गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विवाद चर्किदै

गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विवाद चर्किदै

रोल्पा : रोल्पाको तीनवटा गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने विषयले विवाद चर्किदै गएको छ । सुवर्णावती गाउँपालिकाले युद्धको समयमा मारिएका पूर्व लडाकु कमाण्डर किमबहादुर थापा ‘सुनिल' को नामबाट नामाकरण गर्ने प्रस्ताव ल्याएपछि जनप्रतिनिधिमै विवाद बढेको छ । सुनिल जिनाबाङको मुनिमारेमा तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको आक्रमणमा मारिएका थिए ।

माओवादी पार्टीबाट उम्मेदवार भई विजयी बनेका अध्यक्ष सहितका जनप्रतिनिधिले सुवर्णावती गाउँपालिकाको ऐतिहासिक अर्थ नभएको भन्दै सुनिल गाउँपालिका राख्ने पक्षमा उभिएका छन् । उनीहरुले ‘जनयुद्धको शहिद' को सम्मान हुने भन्दै सुनिलको नामबाट गाउँपालिकाको नाम राख्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसबाट विजयी बनेका जनप्रतिनिधिले शुक्रबार सम्पन्न गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्तावमा 'नोट अफ डिसेन्ट' लेखेका छन् ।

‘सबैको साझा हित हुने नाम छोडेर युद्धमा मारिएका सुनिलको नामबाट गाउँपालिकाको नामाकरण गर्नु गलत हुन्छ ।' वडा अध्यक्ष गञ्ज क्षेत्री भन्छन्, ‘सुवर्णावती गाउँपालिकामा मात्र क्यौं मारिएका छन् । एक जनाको नाममा मात्र गाउँपालिकाको नाम राख्ने कुरा मान्य हुँदैन । सहमतिमा नाम फेर्नका लागि गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले थप छलफल गर्ने बताएका छन् ।

स्थानीय तहको पहिलो बैठकबाट ६ महिनाभित्र आवश्यक ठानिएमा गाउँपालिकाको नाम र केन्द्र बहुमतले फेर्न मिल्ने प्रावधान छ । ६ महिना गुज्रन थालेपछि केन्द्र र नाम फेर्ने विषय तड्कारो बन्दै गएका छन् । एक नगरपालिका र नौ गाउँपालिका रहेको यहाँ सुकिदह गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णयले पनि आन्दोलन निम्त्याएको छ । गाउँपालिकाका ‘सहिद गंगा र देव' को सम्मान हुने भन्दै सुकिदह नाम हटाएर गंगादेव गाउँपालिका नामाकरण गरेपछि स्थानीयले गाउँपालिकाको कार्यालयमा विरोध गर्दै ताला नै लगाए । एकसाता अघिदेखि गाउँपालिकाको नाम सुकिदह नै हुनुपर्ने र साविक सुखाओढारमै गाउँपालिकाको केन्द्र हुनुपर्ने माग सहित आन्दोलन गरेका थिए ।

गाउँपालिकाले सुखाओढारमा स्थान अभाव भएकाले एक किलोमिटर माथितिर अवस्थित सानडाँडामा केन्द्र सार्ने निर्णय गरेकोमा स्थानीयले आन्दोलन समिति नै गठन गरेर विरोधमा उत्रिएका थिए । उनीहरुले गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिकाको नाम फेरेको र केन्द्र सारिएको निर्णय र आन्दोलनकारीबाट नाम र केन्द्र बदल्न नपाइने ज्ञापनपत्र स्थानीय मन्त्रालयमा पेश गर्ने सहमतिपछि ताला खोलिदिएको अध्यक्ष बीरबहादुर खत्रीले बताए । ‘नेपाली कांग्रेस र एमालेका स्थानीय सीमित केही नेताले उक्साएर आन्दोलन गरेका हुन् ।', अध्यक्ष खत्री भन्छन् ।

केही महिना अघि दुईखोली गाउँपालिकाले पनि युद्धमा मारिएका लडाकु नेपबहादुर वली ‘परिवर्तन' को नाममा गाउँपालिकाको नामाकरण गर्ने छलफल अघि बढाएको थियो । दुईखोलीको सट्टा परिवर्तन गाउँपालिका बनाउन खोजिएको थियो । विवाद हुने संकेतपछि छलफल सीमित भएको थियो ।

त्रिवेणी गाउँपालिकामा केन्द्र सार्ने मागले विवाद चर्कदै गएको छ । पुस १४ गते गाउँपालिकाको पहिलो बैठकको ६ महिना पुग्ने भएकाले नुवागाउँ, करेटी र गैरीगाउँका स्थानीयले गाउँपालिकाको केन्द्र त्रिवेणीमा सार्ने निर्णय गर्न गाउँपालिकाका जनप्रतिनिधिलाई दवाव बढाउदै लगेका छन् । स्थानीय तहको केन्द्र निर्धारण सिफारिसकै बेला त्रिवेणी र जुँगार केन्द्र बनाउनेबारे चर्को विवाद भएको थियो । करेटी, नुवागाउँ र गैरीगाउँले जुगार केन्द्र अपायक हुने भन्दै त्रिवेणीमा केन्द्र हुनुपर्ने भन्दै जिल्ला समन्वय समितिको कार्यालयमा विरोध प्रदर्शन गर्न आएका थिए ।

जुँगार केन्द्र कायम भएपछि आन्दोलन झनै चर्किएको थियो । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा आन्दोलन मत्थर भएको थियो । जुँगारमा रहेका दलका नेता र उम्मेदवारहरुले विजयी बनेपछि केन्द्र त्रिवेणी सार्ने बचन दिएकोले त्रिवेणी केन्द्र सारिनुपर्ने मागको अगुवाई गर्दै आएका एमालेका नेता निमप्रसाद रोका बताउँछन् । माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी समेत दिँदै आएका छन् । गाउँपालिकाका जनप्रतिनिधिले भने यसबारे कुनै ठोस योजना अघि बढाएका छैनन् ।

विवाद जटिल बन्दै जाने संकेत पाएपछि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं गैरीगाउँ निवासी गोकुल घर्ती र निर्वाचन क्षेत्र ‘ख' बाट प्रदेशसभा सांसद निर्वाचित दिपेन्द्रकुमार पुन ‘सिजल' शनिबार जुँगार पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.