विनयको बिकिनी तमासा
काठमाडौं : नेपालमा फिल्म बनाउनभन्दा चलाउन कठिन हुँदै गएको छ। यही कारणले होला, फिल्मकर्मी फिल्म रिलिजको समयमा यस्ता फन्डा अपनाउँछन्, जसले फिल्मलाई फाइदाभन्दा पनि घाटा पुर्याइरहेका हुन्छन्। यसको पछिल्लो उदाहरण बनेका छन्, विनय श्रेष्ठ। जति प्रयास गर्दा पनि फिल्म क्षेत्रमा उति माथि आउन नसकेका विनयले ‘रोमियो एन्ड मुना’ निर्माण गरेका छन्।
आफैँले निर्माण गरेको फिल्ममा विनय आफू हिरो नहुने कुरै छैन। यसमा पनि विनय नै हिरो छन्। तर, विनयले फिल्मलाई चर्चामा ल्याउने ध्याउन्नमा ‘प्रेस–मिट’मै नांगा केटी ल्याएपछि फेसबुकमा आलोचनाको पात्र बनेका छन्।
विनयले फिल्मको एउटा गीत सार्वजनिक गर्ने कार्यक्रममा गीतको ‘भिज्युअल’सँग मिल्ने गरी प्रेस–मिटमै दायाँबायाँ बिकिनी लगाएका केटी राखेर गीत सार्वजनिक गरेका थिए। अमेरिकामा खिचिएको गीतमा विनय थुप्रै बिकिनी लगाएका केटीहरूका बीचमा छन्।
तर, उनको त्यो ‘आइडिया’लाई धेरैले ‘चिप’ भन्दै आलोचना गरेका छन्। आलोचकहरूको प्रश्न छ, ‘के फिल्मभित्र बेड सिन छ भन्दैमा भोलि प्रेस–मिटमै त्यस्तो दृश्य देखाउने ?’