सुन्तला खेतीमा नमुना बन्यो सिम्ले

सुन्तला खेतीमा नमुना बन्यो सिम्ले

अर्घाखाँची : भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका पणेना सिम्लेका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै नमुना सुन्तला किसान बनेका छन् । २०२७ सालमा भारतमा जागिर गर्दै गर्दा भारतीयले नेपालीप्रति गरेको दुव्र्यवहार सहन नसकी जागिर छाडेका उनले नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने संकल्पका साथ सुन्तला खेती सुरु गरेका हुन् ।

उनले आफू मात्र सुन्तला लगाएनन्, गाउँलेहरूलाई पनि यसको खेतीतर्फ प्रेरित गरे । अभियानका साथ आफैं डोकोमा बोकेर घरघर सुन्तलाका बिरुवा पुर्‍याए । पैसा हुनेलाई बिरुवा पैसोमा बेचे । नहुनेसँग श्रम साटे । कसैसँग अन्न, डोकानाम्ला र दाउरा लिएरै भए पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गरे । कसैकसैलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तला खेती गर्न प्रेरित गरे ।

सुन्तला खेतीबाट आफूले वार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको उनले बताए । अहिले सुन्तला राम्रो फलेकाले ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । उनको सुन्तला बगंैचामा अहिले झन्डै साढे ५ सय सुन्तलाका बिरुवा छन् । बारी, खेत, खर्क सबैमा सुन्तला खेती गरेका छन् ।

सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।

एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेती अहिले पणेना र पोखराथोकको समेत प्रमुख आम्दानीको स्रोत बनेको छ । यी क्षेत्रका करिब तीन सय किसानले सुन्तला खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् । उनीहरूले प्रतिपरिवार वार्षिक ५० हजारदेखि बढीमा १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन् ।

पणेनाको सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका हरिप्रसाद पौडेलको बगैंचामा मात्र झन्डै तीन सय ५० सुन्तलाका रुख छन् । यसबाट पौडेलले वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने बताए । सुन्तला बिक्रीका लागि पनि सिम्लेका सुन्तला उत्पादक किसानलाई बजारको समस्या छैन । यहाँ उत्पादित सुन्तला प्रतिकिलो ४५ देखि ६० रुपैयाँसम्ममा बुटबलमा बिक्री हुने गरेको शिक्षकसमेत रहेका पौडेलले जानकारी दिए । विगतका वर्षको तुलनामा अहिले सुन्तलाको व्यापार राम्रो रहेको उनको भनाइ छ ।

सुन्तला बिक्री मात्र होइन, नर्सरी सञ्चालन गरेर पनि सिम्लेका किसान रेवतीराज पौडेलले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनको नर्सरीमा अहिले सुन्तला, कागती, जुनार, इन्डियन किन्नु र जापानी उन्सु जातका सुन्तलाका बिरुबा छन् । गत वर्ष मात्र साढे चार लाख रुपैयाँका बिरुवा बिक्री गरेको र यस वर्ष करिब ६ लाख रुपैयाँ सुन्तला जातका बिरुवा बिक्री गर्ने अनुमान गरिएको उनको भनाइ छ ।

गतवर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । जिल्लामा झन्डै एक हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको उसको भनाइ छ । यस वर्ष पाँच हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका थिरलाल गैरेले बताए ।

जिल्लामा उत्पादित सुन्तलाले राम्रो बजार पाएको र यो सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्री हुने गरेको जिल्ला कृषि विकास कार्यलयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.