सदरमुकाममा अझै धिपधिपे बत्तीकै भर

सदरमुकाममा अझै धिपधिपे बत्तीकै भर

 

जाजरकोट : जिल्ला सदरमुकाम खलंगासम्म केन्द्रीय प्रसारणको बिजुली जोड्न नसकेको भन्दै केही समय अघिसम्म नेताहरूलाई खलंगावासीले खुबै गाली गरे । बल्ल-बल्ल खलंगामा केन्द्रीय प्रसारणको लाइन जोडियो तर घर-घरमा बिजुली लैजान कसैले आवेदन नै दिएनन् ।

पर्याप्त आवेदन नपरेपछि दसैंलगत्तै बिजुली बाल्ने नेपाल विद्युत् प्राधिकरणको जिल्ला सदरमुकाम खलंगामा बिजुली बाल्ने योजना अलपत्र परेको छ । दुई महिनाको अवधिमा २० वटा मात्र आवेदन परेको छ । नगरपालिकाले चालु आवदेखि लागू हुने गरी एकीकृत सम्पत्ति कर लगाएको छ । चर्को कर तोकिएपछि नगरवासीले त्यसको अवज्ञा गर्दै आएका छन् । नगरपालिकाले चुनावलगत्तै विशेष नगर परिषदबाट वृद्धि भएको करका सम्बन्धमा हेरफेर गर्न सकिने निर्णय गरे पनि स्थानीयले तिरेका छैनन् । कर नतिर्दासम्म नगरपालिकाले सिफारिस नदिने भएकाले विद्युत् लाइन जोड्नका लागि आवेदन नपरेको हो ।

हाल सदरमुकाममा विद्युत् आपूर्ति गर्दै आएको साङ्टारिसाङ लघु जलविद्युत् आयोजनाका कर्मचारीलाई समायोजन गर्नुपर्ने माग गर्दै उपभोक्ता समितिले लाइन काट्न नमान्दा थप समस्या देखिएको छ ।

केन्द्रीय प्रसारण लाइनको बिजुली जोड्नका लागि घरधनीको लालपुर्जा, नगरपालिकाको सिफारिस, कर तिरेको रसिद, साङ्टारिसाङ लघुजलविद्युत् आयोजनाले लाइन काट्न रकम चुक्ता भएको सिफारिस, नयाँ मिटर जडान लगायतका प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले पनि आवेदन निकै कम परेको हो । स्थानीय स्तरमा उत्पादित विद्युत् पुस लाग्नेबित्तिकै पूरा पावर नआउने, धिपधिपे बत्ती बल्ने, हिटर, फ्रिज, फ्यानलगायत अन्य विद्युतीय उपकरण प्रयोग गर्न नपाइने भएकाले छिटो केन्द्रीय प्रसारण लाइन जोड्ने प्रबन्ध मिलाउन स्थानीयले विद्युत् प्राधिकरण र जनप्रतिनिधिलाई दबाब दिँदै आएका थिए ।

साङ्टारिसाङ आयोजनाको सेवा गुणस्तरीय नहुँदानहुँदै पनि नगरपालिकामा जनप्रतिनिधिलाई गलाउने उद्देश्यसहित एकीकृत सम्पत्ति कर तिर्न सेवाग्राहीको आनाकानी र लघुजलविद्युत् आयोजनाको असहयोगका कारण केन्द्रीय प्रसारणको बिजुली अझै केही महिना बल्ने सम्भावना छैन ।

‘रात-दिन नभनी जिल्ला सदरमुकामसम्म लाइन तान्यौं तर घर-घरमा बिजुली जोड्ने बेला आवेदन नै नपरेपछि कसरी काम गर्ने ? ’ विद्युत् प्राधिकरण जाजरकोटका प्रमुख हर्क केसीले भने, ‘दसैंअघि नै खलंगाका चार ठाउँमा टान्सफर्मर जोडेर परीक्षण प्रसारण सफल भइसकेको थियो । असोजमै आवेदन खोलिए पनि जम्मा २० जनाले मात्रै आवेदन दिएका छन् । जबकि सदरमुकाममा मात्र १५ सयभन्दा बढी सेवाग्राही छन् ।’

आवेदन बुझाएकालाई पनि साङ्टारिसाङ लघु जलविद्युत् अयोजनाले सिफारिस नदिएको कार्यालयले जनाएको छ । विद्युत् प्राधिकरणको मिटर बक्स जोड्न र लाइन मिलाउन दुई-तीन महिना समय लाग्छ तर आवेदन नपरी त्यो काम अघि बढ्दैन । नयाँ लाइन तान्दा पुरानो लाइन काट्नुपर्ने कार्यालय प्रमुख केसीले बताए । ‘प्रत्येक टान्सफर्मर एक सय केभी प्रसारण लाइनका छन् । त्यसबाट बाल्ने बिजुलीका लाइन एकैपटक तान्नुपर्छ तर स्थानीयको सहयोग पाइएन’, कार्यालय प्रमुख केसीले भने, ‘हामीलाई छिटो लाइन जोड्न जनप्रतिनिधिदेखि केन्द्रको दबाब छ तर सेवाग्राहीले आवेदन नै दिँदैनन् ।’

खलंगामा केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्ने कार्य २० वर्षअघि सुरु गरिएको थियो । सुर्खेतको छिन्चुबाट २०५४ सालमा केन्द्रीय विद्युत् प्रसारणको लाइन तान्ने काम सुरु भएको थियो । एक सय सात किलोमिटर बाटोमा लाइन तान्न बीस वर्ष लागिसकेको छ ।

रुकुमको चौरजहारीमा गत फागुनमै बिजुली बलिसकेको छ । केन्द्रीय विद्युत् प्रसारणको ग्रिडसम्म जिल्ला सदरमुकामलाई जोड्ने गरी २० वर्ष अघिदेखि काम थालिए पनि उक्त कार्यले पूर्णता पाउन सकेको छैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.