सिद्धिकीको अनुहार

सिद्धिकीको अनुहार

झट्ट हेर्दा हिरोझैं नलाग्ने । उचाइ ५ फिट ५ इन्च । मझौला कदको ज्यान । अनुहार खान्दानी नपरेको । निख्खर कालो छाला । तर, अभिनय यस्तो कि निर्देशक क्यामरा घुमाइरहेको छ, उनलाई त्यसको बालै छैन । जीवन र अभिनयबीच कुनै दूरी छैनजस्तो । जीवन्त अभिनयका पर्याय हुन्- नवाजुद्दिन सिद्धिकी ।

rajuउनको शरीरमा कुनै एब्स छैन । एकै मुक्काले कारलाई हावामा उडाइदिने मसल छैन । जिमखानामा धाइरहेको समाचार पत्रिकाका गुलाबी पृष्ठहरूमा देखिँदैनन् । युवतीलाई भुतुक्कै पारिदिने डिम्पलसहितको जादुयी मुस्कान पनि छैन । तर, किन बढिरहेका छन् उनका फ्यान ? बलिउड नगरीको परम्परामा आम मान्छेजस्तै देखिने यी कलाकार किन व्यापक रुचाइए ? सिद्धिकीको यहाँसम्मका संघर्षमाथि एउटा किताबै लेख्न सकिएला । तर, यति छोटो लेखमा सिद्धिकीमाथि छोटो विचार गर्नुमा के हानि छ ?

भारतको उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लास्थित तहसिल बुधना गाउँमा १९ मेई १९७४ मा मुस्लिम परिवारमा जन्मिए- सिद्धिकी । जमिनदार परिवारमा जन्मिएका उनलाई कतिपयले किसान परिवारको भएको बताउँछन् । तर, उनी आफैंचाहिँ आफ्नो जन्म जमिनदार परिवारमै भएको बताउँछन् । उनको खास नाम नम्बरदार नवाजुद्दिन सिद्धिकी हो । पछि उनले आफ्नो नामको पहिलो शब्द ‘नम्बदार’ हटाए । हरिद्वारको गुरुकुल कंगरी विश्वविद्यालयबाट केमेस्ट्रीमा ग्रेजुएट गरेका उनले दिल्लीमा केही समय चिफ केमेस्ट्रीका रूपमा काम गरे । पछि नाटकतर्फ आकर्षित भए । केही समयपछि जागिर छाडेर नेसनल स्कुल अफ ड्रामामा नाटक पढ्न भर्ना भए।

त्यसताका उनले निकै दुःख पाए । बेखर्ची भए । उनले शौचालयमा फोन नम्बरसहितको एउटा सूचना देखे । शौचालयको भित्तामा लेखिएको थियो, ‘वाचमेन निडेड ।’ त्यसपछि उनले चौकीदारको काम पाए । त्यस कामबापत महिनाको पाँच सय कमाउँथे । बिहान ९ देखि साँझ ६ बजेसम्म उनी चौकीदारी गर्थे । बेलुकी नाटक सिक्न जान्थे ।

नाटकबाट फिल्ममा सिफ्ट हुन उनले निकै मेहनेती गरे । तर, सफल भएनन् । फिल्ममा काम नपाएपछि टीभी च्यानल चहारे । त्यहाँ पनि केही काम पाएनन् । अडिसन दिन जाँदा उनी पटकपटक अस्वीकृत हुन्थे । सोही दौरानमा उनलाई एकजना असिस्टेन डाइरेक्टरले भनेका थिए, ‘तिमी यति कालो छौ कि तिम्रो लागि अर्को दुईवटा लाइट आवश्यक पर्छ ।’

खासमा बलिउड ‘हिरो’को पर्खाइमा थियो । उनीजस्ता ‘मामुली’ लाग्ने मान्छेको खाँचो थिएन बलिउडलाई । उनले कहीँ पनि काम पाएनन् । बलिउड उनका लागि कोसौं टाढाको विषय बन्यो । मुम्बईमा कोठा भाडासमेत तिर्न सकेनन् । करिब पाँच वर्ष बम्बई र दिल्लीका गल्ली चहारेपछि एक दिन उनलाई फिल्मको अफर आयो । तर, फिल्ममा उनको लागि एक सिनमात्रै थियो ।

फिल्म इन्टस्ट्रीले सिद्धिकीलाई अघि सारेर करोडौं असुलिरहेको छ । तर, खेतमा किसानले आत्महत्या गर्न छाडेका छैनन् । दिल्लीका गल्लीमा भिखारीको संख्या घटेको छैन ।

त्यसपछि उनले स-साना दृश्यमा काम पाए । जति ठूलो फिल्म उति सानो भूमिका । तर, सधैं पकेटमार, भिखारी, गुन्डा, आतंकवादी, पिटाइ खाने व्यक्तिको भूमिका । सिनका लागि भीडको एउटा हिस्सा बन्थे उनी । भीडमा मिसिएबापत उनले दिनको पाँच सयदेखि एक हजारसम्म पाउँथे । त्यही पैसाले गुजारा चलाउँथे । ठूलो भूमिका पाउन उनले फिल्ममा एक दशक संघर्ष गर्नुपर्‍यो । । सुरुमा ४० सेकेन्डको सिन पाए । त्यसको केही वर्षपछि तीन सिनको रोल पाए । चार सिनको रोल पाउन उनले ६ वर्ष कुर्नुपर्‍यो ।

सिद्धिकी दुःखबाट भागेर घर फर्केनन् । उनले भनेका छन्, ‘मसँग अरू कुनै अप्सन थिएन । जसरी हुन्छ, मलाई फिल्म खेल्नु थियो ।’ फिल्म खेल्न हिँडेका उनी त्यतिकै गाउँ फर्किन लाज मान्थे- गाउँलेको । तर, लाजको मेनुमा डर पनि थपियो- फिल्ममा पिटाइ खाएको भूमिका गरेर गाउँ जाँदा, गाउँलेहरू उनलाई नराम्ररी हकार्थे ।

फिल्म ‘सरफरोस’, ‘मुन्नाभाई एमबीबीएस,’ र ‘जंगल’ मा छोटो सिनमा काम पाए । सन् २००७ उनको लागि राम्रो वर्ष बन्यो । निर्देशक अनुराग कश्यपले ‘ब्लाक फ्राइडे’मा उनलाई मुख्य भूमिकामा लिए । उनको अभिनय निकै रुचाइयो । फिल्म बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत छनोट भयो । त्यसपछि उनको चर्चा चुलियो । अभिनयको तारिफ हुन थाल्यो । त्यसपछि ‘पिप्ली लाइल’मा पत्रकारको भूमिका पाए । कश्यपकै ‘ग्याङ्ग अफ बासेपुर’ सुपरहिट भयो, जहाँ सिद्धिकी मुख्य भूमिकामा थिए । सोही फिल्मको सुटिङ-दौरानमा मानिसहरू वरिपरि झुम्मिएर हिरो खोज्थे । कसैले सिद्धिकीतिर इसारा गरिदिन्थे । मानिस उनको ज्यान देखेर ‘फिल्म झुर हुन्छ’ भन्दै पन्छिन्थे । अन्त्यमा त्यही फिल्मले उनको जीवन बदलिदियो । सोही फिल्मबाट उनले नेसनल फिल्म अवार्डमा वेस्ट एक्टरको अवार्ड जिते ।

फिल्म ‘मिस लब्ली’मा उनको अभिनयलाई ‘मोस्ट रियल पफर्मर’को दर्जा दिइयो । ‘माझी द माउन्टेन म्यान’मा उनी मूख्य भूमिकामा देखिए, जसलाई निकै रुचाइयो । ‘बजरंगी भाइजान’बाट बेस्ट सपोर्टिङ एक्टरको अवार्ड जिते ।

रोचक कुरो के छ भने फिल्म ‘ब्यान्डबाजा बारात’को वर्कसप चलिरहेको थियो । रणवीर सिंह सोही फिल्मबाट डेब्यु गर्दै थिए । रणवीरलाई अभिनय सिकाउन नवाजुद्दिनलाई बोलाइयो । त्यसबेला स्वयम् उनीचाहिँ नचलेका कलाकार थिए । त्यस्तै विद्या बालन अभिनीत फिल्म ‘कहानी’मा सिद्धिकी रिसाहा पुलिस अफिसरको रूपमा देखिए । त्यसबाट निकै तारिफ बटुले । महिलाहरू उनको फ्यान भए । एउटी महिला फ्यानले उनलाई भेट्न मरिहत्ते गरिन् । उनले सिद्धिकीलाई भेटिन् । तर, सिद्धिकी भेटेपछि महिला निरास भइन् । ती युवती सिनेमामा देखाइएको उनको चरित्रको मात्रै फ्यान थिइन् ।

सिद्धिकी आफूलाई ‘स्टार’ नभई ‘एक्टर’ मान्छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘स्टार त जो-कोही बन्न सक्छ । म त एउटा एक्टर हुँ ।’ परम्परागत बलिउड स्टारमा हुने क्वालिटी उनीसँग केही पनि थिएन । तर पनि उनी बलिउडमा रुचाइए । यसको एउटै कारण हो- उनको जीवन्त अभिनय । उनको ‘जुनन’अघि मुस्किलहरू फिका भए । कसैले नपत्याउँदा पनि उनले पछाडि फर्केर हेरेनन् । अन्ततः ओम पुरी, नसुरिद्दिन शाहहरूको पदचाप पछ्याउन आइपुगे ।

उनी पटकपटक विवादमा तानिए । मिस इन्डिया निहारिका सिंहसँग यौन सम्बन्धको समाचार बाहिर आयो । बायोग्राफी प्रकाशित भएपछि उनले लेखेका कैयौं कुरा पूर्वप्रेमिकाले झुट भएको बताएपछि उनी थप विवादमा तानिए । सिद्धिकीको चर्चा गर्दा उनको अर्को कुरामा पनि विरोधाभास देखिन्छ । जमिनदारको छोरा जसले केमेस्ट्रीमा उच्च शिक्षासमेत प्राप्त गरेका छन्, त्यस्ता व्यक्तिले चौकीदारको काम गर्‍यो भन्नुमा विश्वसनियता कम देखिन्छ । यद्यपि यस विषयलाई उधिन्नु अप्रासांगिक हुन्छ । खासमा उनको अभिनय नै बुलन्द हो । अभिनय शक्तिले नै उनी यस स्थानसम्म पुर्‍यायो ।

सिद्धिकीले भिखारी र पकेटमारको मात्रै भूमिका पाउनुको कारण दक्षिण एसियाली समाजको सुन्दरतासम्बन्धी बुझाइ हुन सक्छ । गहुँगोरो वर्ण भएका मानिसलाई सुन्दर मानिने समाजमा उनी कालो वर्णका थिए, जसलाई अझै खलनायक मात्रै बनाइन्छ । ६ फिट अग्लो, गोरो, चक्लेटी अनुहार भएका मानिसमात्रै बलिउडमा हिरो कहलिन्छ । सिद्धिकी त्यस्ता थिएनन् ।

महत्वपूर्ण कुरा, सिद्धिकीमार्फत तल्लो वर्गको कथा पर्दामा उतारेर तल्लो वर्गलाई नै बजारले लुटिरहेको छ । उनी यसमा सचेत देखिँदैनन् । फिल्ममा एउटा कलाकारले गर्नुपर्ने भूमिकामा मात्रै उनी केन्द्रित देखिन्छन् । फिल्म इन्टस्ट्रीले उनलाई अघि सारेर करोडौं असुलिरहेको छ । तर, खेतमा किसानले आत्महत्या गर्न छाडेका छैनन् । दिल्लीका गल्लीमा भिखारीको संख्या घटेको छैन । उनका फिल्मले सर्वसाधारणको दयनीय जीवनमा कुनै प्रभाव पारेको छैन । सिद्धिकीको अनुहार बेचेर आम मानिसबाट पैसा असुल्दै बक्स अफिसमा नयाँ रेकर्ड बनाउने ध्याउन्नमा छ बलिउड, जसलाई आजको समयकै सबैभन्दा ठूलो विडम्बना मान्नुपर्छ ।

एजेन्सीको सहयोगमा

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.