिरहेको थिएँ । भर्खरै सुरजले मलाई त्यहाँ छाडेर गएको थियो । ‘कहाँ तपाईं ? ’ उसले फोनमा सोधी । मैले आफू उभिएको ठाउँ बताएँ । ऊ पनि त्यहीँ रहेको जानकारी गराई । म उसकै पछाडि रहेछु । हाम्रोे देखादेख भयो । ऊ मुसुक्क मुस्कुराई । उसको मुस्कानले राहत दियो । धेरै समयपछिको यो सामीप्यले मभित्र छुट्टै उत्साह ल्यायो ।
उसको मुहारमा खुसी र द्विविधा दुवै झल्किन्थ्यो । रातभर सुतेकी छैनझैं लाग्थ्यो । उसले त्यहाँबाट हिँड्न संकेत गरी । वीरगन्जको व्यस्त सडकमा म उसको पछिपछि लागेँ । अलि पर पुगेर मैले नहिँड्ने अडान लिएँ । नजिकै रिक्सा थियो । त्यसमै जाने प्रस्ताव सारेँ । उसले पहिले त मानिन । बल्लतल्ल मानेकी थिई । दुवै रिक्सामा दुरी बनाएर बस्यौं । न ऊ म नजिक आई, न म उसको नजिक जाने आँट गरेँ ।
धेरै पछि उसलाई नजिकबाट हेर्न पाउँदा म औधि खुसी थिएँ । तर, ऊ लजाइरहेकी थिई । मानौ हामी अपरिचित हौं र पहिलोपटक भेट भएको छ । उसको अनौठो व्यवहारले मलाई असजिलो महसुस भइरहेको थियो ।
‘वीरगन्जमा खासै घुम्ने ठाउँ छैन’, उसले भनी ।
‘म तिमीलाई भेट्न आएको हुँ । वीरगन्ज घुम्न होइन’, उस्सै फुस्कियो । बोल्न हुँदैनथ्यो कि ! ऊ रिसाएकी हो जस्तै गरी । म चुप लागेँ ।
बैंकबाट निस्किएपछि हामी बसपार्क पुग्यौं । दुवै चुपचाप । उसको मुहारमा देखिएको भय, असहजताले म छक्क थिएँ । ऊ अलमलमा थिई । यसरी त हुन्न नि ! मलाई यस्तै लाग्यो । वर्षांैपछि भेट भएको लाग्थ्यो । हिजोका दिनहरू याद बनेर आइदियो । त्यो सामीप्य सम्झिन थालेँ । तर, ऊ अप्ठ्यारो मानिरहेकी थिई ।
‘वीरगन्जमा यसरी केटा र केटी घुम्न सहज छैन । यहाँकाले अनौठो मान्छन् । यहाँ यस्तो सजिलै पच्दैन’, उसले बताउन थाली । म उसको कुरा सुन्दै थिएँ । तराईको माटोमा ऊ पूरै भिजिसकेकी थिई । तराईको चालचलन, बोलीचाली सबै बुझ्ने भएकी थिई । नेपालको यो भौगोलिक रीतिले उसमा आएको चेतना गज्जबको थियो । मलाई अनौठो लागेन । तराईसँग पहिल्यैदेखि चिनजान थियो । उसमा आएको यो चेतनाले चाहिँ छक्क थिएँ । अक्क न बक्क थिएँ ।
प्रेम आखिर उही थियो । चाहना मनभरि उही थियो । परिस्थिति अलग भइदियो । धरातल फरक । जसले व्यवहारमा परिवर्तन ल्याउँदो रहेछ । होटलमा कफी पियौं । सँगै कफी पिएको त्यो अन्तिम भइदियो । ऊ फर्किन चाहन्थी । रानीघाटमा बिदाइको हात हल्लाउँदै म फर्किएँ । फर्किंदा मन भारी थियो । यति लामो दूरी तय गरेर म केवल एक कप कफी पिउन आएको थिएँ ।
भोलिपल्ट वीरगन्ज छोडेँ । त्यसपछि हाम्रो भेट भएको छैन ।