'पुष्पलालको एउटै कम्युनिष्ट बनाउने सपना साकार हुदै'

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। प्रतिष्ठानको आइतबार भएको पाँचौँ साधारण सभाले नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ।
आगामी तीन वर्षका लागि चयन भएको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्ष बेदुराम भुसाल, लोककृष्ण भट्टराई, विजयलाल श्रेष्ठ, महासचिव गंगालाल तुलाधर, सचिव विष्णु रिजाल, कोषाध्यक्ष मोहनबहादुर केसी र सदस्यहरुमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यालाल श्रेष्ठ चयन भएका छन्। बाँकी सदस्य कार्यसमितिले चयन गर्नेछ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु हुने पुष्पलालको सपना साकार हुन लागेको बताए । प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताले निर्वाचन मार्फत एउटा कम्युनिस्ट पार्टी बनाउन जनादेश दिएको उल्लेख गर्दै यसलाई सार्थक निष्कर्षमा पुर्याउने बताए।
साधारणसभाले तत्कालीन सचिव गंगालाल तुलाधरले प्रस्तुत गरेको कार्ययोजना र कोषाध्यक्ष मोहन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका प्रतिष्ठानका संरक्षक झलनाथ खनाल (इलाम १), अध्यक्ष माधवकुमार नेपाल (काठमाडौँ २) र सदस्य कृष्णगोपाल श्रेष्ठ (काठमाडौँ ९) तथा प्रदेशसभा सदस्य निर्वाचित सदस्य सानुकुमार श्रेष्ठ (काठमाडौँ २(१) लाई बधाई ज्ञापन गरिएको थियो। साधारण सभा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत निर्वाचनमा तालमेल भइसकेको र दुबै पार्टीबीच पार्टी एकता गर्ने सहमति भइसकेकोमा खुसी प्रकट गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
