पूर्वअर्थसचिवकाे जागिर यात्रा : ‘ब्याड लक हुँदै गुड लकसम्म’

पूर्वअर्थसचिवकाे जागिर यात्रा : ‘ब्याड लक हुँदै गुड लकसम्म’

म २०२३ सालमा तत्कालीन दाङवाङ गाउँ विकास समितिको सल्लीकोटमा किसान परिवारमा जन्मेँ । बुबा लोकमणि सुवेदी, आमा लक्ष्मीका हामी सात छोरा, पाँच छोरी सन्तान छौँ । म सबैभन्दा जेठो हुँ । बुबा सामान्य साक्षर हुनुहुन्थ्यो । तर, उहाँमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावना थियो ।ऊबेला गाउँमा स्कुल थिएनन् । त्यसैले मैले कक्षा तीनसम्म दाङको घोराहीमा पढेँ ।

सात कक्षासम्म दाङवाङमै गएर पढेँ । नौ र १० कक्षा पढ्न प्युठान गएँ । २०४० सालमा एसएलसी दिएँ र प्रथम श्रेणीमा पास भएँ । पढ्नमा राम्रै थिएँ म । कपिलवस्तुबाट कृषिमा आईएससी गरेँ । कृषि विकास बैंकमा ऋण सहायक पदमा भर्ना खुल्यो । २०४५ मा मैले त्यसमा नाम निकालेँ । २०४९ सालसम्म मैले त्यहाँ काम गरेँ । त्यही बीचमा भक्तपुरमा बीकम पढेँ ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेँ । बिहान पढ्न कलेज जान्थेँ । दिउँसो जागिर गर्थें । संघर्ष गरेर पढियो । त्रिभुवन विश्वविद्यालयबाट मूल्य अभिवृद्धि कर (भ्याट)बारे विद्यावारिधि गरेँ ।

निजामती सेवामा प्रवेश

तत्कालीन राजनीतिक अवस्थाले गर्दा लामो समय लोकसेवाले विज्ञापन खुलाएन । २०४८ को अन्त्यतिर प्रशासन समूहमै हुलाक सेवा भनेर नयाँ समूह गठन भयो र ५३ जना शाखा अधिकृत मागेर विज्ञापन गर्‍यो । लामो समयपछि विज्ञापन खुलेकाले त्यसमा कडा प्रतिस्पर्धा भयो ।

Shanta-Raj-Subedi-2

त्यसमा मेरो नाम निस्कियो । यहीँबाट मैले निजामती सेवामा प्रवेश गरेँ । हुलाक सेवाअन्तर्गत हुलाक विभागमा शाखा अधिकृतका रूपमा काम सुरु गरेँ । २०५३ सालमा नेपालमा चलिरहेको परम्परागत भ्याटलाई विस्थापित गरेर नयाँ नीति आयो । त्यसका लागि नयाँ कर्मचारीको आवश्यकता थियो । जसका लागि राजस्व समूह गठन गरियो ।

त्यो समूहमा लोकसेवाले परीक्षा गराएर लैजान्थ्यो । अन्तैबाट सरुवा मिलाएर त्यहाँ जान मिल्दैन्थ्यो । नयाँ भ्याट नियम आएपछि त्यसलाई कार्यान्वयन गर्नुपर्ने भयो । नयाँ मान्छे ल्याउन धेरै समय लाग्थ्यो ।

विकल्पमा सरकारले एक वर्षदेखि निजामती सेवामै काम गरिरहेकाहरूको बीचबाट नै आन्तरिक प्रतिस्पर्धा गराएर लिने नीति बनायो । मैले पनि लिखित र मौखिक परीक्षा दिएँ । पास पनि भएँ ।

पास भएपछि राजस्व समूहबाट अर्थ मन्त्रालयमा छिरेँ । २०५४ सालदेखि भ्याट पनि व्यवस्थित रूपमा लागू भयो । त्यसमा मैले पनि केही काम गर्ने मौका पाएँ । २०५९ सालसम्म अर्थ मन्त्रालयमा काम गरेँ ।

धेरै पटक फेल भएँ

निजामती सेवामा प्रवेश गरिसकेपछि पनि मैले आफूलाई माथिल्लो पोस्टमा पुर्‍याउन परीक्षा दिन, लोकसेवाका जाँचहरूमा प्रतिस्पर्धा गर्न छाडिनँ । एक पटक परराष्ट्र सेवामा उपसचिवमा नाम निकालेँ तर अन्तर्वार्तामा बिग्रियो । दुई पटक राजस्व समूहमै उपसचिवमा नाम निस्कियो । त्यसमा पनि अन्तर्वार्तामै बिग्रियो ।

त्यो बेला ‘लोकसेवा आयोगमा धेरै पटक नाम निकालेको तर असफल भएको’ भनेर मेरो चर्चा हुन्थ्यो । कतिपयले ‘ब्याड लक’ भएको मान्छे पनि भन्थे ।

त्यस्तै, दुई पटक उपसचिवमै प्रशासनमा नाम निस्कियो । छैटौँ पटकको अन्तर्वार्तामा भने सामान्य प्रशासन समूहअन्तर्गत उपसचिवमा पास भएँ । त्यो बेला ‘लोकसेवा आयोगमा धेरै पटक नाम निकालेको तर असफल भएको’ भनेर मेरो चर्चा हुन्थ्यो । कतिपयले ‘ब्याड लक’ भएको मान्छे पनि भन्थे । म ब्याड लक हुँदै गुड लकमा पुगेको मान्छे हुँ । त्यसो त म भाग्यमा विश्वास गर्दिनँ । तर, केही संयोग जिन्दगीमा महŒवपूर्ण हुँदा रहेछन् ।

नाम निस्केपछि २०५९ मा उपसचिवको रूपमा सामान्य प्रशासन समूहमा प्रवेश गरें । आठ महिनापछि २०६० सालमा सहसचिवमा पनि उत्तीर्ण भएँ । यसमा नाम निकाल्न भने धेरै मेहनत गर्नुपरेन । त्यसपछि मेरो पोस्टिङ सूचना विभागको महानिर्देशकका रूपमा भयो । त्यहाँ मैले १६ महिना बिताएँ ।
त्यहाँ रहँदा धेरै काम गरियो । त्यो बेला नागरिक बडापत्र प्रचलनमा आइसकेको थिएन ।

सूचना विभागमा बडापत्र राख्ने कामको थालनी मैले नै गरेको हुँ । पत्रपत्रिका (अन्य मिडिया पनि) को दर्ता, वर्गीकरण, प्रोफाइलिङ गर्ने काम पनि भयो । पत्रपत्रिकामा आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित गुनासाका कटिङ निकालेर ती मन्त्रालयमा पठाउने कामको थालनी पनि गरियो । सूचना विभागमा १६ महिना काम गरेँ । २०६१ माघमा केही समयका लागि मेरो सरुवा शान्ति सचिवालयमा भयो ।

Shanta-Raj-Subedi-and-Chinese-officer

प्रमुख जिल्ला अधिकारीको भूमिका

२०६१ माघमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन हातमा लिएपछि विभिन्न मान्छेलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)का रूपमा जिल्ला पठाइयो । त्यसमा म पनि परेँ । म बारा जिल्लामा सीडीओ भएर गएँ । प्रशासकका रूपमा म नयाँ थिएँ ।

एकातिर राजाले संकटकाल लगाएका थिए, अर्कातिर माओवादी युद्ध उत्कर्षमा थियो । काम गर्न निकै चुनौतीपूर्ण थियो । मसँग गृहको अनुभव पनि थिएन । तर, पनि सुरक्षा निकायसँग समन्वय गरेर काम गरेँ ।

त्यहाँ रहँदा दलाल (एजेन्ट)हरूलाई प्रवेश निषेध गरेँ । जनताका काम सीधै गरिदिने कामको थालनी गरियो । म आफैँ गएर वृद्धवृद्धाका गुनासा सुन्थें। जिल्ला प्रशासन बारालाई ‘भ्रष्टाचारमुक्त क्षेत्र’ भनेर घोषणा पनि गरेँ । त्यो अवधिमा भ्रष्टाचार नगर्न, जनताका काम सजिलै गरिदिन कर्मचारीलाई शपथ खुवाएको थिएँ ।

मैले धेरै जिम्मेवारीमा रहेर काम गरेँ तर मलाई सबैभन्दा सन्तुष्टि बाराको सीडीओका रूपमा काम गर्दा मिल्यो । राजाको प्रत्यक्ष शासन भए पनि मैले राजनीतिक दलहरूसँग समन्वय गरेरै काम गरेँ । राजनीतिक दललाई टाढा राख्ने काम मैले कहिल्यै पनि गरिनँ । दलीय राजनीतिक व्यवस्थाको विकल्प थिएन । त्यसकारण मैले दलहरूसँग समन्वय गरेर कुनै विवाद नआउने ढंगले काम गरेँ ।

जनताका काम सीधै गरिदिने कामको थालनी गरियो । म आफैँ गएर वृद्धवृद्धाका गुनासा सुन्थें। जिल्ला प्रशासन बारालाई ‘भ्रष्टाचारमुक्त क्षेत्र’ भनेर घोषणा पनि गरेँ । त्यो अवधिमा भ्रष्टाचार नगर्न, जनताका काम सजिलै गरिदिन कर्मचारीलाई शपथ खुवाएको थिएँ ।

मेरो त्यो कामलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशंसा गर्दै पुरस्कृत पनि गरेको थियो । सीडीओका रूपमा मैले त्यहाँ २०६३ असारसम्म काम गरेँ । २०६५ मा फेरि मन्त्रालयमै आएर काम गरेँ ।

त्यसपछि सचिव नहुँदासम्म राजस्व विभागमै काम गरेँ । त्यो बेला राजस्व ऐन÷कानुनलाई धेरै सुधार गर्ने काम भएका छन् । भन्सार विभागलाई ‘कम्प्युटराइज्ड’ गर्ने काम पनि भयो ।

२०६९ सालमा अर्थ मन्त्रालयको सचिवमा बढुवा भएँ । सचिव भएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन निर्माणमा केही भूमिका मैले पनि निर्वाह गरेँ । शुद्धीकरणसम्बन्धी कानुन संशोधन नगर्ने हो भने नेपाल कालो सूचीमा पर्ने अवस्थामा थियो । अध्यादेशबाट पाँच वटा कानुन बनाइयो । त्यसपछि मात्रै नेपाल कालो सूचीमा पर्ने खतराबाट जोगियो ।

Shanta-Raj-Subdi-and-JICA-repesentatives

अर्थसचिवका रूपमा करिब डेढ वर्ष काम गरेँ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा सचिवका रूपमा सरुवा भयो । त्यहाँ १८ महिना काम गरेँ । २०७२ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवका रूपमा सरुवा भएँ । त्यहाँ ११ महिना काम गरेँ ।

पूरकदेखि संघीय बजेटसम्म

राजनीतिक संक्रमणका कारण सरकार परिर्वतन भइरहे । नयाँ सरकार आएपछि नेतृत्वले केही कार्यक्रम ल्याउन खोज्थ्यो । त्यसलाई सम्बोधन गर्न पूरक बजेट ल्याइयो । म आफैँले तीन वटा पूरक बजेट निर्माण गरेँ ।

देश संघीय संरचनामा गएपछि त्यसै अनुसारको बजेट निर्माण गर्ने काम चुनौतीपूर्ण थियो । ७ सय ५३ स्थानीय तहलाई २ सय २५ अर्ब विनियोजन गरेर बजेट बनाउनु कम चुनौतीपूर्ण थिएन । पहिलो संघीय बजेट पनि सफलतापूर्वक बनाइयो ।

सचिवमा बढुवा भएको पाँच वर्षको अवधिमा म दुई पटक अर्थसचिव भएँ । नेपालको निजामती सेवामा एउटै मान्छे दुई पटक अर्थसचिव हुने मान्छे कमै छन् । २०७४ साल कात्तिक २ गते निजामती सेवाबाट रिटार्यड भएँ ।

निजामती सेवामा चुनौती

निजामती सेवामा राजनीति हाबी भएको छ । राजनीतिज्ञले सपना देख्ने हो, कर्मचारीले त्यसलाई कार्यान्वयन गर्ने हो । हाम्रोमा सरकार परिर्वतन हुनासाथ कर्मचारी सरुवा गर्ने, आफ्ना नजिकका मान्छेलाई लगेर काम गराउने चलन बढ्दो छ ।

कर्मचारीतन्त्रभित्र भ्रष्टाचार पनि बढिरहेको छ । बजेट कार्यान्वयन समयमै नहुने समस्या छ । निजामती सेवामा देखिएको अर्को डरलाग्दो समस्या भनेको निर्णय गर्न सक्ने क्षमतामा ह्रास आउनु हो । कर्मचारी समयमा निर्णय नै गर्न सक्दैनन् । गरेको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति छ । विधिको शासनको अभाव छ ।

यसरी तयारी गरौँ लोकसेवा

पहिले लोकसेवाको परीक्षाका लागि जसरी मेहनत गरिन्थ्यो, अहिलेका पुस्ताले त्यसरी नै गर्छन् जस्तो लाग्दैन । हामीले जागिर खाँदै लोकसेवाको तयारी गथ्र्यौैं । ‘आफ्नो खर्च आफैँ धानेर पढ्नुपर्छ’ भन्ने हाम्रो सोचाइ हुन्थ्यो । दिउँसो अफिसको काम गथ्र्यौं र बेलुका लोकसेवाको तयारी गथ्र्यौं । अहिले त्यस्तो छैन भन्ने लाग्छ ।

एकेडेमिक परीक्षामा प्रथम, दोस्रो हुन सकिन्छ । तर, लोकसेवा आयोगमा त्यस्तो हुँदैन । मानौँ, १० जनाका लागि कुनै पदमा विज्ञापन दिएको छ । जाँच दिएका १० जनाले ९५ अंक ल्याउँदा त्योभन्दा १ अंक कम ल्याउने पनि असफल हुन्छ ।

आफ्नो सम्भावित प्रतिस्पर्धी कस्तो हुनसक्छ ? त्यो पहिचान गर्नुपर्छ । धेरै वर्ष पहिलेदेखि आएका प्रश्नहरू जम्मा गर्नुपर्छ र प्रश्न सोधिने ‘ट्रेन्ड’ पत्ता लगाउनुपर्छ । पाठ्यक्रम र सोधिएका प्रश्नको तुलनात्मक अध्ययन पनि गरेर हेर्नुपर्छ ।

आफ्नो सम्भावित प्रतिस्पर्धी कस्तो हुनसक्छ ? त्यो पहिचान गर्नुपर्छ । धेरै वर्ष पहिलेदेखि आएका प्रश्नहरू जम्मा गर्नुपर्छ र प्रश्न सोधिने ‘ट्रेन्ड’ पत्ता लगाउनुपर्छ । पाठ्यक्रम र सोधिएका प्रश्नको तुलनात्मक अध्ययन पनि गरेर हेर्नुपर्छ ।

परीक्षकले हरेक प्रश्नको उत्तरमा नयाँपनको अपेक्षा गर्छ । उत्तर फरक तरिकाले लेख्नेले धेरै अंक पाउँछ । त्यस्ता परीक्षार्थी नै जाँचमा सफल हुन्छन् ।

३ सय ९० लाई अधिकृत बन्ने अवसर

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृतमा विभिन्न सेवाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मंसिर २७ मा प्रकाशित गरेको सूचनाअनुसार ३ सय ९० पदका लागि दरखास्त आह्वान गरिएको छ ।

व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका लागि दरखास्त आह्वान गरेकामा खुलातर्फ २ सय ६ पद र महिलाका लागि ५९ पद छुट्टाइएको छ । यो सम्बन्धित विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।

आवेदकले लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता गरी चार चरणको परीक्षामा सहभागी हुनुपर्नेछ । पुस १८ गतेसम्म दरखास्त दिन पाइनेछ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

दरखास्तवालाले आन्तरिक प्रतियोगिता र खुलाका लागि एक हजार रुपैयाँ, प्रत्येक समावेशी समूहका लागि थप चार सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रका लागि छुट्टाछुट्टै चार सय रुपैयाँ बुझाउनुपर्नेछ ।

प्रस्तुतिः रामकुमार डिसी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.