हाम्रो समाजको जरा कहाँ छ ?
नयाँ पुस्ताका लेखकका लागि पुरातत्वविद् जनकलाल शर्मा परिचित नाम हो जस्तो मलाई लाग्दैन । किनभने नवउदारवादी युगको पुच्छर समाएर वैतरणी तर्न खोज्ने उनीहरू मनोरञ्जन र बिकाउपन लेखकको सर्वोपरि गुण ठान्छन् । तर, नेपाली समाजको पिँधसम्म पुगेर, त्यसको जरा खोतलेर आलोचनात्मक चेतसहित लेख्न चाहने लेखक अनि पाठकले पढ्नैपर्ने एउटा किताब हो शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’ । साझा प्रकाशनले २०३९ सालमा छापेको यस किताबमा पृथ्वीको सृष्टिदेखि आजको नेपाली समाजसम्मको नालीबेली सरल र सरस भाषामा लेखिएको छ ।
हामी त्यस्तो समाजमा छौं जहाँ धर्म र जातिवाद नमान्ने कम्युनिस्टहरू, विद्वान् लेखक, बुद्धिजीवी र बौद्धिकहरूसमेत जाति र धर्ममा विभाजित छन् । कोही हिन्दु कम्युनिस्ट, कोही बौद्ध कम्युनिस्ट । कोही आफूलाई उपाध्याय भनेर एक नम्बरको बाहुन साबित गर्न खोज्छन् । उही व्यक्ति अर्कोलाई जैसी भनेर होच्याउँछ । थापा, बस्नेत, कार्की र कुँवरहरू आफूलाई विशुद्ध अर्थात् कतै पनि मिस्कट नभएको क्षत्री भनेर दाबी गर्छन् अनि खत्रीहरूलाई होच्याउँछन् । कोही हमाल छन्, कोही हन्तकाली वा छालातानी अथवा बेलवासे छन्, कोही कोही दशनामी, सन्न्यासी, जंगम र वैष्णव छन् । तर, अधिकांशलाई आफू कसरी यस जातिको वा यस थरको भएँ भन्ने थाहा छैन । सबै जातिका आ-आफ्ना संस्कार छन् । तीमध्ये अधिकांशलाई यस्तो संस्कार कसरी सुरु भयो भन्ने थाहा छैन । यी सबै कुरा बुझ्न शर्माको यो किताब धेरै हदसम्म उपयोगी छ ।
विवाहबाट सन्तानको वर्ण
हिन्दु धर्मशास्त्रहरूले ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रलाई क्रमानुसार राखेका छन् जसलाई वर्णा श्रम व्यवस्था भनिन्छ । शास्त्रकारहरू एक जातिको पुरुषले अर्को जातिकी स्त्रीसित समागम गरेर सन्तान जन्माउँदा विभिन्न जाति उत्पन्न भएको तर्क गर्छन् । वर्णा श्रमअनुसार, उच्च जातको पुरुषले निम्न जातकी स्त्रीसित विवाह गर्न सक्छ । यस्तो बिहेलाई अनुलोम बिहे र यस्तो बिहेबाट जन्मेका सन्तानलाई अनुलोम सन्तान भनिन्छ । तर, निम्न जातको पुरुषले उच्च जातकी स्त्रीसित बिहे गर्न पाउँदैन । कदाचित् बिहे भएमा यस्तो बिहेलाई प्रतिलोम बिहे र यसबाट जन्मेका सन्तानलाई प्रतिलोम सन्तान भनिन्छ । यो मान्यता आधुनिक युगमा बेकार साबित भइसके पनि जातप्रथाको अन्तर्य भने त्यहीँ छ ।
जातप्रथाको जरा
जस्तो कि ब्राह्मण पुरुषले रीत पुर्याएर मागी बिहे गरी ब्राह्मणी स्त्रीबाट जन्माएको सन्तान उपाध्याय ब्राह्मण नै हुन्छ । भगाएर ल्याएकी बाह्मणी, विधवा ब्राह्मणी, कुमारी वा अर्काकी ब्राह्मणी, पुनर्विवाह भएकी ब्राह्मणी वा वैकल्या (बिहेको कुरा छिनिएपछि अस्वीकृत भई बिहे नभएकी) बाट ब्राह्मणले जन्माएको सन्तान जैसी हुन्छ । वर्णा श्रम र लोक व्यवहारमा जैसीलाई दोस्रो दर्जाको ब्राह्मण मानिन्छ । अनि ब्राह्मण पुरुषले ठकुरी स्त्रीबाट जन्माएको सन्तान हमाल हुन्छ, क्षत्री स्त्रीबाट जन्माएको सन्तान खत्री हुन्छ । हमाल शासक वर्गकी स्त्रीबाट जन्मेकोले कुलीन क्षत्री मानिन्छ भने खत्री उच्च स्तरको क्षत्री । ब्राह्मणले वैश्य स्त्रीबाट जन्माएको सन्तान साधारण क्षत्री हुन्छ । जातको स्तर मान्ने हो भने ब्राह्मण समाजमा बाबुले यसरी ‘बदमासी’ गर्दा छोराको जात घटुवा हुने भयो । शूद्रलाई बिहे गरेचाहिँ ब्राह्मण पनि शूद्र नै र उसका सन्तान पनि शूद्र नै अर्थात् अछूत हुन्छ । राणाकालसम्म यस्ता ब्राह्मणलाई चारपाटे मुढेर, जुत्ताको माला लगाई गधामा उल्टो बसाएर डाँडा कटाउने चलन थियो ।
जैसी समाज उपाध्यायको तुलनामा अलि उदार छ । यस समाजमा सजातीय स्त्रीसित जारी विवाह वा विधवा विवाह पनि स्वीकृत छ । यस्तो विवाहबाट जन्मेको सन्तान हीन वर्णको मानिँदैन । जैसी समाजमा उपाध्यायका सधवा वा विधवासँग पुनःविवाह पनि चल्छ । यस्तो विवाहबाट उत्पन्न सन्तति उच्चकोटीको जैसी कहलिन्छ । त्यसैले नेपाली समाजमा ‘उपाध्येका विधवा, जैसीका बिर्ता’ भन्ने उखानै छ । वर्णा श्रममा वैश्यसम्म (जो आधुनिक युगमा आदिवासी जनजातिका रूपमा चिनिन्छन्) पानी चल्ने वर्ण मानिन्छ । जैसीले आफूभन्दा ‘निम्न’ तर पानी चल्नेसम्मकी जातकी स्त्री बिहे गरेर सन्तान जन्माए त्यस्तो सन्तान क्षत्री हुन्छ । तर, शासक वर्ग भएकोले ठकुरी स्त्रीले जैसी पुरुषबाट जन्माएको सन्तान पनि उपाध्यायबाट जन्माएको सन्तानसरह हमाल नै हुन्छ ।
भाट र खाती
यता, शास्त्रकारहरूले क्षत्रीय पुरुष र ब्राह्मण स्त्रीबाट जन्मेको सन्तानलाई ‘सूत’ मानेका छन् । महाभारतमा सूतपुत्र भनेर होच्याइएका कर्ण सायद यस्तै सन्तान हुन् । नेपालमा सूतलाई भाट भनिन्छ । नेपाली लोक व्यवहारमा चाहिँ एकपल्ट क्षत्रीसँग गइसकेकी ब्राह्मण स्त्रीले फेरि कुनै ब्राह्मणबाट सन्तान जन्माई भने त्यस्तो सन्तान भाट हुन्छ । प्राचीन धर्मशास्त्रले अनुमति नदिए पनि नेपाली लोक व्यवहारमा त्यस्तो सन्तान तागाधारी क्षत्रीय हुन्छ । अनि विधिपूर्वक बिहे नभई गुप्त रूपमा क्षत्रीयसँग संसर्ग भई जन्मेको सन्तान खाती हुन्छ ।
जैसी समाजमा उपाध्यायका सधवा वा विधवासँग पुनःविवाह पनि चल्छ । यस्तो विवाहबाट उत्पन्न सन्तति उच्चकोटीको जैसी कहलिन्छ । त्यसैले नेपाली समाजमा ‘उपाध्येका विधवा, जैसीका बिर्ता’ भन्ने उखानै छ ।
यसले के देखाउँछ भने जातिवादीहरूले जातीय वा नश्लीय शुद्धताका आवाज जति उठाए पनि प्राचीनकालदेखि नै स्त्री-पुरुषबीच प्रेम र शारीरिक सम्बन्धमा यस्तो बन्धन तोडिँदै आएको छ । विज्ञानले पनि आज विजातीय स्त्री-पुरुषबाट जन्मको सन्तान शारीरिक र मानसिक रूपमा उन्नत हुने प्रमाणित गरिसकेको छ ।
कुँवर र बेलवासे
कुनै समय शासक वर्ग भएकाले राणाहरूमा एकखालको कुलीनता र उच्च क्षत्रीय भएको दम्भ पाइन्छ । तर, त्यसको जरा खोतल्दै जाँदा कुरा अर्कै आउँछ । नेपालमा दास प्रथाको अन्त्य विसं १९८१ मंसिर १४ गते भयो । त्यसअघिसम्म हुनेखानेको परिवारमा दासदासी हुन्थे । दासदासीले नाथ सम्प्रदायमा दीक्षित भएर त्यो मत ग्रहण गर्नासाथ उनीहरूको सामाजिक मर्यादा बढेर जान्थ्यो । नाथ सम्प्रदायका अनुसार, कर्म चलाउनुको अर्थ हो कान चिराउनु । यो कार्य असाध्यै बीभत्स हुन्छ । त्यसको घाउ पाकेर कतिको मृत्युसमेत हुन्छ । त्यसैले कतिपयले कान चिराउन मान्दैनन् । यस्ता कान नचिराउनेको सामाजिक मर्यादा दासदासीको भन्दा धेरै माथि हुन्थ्यो । यिनै कान चिराउन नचाहने नाथ सम्प्रदायका जोगीले दासीबाट जन्माएका सन्तानलाई कँवर वा कुँवर भनियो । जंगबहादुर राणा पनि राजा सुरेन्द्रविक्रमबाट श्री ३ को राणा पदवी नपाउन्जेल कुँवर नै थिए ।
यता बेलबासेहरूको पृष्ठभूमि भने अझै रोचक छ । खाना बनाउनुअघि दानका लागि अन्न छुट्ट्याउने अर्थात् दुमु निकाल्ने चलन नेपाली समाजमा पनि छ । यसरी निकालिने दुमुमा एक मुठी भए भिक्षा, चार मुठी भए अग्रग्रास र १६ मुठी भए हन्तकार भनिन्छ । यस्तो अन्न ब्राह्मणहरूलाई दान गरिन्छ । यही हन्तकार ग्रहण गर्ने ब्राह्मणलाई हन्तकारी भनिन्छ जुन अपभ्रंश हुँदै पछि हन्तकाली भयो । यस सन्दर्भमा पश्चिम नेपालमा ब्राह्मण समाजमा चलेको एक किंवदन्तीअनुसार अंग्रेजहरू भारत आउनुअघि त्यहाँ मुसलमान शासकको दबदबा थियो । कुनै मुगल दरबारमा एक जना हन्तकाली ब्राह्मण पनि मन्त्री थिए । नबाबले ब्राह्मणलाई यस्तो हन्तकार नलिन दबाब दिए । तर, ब्राह्मणले परम्परा तोड्न मानेनन् । फलतः उनलाई छाला काढेर मारियो र सर्वस्वहरण गरियो । तिनका सन्तान ज्यान जोगाउन त्यहाँबाट भागे ।
छाला काढेर मारिएका ब्राह्मणका सन्तानलाई छालातानी भनियो । यिनै छालातानी ब्राह्मणहरू सुरक्षित स्थल खोज्दै कुनै बेलाको जंगलमा बसोबास गर्न थाले । बेलको जंगलमा बस्ने हुनाले लोकले उनीहरूलाई बेलवासे भन्न थाल्यो । शर्माका पुस्तकअनुसार आज पश्चिम नेपालमा बसोबास गर्ने बेलवासे थरका जनता यिनै छालातानी ब्राह्मणका सन्तान हुन् । उनीहरू आफूलाई छालातानी नभनी बेलवासेकै रूपमा चिनाउँछन् जुन अहिले उनीहरूको थर भएको छ । व्याख्या नहुन्जेल यस्तो पदावली हीन अर्थमा प्रयोग हुने हुनाले पनि उनीहरूले आफूलाई हन्तकाली वा छालातानी भनी नचिनाउनु स्वाभाविक हो ।
थरै चोर, ढाँट र ठग
शर्माको पुस्तकमा पत्यारै गर्न नसकिने चोर, ढाँट र ठगजस्ता थर पनि महाकाली र सेती अञ्चलमा पाइने एउटा रोचक प्रसंग छ । सिञ्जामा विष्ट थरका सिँजापति ब्राह्मणले राज्य गर्ने समय आजको डँडेलधुरामा पर्ने अजयमेरु वा अजयमिहिर कोटमा नागीमल्ल नामका राजा अविवाहित भएकाले निःसन्तान थिए । आफ्नै राज्यमा पर्ने आजको अछामको छेउमा काम विशेषले जाँदा त्यहीँ उनको मृत्यु भयो । राजाको मृत्युपछि उत्तराधिकारीको अभावमा धेरै वर्षसम्म मन्त्रीहरूले राजाकै नाममा राज्य चलाए । यसै समय राज्यका सारा जनताले एउटै सपना देखे । सपनाअनुसार आफ्नै राज्यकी एक विधवा ब्राह्मणीबाट राजा नागीमल्लले छोरा जन्माएका छन् । बालक सिञ्जाली राजाको संरक्षणमा छ ।
प्रतिनिधिमण्डल राजकुमारको खोजीमा सिञ्जा पुग्यो । नभन्दै त्यहाँ राजकुमार रहेछन् । राजकुमार बराबर तौलको सुन तिरेर उनलाई पठाउन सिञ्जाली राजा तयार भए । प्रतिनिधिमण्डलले सर्त मञ्जुर गर्यो र अजयमेरु फर्कियो । जीवित मल्ल नामका ती राजकुमारको तौल ३६ धार्नी थियो । ३६ धार्नी सुन तिरेर मात्र उनलाई लान पाइने भयो । १८ धार्नीका दुई लाप्सा सुन लिएर प्रतिनिधिमण्डल सिञ्जा हिँड्यो । सुन लिएर जानेहरूले सोचे, ‘यतिका सुन दिएपछि हाम्रो राज्य कंगाल हुन्छ । ताँबोमा सुनको जलप लगाएर बुझाए सुन पनि जोगिने, राजकुमार पनि आउने दुवै काम हुन्छ ।’
सल्लाहअनुसार, उनीहरूले असली सुन त्यहीँ खाल्डो खनेर कसैले नदेख्ने गरी लुकाए । बदलामा सुनको जलप लगाएको ३६ धार्नी ताँबो सिञ्जाली राजालाई बुझाउन गए । चतुर राजाले त्यो छलबारे थाहा पाइसकेका थिए । प्रतिनिधिमण्डललाई राजाले भने, ‘तिमीहरूले चोर, ढाँट र ठगको काम गर्यौ । त्यो पदवी लिन तिमीहरू तयार छौ भने राजकुमार फर्काउँछु ।’
प्रतिनिधिमण्डल जसरी पनि राजकुमार लिएर जाने ताकमा थियो । गल्ती स्वीकारेर त्यो पद धारण गरी राजकुमार लैजान उनीहरू तयार भए । त्यस दिनदेखि ती व्यक्ति र तिनका सन्तानको थर चोर, ढाँट र ठग भयो । त्यो पदवी वा थर २००७ सालसम्म घरायसी काममा मात्र होइन, सरकारी अड्डामा पनि चलाइन्थ्यो । ढाँटको गोत्र धनञ्जय हो भने चोरको कौशिक । ठगको गोत्र थाहा हुन सकेको छैन । (पृष्ठ. २०६ र २०७) ।
अन्त्यमा
शर्माका हरेकजसो किताब अनुसन्धानमूलक छन् । मदन पुरस्कार विजेता जोसमनी सन्त परम्परा र साहित्य (२०२०) होस् वा ‘महाकवि देवकोटा ः एक व्यक्तित्व दुई रचना’, दुवै रोचक भाषाका खोजमूलक कृति हुन् । कहाँसम्म भने उनका यात्रा साहित्यसमेत हर्क गुरुङकै स्तरका आधिकारिक र खोजमूलक छन् । जस्तो कर्णाली यात्रा र त्यहाँको पुरातात्िवक बयान गर्ने कृति कौतुमय डोल्पो (२०३१) । ललितकला र साहित्य (२०१४), भूमिकै भूमिका (२०३६) र जनकलाल शर्माका निबन्ध स्वरूप पनि उस्तै छन् । ‘हाम्रो समाज : एक अध्ययन’ मूलतः ब्राह्मण सत्ता भएको समाजको नालीबेली लगाउने किताब हो । यो, ब्राह्मण सत्ताविरुद्ध नयाँ दृष्टिकोण दिने किताब भने होइन । तैपनि यसमा जातप्रथा र चालचलनमा व्याप्त अन्धविश्वासको निरर्थकताको पनि मिहिन संकेत छ । नयाँ पुस्ताका कतिले यो पुस्तक पढेका होलान् ?